१३५ औँ अन्तर्राष्ट्रिय मे दिवसको सन्दर्भमा

कमभन्दा कम ज्याला, दैनिक १८–२० घण्टाको श्रम, एउटै कोठामा सयौं मजदुरहरू बस्नै पर्ने बाध्यता, रोग लाग्दा उपचारको अभाव, कारखाना मालिक र मालिकद्वारा पालिएका गुण्डाहरूद्वारा शारीरिक रुपमा गरिने आक्रमण, महिला केटाकेटी र बुढाबुढी सबैले गर्नुपर्ने चर्को श्रम जस्ता विषयहरूले मजदुरहरूलाई सताएको अवस्था थियो

bimbonline दिनेश शर्मा
२०८१ वैशाख १६ ०७:०९ बजे

“सन् १८६६ मा पहिलो “अन्तर्राष्ट्रिय मजदुर संघ”ले यो निश्चय गर्यो कि कामको दिन सीमित गरिनु त्यो पहिलो सर्त हो, जस बिना सुधार र मुक्ति अन्य सबै प्रयत्न अवश्य नै निस्फल सिद्ध हुनेछ । काङ्ग्रेसको प्रस्ताव छ कि कामको दिनको कानुनी सीमा आठ घण्टा होस् ।” – माक्र्सको पूँजी नेपाली संस्करण भाग १, पृष्ठ ४३४

“सन् १८६६ अगस्ट १६ मा अमेरिकाको वाल्टी मोर मा भएको जनरल काङ्ग्रेस अफ लेबरले घोषणा गर्यो । आज पहिलो र सबैभन्दा ठूलो आवश्यकता यस कुराको छ कि यो देशका मजदुरहरूलाई पुँजीको दासताबाट मुक्त गर्नका लागि एउटा यस्तो कानुन पास गरियोस्, जसको मातहतमा अमेरिकी संघको सबै राज्यहरूमा कामको सामान्य दिन ८ घण्टा होस् हामीले यो निश्चय गरेका छौं कि जबसम्म यो गौरवशाली ध्याय प्राप्त हुँदैन, तबसम्म हामी आफ्नो पूरा शक्ति लगाएर यसका लागि प्रयत्न गरि रहनेछौं ।”– माक्र्सको पुँजी नेपाली संस्करण भाग १, पृष्ठ ४३३

“सन् १८६६ मा अमेरिकाको न्युयोर्क राज्यको डंकर्का मजदुरहरूले घोषणा गरे हामी डंकर्का मजदुरहरू घोषणा गर्दछौं कि वर्तमान अवस्थामा मजदुरहरूले जति समयसम्म काम गर्नुपर्दछ, त्यो अत्यन्तै धेरै छ र मजदुरहरूसँग विश्राम गर्न तथा शिक्षा प्राप्त गर्नका लागि समय बस्नु त परै जाओस् यति धेरै समयसम्म काम गर्नुको फल स्वरूप कि एउटा यस्तो अवस्थामा पुग्छ जुन दास्ता भन्दा अलिकति मात्र असल छ  । त्यसकारण हामी फैसला गर्छौ कि कामको दिनको लागि ८ घण्टा पर्याप्त छ र कानुनले पनि त्यसलाई पर्याप्त मान्नुपर्छ । त्यसकारण हामी यो शक्तिशाली साधनको “देशका समाचार पत्रहरूको” सहायताका लागि आह्वान गरिरहेका छौं ।  त्यसैकारण जो मानिसहरूले हामीहरूलाई यस क्रममा सहायता गर्न अस्वीकार गर्छन, हामी ती सबैलाई श्रमको सुधार र मजदुरहरूका अधिकारको शत्रु मान्ने छौं ।”– माक्र्सको पूँजी नेपाली संस्करण भाग १, पृष्ठ ४३३–४३४

