आज नेपालको परिस्थिति हिंजोको भन्दा झन्झन् जटिल, गम्भीर र संगीन छ । प्रतिगमनकारी राजावादी प्रतिकृयावादी र लोकतान्त्रिक यथास्थितिवादी प्रतिकृयावादीजस्ता दुई शक्तिका बिचमा मूलतः देश ध्रुवीकृत भैरहेको छ । वास्तवमा यो ध्रुवीकरण त राष्ट्रविरोधी प्रतिकृयावादी र राष्ट्रहितकारी क्रान्तिकारी शक्तिजस्ता दुई विपरीत ध्रुवका शक्तिबिचमा हुनुपर्ने हो । यस्तो नहुनु विडम्बना भएको छ ।
जेहोस्, यी दुई प्रमुख शक्तिमध्ये पहिलो शक्ति र प्रवृत्तिले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको संरक्षण र सम्बर्द्धनको नारा उचालिरहेको छ । साथै यसले आफ्नो सनातन धर्म-संस्कृतिको रक्षा र विकासको लागि एकताबद्ध भएर लड्ने नीति पनि लिएको छ । देशभक्ति र राष्ट्रवादको नारा र नाममा यो सामन्ती प्रतिक्रियावादी शक्ति र प्रवृत्ति एकीकृत र ध्रुवीकृत हुँदै पछिल्ला दिनहरुमा झन्झन् सुदृढ र सबल समेत हुँदै गइरहेको छ । त्यसैको आडमा यो शक्ति र प्रवृत्तिले अहिले एउटा लडाइँ चर्कै रुपले लडिरहेको र अघि बढिरहेको पनि छ । यसले राजनैतिक, धार्मिक, सामाजिक र सांस्कृतिक स्वतन्त्रता भएको राज्यव्यवस्थाको रुपमा पुरानै राजा, राजतन्त्र र राजसंस्थासहितको हिन्दु धर्मसापेक्ष राष्ट्र र एकीकृत-केन्द्रीकृत राज्यव्यवस्थाको निर्माण (पुनरावृत्ति)को माग गरिरहेको छ । सार र समग्रमा भन्नुपर्दा यो राष्ट्रवादी भनिने शक्ति र प्रवृत्तिले आफ्नो राजनीति र राष्ट्रियताको श्रोत, शक्ति र आधार ईश्वर, राजा र धर्मजस्ता प्रतिगामी र रुढीबादी विचार र शक्तिकेन्द्रलाई बनाउँदै सामन्ती निरंकुशतन्त्र र वर्गीय आत्मसमर्पण अवलम्बन गरेको छ ।
यसरी नै दोश्रो शक्ति र प्रवृत्तिले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्बर्द्धन गर्दै अग्रगामी दिशामा अघि बढ्ने नीति र नाराका नाममा पहिलो शक्ति र प्रवृत्तिका विरुद्ध आफ्नो लडाइँ जारी र जटिल भएको भन्दै अझ गम्भीर र निर्मम लडाइ लड्ने बताउँदै आएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको लागि लडेको र ल्याएकोमा गर्व गर्ने हाल लालदलाल तथा नव नोकरशाही पुँजीवादी शक्ति र प्रवृत्तिसमेतले लोकतन्त्र र आफ्नो राजनीतिको श्रोत, शक्ति र आधार वैदेशिक शक्तिकेन्द्र खासगरी इन्डो-पश्चिमा साम्राज्यवादलाई बनाएको छ अर्थात् लोकतान्त्रिक व्यवस्थाको वैचारिक आधार नवउदारवादलाई बनाउँदै राष्ट्रिय आत्मसमर्पणवादको दिशामा तीव्र गतिमा अघि बढेको छ ।
