सत्ता गठवन्धनको विवादले हौसिएको एमाले

bimbonline बिम्ब अनलाइन
२०८० फागुन ११ ११:१२ बजे

काठमाडौँ । सत्ता गठबन्धन दलबीचमा देखिएको विवाद र एमालेले निरन्तर सत्तामा जान गरिरहेको प्रयासले थप आशंका पैदा गरिदिएको छ । कांग्रेसभित्र गठबन्धनविरोधी स्वर बलियो बन्नु र गठबन्धन दलका शीर्ष नेताहरुले असन्तुलित व्यवहार प्रदर्शन गर्नुले पनि गठबन्धन प्राविधिक रुपमा बाहेक बाँकी नरहने स्थिति थप बलियो बन्दै गएको छ । यसरी नै कहिलेसम्म धान्न सक्लान् त प्रचण्ड र देउवाले गठबन्धनको साख ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सत्ता गठबन्धनभित्र विवादको आगो सल्किनेक्रम थप बढेको छ । सत्ताको सबैभन्दा ठूलो दल नै गठबन्धन सरकारले विश्वास आर्जन गर्न नसकिरहेको भन्दै सार्वजनिक रुपमै विरोधमा उत्रिएको छ भने महासमिति बैठकमै सरकारको विरोध खुलेआम भइरहेको छ ।कांग्रेसभित्र गठबन्धन सरकारको आलोचना र यसले डेलिभरी दिन नसकेको दाबी चलिरहेका बेला नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले पनि गठबन्धनमाथि कडा प्रहार गर्ने अग्रपंक्तिमा आफुलाई स्थापित गरिरहेका छन् । उनले गठबन्धन सरकारप्रति तीब्र असन्तुष्टी पार्टीमा बढिरहेको दाबा गरिरहेका छन् ।

नेकपा एकीकृत समाजवादीका नेता खनाल पहिलेदेखि नै विरोध गरिरहने भएकाले पनि सामान्य रुपमा लिइन्छ तर, अर्को सत्ता सहयात्री दल जनमत पार्टीले पनि सरकारप्रति कडा आलोचना गर्न थालेको छ । गठबन्धन सरकारको हिस्सा बनिरहेको जनमतले गठबन्धनका बैठकमा विपक्षीलाई कसरी सिध्याउने भन्ने विषयमा छलफल हुने भन्दै गम्भीर र आपत्तिजनक अभिव्यक्तिनै दिए ।

गठबन्धन दलहरुबीचको मतभेद यसरी तीब्र बन्दै जानु र सरकारको नेतृत्व गर्ने समय छोट्टिदै जानुले पनि प्रचण्डले पनि विकल्प सहज रुपमा नखोज्लान् भन्न सकिन्न । यसमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रचण्डसँग लामो सम्वाद गरेर निस्किएपछि उनी खुशी भावमा पेश हुन थालेका छन् । कांग्रेसभित्र गठबन्धनविरोधी स्वर र धर्मनिरपेक्षताको विषय जोडतोडका साथ उठेको बेला प्रचण्डले यहि विषयलाई लिएर नै गठबन्धन फेर्ने सहज बाटो अबलम्बन गर्न सक्ने आंकलन गरिएको छ । यस्तो भएमा एमालेले थप केहि समय प्रचण्डको सत्ता लम्ब्याएर भएपनि कांग्रेसलाई प्रदेशबाट बढार्दै नयाँ राजनीतिक कोर्स अघि बढाउनेमा तल्लिन हुने सम्भावना बलियो छ ।


२०८० फागुन ११ ११:१२ बजे

प्रतिक्रिया