श्रमलाई ऊ महत्व दिँदैन । श्रमिकलाई घृणा गर्छ । श्रमिकहरूकै बलमा, श्रमकै जगमा संसारमा मानव जातिले आफूलाई यहाँसम्म ल्याइपुऱ्याएको हो । तर ऊ श्रम र श्रमिकको मान गर्दैन ।
किन ?
किनभने, उसको मन-मस्तिष्कभित्र अझै दासयुगीन सामाजिक मूल्य र मान्यताहरू ज्यूँदा छन् ।दास युगमा शासक वर्गमा मालिकहरू पर्थे, सेनानीहरू र राजाहरू पर्थे । तमाम दासहरू, किसानहरू, स्वतन्त्र कालिगढहरू र ब्यापारीहरू शासित वर्गमा पर्थे ।
शासकहरूको पक्षमा हुने रीतिरिवाज, चालचलन, मानवीय रूची,बानीब्यहोरा, मेला, चाड, उत्सव र कला-साहित्य आदि नै कुनै पनि समाजको प्रभुत्वशाली संस्कृति हुने हुनाले त्यतिखेर पनि मालिकहरू, सेनानीहरू र राजा रजौटाहरूको पक्षको संस्कृति नै बलशाली संस्कृति थियो । शोषित वर्गले आफ्नो चेतना र प्रयत्नको बलले यसको प्रतिरोधमा प्रगतिशील संस्कृतिको निर्माण गर्ने प्रयत्न नगरेको अवश्यै हैन । तर पनि शोषकहरूले आफ्नो यथास्थितिवादी र प्रतिकृयावादी संस्कृति समग्र समाजमा लाद्ने काम गर्ने हुनाले त्यतिखेर पनि समाजमा प्रगतिशील संस्कृति प्रभूत्वमा थिएन ।
दास-मालिकहरूको मूल विषेशता के हो भने, उनीहरू आफू काम गर्दैनथे । दासहरूलाई बिना पारिश्रमिक पशुलाई जोताएझैं उनीहरू जोताउने गर्थे । दासहरूको श्रमव्दारा नै खेती हुन्थ्यो, घरहरू बन्थे, ढुवानी हुन्थ्यो, लुगा, भाँडाकुँडा बुन्थे । तर उनीहरूले ती कामहरूको मूल्य पाउँदैनथे । पुस्तौंपुस्तासम्म ती कामदारहरू दासको दास नै रहन्थे । ती गरीखाने दासहरूलाई नीचु देखाउने र बसीखाने शोषक, ठग, अल्छी मालिकहरूलाई उँचो देखाउने सांस्कृतिक परम्पराको विकास त्यतिखेर भयो ।
–बसी खाने अल्छी, ठग, चतुर मालिकहरू महान् हुन् ।–काम गर्ने दासहरू हेय प्राणी हुन् ।–काम नगरी ठालू पल्टिनु ठूलो कुरा हो । काम गर्नेहरू जन्मैले तल्लो तहका हुन्, वंश वा जातैले तल्लो तहका हुन् ।
–काम नगर्ने, कुरामात्र खाने मालिकहरू जन्मैले, वंशैले वा जातैले माथिल्लो तहका हुन् । त्यसैले कुरा मात्र गरीखाने ब्राम्हण ठूलो जात, काम गर्ने कामी, दमाई, सार्की सानो जातका हुन् ।यस्ता मूल्य मान्यतायुक्त सामाजिक विचारहरू त्यतिखेर बनाइए र प्रचार गरिए । पुतौंपुस्ता लामो प्रचारपछि विचरा शोषित र असचेत दासहरू स्वयंले पनि यी विचाहरूलाई सहजै स्वीकारे ।
