लोकनारायण सुवेदीको नेतृत्वमा हालै एकीकृत भएको हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले हाल देशमा जेनजी विद्रोहका नाममा साम्राज्यवादी गुरुयोजनामा हत्या, आतंक र विध्वंस मच्चाएर गठन गरिएको वर्तमान एकपक्षीय असंवैधानिक कठपुतली सुशीला सरकारलाई मान्यता नदिएको स्पष्ट छ । त्यसमाथि यो सरकारले भ्रस्टाचारको अन्त्य र सुशासनको स्थापनाजस्ता जेनजीलगायतका सम्पूर्ण जनताका मुख्य मागहरुलाई बेवास्ता गरेर देसलाई निकास र विकास दिने गरी कुनै राष्ट्रिय राजनीतिक सहमति वा एकल प्रयास पनि गरेको छैन ।
आज देस-विदेसमा रहेका असंख्य नेपाली नागरिक मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था पनि नगरी पुनः उस्तै जनविरोधी दलालहरुको बर्चस्व हुने त्रिसँकु संसद र अस्थिर सरकार निर्माण गर्नको लागि चुनाव गराउन लागिरहेको छ । त्यस्तो संसद र सरकारले देसलाई युद्धमैदान बनाउने कुरा दृष्टि क्षितिजमा छर्लङ्ग छ । तथापि यो असामयिक र अवांछित संसदको निर्वाचन थोपर्ने दुस्प्रयास हुनु अत्यन्त चिन्ता र खेदको मात्र होइन निन्दा, भत्सर्ना र प्रत्याकमणको विषय बनिरहेकोछ ।
हाम्रो पार्टीले देसका विद्यमान समस्या थप जटिल, गम्भीर र भयावह बनाउने गरी देसले थेग्नै नसक्ने थप ऋणभार बोकाउँदै विदेसीका बलमा थोपरिएको यो संसदीय चुनावमा सहभागी नहुने निर्णय त्यत्तिकै लहडका भरमा गरेको होइन । हुन त चुनावको प्रश्न अन्ततः लेनिनले भन्नू भएझैं २४ घण्टामा बदलिने कार्यनीतिक प्रश्न नै हो । तैपनी वर्तमान सन्दर्भमा चुनाव उपयोग ( भाग लिने) वा अस्वीकार (सहभागी नहुने) दुवै नीतिको कुनै यतिखेर कुनै खास अर्थ र परिणाम नदेखिन सक्छ, तर यसको दीर्घकालीन प्रभाव र परिणाम नेपालको क्रान्तिकारी राजनीतिक आन्दोलनको इतिहासमा देखिनेनै छ ।
वास्तवमा देसमा बारबार असफल भैरहेको उही दलाल पुँजीवादी संसदीय व्यवस्था, पुरानै प्रतिकृयावादी सत्ता र यसका राष्ट्रिय हितविपरीतका संवैधानिक र कानुनी प्रावधान कायमै भएको संविधान यथावतै राखेर तिनमा कुनै सुधारसम्म ल्याउन नसक्ने कसैको स्पष्ट बहुमत वा सर्वसम्मत हुन-गराउन नसक्ने संसदको पुनः निर्माण गर्ने यो चुनाव नेपाली जनतालाई पूर्णरुपले अस्वीकार्य छ ।
प्रथमतः साम्राज्यवाद र सामन्तवादपरस्त दलाल तथा नोकरशाही पुंजीपती वर्गको बर्चस्व भएको र भैरहने विद्यमान संसदीय व्यवस्थामा सही, स्वच्छ, निस्पक्ष र धाँधलीरहित चुनाव हुनै सक्तैन । यो मूलतः देसीविदेसी पावर, पैसा, प्रविधि, प्रचार र प्रशंसा जस्ता पाँच प द्वारा प्रभावित हुन्छ र परिणाम निस्कन्छ । यसको मतलब एउटा सिद्धान्तनिष्ठ, सही, स्वच्छ, स्वाभिमानी, स्वविवेकी, स्वनिर्भर, सक्षम, समर्पित र साहसी गरिब व्यक्ति वा शक्तिले यस्तो चुनाव जित्नै सक्तैन । कथंकदा जितिहाले पनि बहुमत प्राप्त हुनै सक्तैन । कदाचित बहुमत नै प्राप्त भएपनि विद्यमान संविधान, कानुन नियम र तिनलाई लागू गर्ने पुरानो