क्रान्तिकारी कम्युनिष्ट पार्टीको राजनितिक प्रतिवेदनमा राष्ट्रिय परिस्थिति वारे

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख २४ १०:२५ बजे

नेपाल एउटा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, र बहुमनोवैज्ञानिक मानिसहरुको बसोबास भएको देश हो । नेपालमा वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक तथा जात व्यवस्थामा आधारित शोषण उत्पीडन रहिआएका छन् । सामन्ती राजतन्त्रको अन्त्यसँगै राजनीतिक प्रणालीका दृष्टिले सामन्ती राजतन्त्रात्मक प्रणालीको अन्त्य भएको छ । तर, जमीनमाथिको स्वामित्व, राजनीतिक संस्कृति र सामाजिक संस्कृतिको दृष्टिले अहिले पनि सामन्तवाद विद्यमान रहेको छ । भारतसितका सन् १९५० लगायतका असमान सन्धि सम्झौताहरु कायमै रहनु, विभित्र क्षेत्रमा भारतीय हस्तक्षेप बढ्दै जानु र नेपालका केही भूभागहरुमा भारतीय विस्तारवाद÷साम्राज्यवादको नियन्त्रण रहनुले अर्ध–औपनिवेशिक अवस्था पनि विद्यमान रहेको छ ।

दोस्रो विश्वयुद्ध पश्चात् साम्राज्यवादी देशहरुले प्रत्यक्ष उपनिवेशवादी नीतिको सट्टा नवउपनिवेशवादी नीति अवलम्बन गर्दे आएका छन् । विभिन्न साम्राज्यवादी देशहरुबाट यहाँका दलालहरुलाई उपयोग गरी आर्थिक, राजनीतिक तथा सामरिक संझौता गर्ने, आर्थिक सहयोग तथा अनुदानको बहानामा हस्तक्षेप बढाउँदै जाने र भूमण्डलीकृत वित्तीय उदारीकरण, प्राकृतिक स्रोतमाथिको दोहन तथा निजीकरण गर्ने काम हुँदै आएको छ् । यस स्थितिमा नेपाल नव–औपनिवेशिक अवस्थामा रहेको छ । 

एकातिर विशाल भूगोल र जनसंख्या रहेको चीन र अर्कोतिर विशाल जनसंख्या रहेको भारतका बीच सामरिक दृष्टिले सम्वेदनशील अवस्थिति हुनुको कारण नेपालमा अमेरिका तथा युरोपियन साम्राज्यवादी देशहरुको स्वार्थ जोडिन पुगेको छ । विश्वका साम्राज्यवादी मुलुकहरुको स्वार्थ रहनुले नेपालमा राजनीतिक, आर्थिक र सामरिक नियन्त्रण बनाउन सबै साम्राज्यवादी मुलुकहरुको होडवाजी चल्दै आएको छ । नेपालमा एमसीसी र एसपीपी परियोजना मार्फत् अमेरिकी साम्राज्यवादले राजनीतिक, आर्थिक र सामरिक रुपमा नियन्त्रण बढाउने प्रयत्न गरिरहेको छ ।

नेपालमा अहिले देशको राष्ट्रिय स्वाधीनताको प्रश्न निकै गम्भीर बन्दै गएको छ । भारतीय शासकवर्गले देशको लिपुलेक, कालापानी, सुस्ता, महेशपुर, हुँदै पशुपति नगरसम्म कैयौ इलाकाहरुमा भौगोलिक अतिक्रमण गरेको छ । नेपालको आर्थिक तथा राजनीतिक वृत्तमा सूक्ष्म परिचालन गदै आएको छ । त्यसैगरी अमेरिकी साम्राज्यवादले एमसीसी, एसपीपी, लगायत आर्थिक लगानी गरी नेपालको आर्थिक तथा राजनीतिक क्षेत्रमा सूक्ष्म व्यवस्थापन बढाउँदै लगेको छ । 

