२०८१ वैशाख १८गते आयोजित राष्ट्रिय एकता अधिवेशनमा प्रस्तुत तथा पारित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राजनीतिक प्रतिवेदन
आज हामी नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिष्ट पार्टी (बहुमत) बीच एकता भएर बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल)का बीच पार्टी एकीकरण गर्न गइरहेका छौं । यो हामी क्रान्तिकारी कम्युनिस्टहरु, सर्वहारा वर्ग र क्रान्ति प्रेमी आम जनसमुदायका लागि अत्यन्तै खुशी, उत्साहवद्र्धक र गौरवको विषय हो । नेपाली क्रान्ति तथा ऐतिहासिक माओवादी जनयुद्धले गम्भीर धक्का खाएको, नेपाली कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवादको वर्चस्व रहेको र क्रान्तिका लागि वस्तुगत परिस्थिति परिपक्व बन्दै गए पनि आत्मगत परिस्थिति प्रतिकूल रहेको अहिलेको अवस्थामा यो एकताको विशेष महत्व छ र त्यसैले यो ऐतिहासिक आवश्यकताको एक मूर्त अभिव्यक्ति बन्न गएको छ ।
पार्टी एकताको यस ऐतिहासिक अवसरमा हामी नेपाली जनआन्दोलन तथा माओवादी जनयुद्ध र विश्व क्रान्तिका अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । जनयुद्धको अवसरमा राज्यद्वारा बेपत्ता पारिएका वीर योद्धाहरुप्रति विशेष सम्मान व्यक्त गर्दछौं । यसैगरी जनयुद्धका सम्पूर्ण घाइते तथा अपाङ्ग योद्धाहरूप्रति पनि हार्दिक सम्मान व्यक्त गर्दछौँ ।
आज हामीहरुका सामु इतिहासले सबै सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध तथा आम जनसमुदायलाई गोलबन्द गरी वर्गदुश्मन माथि बज्रप्रहार र संशोधनवादको भन्डाफोर गर्दै नेपालमा नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवाद र साम्यवाद तर्फ अगाडि बढ्नका लागि विशेष युगान्तकारी ऐतिहासिक जिम्मेवारी सुम्पेको छ । यस प्रकारको ऐतिहासिक मिसन तथा दायित्वलाई विशेष गम्भीरताका साथ सम्वहन गर्न यो संयुक्त एकता अधिवेशन शानदार तथा भव्यरुपमा सफल हुनेछ भन्ने कुरामा हामी आशावादी तथा विश्वस्त रहेका छौं ।
. अन्तर्राष्ट्रिय परिस्थिति
विभित्र साम्राज्यवादी देशहरुका बीच अन्तर–साम्राज्यवादी अन्तर्विरोध, साम्राज्यवादी देशभित्र पुँजीपति र सर्वहारावर्ग बीचको अन्तर्विरोध, साम्राज्यवाद र उत्पीडित राष्ट्र तथा जनताबीचको अन्तर्विरोध अहिलेको विश्वका आधारभूत अन्तर्विरोधहरु हुन् । खास–खास समयमा अन्तर–साम्रज्यवादी अन्तर्विरोध घनीभूत भएपनि मूलभूत रुपमा साम्राज्यवाद र विश्वका उत्पीडित जनताका बीचको अन्तर्विरोध नै आजको प्रधान अन्तर्विरोध हो ।
अहिलेको विश्वमा साम्राज्यवादी देशहरुका बीचको हतियारको होडवाजी र आणविक अस्त्र भण्डारको कारण उनीहरुका बीचको प्रत्यक्ष युद्धका सट्टा छद्म युद्ध (प्रोक्सी वार) चल्दै आएको छ । यसप्रकारको युद्धले प्रत्यक्षरुपमा युद्ध भएका देशहरुमा ती देशहरुका जनतामाथि र परोक्षरुपले विश्वभरका उत्पीडित जनतामाथि युद्धको बोझ थोपर्दै आएको छ । एकातिर अमेरिका र नेटोमा आबद्ध ३१ देशहरु युक्रेनको पक्षमा परोक्षरुपले युद्धमा सहभागीता हुनु र अर्कोतिर चीन, इरान, उत्तर कोरिया लगायतका देशहरु रुसको पक्षमा परोक्षरुपले सहभागी रहनुले परोक्षरुपले तेस्रो विश्वयुद्ध चलिरहेको आभास हुन्छ । यो युद्धमा साम्राज्यवादी देशहरुबाट आणविक अस्त्रको प्रयोग हुने आशंका विश्वभर फैलँदो छ । तर पनि तत्काल विश्वयुद्धको संभावना देखिंदैन । सारमा जे जस्तो भए पनि रुपमा चीनले रुस–युक्रेन युद्धको समाधानका लागि वार्ताको पहल गरिरहेको छ । यसरी वर्तमान विश्वको मूल प्रवृत्तिको सन्दर्भमा युद्धद्वारा क्रान्ति पैदा हुने वा क्रान्तिद्वारा युद्ध रोकिने जे अवस्था बनेपनि क्रान्तिनै अहिलेको विश्वको मूल प्रवृत्ति हो ।