प्रतिक्रियावादी भ्रष्ट र दलाल ब्युरोक्रेसी अनि अन्य प्रतिपक्षी कठपुतली दल र नेताहरुले आधातभूतरुपमा केही राम्रो र नयाँ गर्न नै दिदैनन् । त्यो स्थितिमा न केही गर्न-गराउन सकिन्छ न त नेमकिपाका प्रेम सुवालहरुले खेलेको भन्दा बढी केही भूमिका खेल्न सकिन्छ । त्यसमाथि अहिले त अझ सुनियोजित रुपमा उत्पन्न गरिएको वर्तमान अन्यौल, अनिश्चितता र अराजकतापूर्ण यो विषम, संवेदनशील र भयावहकारी वातावरणको अन्त्य गरेर विश्वसनीय र भयरहित स्थिति सिर्जना नगरी स्वच्छ र सही निर्वाचन पनि हुँदै हुँदैन । त्यस्तो सहज अवस्थाबिना देशलाई अझ अन्योल, अराजकता, अशान्ति र अनिश्चितताको भुँवरीमा धकेल्ने तथा बाह्य हस्तक्षेपलाई अझ तीव्र र सघन तुल्याउने सुनिश्चित छ । त्यसैले फागनु २१ गते गर्ने भनिएको यो निर्वाचन नितान्त षडयन्त्रमूलक छ भनिएको हो । यो चुनावको परिणामस्वरुप देस विदेसीहरुको युद्ध अखाडा हुने र अन्ततः नेपाल राष्ट्रको स्वतन्त्र अस्तित्व नै गुम्ने भयानक खतरा देखिएकोले हाम्रो पार्टीले यस चुनावमा सहभागी भएर देस बेच्ने लाइसेन्स दिने प्रक्रियालाई इन्कार गरेको हो भन्ने कुरा बुझ्नु जरुरी छ ।
आजको यो गम्भीर र संवेदनशील राष्ट्रिय-अन्तर्राष्ट्रिय घडीमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आधारभूत समस्याहरु हल गर्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणको दिशामा अघि बढेर मात्र स्वाधीन, समृद्ध र समतामूलक राष्ट्रनिर्माण गर्न सकिन्छ । यसको लागि आज देसमा, समाजमा र पार्टीमा समेत व्यापक र सुदृढ एकता अपरिहार्य बनेको छ । तसर्थ देश र जनताको हित चाहने सम्पूर्ण अग्रगामी तथा परिवर्तनकामी शक्तिहरुको सक्रिय सहभागिता, साझा परामर्श र आम समर्थनमा अग्रगामी अन्तरिम व्यवस्थापिकारजनप्रतिनिधि सभा चाहिएको छ । नयाँ निवाचन वा सर्वोच्च अदालतबाट उस्तै त्रिसँकु र एमसीसी पास गर्ने, अस्थीरता कायमै राख्ने र भ्रष्टाचार संस्थागत र साझा गर्ने राष्ट्रघाती दलाल र भ्रष्ट सांसदहरुको बाहुल्य भएको वा हुने पुरानै वा नयाँ संसद चाहिएको होइन र छैन । त्यसैले राष्ट्रिय जीवनमा केही योगदान गरेका र गर्न सक्ने लब्ध प्रतिष्ठित स्वच्छ, इमान्दार, सक्षम र साहासी व्यक्तित्वहरुको सहभागिता रहेको सबैजसोको विश्वासिलो नयाँ, अग्रगामी र देस-जनहितकारी स्वाधीन प्रगतिशील अन्तरिम सभा जरुरी छ । त्यसै अन्तरिम सभाद्वारा आफूहरुमध्येबाट वा विज्ञहरुमध्येबाट सानो, सक्षम र जिम्मेवार अग्रगामी अन्तरिम सरकार बन्नुपर्छ । यस्तो संसद र सरकारले राष्ट्रिय स्वाधीनतालाई सुनिश्चित गर्ने, जनअधिकारलाई आधारभूत वर्गमा पुराउने, जनसंविधान पुनर्लेखन गर्ने गर्नु-गराउनुपर्छ । किसान, मजदुर लगायतका शोषित-पीडित वर्ग र दलित, महिला, आदिवासी-जनजाती आदि समुदायको विद्यमान प्रतिशतको आधारमा जनप्रतिनिधि सभामा समानुपातिक प्रतिनिधित्वलाई प्रत्याभूत गर्ने पूर्ण समानुपातिक निर्वाचन प्रणाली