देशको यस्तो गम्भीर र संगीन मोडको मझधारमा सच्चा देशभक्त र सच्चा लोकतन्त्रवादी, कम्युनिस्ट क्रान्तिकारीहरुको अर्थात् सामन्तवाद-साम्राज्यवाद विरोधीहरुका विभिन्न साना र कमजोर तर उज्ज्वल भविष्य बोकेका राष्ट्रहितकारी समाजवादी शक्ति पनि उभिएका छन् । यहाँनेर एउटा यो कुरामा यो शक्ति र यसका पक्षधर शक्ति-व्यक्ति र नेतृत्व-व्यक्तित्वहरु स्पष्ट हुनु जरुरी छ कि जो सच्चा देशभक्त हो त्यो लोकतन्त्रवादी र जनवादी पनि हो र हुनैपर्छ भने जो सच्चा लोकतन्त्रवादी हो ऊ देशभक्त पनि हो र हुनैपर्छ । अनि यी दुई शक्ति अर्थात् जनवादी र देशभक्त शक्तिहरु आपसमा एकताबद्ध र मोर्चाबद्ध भएर मात्र माथि उल्लिखित दुई मुख्य शक्ति र प्रवृत्ति सामन्तवाद र साम्राज्यवादपरस्त शक्तिहरुका विरुद्ध अर्थात् वर्गीय आत्मसमर्पण र राष्ट्रिय आत्मसमर्पणवादका विरुद्ध लड्न सकिन्छ ।
यसो भयो भने मात्र यो लडाइँ सच्चा देशभक्तिपूर्ण र सच्चा लोकतान्त्रिक र जनवादी वा समाजवादी लडाइँ हुन्छ । यसरी मात्र यो तीव्र, तिक्ष्ण, सबल र सफलसमेत हुन्छ अनि दीगो-दरो रुपमा अघि बढ्छ । अन्यथा हाम्रो यो लडाइँ जान वा अनजानरुपमा सीधा वा घुमाउरो बाटो भएर छिटो वा ढिलो गरी अन्ततः र सारतः विदेसी साम्राज्यवादी-विस्तारवादी शक्तिकेन्द्रहरुको पूर्ण नियन्त्रणमा जान्छ । त्यसपछि त हाम्रो देश, समाज र व्यवस्था आदि सबैका सबै उनीहरुकै अधीनमा पुग्न जाने अवस्था हुन्छ । तसर्थ राष्ट्रिय स्वाधीनता र जनस्वतन्त्रताको अहिलेको यो हाम्रो लडाइँ उपरोक्त दुवैथरी मुख्य जनविरोधी र राष्ट्रविरोधी शक्ति र प्रवृत्तिका विरुद्ध केन्द्रित छ र हुनैपर्छ ।
यस्तो अवस्थामा राष्ट्रिय स्वाधीनता र लोकतन्त्र दुवैको रक्षा र विकासको लागि लडिने आजका लडाइँमा प्रायसः दुई तरिका अपनाएको पाइन्छ । एउटा तरिका हो सामन्ती प्रतिगमन र राष्ट्रिय आत्मसमर्पणका विरोधी अर्थात् सामन्तवाद र साम्राज्यवादविरोधी अथवा भनौं वर्गीय र राष्ट्रिय आत्मसमर्पणवाद विरोधी सम्पूर्ण शक्तिहरु अर्थात् कम्युनिस्ट, काङ्ग्रेस, देशभक्त, राष्ट्रवादी, मधेशवादी, जातिवादी, क्षेत्रवादीजस्ता आफूलाई अग्रगामी क्रान्तिकारी, लोकतन्त्रवादी र देशभक्त-राष्ट्रवादी भन्ने सबैका सबै शक्तिहरुको एउटै मोर्चा बनाएर उपरोक्त दुवैथरी मुख्य दुश्मनहरुविरुद्ध लड्ने अर्थात् मोर्चा एक र प्रहारको निसाना पनि एक नै बनाएर लड्ने तरिका ।
अर्को तरिका हो-मोर्चा फरक रअनेक तर प्रहारको निशाना उही एक बनाएर लड्ने तरिका अर्थात् अग्रगमनवादी क्रान्तिकारीहरु, यथास्थितिवादी लोकतन्त्रवादीहरु र राजावादी राष्ट्रवादीहरु जस्ता यी तीन थरी शक्ति र प्रवृत्तिलगायतका अन्य विभिन्न शक्ति र प्रवृत्तिहरुहरुले आआफ्नै विविध मोर्चाहरु बनाएर देश र जनताका यी दुवैथरी मुख्य दुश्मनहरु विशेषतः साम्राज्यवाद र सामन्तवादलाई निशाना बनाएर प्रहार गर्ने तरिका ।