आज विश्वमा नवउदारवादी साम्राज्यवादको हैकम चलेको छ । यसै साम्राज्यवादको परिणाम विश्वमा ठुला ठुला संकटहरु पैदा भएका छन् । ती संकटहरुलाई निम्नअनुसार संश्लेषण गर्न सकिन्छ । प्रथमः उत्पीडित राष्ट्र र जनतामाथि जवर्जस्त युद्ध थोपरिएको छ र त्यहाँका प्राकृतिक स्रोतहरुमाथि दोहन गरिएको छ । दोस्रो, साम्राज्यवादी उत्पीडनका कारण हरेक देशका मानिसहरु विस्थापित हुने गरेका छन् । जसबाट विश्वव्यापी रुपमा असुरक्षित प्रवासन तथा आप्रवासनको समस्या पैदा भएको छ । तेस्रो, साम्राज्यवादी उत्पादन पद्धतिको कारण विश्वको सन्तुलित पर्यावरण विनाश भैरहेको छ, अस्वाभाविक मौसम परिवर्तन भैरहेको छ । चौथो, विश्वभर महिलामाथि चरम उत्पीडन थोपरिएको छ र व्यापारिक प्रयोजनका लागि बेचबिखन बढ्दै आएको छ । पाँचौ, उत्पादनमा अत्याधुनिक प्रविधिको प्रयोगमा हुने असन्तुलनको कारण गरिब र धनी, कमजोर र शक्तिशाली बीचको दूरी व्यापक बनेको छ ।
आजको युग भूमण्डलीकृत साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । अमेरीकी साम्राज्यवाद र रुसी राजकीय पुँजीवादका बीचको होडबाजीले अहिले युक्रेनमा युद्ध चलिरहेको छ । नेटोको विस्तार नगर्ने पूर्व सहमति विपरीत विभित्र युरोपियन देश सहित युक्रेनसम्म सदस्यता विस्तार गर्ने अमेरिकी षडयन्त्र, विश्वबजार नियन्त्रणमा होडबाजी, युरोपियन जनताको रुसमाथि ऊर्जा निर्भरता यो युद्धका प्रमुख कारण हुन् । अमेरिकी साम्राज्यवादले चीनलाई समेत युद्धमा धकेल्न चीनकै भूभाग ताइवानमाथि युद्धका लागि दुरुत्साहन मात्र गरेको छैन, एसिया, अफ्रिका, ल्याटिन अमेरिका र युरोपका विभित्र भागहरुमा युद्ध भड्काउने काम समेत गर्दै आएको छ । “साम्राज्यवाद भनेको युद्ध होे” भत्रे लेनिनको स्पष्ट उक्ति जस्तै अमेरीकी साम्राज्यवाद युद्धको पर्याय बनेको छ ।
१९७६मा माओको निधन पछि १९८०को दशकसम्म माक्र्सवाद–लेनिनवाद–माओ विचारधारालाई पथप्रदर्शक सिद्धान्त मात्रे कम्युनिस्ट पार्टीहरुका बीचमा सम्मेलन भयो । त्यही सम्मेलनको ४ वर्षपछि १९८४मा क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन “रिम”को गठन भयो । माक्र्सवाद–लेनिनवाद–माओवादको प्रचार, विचारधारात्मक स्पष्टता, सर्वहारावर्गीय सम्बन्ध बढाउन रिमले महत्वपूर्ण भूमिका खेल्यो । तर, गोन्जालोको गिरफ्तारी, नेपालको माओवादी नेतृत्वमा आएको गम्भीर दक्षिणपन्थी संशोधनवादी विचलन र आरसीपी अमेरिकाको कमजोरीको कारण रिम अनौपचारिक रुपमा विघटन हुन पुग्यो । रिमको विघटनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा सापेक्षित “प्रतिरक्षा” ल्याएपनि भारत, पेरु, फिलिपिन्स लगायतका देशहरुमा माओवादी युद्ध चलिरहेका छन् । वैचारिक हिसावले विश्वभरका कम्युनिस्टहरु एकताबद्ध हुने प्रयत्न गरिरहेका छन् । यद्यपि आज विश्व साम्राज्यवाद आर्थिक, राजनीतिक तथा सास्कृतिक रुपमा गम्भीर संकटका बीचबाट गुज्रिरहेको छ र क्रान्तिका लागि वस्तुगत परिस्थिति अनुकूल बन्दै गएको छ, तर पनि क्रान्तिकारीहरुको आत्मगत परिस्थिति प्रतिकूल रहेको छ र अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । त्यसैले यस अवस्थामा क्रान्तिकारीहरुको आत्मगत स्थिति बलियो बनाउनका लागि एकातिर क्रान्तिकारी अन्तर्राष्ट्रिय कम्युनिस्ट केन्द्रको निर्माणमा जोड दिन आवश्यक छ भने अर्कोतिर साम्राज्यवाद विरोधी संयुक्त मोर्चाको निर्माण गर्न जरुरी छ। क्रमशः
प्रतिक्रिया