मात्र अवलम्बन गर्ने प्रावधान राखिनुपर्छ । यस प्रणाली अनुसार सार्वभौम जनप्रतिनिधि सभा गठन गर्ने र सो सभाले नै जनप्रतिनिधि सभाको आमचुनाव गराई नयाँ संविधानको अनुमोदन गर्ने, सबै निर्वाचित राजनीतिक शक्तिहरुबाट सबै वर्ग र समुदायका समानुपातिक-समावेसी प्रतिनिधित्वमा सहमतीय सरकार बनाउने प्रावधान पनि नयाँ संविधान अर्थात् जनसंविधानमा उल्लेख हुनुपर्छ । त्यस्तो अवस्थामा मात्र अन्तरिम सरकारले प्रतिनिधि सभाको चुनाव गराएमा भाग लिनुको अर्थ र महत्व हुन्छ । यसरी गराइने र हुने चुनावमा पैसाको खोलो बगाई लड्ने र जित्ने अनि घुस-भ्रस्टाचार गरेर अकुत धनरासी जम्मा गरेर पुनः चुनाव जित्ने चुनावी परम्पराको साथै भ्रस्टाचारको एउटा कारणको पनि अन्त्य गर्दछ । यसरी मात्र सही राजनीतिक पार्टी र नेताहरुको योगदान र बलिदानको, योग्यता र क्षमताको मूल्यांकनको आधारमा स्वच्छ, निष्पक्ष र धाँधलीरहीत चुनाव हुन सक्छ । फेरि यस्तो चुनाव अहिलेको व्यक्तिकेन्दृत प्रत्यक्ष निर्वाचन होइन पार्टी केन्दृत पूर्ण समानुपातिक निर्वाचन मात्र राष्ट्रका लागि जरुरी छ ।
हाम्रो जिम्मेवार क्रान्तिकारी पार्टी नेपाल कम्युनिस्ट पार्टीले भनेझैं आजको चरम भ्रष्टाचार, परम अस्थिरता, घोर अन्यौल र असीम अराजकताको स्थितिबाट देसलाई सही दिशामा अघि बढाउने प्रस्थान विन्दू र उपयुक्त विकल्प हुन सक्नेझ कुरामा कुनै शंका छैन ।
त्यसैले आज दिनप्रतिदिन नेपाली जनता र राष्ट्रको निम्ति थेग्नै नसक्ने बोझ थोपर्ने अत्यन्तै अवांछित, असामयिक र अस्वाभाविक रुपमा लादिएको यो चुनाव पूर्णतस् अस्वीकार्य र विरोध-भण्डाफोरयोग्य छ भनिएको हो । तसर्थ विद्यमान स्थितिमा यो नाटकीय निर्वाचनको डंका पिटिंदै गरेकोले त्यसको भ्रममा नपर्न, सहभागी नहुन, मतदान नगर्न र कसैप्रति समर्थन वा सहानुभूति नजनाउन तथा जनतालाई यस्तो षडयन्त्रमूलक चुनावी नाटकको यथार्थप्रति सचेत, संगठित र संघर्षरत तुल्याउनको लागि क्रियाशील हुन हाम्रा सम्पूर्ण पार्टी पंक्तिलाई हालै एक अपिलमार्फत पार्टीले जरुरी निर्देशन गरेको हो भने राष्ट्रिय मुक्ति र जनक्रान्तिका सम्पूर्ण समर्थक-शुभचिन्तक र आम न्याय-समानता र स्वतन्त्रता प्रेमी जनसमुदायमा यो चुनावमा सहभागी नभै संघर्षमा (एकल पार्टी आयोजना र बहुपार्टीको संयुक्त आयोजनाका सशक्त आन्दोलनमा ) सहभागी हुन समेत हार्दिक आग्रह गरेको हो । यही निर्देशन र आग्रहलाई पूर्णअनुशासनबोध र जिम्मेवारीबोध गरेर निर्धारित नीति, कार्यक्रम र दिशामा सम्पूर्ण पार्टी कामरेडहरु र आम जनसमुदाय अत्यन्त संवेदनशील र गम्भीर बनेर पूर्ण विश्वास र समर्पणका साथ लाग्नु जरुरी छ । यही नै यतिखेरका हामी सचेत र जिम्मेवार क्रान्तिकारी शक्ति-समूह, वर्ग-समुदाय, संघ-संस्था, मंच-मोर्चा, अभियान-आन्दोलन र व्यक्ति-व्यक्तित्व लगायत सम्पूर्ण जनताको अहं कार्यभार हो ।धन्यवाद २०८२ माघ २१ (लेखक- नेकपाका नेता हुनुहुन्छ)
प्रतिक्रिया