खोदा पहाड, निकला चुहा

bimbonline दिपक पौडेल
२०८० चैत्र १६ ०८:२३ बजे
दिपक पौडेल

नेकपा (मसाल)को नवौं महाधिवेशन केही महिनामा सम्पन्न हुने विभिन्न माध्यमद्वारा जानकारी प्राप्त भएको छ । यो महाधिवेशनले न त देशको राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्न सक्ने निर्णय गर्नेछ न त पार्टीको आन्तरिक जीवनमा उत्साह पैदा गर्नेगरी कार्यक्रम तय गर्नेछ । उही नेतृत्व, उस्तै नीति यो महाधिवेशनको विशेषता हुनेछ । यो महाधिवेशनले विगतका नीति र कार्यक्रमको सुक्ष्म मुल्यांकन र गम्भीर समीक्षा गरेर क्रान्तिकारी नीति तथा कार्यक्रम तय गर्ने कुनै सम्भावना देखिन्न बरु विगतमा भएका गल्ती कमजोरीलाई सही सावित गर्न विभिन्न परिस्थितिको निर्माण र शब्द जालमा कार्यकर्तालाई अलमल्याएर देशको सच्चा क्रान्तिकारी शक्ति भएको घोषणा गरिनेछ । सशक्त वैचारिक प्रतिवादको कुनै सम्भावना देखिन्न ।

यसै सन्दर्भलाई लिएर नेकपा (मसाल) का कार्यकर्ता अखिल (छैटौं) का पूर्व अध्यक्ष विमल पोखरेलले मसालको नवौं महाधिवेशनसम्बन्धी लेख पढ्नको लागि समय निकाल्न भन्दै सामाजिक सञ्जालमा पोष्टाएका थिए । आज शिलापत्र डटकममा “जडशुत्रवादले नेकपा मसाल भेन्टिलेटरमा” भन्ने शिर्षकमा लेखिएको उनको लेख पढ्दा “खोदा पहाड निकला चुहा” जस्तै भयो ।

लेखमा कुनै नौलो विषय छैन । विगतमा विभिन्न कामरेडहरुले उठाउँदै आएका विषयलाई आफ्नो शैलीमा प्रस्तुत मात्रै गरेको देखिन्छ । महाधिवेशनका सन्दर्भमा सार्वजनिक रुपमा नेतृत्व र नीतिको आलोचना गरिएको हुनाले लेख पढ्दा रोचक भने लाग्ने नै भयो । लेखकले मोहनविक्रम सिंहको स्वेच्छाचारी प्रवृत्ति, कार्यकर्ताको दास मानसिकता, वैचारिक तथा सांगठनिक असफलता लगायतका विषयमा सही टिप्पणी गरेको पाइयो । चित्रबहादुर केसी र मोहनविक्रम सिंहको कोहोलो काड्दा विक्रम पत्नी दुर्गा पौडेलको प्रशंसा गरेको देखिन्छ, यसले लेखक कारवाहीबाट जोगिन दुर्गा पौडेलको सहारा लिएको प्रष्ट बुझ्न सकिन्छ । गलत नीति विस्थापित गर्न सही नीति र गलत नेतृत्व विस्थापित गर्न सही नेतृत्व स्थापित गर्नुपर्ने कडीलाई नपक्रेर दोस्रो तहका नेतृत्वदेखि पाँचौ तहका नेतृत्व तथा कार्यकर्ता काम नलाग्ने भएको तर्क अगाडि सारेर आफु बाहेकका सबैको अपमान गरिएको छ र नेतृत्वमा मोहनविक्रमको विकल्प नरहेको भनी नकारात्मक रुपले मोहनविक्रमको पक्षमा बाहिरी वातावरण तयार पारिएको छ ।

लेखक मसाल कार्यकर्ता पोखरेलले केही सैद्धान्तिक र संगठनात्मक पद्धतिमा परिवर्तन गरी नयाँ शैलीमा पार्टी चलाउन पर्ने कुरा उठाएका छन । तर नयाँ शैली कस्तो हो ? के हो ? उल्लेख गरेको देखिन्न । सुचना संचारको विकास भएको छ, अब अन्तरसंघर्ष होइन, सार्वजनिक रुपमा संघर्ष गर्नुपर्छ भन्ने धारणा नौलो धारणा पनि होइन । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनमा यसप्रकारका कुराहरु उठ्ने गरेका थिए । डा. बाबुराम भट्टराईले २०४६\४७ सालमा “लुतो कन्याउन पाउनु पर्छ” भन्ने लेख लेखेर पार्टीको आन्तरिक विषयमा सार्वजनिक आलोचना गरेका थिए । अहिले एमाले, माओवादी केन्द्रमा सार्वजनिक रुपमा आलोचना गर्ने प्रवृत्ति बढेर गएको देखिन्छ । के लेखकले त्यस्तै गर्नुपर्छ भन्न खोजिएको हो ? होइन भने कस्तो नयाँ ? अरु कुनै नयाँ छ भने कम्युनिस्ट आन्दोलनको सम्पत्ति हुनेछ ।