नेपालमा जनतन्त्रका समस्या पनि गम्भीर बन्दै गएका छन् । बाह्य रुपमा स्वतन्त्रता, समानता र भातृत्वका कुरा गरेपनि सारमा यहाँ दलाल तथा नोकरशाही पुुँजीपति एवम् सामन्तवर्गकै अधिनायकत्व चलिरहेको छ । अहिले सत्ताधारी शासक वर्ग फासिवादको दिशामा अगाडि बढ्न खोजेको छ । मजदुर, किसान, महिला, दलित, मधेशी, मुस्लिम, आदिवासी जनजाति लगायतका जनसमुदाय आफ्ना हकअधिकारबाट बञ्चित भइरहेका छन् । 

यसैगरी नेपाली जनताका जनजीविकाका समस्या पनि गम्भीर बन्दै गैरहेका छन् । देशको अर्थतन्त्रमा भूमण्डलीकृत साम्राज्यवाद ÷ विस्तारवादको हालीमुहाली चल्दै गइरहेको छ । जनताका लागि आत्मनिर्भर अर्थतन्त्र पैदा गर्ने देशका राष्ट्रिय उद्योगहरु बन्द गरिएका छन् । विदेशी पुँजी निवेशका कारण देशका प्राकृतिक सम्पदाहरु एकाधिकारवादी पुँजीपतिहरुको हातमा पुगेका छन् । त्यसले देशमा बेरोजगारी, भ्रष्टाचार, गरिबी, रोगव्याधि, पैदा गरेको छ । देशको विशाल युवाशक्ति विदेशिन वाध्य भइरहेको छ । समग्रमा भत्रु पर्दा देश भयावह आर्थिक संकटको अवस्थाबाट गुज्रिरहेको छ । दलाल–नोकरशाही पुँजीवादी तथा सामन्तवादी सत्ताका कारण राजनीतिक, आर्थिक सामाजिक सास्कृतिक संकटहरु तीव्र बनिरहेका छन् । 

वर्तमान नेपाली समाजमा आधारभूत अन्तर्विरोध यस प्रकार रहेका छन- पुँजीपति र श्रमजीवी वर्गका बीचको अन्तर्विरोध, नेपाल र साम्राज्यवाद÷विस्तारवादका बीचको अन्तर्विरोध, समग्र उत्पीडित नेपाली जनता र दलाल तथा नोकरशाही पुँजीपति एवम् बचेखुचेको सामन्त वर्गका बीचको अन्तर्विरोध, अनि प्रतिक्रियावादी वर्गका बीचको आपसी अन्तर्विरोध । यसप्रकारका अन्तर्विरोधहरूमा अहिले एकातिर समग्र उत्पीडित नेपाली जनता र अर्कोतिर दलाल–नोकरशाही पुँजीपति तथा बचेखुचेका सामन्तवर्गका बीचको अन्तर्विरोध नै प्रधान अन्तर्विरोध हो । यी आधारभूत अन्तर्विरोधहरुसँगै अहिलेको नेपालमा केही महत्वपूर्ण अन्तर्विरोधहरु देखा परेका छन् । त्यसमा पहिलोः– गरिब किसान र भूमाफियाका बीचको अन्तर्विरोध, दोस्रो – वैदेशिक व्यापारी र स्थानीय व्यापारीहरू बीचको अन्तर्विरोध, तेस्रो – दलाल पुँजी र राष्ट्रिय पुँजीबीचको अन्तर्विरोध, चौथो – उत्पीडित र उत्पीडक जातिका बीचको अन्तर्विरोध, पाँचौ – उत्पीडित महिला र उत्पीडक पितृसत्तात्मक समाज बीचको अन्तर्विरोध, छैठौ – दलित जातको रुपमा छुवाछुतमा पारिएको समुदाय र कथित उच्च जात बीचको अन्तर्विरोध छन् । 