“सन् १८८९ जुलाई १४ का दिन पेरिसमा भएको दोस्रो “अन्तर्राष्ट्रिय मजदुर संघ” को महाअधिवेशनले निर्णय गर्यो कि महाअधिवेशन एक महान अन्तर्राष्ट्रिय प्रदर्शनलाई संगठित गर्ने फैसला गर्दछ, ताकि सबै देशहरूमा र सबै सहरहरूमा एक निश्चित तारिखका दिन श्रमजीवी जनता सरकारसँग भएको कामको घण्टालाई घटाई ८ घण्टाको कार्य दिवसको लागि कानुनी मान्यता दिइयोस् भनी माग गरुन् र साथै त्यसै दिन पेरिस महाधिवेशनको दोस्रो फैसलालाई पनि लागू गराउन माग गरियोस् । किनकि फिडेरेसन अफ लेबरको सेन्टलुइमा भएको डिसेम्बर सन् १८८८ को अधिवेशनमा १ मई १८९० मा अन्तर्राष्ट्रिय प्रदर्शनी दिवस मनाइने छ भनि फैसला गर्यो । यस कारण यो दिनलाई अन्तर्राष्ट्रिय प्रदर्शन दिवस मानिएको छ । विभिन्न देशहरूका मजदुरहरूले आ–आफ्नो आवश्यकता अनुसार यो प्रदर्शनलाई निश्चित रुपबाट संगठित गरुन् ।”– फेडरिक एंगेल्स, दोस्रो अन्तर्राष्ट्रिय मजदुर संघको प्रथम महाधिवेशन

यतिबेला पहिलो अन्तर्राष्ट्रिय मजदुर संघको सन् १८६६ मा भएको अधिवेशनले कामको दिन ८ घण्टा हुनपर्छ भनेर निर्णय गरेको १५८ वर्ष पूरा भएको छ । पहिलो अन्तर्राष्ट्रिय मजदुर संघको उक्त दुरगामी निर्णयको कार्यान्वयनका निमित्त विश्वका कैयौँ मजदुर संगठनहरूले आ–आफ्नो स्थानबाट प्रयास र प्रयत्न भएतापनि अमेरिकी मजदुरहरूको पहल कदमी निकै महत्वपूर्ण रहन पुग्यो । सन् १८६६ मा अमेरिकाको बाल्टिमोरमा भएको “जनरल काङ्ग्रेस अफ लेबर” र सोही वर्ष न्युयोर्क राज्यको डंकर्का मजदुरहरूले “पहिले अन्तर्राष्ट्रिय मजदुर संघ” को निर्णयको स्पिरिटलाई ठिक तवरबाट पकडेको पाइयो । किनकि ८ घण्टा मात्र काम गर्ने मागलाई जोडदार रूपमा उठाएर अमेरिकी मजदुरहरूलाई मात्र होइन १६–१८ घण्टा काम गर्न बाध्य विश्वभरिका मजदुरहरूको ध्यान आकर्षण गर्न सफल भए । सन् १९५६ मा अस्ट्रेलियाका निर्माण मजदुरहरूले समेत ८ घण्टा कामको दिन हुनुपर्छ भन्ने माग राखेर सशक्त रुपमा आन्दोलन गरेका थिए । त्यहाँको पुँजीवादी सत्ता र पुँजीपति वर्गलाई माग पूरा गराउन बाध्य पारेका थिए ।

सर्वहारा वर्गका असली प्रतिनिधिहरू भनेका मजदुर हुन् । किनकि सामन्तवादको अन्त्यसँगै विकसित भएको पुँजीवादले मजदुरहरूलाई दास कालीन समाजमा दासहरूले जुन पीडा भोगेका थिए मजदुरहरूको पनि त्योभन्दा कम पीडा भएन । यसैगरी कमभन्दा कम ज्याला, दैनिक १८–२० घण्टाको श्रम, एउटै कोठामा सयौं मजदुरहरू बस्नै पर्ने बाध्यता, रोग लाग्दा उपचारको अभाव, कारखाना मालिक र मालिकद्वारा पालिएका गुण्डाहरूद्वारा शारीरिक रुपमा गरिने आक्रमण, महिला केटाकेटी र बुढाबुढी सबैले गर्नुपर्ने चर्को श्रम जस्ता विषयहरूले मजदुरहरूलाई सताएको अवस्था थियो । यो अवस्थामा रहेका मजदुरहरूले आफ्नो ताकतमा संघर्ष गर्नु थियो । यद्यपि दास युगको अन्त्यका निमित्त जसरी स्पार्टक्सले दास मालिकहरूको सत्ताका विरुद्ध हतियार उठाएर विद्रोहको राँको बालेका थिए । जसरी सामन्तवादी सत्ताका मालिक राज महाराजहरूले किसानमाथि गरेका अत्याचारका विरुद्ध हतियार उठाएर राजाका टाउको काटेका थिए । त्यसरी मात्र सामन्तवादका सत्ता विश्वबाट समाप्त हुँदै गएको विषयमा मजदुरहरूले नजिकबाट अध्ययन गरेका थिए । त्यसैले गर्दा मजदुर वर्गमा एक प्रकारको त्याग, वीरता र बलिदानको भावनाले ओतप्रोत थियो नै सँगै लड्नका लागि उच्च मनोबल पनि थियो । यही उच्च मनोबलका कारण मेसिनफोर आन्दोलन, मागपत्रमा ५० औँ लाख मजदुरहरूको हस्ताक्षर सहित पुँजीवादी संसदमा पेश गर्न लाखौं–लाख मजदुरहरूको जुलुस नारा सहित जाने आँट गर्नु कम महत्व पूर्णको विषय थिएन महत्वपूर्ण विषय थिएन र होइन पनि । एउटा मात्र अभाव थियो विज्ञानसम्मत वैचारिक ज्ञान र चेतनाको । जसले गर्दा ठूला–ठूला आन्दोलन भएर पनि उपलब्धि हुन नसक्नु । हुन त मजदुर आन्दोलनको कारण कतिपय दार्शनिकहरुले अध्ययन अनुसन्धान खोज गरेर आफ्नो धारणा सार्वजनिक नगरेको होइन यद्यपि ती धारणाहरु पनि आफैमा पूर्ण बन्न सकेनन् ।

