फागुन २१ को सम्झना सुखानीका सहिद परिवार के गर्दैछन ?

bimbonline राम वहादुर वुढा
२०८० फागुन २२ ०६:४३ बजे

झापा। चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा ५ जना बन्दीहरूलाई २०२९ फागुन २१ गते झापाको सुखानी जङ्गलमा पुर्याएर तत्कालीन पन्चायती सत्ताका प्रहरीहरूले हत्या गरेका थिए । सहिद परिवारहरू अहिले के गर्दै होलान् भन्ने जिज्ञासा हुनु स्वभाविकै हो । यहाँ सहिद परिवारको स्थितिबारे संक्षिप्तमा लेखिनेछ ।

सुखानीका सहिदहरू पाँच जना हुनुहुन्थ्यो– रामनाथ दाहाल, नेत्र घिमिरे, बिरेन राजवंसी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठ । रामनाथ दाहाल तेह्रथुमको आठराईबाट झापाको चारपाने बसाइँसराइ गर्नु भएको थियो । सामन्यतया उहाँ हुने खाने परिवारकै हुनुहुन्थ्यो । उहाँका नम्बरी २५ विघा र झोडाको ३५ बिघा जमिन थियो । भूमि सुधार अन्तर्गत ३५ विघा जमिन सम्बन्धित मोहीलाई दिनु भएको थियो । उहाँले शिक्षण पेशा पनि अपनाउनुभएको थियो । सुरुमा उहाँलाई बुबा आमाले पहाडमै एउटी सिटौलाकी छोरी विवाह गराइदिनु भएकोथियो । जाइजन्मनहुँदै सिटौलाकी छोरीको निधन भए पछि उहाँले जानुका ओली सित बिबाह गर्नु भयो । जानुकाका तर्फबाट ४ छोरी छन् ।

पछि उहाँले २०२५ मङ्सिर २० मा बिशेश्वरा दाहाल सित बिवाह गर्नु भयो।बिशेश्वराका तर्फबाट २ छोरा छन । जेठो छोराका परिवार अष्ट्रेलिया तिर बस्दछन । बिशेश्वरा दाहाल काठमाडौं सुकेधारामा आफ्नो कान्छो छोरा प्रबिण सित बस्नुहुन्छ । जानुका चाहिँ बृद्ध उमेरमा झापा चारपाने बस्नु हुन्छ । २०४६ मा बहुदल आए पछि बिशेश्वरा एउटा मानव अधिकार संगठनमा काम गर्नु भयो । त्यो संगठन मार्फत उहाँले कैयौं सहिद परिवारका छिराछोरीहरुको रेखदेख गर्ने ,पठनपाठनमा ध्यान दिने पनि गर्नु भयो । २०६४ को संविधान सभाको निर्बाचनमा समानुपातिक तर्फबाट उहाँ सभासद बन्नु भयो । अहिले उहाँ नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार हुनुहुन्छ ।

नेत्र घिमिरेकी श्रीमती जीवन घिमिरे हुनुहुन्छ । नेत्र झापा गरामनीका हुनुहुन्थ्यो । नेत्रको परिवार पनि तेह्रथुमको आठराईबाट बसाइँसराइ गरी झापा आएको थियो । उहाँको जीवन कुमारी घिमिरे सित २०२६ साल फागुनमा विवाह भएको थियो । नेत्र घिमिरेका दाजु धर्म घिमिरे लामोसमय जेलजीवन बिताउनु भएको थियो । पछि गाडी दुर्घटनामा परी धर्मको मृत्यु भयो । जीवन कुमारी घिमिरेका दुई छोरी दिब्य दाहाल र कल्पना उप्रेती हुनुहुन्छ । जीवन कुमारी अहिले काठमाण्डौको गोठाटारमा कान्छी छोरी– ज्वाइँ सित बस्दै आउनु भएकोछ। कान्छा ज्वाईले त्यहाँ एउटा निजी स्कुल चलाउनु भएकोछ । जीवन कुमारी २०७० को दोस्रो संविधान सभामा समानुपातिक तर्फबाट सभासद बन्नु भएकोथियो । जीवनकुमारीको जीवनमा एउटा अनौठो संयोग के भएको थियो भने नेत्र घिमिरे हत्याको खबर लिएर उहाँका ससुराबुबा रामचन्द्र घिमिरे साँझ पख आँगनमा आईपुग्दा घरमा कान्छी छोरी जन्मिदै थिइन । जीवनकुमारी अहिले नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य हुनुहुन्छ ।

