कुनै पनि संगठन, आन्दोलन वा संघर्षको सफलता सही विचार वा साहसमा मात्र निर्भर हुँदैन। त्यसको निर्णायक आधार निर्णय कसरी हुन्छ? कार्यान्वयन कसरी सुनिश्चित हुन्छ? र सूचना कसरी प्रसारण हुन्छ ? भन्ने यही आधारलाई समेट्ने वैज्ञानिक अवधारणा हो कमाण्ड, कन्ट्रोल र कम्युनिकेशन (3c)। 3c बिना विचार दिशाहीन हुन्छ। कमाण्ड (Command )भनेको दिशा प्रदान गर्ने निर्णय क्षमता हो। यो व्यक्ति–केन्द्रित अधिकार होइन राजनीतिक लाइन, रणनीतिक उद्देश्यको सर्वोच्चता हो। स्पष्ट कमाण्डले उद्देश्य तय गर्छ, प्राथमिकता क्रमबद्ध गर्छ र जोखिमका क्षणमा द्रुत निर्णय सम्भव बनाउँछ।
राजनीतिक कोणबाट हेर्दा, कमाण्डको केन्द्रमा वर्गीय दृष्टिकोण र कार्यदिशाको स्पष्टता हुन्छ। जहाँ राजनीतिक कमाण्ड कमजोर हुन्छ, त्यहाँ अवसरवाद हुर्कन्छ र सम्झौता परस्त व्यबहार जन्मिन्छ।संगठनात्मक कोणबाट, कमाण्ड संरचनाको स्पष्टता हो, को, कहाँ, कहिले र के का लागि जिम्मेवार भन्ने कुरा प्रष्ट हुँदा मात्र निर्णय वैध र प्रभावकारी हुन्छ।क्रान्तिकारी वा संघर्षात्मक कोणबाट, कमाण्ड निर्णयको एकता हो। संकटका क्षणमा अत्यधिक बहस निर्णयहीन बन्छन त्यसैले कमाण्ड दृढ तर विवेकपूर्ण हुनुपर्छ।
सैन्य कोणबाट, कमाण्ड निर्णयको एकता (Unity of Command) हो। इतिहासले देखाएको छ, कमान विभाजित हुँदा सङ्ख्या र साधन हुँदाहुँदै पनि पराजय निश्चित हुन्छ।कन्ट्रोल (Control) भनेको दिइएका निर्णयहरु व्यवहारमा कति, कसरी र कस्तो प्रभावका साथ लागू भए भन्ने निरन्तर निगरानी र मूल्याङ्कन हो। कन्ट्रोल बिना कमान्ड कागजमा सीमित हुन्छ।राजनीतिक रूपमा, कन्ट्रोलले लाइनको कार्यान्वयन परीक्षण गर्छ, विचलनको पहिचान, आत्मआलोचना–आलोचनाको अभ्यास र आवश्यक कारबाही। कन्ट्रोल कमजोर भयो भने पार्टीभित्र दुई लाइनको सहअस्तित्व जन्मिन्छ।
संगठनात्मक रूपमा, कन्ट्रोल अनुशासनको मेरुदण्ड हो। नियमित रिपोर्टिङ, जिम्मेवारीअनुसार मूल्याङ्कन र उत्तरदायित्व यसैका हिस्सा हुन्। यो चेतन अनुशासन हो। क्रान्तिकारी सन्दर्भमा, कन्ट्रोल सुरक्षा र निरन्तरताको प्रश्न बन्छ। गोपनीयता, समयपालन र निर्देशनको पालना कमजोर भयो भनेअनावश्यक क्षति र दमन निम्तिन्छ।सैन्य दृष्टिले, कन्ट्रोल आदेशको प्रभावकारिता हो। आधुनिक सैन्य सोचमा उद्देश्य बुझेर पालना गर्ने अनुशासनलाई प्राथमिकता दिइन्छ।
कम्युनिकेशन (Communication) भनेको सूचना, अनुभव र निर्णयको प्रवाह हो। यदि कमाण्ड मस्तिष्क हो भने, कम्युनिकेशन संगठन वा युद्धको स्नायु प्रणाली हो। राजनीतिक कम्युनिकेशन सूचना मात्र होइन, चेतना निर्माणको प्रक्रिया हो। राजनीतिक लाइनलाई जनभाषामा रूपान्तरण गर्नु यसको सार हो।संगठनात्मक कम्युनिकेशन आन्तरिक जीवन हो ।माथिबाट तल र तलबाट माथि संवाद, निर्णयको स्पष्ट व्याख्या र असहमति व्यक्त गर्ने सुरक्षित च्यानल हो। क्रान्तिकारी कम्युनिकेशन सही समयमा सही सन्देश हो। ढिलो सूचनाले हारतर्फ धकेल्छ, गलत सूचनाले विनाशतर्फ डोर्याउछ।सैन्य कम्युनिकेशन युद्धको नाडी हो।युद्ध मैदानको वास्तविक अवस्था कमाण्ड सम्म र आदेश फौजसम्म समयमै नपुग्दा युद्ध हारिन्छ। इतिहासमा धेरै युद्ध हतियारले होइन, सूचना विफलताले हारिएका छन्।
कमान, कन्ट्रोल र कम्युनिकेशन अलग–अलग तत्व होइनन्। तिनको सन्तुलित एकताले मात्र संगठन र संघर्षलाई शक्ति दिन्छ। कमान छ तर कम्युनिकेशन छैन भने आदेश पुग्दैन। कम्युनिकेशन छ तर कन्ट्रोल छैन भने उल्लङ्घन र भ्रम फैलिन्छ। कन्ट्रोल छ तर कमान कमजोर भयो भने यान्त्रिकता हुन्छ, शृजनशीलता हुदैन।
आज सूचना सञ्चार तीव्र गतिमा छ , व्यक्तिवाद बलियो छ र अनुशासनलाई अप्रजातान्त्रिक भन्ने भ्रम फैलाइएको छ। यस्तो अवस्थामा सुदृढ 3c लोकतन्त्रको विरोध होइन सचेत, संगठित र लक्ष्यकेन्द्रित लोकतान्त्रिक अभ्यास हो।
निष्कर्षमा, कमाण्ड दिशाको एकता हो, कन्ट्रोल कार्यान्वयनको सुनिश्चितता हो र कम्युनिकेशन चेतना हो। राजनीतिक, संगठनात्मक, क्रान्तिकारी र सैन्य सबै कोणबाट 3c शक्ति निर्माणको विज्ञान हो। बलियो साधनले होइन, बलियो 3c ले कठिन परिस्थितिमा पनि निश्चितरूपमा लक्ष्यतर्फ अघि बढ्न सकिन्छ।
प्रतिक्रिया