माक्र्स र एङ्गेल्सको खोज, अनुसन्धान र संश्लेषणले जब सन् १८४८ मा “कम्युनिस्ट घोषणापत्र” को सार्वजनिक भएपछि मजदुर आन्दोलनले एउटा विचारको हतियार प्राप्त गर्न सफल भयो खासगरी राज्य सत्ता कसको हातमा भन्ने प्रश्न मुख्य हो भन्ने विषय घोषणापत्रले स्पष्ट मार्ग निर्देशन गर्यो । राज्य सत्ता सर्वहारा वर्गको हातमा नहुँदासम्म समस्याको पूर्ण समाधान हुँदैन भन्ने विषय प्रष्ट रुपमा बुझ्ने सकिने अवस्था बन्यो । राज्य सत्ता प्राप्त गर्ने विषयलाई केन्द्र विन्दुमा राखेर अन्य मागहरुलाई पूरा गर्दै जाने योजना अन्तर्गत नै पहिलो “अन्तर्राष्ट्रिय मजदुर संघ”ले आठ घण्टा कामको दिन तोक्न पुँजीवादी सत्तालाई बाध्य पार्न विश्वभरिका मजदुरहरूलाई संघर्षमा लामबद्ध हुन आह्वान गर्दै सन् १८६६ मा माक्र्स तथा एङ्गेल्सले निर्णय गर्नु भयो । पुँजीवादको जाँतो मुनि नराम्रोसँग पिसिएर बाँच्न बाध्य सर्वहारा मजदुर वर्गका निमित्त “कम्युनिष्ट घोषणापत्र” र पहिलो “अन्तर्राष्ट्रिय मजदुर संघ” को सन् १८६६ को एउटा वैचारिक खुराक प्राप्त भयो । सन् १८६६ देखि ८ घण्टा कार्यदिनको माग गर्दै आएको अमेरिकी मजदुरहरूका लागि वैचारिक खुराकसँगै विगत देखिको आन्दोलनको अनुभवले निकै खारिएका पनि थिए । मुख्यतय अमेरिकी मजदुरका बीचमा माक्र्सवादको प्रभाव उल्लेख्य मात्रामा विकसित हुँदै गएको थियो ।