बीरेन राजवंशी झापा प्वाँटुबारीका हुनुहुन्थ्यो । उहाँको ससुराली झापाको ज्यामिरगढी थियो । ससुरालीहरू तुलनात्मकरूपले सम्पन्न हुनुहुन्थ्यो । बीरेनको परिवार ज्यामिरगढीमा बस्थ्यो । बीरेन झापा जिल्ला पन्चायत अन्तर्गतको पन्चायत ट्रेइनिङ असिस्टेन्ट (पि. टि. ए.) हुनुहुन्थ्यो । एउटा कर्मचारीको हैसियतले उहाँ हङकङ , फिलिपिन्स लगायतका देशहरूमा भ्रमण गर्नु भएकोथियो । विदेश भ्रमणका क्रममा कम्युनिस्टहरूबारे रोमान्चक कहानी सुने पछि उहाँ नेपाल आएर झापा बिद्रोह सित जोडिनु भयो । उहाँका दुई छोरा थिए नेत्र र बिजय । बीरेनको मृत्यु भए पछि श्रीमतीले घरमा अर्को डँगुवा ल्याउनु भयो । राजवंशी भाषामा डँगुवा भनेको घर ज्वाइँ हो । डँगुवाका लोग्ने श्रीमती भएर रक्सी खाएरै १७ विघा माइतीले दिएको सम्पत्ती सखाप पारे । बीरेनका छोरा नेत्र र बिजयको बिजोग भयो । ठूली आमाले नेत्रलाई र सानीमाले बिजयलाई लगेर पालनपोषण गरे । २०४६ मा बहुदल आए पछि सहिद रामनाथ दाहालकी श्रीमती बिशेस्वरा दाहालको पहलमा झापा बिर्तामोड स्थित सगरमाथा बोर्डिङ स्कूलमा दुईभाइ लाई पढाउने काम भयो । बिजयको २०५४ मा नै मृत्यु भैसकेकोछ । नेत्रले २०५६ देखि झापाको मेची नगरपालिकामा कर्मचारी भइ काम गरिरहनुभएकोछ। अहिले उहाँ मेची न.पा. वडा नम्बर ९ को कार्यालयमा कार्यरत हुनुहुन्छ । कृष्ण कुइँकेल र नारायण श्रेष्ठ नेत्र घिमिरेका प्यारा विद्यार्थीहरू हुनुहुन्थ्यो । उहाँहरू दुवैको घर झापा गरामनी थियो। भर्खरका कलकलाउँदा १७÷१८ वर्षका युवाहरू परिवर्तको खातिर पन्चायतको गोली छातीमा थापेर मृत्यु स्वीकार्न तयार हुनुभयो ।

सुखानी घटना घटेको ५१ वर्ष पूरा भयो । ती सहिदहरूको बलिदानले आजको गणतन्त्र सम्मको राजनीतिक यात्रामा बल पुर्याएकोछ । के सहिदहरूको सपना यत्ति मात्र थियो ? स्वतन्त्र, समानतामूलक र सुखी समाज सहिदहरूको परिकल्पना थियो । तर सत्तामा बस्ने शासकहरू सहिदको सपनालाई भुलेर व्यक्तिगत बिलासिता र सत्ता छिनाझपटीमा रमाइरहेकाछन । सहिदको सपना अझै अधुरो छ ।

(लेखक- नेकपा(मशाल)का प्रवक्ता हुनुहुन्छ)


२०८० फागुन २२ ०६:४३ बजे

प्रतिक्रिया