संसद् भवन परिसर भित्र आन्दोलनकारी

bimbonline बिम्ब अनलाइन
२०८० फागुन १५ ०८:२६ बजे

काठमाण्डौ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनसभित्र प्रतिनिधि सभाको बैठक सोमबार सकिएको मात्रै थियो। दिउँसो २ बजेतिर पश्चिम गेटबाट ह्वार्र महिलाको एक समूह संसद् भवन परिसरभित्र छिर्‍यो। गेटमा रहेको सानो संख्याको प्रहरीले रोक्न खोजे पनि ५० जनाजतिको समूह संसद् भवनभित्र छिरिहाल्यो। 

यसरी छिरेको समूहलाई संसद् भवनको आँगनमा रहेको पानीको फाहोराछेउमा पुगेर मर्यादापालकले रोके। महिलाहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग्दै केहीबेर नाराबाजी गरे। करीब १५\२० मिनेट नाराबाजी गरेपछि थप प्रहरी आएर उनीहरूलाई नियन्त्रणमा लिएको थियो।उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाका अनुसार ४८ जना महिला र एक जना पुरूषलाई पक्राउ गरिएको छ। सरकारविरूद्ध प्रदर्शन गर्न देशभरबाट राजधानी काठमाडौं आएका लघुवित्तबाट पीडितहरू यसरी संसद् भवनभित्रै छिरेर आन्दोलनमा उत्रिएका हुन्।  

कडिकडाउ सुरक्षा घेरामा रहेको मुलुकको संघीय संसद्‌भित्रै ग्वारग्वार्ती प्रदर्शनकारी छिरेर नाराबाजी गरेको यो घटनाले शान्ति सुरक्षामा गम्भीर चुक देखिएको छ। संसद् भवन परिसरभित्र मर्यादापालक हुन्छन् भने बाहिरी सुरक्षामा २४ घण्टै प्रहरी तैनाथ हुन्छन्। संसद् बैठक चलिरहेको वेला थप प्रहरी पनि बाहिरी सुरक्षा घेरामा परिचालन हुन्छन्।त्यस्तै, प्रहरीको स्पेसल टास्क फोर्स (एसटीएफ)को टोली हतियरसहित सुरक्षामा खडा हुन्छ। सशस्त्र प्रहरी बलको समेत बाहिरी घेरामा सुरक्षा हुन्छ। प्रहरीका केन्द्रीय प्रवक्ता नायव महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले भने संसद् भवनको सुरक्षा बन्दोबस्त पर्याप्त रहेको दाबी गरे। “सुरक्षाको थप विषय खुलाउन मिल्दैन। केही कमजोरी देखिएमा तत्काल सुधार हुन्छ,” ढकालले भने।  

उपत्यका प्रहरी कार्यालयका एआईजी थापाले प्रदर्शनकारीहरू झुक्याएर संसद् भवनभित्र प्रवेश गरेको बताए। सिफलको चौरमा बसिरहेका लघुवित्त पीडितलाई प्रशासन र आन्दोलनकारीले समन्वय गरेर अन्यत्र सार्ने तयारी भइरहेको थियो। “तर सिफल चौरमा रहेका आन्दोलनकारी संसद् भवनतिर गएछन्,” थापाले भने, “५\६ जना जनाको समूह बनाएर गएका रहेछन्। पश्चिम गेटअगाडि एकैचोटि जम्मा भएर भित्र छिरे। हामीलाई झुक्यानमा पारे।”

सहकारी पीडितको मात्रै आन्दोलनको कार्यक्रम भएकाले प्रहरीको ध्यान त्यतातिर केन्द्रित भएका वेला झुक्याएर लघुवित्त पीडितहरू संसद् भवनतिर गएको उनले दाबी गरे। “हामीले सामान्य निगरानी मात्रै गरिहेका थियौं,” थापाले भने, “घुम्न, हिँडडुल गर्न रोक्न त भएन।”लघुवित्त पीडितको अगुवाइ गरिरहेका मणिराम ज्ञवालीले पनि आज प्रदर्शनी गर्ने कार्यक्रम नरहेको बताए। “हामी प्रदर्शनकारीहरू बसिरहेको सिफल चौर खाली गरेर अन्यत्र व्यवस्थापनमा लागेका थियौं,” ज्ञवालीले  भने, “तर केही साथीहरू संसद् भवनतिर जानुभएछ। हामीले पनि पछि थाहा पायौं।”  

ज्ञवालीका अनुसार लघुवित्त पीडित संघका पूर्व उपाध्यक्ष धनकुमारी विकको नेतृत्वमा महिलाहरू संसद् भवनभित्र पुगेका हुन्। “हाम्रो प्रदर्शनी गर्ने पूर्व निर्धारित कार्यक्रम थिएन,” उनले थपे, “सरकारले हाम्रो  कुरा नसुन्दा आक्रोशित साथीहरू संसद्तिर गएछन्।” लुजा राई, सुकुमाया मोक्तान, बीना मगर लगायतका ४९ जना पक्राउ परेको ज्ञवालीले बताए।  संसद् भवन परिसरभित्र आन्दोलनकारी छिरेको घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश मैनालीको संयोजकत्वमा समिति गठन गरेको छ।  

एकाएक प्रदर्शकारी भेला हुँदा गेटमा उभिएका केही प्रहरी र हतियारधारी सेन्ट्रीले रोक्न असम्भव भएको उनको भनाइ छ। “गोली चलाउने कुरा आएन। एकैचोटि भित्र छिर्न खोज्दा थप मद्दतका लागि खबर पठाउने मौका नै नपाएको बुझिन्छ,” उनले भने, “थप कुरा छानबिनबाट खुल्छ।”आन्दोलनका घोषित कार्यक्रम नभएकाले पनि थप प्रहरी परिचालन नभएको थापाले बताए।



२०८० फागुन १५ ०८:२६ बजे

प्रतिक्रिया