सन् १८६६ अगस्ट २० का दिन अमेरिकाको बाल्टिमोरमा विभिन्न सहरमा गठन भएको ६० वटा भन्दा बढी मजदुर संगठनको एक भेला आयोजना भयो र उक्त भेलाले “नेसनल लेबर युनियन” नामको शक्तिशाली संगठन निर्माण गरेर ८ घण्टा कामको दिन हुनुपर्छ भनेर प्रस्ताव पास गरेको थियो । त्यस संगठनको मुख्य नेता एचपी सिल्वीसले गरेका थिए । नेसनल लेबर युनियनको १८६७ मा भएको अधिवेशनले अन्तर्राष्ट्रिय स्तरमा भएको मजदुर आन्दोलनलाई सहयोग गर्ने निर्णय पनि लिएको थियो । प्रथम अन्तर्राष्ट्रियको जनरल काउन्सिलले नेसनल लेबर युनियनलाई एक जना प्रतिनिधि पठाउन आग्रह गरेकोमा १८८९ मा त्यसलाई स्वीकार गर्दै प्रतिनिधिका रूपमा एचपी सिल्वीसलाई पठाउने निर्णय समेत भएको थियो । तर बीचैमा एचपी सिल्वीसको निधन भएका कारण सिकागोबाट प्रकाशित हुँदै आएको वर्किङ म्यान्स एडभोर्केड (श्रमजीवीहरूको वकिल) पत्रिकाका सम्पादक एसी केमरानलाई प्रतिनिधि चयन गरेर पठाइएको थियो । यसबाट प्रष्ट हुन्छ कि अमेरिकी मजदुरहरूमा माक्र्सवादको प्रभाव कसरी विस्तार भएको थियो भन्ने सजिलै बुझ्न सकिन्छ । आठ घण्टा काम आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको माग उठान गर्नुका साथै आन्दोलन अगाडि बढाउन समेत माक्र्सवादी विज्ञानको राम्रै प्रयोग भएको थियो ।

अमेरिकी सर्वहारा वर्गका बीच माक्र्सवादको प्रभाव विस्तार हुँदै जानु र मजदुर आन्दोलन जुझारु बन्दै जानुले अमेरिकी प्रतिक्रियावादी सत्ता र पुजीपति वर्ग आफैमा आतंकित, तरङ्गित र भयभीत बन्दै थिए । आतंकित पुँजीवादी सत्ता र पुँजीपति वर्गका दमनका निमित्त वातावरण बनाउदै थिए । मजदुरहरू निर्णायक संघर्ष अगाडि बढाउन योजना बनाउदै थिए । बाल्टिमोर र न्युयोर्क डंकर्का मजदुरहरूले आठ घण्टा कामको दिन हुनुपर्छ भनेर सबैभन्दा पहिला आवाज उठाएको भए पनि सन् १८८६ मे १ बाट सशक्त आन्दोलनको उठान गर्ने प्रश्नमा अमेरिकाको सिकागो शहरका मजदुरहरू अथवा मजदुर संगठन निकै सशक्त रुपमा अगाडि बढेका थिए । विभिन्न समूहमा विभाजित मजदुर संगठन तथा मजदुरहरूलाई एउटै छातामुनि गोलबद्ध गर्न “आठ घण्टा कामको समिति” निर्माण गरेर व्यवस्थित पार्ने योजना बनाउन पुगे । आठ घण्टा कामको समिति एक प्रकारको कामको घण्टा घटाउन सहमत सबै संगठनहरूको संयुक्त मोर्चा जस्तै थियो । माक्र्सवादप्रति प्रतिबद्ध, प्रभावित र जिज्ञासु नै मजदुर संगठनमा आबद्ध भएकोले पुँजीवादी शासक र पुँजीपति वर्गले सर्वहारा मजदुर वर्गप्रति गरेको अन्याय, अत्याचार, शोषण, दमन र उत्पीडनका विरुद्ध खडा हुन जुनसुकै चुनौती आए पनि सामना गर्न तयार भएका थिए । त्याग, वीरता र बलिदानको भावनाले ओतप्रोत थिए । आफ्नो वर्ग र वर्ग पक्षधर्ताप्रति इमान्दार र कटिबद्ध नै थिए । सन् १८८६ मे १ तारिखबाट काम बन्द गरी प्रदर्शनमा निस्कने तयारी मजदुरहरुले गर्दै गर्दा अमेरिकाका पुँजीपति वर्ग तथा पूँजीवादी सत्ता अत्यन्तै आतंकित र भयभित बन्दै थिए । मजदुरहरूको कारखाना–कारखानाबाट तयारीका कामलाई घनिभूत रुपमा अगाडि बढाइरहेका थिए ।