–हो, हामी काम गर्नेहरू त त्यसै पनि नीच नै त हौं ।–हो त, श्रम गर्नु भनेको तुच्छ काम नै त हो ।–हामी श्रमिकहरू- छि हाम्रा मालिकहरू- अहो असचेतनाका कारण यसरी सोच्न थाले स्वयं दासहरूले पनि ।
बस् यही कुरा आजसम्म पनि हाम्रो समाजमा ज्यूँदै भएको हामी पाउँछौं । श्रम र श्रमिकलाई हेर्ने यो दासयुगीन मान्यता अझै हाम्रा नशानशामा यो वा त्यो रूपमा ज्यूँदै रहेका छन् ।
दासयुगीन यो मान्यतालाई त्यसपछि उदय भएको सामन्ती समाजले पनि रूपमा मात्र थोरै परिवर्तन गरी, सारमा जस्ताकोतस्तै अपनाउने काम गर्यो । त्यसैले पनि हाम्रो जस्तो सामन्ती संस्कृतिको बाहुल्य भएको समाजमा काम वा श्रमलाई हेर्ने दृष्टिकोणमा बाहिरी रूपमा केही बदलाव आएपनि सारमा यो दास-समाजकालीन मानसिकतामै बाँचीरहेको छ । शहर बजार, जहाँ पूजीवादी अर्थतन्त्र र जीवनशैलीको प्रभुत्व बढ्दैछ, त्यहाँ पनि धेरैको मानिसिकता पुरानै दासयुगीन खालको छ । अझैं पनि हामीकहाँ लोग्नेले घरमा भाँडा माझ्दा, धनीका छोराले भारी बोक्दा वा श्रम गर्दा, हकर बनेर पत्रिका बेच्दा जातै जान्छ भन्ठानिन्छ । यो भन्ठानाइ दासयुगीन संस्कृतिको अवशेष नै हो ।
नेपालमा बैज्ञानिक संस्कृतिको विकास किन भएन भन्ने विषयको एक लेख (मूल्यांकनमा प्रकाशित ) मा दीपक ज्ञवालीले हाम्रो समाजमा छोरीको विहे कामै नगरी खाने परिवारमा गराउँदा आमा-बाबु बढी गौरवान्वित हुने गरेको घटनाको उदाहरण दिनु भएको थियो । यो गौरव-बोध भनेको दास-समाजकालीन मूल्य-मान्यताकै अवशेष हो भनी उहाँले उल्लेख गर्नु भएको थियो । कामै नगरी दिन बिताउनु भनेको त एकदमै घटीया कुरा हो । तर पनि यसैलाई ठूलो ठान्ने र काम नगर्नु पर्दा भाग्यमानी भएको ठहर गर्ने चलन यहाँ प्रशस्तै भेटिन्छ ।
–छिः छोरी बुहारीलाई पनि के जागीरमा लगाउनु ? छोरी बुहारीको कमाइ पनि के खानु ? एउटा दास-मानसिकतायुक्त आधुनिक शहरिया घरानीया व्यक्ति आज छिमेकीसँग यसो भनीरहेछ ।–त्यो त एकदमै ज्यामी जस्तो झुत्रे छ यार ?आधुनिक शहरिया युवक स्कूलमा कुनै श्रमिक परिवारबाट आउने सहपाठीबारे यसरी अपमान जनाएर कुरा काटीरहेछ ।
–थुइक्क गधा, थुईक्क गोरू पिठ्यूँमा अटेसमटेस भारी बोकेर श्रम गरी मानव जातिको सेवा गर्ने गधा र जमीन जोतेर सेवा गर्ने गोरूको नामलाई गालीको रूपमा प्रयोग गरिरहेछन् अझै थुप्रै शिक्षित आम नागरिकहरू ।