देशको राष्ट्रिय परिस्थितिको चर्चा गर्दा दश वर्षीय ऐतिहासिक माओवादी जनयुद्धबारे केही उल्लेख गर्न जरुरी छ । तत्कालिक नेकपा (माओवादी)द्वारा २०५२ फागुुन १ गतेदेखि सञ्चालित जनयुद्ध नेपाली क्रान्तिको इतिहासमा एक महान परिघटना थियो । महान जनयुद्धको प्रक्रिया नेपालका समस्त शोषित उत्पीडित जनतालाई एकताबद्ध तुल्याउँदै देशका अधिकांश भूभागहरुमा नयाँ सत्ता र सरकार, सात डिभिजन सम्मको जनमुक्ति सेना निर्माण गर्दै रणनीतिक रक्षाबाट प्रत्याक्रमणको दिशातिर सशक्त रुपमा अगाडि बढेको थियो । परन्तु, पार्टीमा प्रचण्ड बाबुराम पक्षद्वारा विचारधारात्मक तथा राजनीतिक रुपमा नयाँ जनवाद तथा वैज्ञानिक समाजवादका विरुद्ध २१ औ शताव्दीमा जनवाद र सङ्घीय लोकतान्त्रको संशोधनवादी मान्यता अवलम्बन, १२ बुँदे हुँदै विस्तृत शान्ति सम्झौता सम्मका अपवित्र सम्झौता र देशी तथा विदेशी प्रतिक्रियावादसित अपवित्र साँठगाँठ कायम गर्दै नेपाली जनता र विश्व सर्वहारा वर्गप्रति गम्भीर विश्वासघात सहित जनयुद्धको अन्त्य गरियो । यद्यपि सम्विधानमा उल्लेख गरिएका गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व जस्ता विषयलाई आंशिक तथा मात्रात्मक रुपमा सकारात्मक उपलब्धिकै रुपमा लिनु पर्दछ, परन्तु समग्रता र गुणात्मकताका दृष्टिले प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध नयाँ जनवादी राज्यसत्ता स्थापना गर्दै वैज्ञानिक समाजवाद तिर अगाडि बढ्ने हाम्रो अभीष्ट पुरा हुन सकेन र त्यो सम्विधान प्रतिक्रियावादी नै रह्यो ।

आर्थिक, राजनीतिक तथा सांस्कृतिक रुपमा वर्तमान राज्यसत्ता भीषण संकटको भुमरीमा फँस्दै गएको छ । सत्ताधारी वर्ग, तिनका राजनीतिक दल तथा संसदीय व्यवस्थाप्रति जनतामा अविश्वास तथा वितृष्णा बढ्दै गएको छ । संसदीय व्यवस्था अन्तरगतका सबै गठबन्धन सरकार निकै अस्थिर बन्दै आएका छन् । विश्वमा बढ्दै गएको पर्यावरणको असर नेपालमा पनि पर्दै आएको छ र यसले पनि स्थिति भयावह बन्दै गएको छ । नेपाली जनता वैकल्पिक राजनीतिक शक्ति तथा सत्ताको खोजीमा रहेका छन् । यसरी हेर्दा देशमा क्रान्तिका लागि वस्तुगत परिस्थिति अनुकूल बन्दै जान थालेको छ । परन्तु, नेपाली कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवादको वर्चस्व रहिआएको छ र क्रान्तिकारीहरुको आत्मगत परिस्थिति अझै प्रतिकूल रहेको छ । 

यस प्रकारको स्थितिमा सैद्धान्तिक हिसाबले माक्र्सवाद–लेनिनवाद–माओवाद\माओविचारधारा पथप्रदर्शक सिद्धान्त बोकेको, संगठनात्मक हिसाबले जुझारु क्रान्तिकारी, राजनीतिक हिसाबले क्रान्तिकारी सिद्धान्त भएको र कार्यक्रमका हिसावले विद्यमान समाजको अर्थराजनीतिक विश्लेषणको आधारमा राजनीतिक तथा सामरिक रणनीतिको सन्तुलन मिलेको क्रान्तिकारी कार्यदिशा, कार्यनीति र कार्यक्रमको समग्र श्रृङ्खला अवलम्बन गरेको तथा सांस्कृतिक हिसाबले उच्च नैतिकता तथा कम्युनिस्ट आचारण भएको सर्वहारा वर्गको अग्रदस्ताको रुपमा कम्युनिस्ट पार्टी निर्माणको आवश्यकता छ । यस प्रकारको पार्टीले मात्र क्रान्तिका लागि आत्मगत अवस्थालाई मजबुत बनाउन सक्छ । त्यसैले सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई गोलबन्द गर्दै यही उद्देश्य पुरा गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल)का बीच एकताको निर्णय लिइएको छ 


२०८१ वैशाख २४ १०:२५ बजे

प्रतिक्रिया