खासगरी अमेरिकी सर्वहारा मजदुरका बीचमा माक्र्सवादको गहिरो प्रभाव पर्नु नै पुँजीवादी सत्ता र पुँजीपति वर्गले सबैभन्दा खतराको संकेत मानेका थिए । आन्दोलनलाई उठन नदिन र उठिहाले दमन गर्नका लागि वातावरण बनाउने ठुलै षड्यन्त्र स्वरूप आफ्ना जासुस पत्रकार मार्फत “सिकागो कम्युनिस्ट विद्रोह” हुँदै “हड्ताललाई बमले उडाउनुपर्छ” सडकको हरेक बस्तीका खम्बाहरूलाई एउटा कम्युनिष्टको लासले सिँगार्नु पर्छ”, “हुलदङ्गालाई गोली र नेतालाई डोरी” जस्ता शीर्षक दिएर ठुलठुला अक्षरमा दैनिक जसो लेख समाचार छपाएर मजदुरहरुलाई तर्साउने कोसिस व्यापक मात्रामा गरेका थिए । माक्र्सवादको वैज्ञानिक विचारबाट प्रशिक्षित, प्रभावित मजदुरहरू पुँजीपति वर्ग र पूँजीवादी सत्ताका धाक, धम्कीबाट कति पनि विचलित भएनन् बरु सतर्कताका साथ आन्दोलनको तयारीमा जुटिरहे  ।

सन् १८८६ मे १ तारिखका दिन सिकागो सहरका मजदुरहरू आफ्ना कारखानाका बन्द गरेर हडतालमा उत्रीय र सडकमा भेला भएर आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको नारा लगाउँदै संघर्षको मोर्चामा सामेल भए । मे २ तारिखका दिनको आन्दोलन जब सिकाकोबाट विस्तार भएर न्युयोर्क, वासिङ्टन डिसी, बाल्टिमोर, सेटलुई लगायत विभिन्न सहरका कारखानाहरूमा काम गर्ने मजदुरहरु कारखाना बन्द गरेर आन्दोलनको मोर्चामा सहभागी भए । यसबाट पूँजीपति सत्ता झनै आतंकित बन्न पुग्यो मे ३ तारिखका दिन हड्ताली मजदुरहरूको संख्यामा झनै उल्लेखनीय मात्रामा विकास भयो । पुँजीपतिहरूले मजदुरलाई काममा फर्क अन्यथा कामबाट बर्खास्त गर्छौं भनेर नोटिस जारी गर्नदेखि विभिन्न प्रकारका धाक, धम्की लगाउँदा पनि आफ्नो अडानबाट पछि हट्ने होइन बरु आन्दोलनको विकास र विस्तार हुँदै गयो । पुँजीवादी सत्ताले आफ्ना प्रहरीहरुलाई मजदुर आन्दोलन माथि गोली हान्ने आदेश दियो । प्रहरीहरुले मजदुरहरुको आन्दोलन माथि गोली बर्सायो र पाँच जना मजदुरहरुलाई घटनास्थलमै हत्या भयो भने ५० औं भन्दा बढी मजदुरहरू घाइते हुन पुगे । हत्या, दमनले मजदुरहरूलाई निराशा होइन बरु थप आक्रोश र विद्रोही बनायो । हत्या दमनका विरुद्ध विशाल प्रदर्शनसहित आम सभा गर्ने तयारीका साथ मे ४ तारिखका दिन विशाल प्रदर्शनसहित आम सभा हुँदै गर्दा पुलिसले अन्धाधुन्द गोली बर्सायो । सरकारका केही जासुसहरूले बम फ्याके बमको छर्रा लागेर एकजना पुलिस अफिसर सहित सात जना प्रहरी मारिए भने ४९ जना मजदुरहरूको ज्यान गयो । थुप्रै आन्दोलनकारी मजदुर घाइते भए । राज्यका जासुसहरू आफैले बम फ्याँकेर त्यसको दोष आन्दोलनकारी मजदुर संगठनहरुलाई लगाइयो । र मजदुर नेताहरुलाई गिरफ्तार गरियो । मजदुर नेताहरू पारसन, स्पाईस, फिसर र एंगेल्सलाई पुँजीवादी अदालतले फाँसीको सजाय सुनायो र फाँसीमा चढाउनै लाग्दा मजदुर नेताहरूले एक स्वरमा भनेका थिए । “हामीलाई फाँसी दिएर मजदुरको आन्दोलन समाप्त पार्न सकिन्छ भनेर सोचेका हौला त्यो कदापि हुने छैन बरु तिमीहरूका पछाडि दन्दनी आगो दन्किरहेको छ त्यो आगोले तिमीहरुलाई खरानी बनाउनेछ ।”