यदि श्रमको कदर गरिन्थ्यो भने। गधा र गोरूजस्ता प्राणीहरू सम्मानसूचक तरीकाले पो प्रस्तुत हुन्थे त ।श्रममूलक काम गर्न, खेती गर्न भारी बोक्न, तरकारी वा पत्रिका बेचीहिंड्न लाज मान्छ, पढेलेखेको एउटा बेरोजगार युवक । बरू हल्लिएर हिँड्न र कामचोर बनेर हिँड्न, आमा, दिदी- बहिनी, श्रीमतीलाई काममा जोताएर उनीहरूको श्रममा मोजमज्जा गर्न भने उसलाई लाज लाग्दैन । दास युगको कुनै दास-मालिकले सोचेझैँ सोच्छ ऊ अझै ।
गाउँमा, टोलमा वा देशमा भएका र नगरी नहुने श्रममूलक कामहरू गर्न संकोच मान्ने, अनि विदेशमा भने जस्तो पनि काम गर्ने जुन प्रवृत्ति आज धेरै युवाहरूमा देखिएको छ, त्यो प्रवृत्ति पनि यही दासकालीन मान्यताकै उपज हो । आज देशमा तिनै काम गर्दा बेइज्जती भएको ठान्ने तर आफन्तहरू कसैले नदेख्ने ठाउँ, विदेशमा चाहिँ जस्तो काम गर्न पनि तयार हुनेहरूको बगालै पैदा भएको छ ।–देशमा किसानी गर्न लाजु हुने, विदेशमा घरेलु--नोकर हुन लाज नहुने ।
–देशमा घरघर तरकारी बेचेर हिँड्न लाज लाग्ने, विदेशमा सडक सुरक्षाहकर भएर हिँड्न लाज नहुने ।–काम गरेर घरको मालिक हुन लाज हुने, विदेशमा विदेशीको नोकर हुन लाज नहुने ।–आफैंले बोक्न सकिने भोला, पोकापन्तरा आफूले बोक्न नहुने, भरिया लगाएर बोकाउनु पर्ने ।
–रातदिन घरमा अर्को कुनै खास काम छैन, जागिर इलम पनि केही छैन । बिना श्रम बसीबसी खानाले शरीर मोटाएर समस्या भैसकेको छ । तर पनि घरको काम आफूले गर्नु नमिल्ने, इज्जत जाने । घरेलु नोकर नै खोज्नु पर्ने ।
–दास नै नपाए, घरमा महिलाहरूलाई नै दास ठान्ने । घरभरि सक्षम पुरूषहरू हुँदाहुँदै पनि केही दिन महिलाहरू घरबाहिर जान लाग्दा प्रश्न गर्ने अनि घर भात भान्सा कसले गर्ने नि ? यसो भन्नेहरू बाहेक काममा कजाएर कमैया र हलीहरू राखी तिनलाई सताउने ज्यूँदा दास- मालिकहरू पनि यहाँ ठाउँठाउँमा अझै छन् ।
घरेलु नोकर र बाल श्रमिकलाई अत्याचार र शोषण गर्ने क्रुर र निर्दयी शोषकहरू शहरबजारमा असंख्य छन् । काम र कामदारलाई गर्ने हेला र घृणाको पराकाष्ठाको रूपमा शासकहरूले जन्माएको छुवाछुत प्रथा त हाम्रो समाजको ठूलो बिस्तृतिमा फैलिएको ज्यूँदो कलंक नै भैहाल्यो । यो पनि दास प्रथात्मक व्यवहारकै माथ्लो रूप हो ।
दासयुगीन मूल्य-मान्यताको जगमा शोषक मालिकपक्षीय अहंकार र प्रभुत्ववादकै हाराहारीमा आत्मसमर्पणवादी शोषित हीनताबोधी संस्कृति पनि संगसंगै जन्मिएको कुरा माथि पनि गरियो ।
–हो त, हजुर हामी नींच हलीहरू नै हौं ?