कम्युनिस्ट पार्टीको अवको कार्यक्रम जनवादी हुने वा समाजवादी हुने ? यस विषयमा व्यापक छलफल चलेको छ र चलाउन पर्दछ । नेकपा (मशाल), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नयाँ जनवादी कार्यक्रम भनेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टीले समाजवादी कार्यक्रम भन्दछन् । नेकपा (विप्लव) ले एकीकृत जनक्रान्ति भन्दछ । लेखकको क्रान्तिको मोडेल कस्तो हो ? व्यापक रुपमा आउँदा सबैलाई बुझ्न सहज हुने थियो । नेपालको परिस्थितिमा मेल खाने क्रान्तिको स्वरुप र क्रान्तिकारी आन्दोलन अगाडि बढाउने ठोस योजना आएमा नेपालको कम्युनिस्ट आन्दोलनलाई ठूलो सम्पत्ति प्राप्त हुने थियो ।

तर नयाँको नाममा कम्युनिस्ट आन्दोलनमा थप भ्रम छर्ने कार्यलाई सही मान्न सकिन्न ।सच्चा कम्युनिस्टहरुले अहिलेसम्म मान्दै आएको सिद्धान्त हो, बल प्रयोगको सिद्धान्त । सत्ता प्राप्तिको निम्ति बल प्रयोग अनिवार्य सर्त हो । पछि गैर कम्युनिस्टहरुले शान्तिपूर्ण तरिकाले निर्वाचन प्रकृयाद्वारा सत्ता प्राप्त गर्न सकिन्छ । बल प्रयोगको सिद्धान्त गलत छ भन्ने तर्क राख्दै आएका छन् । बल प्रयोगको तरिका देश काल परिस्थिति अनुसार फरक फरक हुन सक्दछ । नेकपा (मशाल) ले शसस्त्र जनविद्रोहको नीति लिएको छ । लेखकले अब युद्धको बलमा क्रान्ति नहुने ठोकुवा गरेका छन् । कम्युनिस्ट पार्टीले सत्ता प्राप्त गर्ने संघर्षको स्वरुप कस्तो हुने ? वा निर्वाचन प्रकृयावाट क्रान्ति सम्पन्न गर्ने ? लेखमा खुलाएको भए बुझ्न सजिलो हुने थियो । एउटा लेखमा सबै कुरा नअटाउने भएर होला । लेखकले एउटा दस्तावेज तैयार पारेर सार्वजनिक छलफल चलाउँदा ठिकै होला । लेखकले उठाएका अधिकांश सैद्धान्तिक विषय नेकपा (मसाल) र मोहनविक्रम सिंहसँग मिलेको देखिन्छ । मसालको आठौं महाधिवेशनमा बहुमतले पास गरेको दस्तावेजमा भनिएको छ – देश काल परिस्थिति अनुसार सशस्त्र संघर्षको सट्टा शान्तिपूर्ण आन्दोलन र निर्वाचनलाई लिन सकिन्छ । संविधान समाजवाद उन्मुख छ, त्यसलाई कार्यान्वयन गर्न जोड दिनुपर्दछ । उल्लेखित विषयले बल प्रयोग र जनवादी कार्यक्रम मसालले छोडिसकेको छ । लेखकलाई त्यो अध्ययन गर्न सुझाव दिन चाहन्छु । चित्रबहादुर केसीको मपाईत्वको खिल्ली उडाउँदै आफ्नो मपाईत्वले आकाश छोएको ख्याल गरिएको छैन । अन्त्यमा लेखकको कुनै कम्युनिस्ट पार्टी निर्माण र कम्युनिस्ट आन्दोलनको विकासका लागि गरिएको प्रयत्न नभएर चरम महत्वकांक्षा र पार्टीलाई झन् दक्षिणपन्थी दलदलमा लैजान गरिएको प्रचारप्रसार मात्रै हो भन्दा न्याय हुनेछ ।

(लेखक-   नेकपा(मशाल) निकट अखिल (छैठौँ)का अध्यक्ष हुनुहुन्छ)
२०८० चैत्र १६ ०८:२३ बजे

प्रतिक्रिया