यद्यपि पुँजीवादी सत्ताको हत्या, दमन, गिरफ्तारी र राज्य आतंकले आन्दोलन कमजोर भएको महसुस भएतापनि मजदुरहरूको सन् १८८८ बाट पुन संगठित गरेर मे एकबाट प्रदर्शनको थालनी गर्ने उद्घोष गरे पछि र अमेरिका मात्र होइन विश्वका कैयौँ देशका मजदुरहरुले समेत ऐक्यबद्धता जाहेर गर्ने, आठ घण्टाको मागलाई लिएर आन्दोलनको तयारी गर्ने उपायहरु दृत गतिमा अगाडि बढाउँदै गए । सन् १८८९ मा एंगेल्सको नेतृत्वमा भएको दोस्रो “अन्तर्राष्ट्रिय मजदुर संघ”को महाधिवेशनमा अमेरिका आएका मजदुर प्रतिनिधिको रिपोर्ट पछि महाधिवेशनले अबदेखि मे १ तारिखका दिनलाई आन्दोलनको रुपमा विश्वभरीका मजदुरहरुले काम बन्द गरेर मनाउने निर्णय गर्या । सन् १८९० बाट थालनी भएको मे दिवस यतिबेला १३५ औं अन्तर्राष्टिय मे दिवस विश्वभरि मजदुरहरुले मनाउँदैले छन् ।

नेपालमा वि.सं २००३ सालबाट मजदुर आन्दोलनको सुरुवात भएको र वि.सं २००८ सालबाट संगठनको सुरुवात भएको सन्दर्भमा आजसम्म आइपुग्दा ७२ वर्ष पार हुँदैछ । विडम्बना के भयो भने नेपालमा लामो समयसम्म राज्य सत्ता सामन्तवादका हातमा निहित हुनु पुग्यो । उद्योग खोल्न सुरु गर्दैदेखि साम्राज्यवाद र विस्तारवादको पकड रहनुले न त स्वतन्त्र तवरबाट उद्योगको विकास हुन सक्यो न त नेपाली मजदुरले आफ्ना अधिकारलाई निर्विवाद रूपमा खुल्ला तवरबाट बाहिर सार्वजनिक गर्न नै पाए ७२ वर्षको संगठित इतिहासमा ४५ वर्षसम्म क्रान्तिकारी मजदुर संगठनले प्रतिबन्ध व्यहोर्न बाध्य हुन पर्या तर पनि नेपाली मजदुरहरूले २००९ सालमा प्रतिवन्धीत अवस्थामा पनि वीरगञ्जमा मे दिवसको आयोजना गरेको पाइन्छ । प्रतिबन्धित अवस्थामा भए पनि मे दिवसको क्रान्तिकारी स्प्रीटलाई पकडदै आएको इतिहास हाम्रो सामु जीवितै छ ।

पहिलो अन्तर्राष्ट्रिय मजदुर संघको निर्णय र मार्गदर्शन, अमेरिकाको सिकागो सहरका वीर योद्धाहरूको बलिदान, दोस्रो अन्तर्राष्ट्रिय मजदुर संघको पहिलो महाधिवेशनले गरेका संश्लेषणबाट स्थापित मे दिवसको विरासत हो । मजदुर आन्दोलनको बलले आठ घण्टा काम आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको मागलाई पूँजीपति वर्ग तथा पुँजीवादी सत्ताद्वारा कार्यावयन गर्न बाध्य भएको हो भन्ने विषय क्रान्तिकारीहरूले भुल्नु हुँदैन । तर आज विश्वव्यापी स्तरमा स्वयं नेपालमा पनि दलाल पुँजीवादी सत्ताका भरौटेहरू ट्रेड युनियनवाद र अर्थवादमा नराम्रोसँग फसेका र पुँजीवादी सत्ताको दुरुपयोग गर्दै मे दिवसका नाममा मजदुरहरुलाई भ्रम पार्दैछन् । क्रान्तिकारीहरूले फेरि पनि भ्रमलाई चिर्दै मे दिवसलाई क्रान्तिकारी रूपान्तरणका निमित्त अबको मजदुर आन्दोलनलाई वैचारिक नयाँ तवरबाट डोर्याउने उद्देश्यका साथ अध्ययन अनुसन्धान र संश्लेषणको रुपमा मनाउन आवश्यक छ । १३५ औँ मे दिवस जिन्दाबाद ।


 


२०८१ वैशाख १६ ०७:०९ बजे

प्रतिक्रिया