–हेर छोरा, हामी नीचा जातिका मान्छेहरूले विष्ट-मालिकहरूको नूनको सोझो गर्नुपर्छ । हामीहरू उनीहरूका सामु निहुरनु पर्छ ।”
–हो त, आईमाई भएर पनि त्यस्तो ठाड्ठाडै बोल्नु हुन्छ त र ?–मालिकहरू भनेका भगवानै हुन्, तिनको जय होस् ”–“म हजूरको पाऊको धुलो हुँ हजूरको पाउको अनन्य सेवक म फलानो हुँ।
यस्ता असंख्य अभिब्यक्तिहरू वरिपरि हाम्रो समाज गुज्रिरहेको छ। काम वा श्रमसंग जोडिएका श्रमिकहरूलाई शोषण र हेपाइ, अपमान गर्ने कुसंस्कारको पाटोसँगै यसको अर्को पाटो पनि हाम्रो समाजमा पाइन्छ ।–आफूलाई नरम र सम्मानसूचक बचन गर्नेलाई हेप्ने, तर आफूलाई हकार्ने र दुत्कार्नेहरूका सामु भने तुरून्तै गल्ने र राम्रो व्यवहार गर्न थाल्ने प्रवृत्ति । –सके आफू मालिक बन्ने र अर्कोलाई दास बनाइहाल्ने, नसके आफू पनि अरूको दासै बन्ने । सानालाई आफ्नो चाकडी गराउने र आफू चाहिँ आफूभन्दा ठूलाको चाकडी गर्ने-प्रवृत्ति ।
–साहित्य-कलामा सामन्त, राजा- महाराजाहरूको स्तुति र चाप्लुसी गरी आपूलाई र श्रमिक जनतालाई आशामुखी र दयाको भिखारी का रूपमा प्रस्तुत गर्ने प्रवृत्ति ।यी पनि दासयुगीन मूल्य मान्यताकै उपज प्रवृत्तिहरू हुन् ।
काम वा श्रमलाई दासयुगीन सोच अनुसार लिने प्रवृत्तिको शिकार भएका छन। हाम्रा कार्यालयहरू र कार्य-थलोहरू पनि । त्यहाँ कतिपय ठाउँमा हाकिम वा पूँजीपति वा व्यवस्थापकले पिउन, कामदार र तल्ला कर्मचारीहरूलाई दासजस्तै व्यवहार गर्छ एकातिर भने अर्कातिर, कतिपय कामदार वा कर्मचारीहरू पनि बरू गफ गरेर वा हल्लिएर समय खेर फल्छन् तर काम चाहिँ गर्दैनन् । अनि चाहिन्छ हिजो दासयुगीन मालिकले दासलाई कोर्रा लगाएर काम गराउने गरिएको बेलाकै जस्ता कोराहरु( हप्की, गाली, छड्के हाजिरी वा यस्तैयस्तै) कुराहरू । एउटा गाउँमा स्कूलमा जाने पनि, तर विद्यार्थीहरूको पढाइ सञ्चालन नगरी उनीहरूलाई कक्षामा छोडेर नजिकको चौतारीमा तास खेल्न जाने केही शिक्षकहरूलाई देख्दा पनि यो लेखकका मनमा यही कोर्स कै कुराको संझना भएको थियो ।
पाठकबृन्द दासयुगीन मूल्य मान्यताले ग्रस्त केही सांस्कृतिक प्रवृत्तिबारे माथि गरिएको छोटो चर्चाकै क्रममा यो दास-संस्कृति हाम्रो वाम आन्दोलनभित्र चाहिँ कसरी र कत्ति मात्रामा बाँचिरहेको छ भन्ने कुरा केलाउने जिम्मा यहाँहरूलाई नै । हाम्रा राजनीतिक संगठनहरूमा, संगठनका तह तहमा, नेता र कार्यकर्ताका सम्बन्धमा, नेता-कार्यकर्ता र जनताका सम्बन्धमा, नेता नेताका सम्बन्धमा, कार्यकर्ता-कार्यकर्ताका संम्बन्धमा, संगठन- संगठनका संम्बन्धमा, तिनका प्रकृयामा, तौरतरिकामा, मानसिकतामा, बानी ब्यहोरामा एवं चाँजोपाँजो र रुची - संस्कारमा हामीले गौर गरेर हेर्यो भने त्यहाँ पनि थुप्रै यस्ता विकारहरू भेटिनेछन्, जसलाई हामीले जगैदेखि उखेलेर मिल्काउनु जरूरी छ । के के होलान् ती उखेलेर मिल्काउनु पर्ने कुराहरू ?
–मूल्याङ्कन मासिक २०५६ असोज अङ्कमा वाट
प्रतिक्रिया