अघिल्लो तरिका अपनाइएमा क्रान्तिकारी वैकल्पिक विचार, बाटो, विधि, व्यवस्थापिका र व्यवस्था बोकेका वामपन्थी र कम्युनिस्ट क्रान्तिकारीहरु एवं यथास्थितिवादी काङ्ग्रेस र अन्य लोकतन्त्रवादी भन्नेहरु अनि आफूलाई देशभक्त र राष्ट्रवादी भन्ने राजावादी प्रतिगमनकारी आदि सबै आपसमा वृहत् रूपमा मोर्चाबद्ध भएर लडेमा विगत २०४६ र ४७ र २०६२ र ६३ का आन्दोलनमा जस्तै एकप्रकारको सफलता त प्राप्त गर्न सकिएला तर त्यस्तो मोर्चा र आन्दोलनमा सबै प्रकारका शक्ति र प्रवृत्तिहरु छ्यासमिस हुने हुनाले वर्तमान र ताजा इतिहासमा समेत राम्रो छवि नभएका यी शक्तिहरु र अन्य सच्चा देशभक्त र क्रान्तिकारी शक्तिहरु सबै एउटै हुन् भन्ने भ्रम पर्छ । परिणामतः गलत छवि भएका राष्ट्रघाती, निरंकुश र भ्रष्ट दलालहरु चोख्याइने र उनीहरु नै सच्चा क्रान्तिकारी र सच्चा देशभक्त अर्थात् सामन्तवाद र साम्राज्यवादविरोधी सच्चा शक्ति, प्रवृत्ति, व्यक्ति-व्यक्तित्व र नेतृत्वहरुमाथि हावी भै सच्चाहरु नै कि त बदनाम हुने कि त भने ओझेल पर्ने, कमजोर हुने, उपेक्षित हुने, अपमानित हुने र सत्ताच्यूत नै हुने हुन्छ र यस्तो हुँदै आएको हाम्रो आफ्नै पनि अनुभव छ ।
यदी क्रान्तिकारी विकल्पवाला शक्तिहरु तुलनात्मक रुपले बढी नै शक्तिशाली हुने र नेतृत्व लाछी र कायर नभएर अन्य शक्तिहरुमाथि हावी हुने अवस्था हुन्थ्यो भने पनि सके त यी सबै एउटै हुन् भन्ने भ्रम पर्दैनथ्यो वा भ्रम कम पर्थ्यो र सच्चा देशभक्त र जनवादी क्रान्तिकारीहरु ओझेल पर्ने, कमजोर हुने र उपेक्षित हुने हुँदैनथ्यो। नभएपनि केही थोरधेर परेको भ्रम चिर्न, भएको क्षति पूर्ति गर्न र क्रान्तिकारी विकल्पलाई स्थापित, सुदृढ, विकसित र विस्तारित गर्न पनि सकिन्थ्यो तर अहिले त्यो अवस्था छैन । यतिबेला सच्चा क्रान्तिकारी र देशभक्तहरु पनि आपसमा माझामाझ गर्न सकेका छैनन् बरु बाझाबाझ गरेर कुटपिट र टुटफुट हुँदै विघटन र विसर्जनतिर गैरहेको अवस्था छ । त्यसैले क्रान्तिकारीहरु कमजोर भएको यो अवस्थामा सबै शक्तिहरुको एउटै मोर्चा बनाएर लड्ने नीति लिनु घातक हुनसक्ने हुँदा दोस्रो तरिका अपनाउनु उपयुक्त हुने देखिन्छ ।
तसर्थ, प्रतिगमनविरुद्ध लड्ने सबै शक्तिहरुबिच प्रतिगमनका विरुद्ध आआफ्नै मोर्चाबाट लड्ने एउटा सहमती गरेर आआफ्ना भिन्न-भिन्न मोर्चाबाट प्रतिगमनकारी सामन्ती निरंकुशतावादी शक्तिका विरुद्ध प्रहार गर्दै जाने गर्नु उचित र आवश्यक हुन्छ । यसरी नै हाल सत्तासीन साम्राज्यवाद र तिनका राष्ट्रिय आत्मसमर्पणकारी दलाल शक्तिहरुका विरुद्ध लड्ने देशभक्त र राष्ट्रवादी भनिने शक्तिहरुले पनि आआफ्ना मोर्चाबाट साम्राज्यवाद र तिनका दलालहरु एवं उनीहरुको वर्तमान दलाल राज्यसत्ता-व्यवस्थाका विरुद्ध प्रहार केन्दृत गर्नु जरुरी छ ।
यदी पहिलो तरिकाले सम्पूर्ण शक्तिहरुसँगै क्रान्तिकारीहरु पनि मिलेर प्रतिगमनका विरुद्ध गैयो भने बढी सम्भव छ कि जान-अन्जान रुपमा ढिलो वा चाँडो, थोरै वा धेरै र प्रत्यक्ष वा अप्रत्यक्ष रुपले सम्राज्यवादको पंजा र पाउको पकडमा पर्न पुग्ने वा संसदीय यथास्थितिवादमै सीमित हुन पुगिन्छ । यो स्थिति भनेको अन्ततः र सारतः दलाली र गद्दारी त हुन्छ नै, साथै तुलनात्मक रुपले अग्रगमनको नाममा त्यो त प्रतिगमन नै हुन्छ । यसरी स्पष्ट हुनुपर्छ कि प्रतिगमनविरुद्ध लड्नु भनेको यथास्थितिमै अड्नु होइन, न त साम्राज्यवादको अधीनमा नै पर्नु हो जो सर्वाधिक दुखद र विडम्बनापूर्ण अवस्था हो । वास्तवमा प्रतिगमन विरुद्ध लड्ने भनेको त अग्रगमनतिर बढ्नु र गन्तव्यमा पुग्नु हो ।
ठीक यसरी नै आजको एकध्रुवीय शक्तिशाली दादा साम्राज्यवाद-विस्तारवादका शोषण-उत्पीडन र हस्तक्षेपका विरुद्ध राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता रक्षाको लागि लड्ने भनेको अर्थात् यथास्थितिवादी र साम्राज्यवादी शक्तिहरुका विरुद्ध लड्ने भनेको राजा, राजतन्त्र, धार्मिक राज्यजस्ता पश्चगमनकारी यात्रामा लाग्नु होइन र यसरी त सफलता र दीगो विजय प्राप्त हुँदैन भन्ने बुझ्नु पनि त्यत्तिकै जरुरी छ । किनकि, आजको साम्राज्यवादी विश्वव्यवस्थामा सामन्तवादको लगनगाँठो साम्राज्यवादसँग अभिन्न र दरिलो रुपले कँसिएको छ ।
विश्वमा आज सामन्तवाद र राजा-महाराजाहरुको अस्तित्व कि त साम्राज्यवादसँग घाँटी जोडेर बचेको छ कि त भने स्वंयं तिनको विकास साम्राज्यवादमै भएर नै रहने गरेको छ । यसक्रममा हामी सच्चा अग्रगामी क्रान्तिकारीहरुले समग्र प्रतिकृयावादी संसद, सरकार र सत्ता र व्यवस्थाका विरुद्धमै प्रहार गर्दै तिनको स्थानमा नयाँ सदन ( जनप्रतिनिधि सभा), राष्ट्रिय जनसरकार र जनताको राष्ट्रिय र जनवादी सत्ता र व्यवस्थाको स्थापना र विकास गर्नको लागि लड्दै र बढ्दै जानु नै एक मात्र राम्रो र सही नीति हुन्छ । सम्बन्धित सबैले गम्भीरतापूर्वक मनन र कार्यान्वयन गरौं ।२०८०\१०\२०ललितपुर रानीवुँ ।
प्रतिक्रिया