हरेक बर्ष पौष शुक्लद्वितीया तिथिको दिनमा साविकका कर्णाली अंचलका जुम्ला, कालिकोट, मुगु, हुम्ला र मुगुमा चेला तिहार पर्व मनाउने गरिन्छ । यस बर्ष २०८० साल पौष २८ गते पनि यो चेला तिहार कर्णाली अंचलका बिभिन्न जिल्ला खासगरी जुम्ला र जुम्लाबाट बाहिर बसोवास गरेका, घुम्न गएका मानिसहरु बाट आफ्ना चेला स्वरुप आफ्ना पुरुष छोरा नातीलाई टीका लगाई शुभआशीर्वाद तथा मीठो खाना खान दिई मनाउने गरिन्छ । चेलाहरुले पनि आफ्ना बुवा आमालाई ढोगभेट गरि आफ्नो क्षमता अनुसारको कोसेली उपहार दिने चलन रहेको पाइन्छ । यो चेला तिहारले जुम्लाको संस्कृति र मौलिक अस्तित्व कायम राख्दै आएको पाइन्छ ।
यस बर्षको पौष शुक्ल द्वितीया तिथि अझ बढि महत्त्वपूर्ण रहेको पाइन्छ । यस दिनमा शनिवार पनि परेकाले शनिदेवको समेत पुजाआजा गरि बिघ्न बाधा हटाउन तथा शान्त राख्न शनिदेव समेतको पुजाआजा भएको पाइन्छ ।जुम्लातिर चेला मात्रको लागि नभै चेलीको लागि पनि तिहारको रुममा माघी संक्रान्ति पर्वलाई पनि लिने गरिन्छ । त्यो दिनमा आफ्नी छोरी बहिनी दिदी फूपू भान्जी लगायत आफ्ना दाजुभाई लगायत गाउँकि चेलीबेटीलाई समेत बिहानै खुट्टा धोई टीका लगाई दान दक्षिणा गरी मिठाई प्रसाद खान दिईन्छ ।
जुम्लामा चेलीलाई टीका लगाई दान दक्षिणा गर्ने प्रचलन नयाँ बर्षको दिन अर्थात तागे संक्रान्ति, साउने संक्रान्ति, माघि संक्रान्ति आदि पर्दछन् । यी प्रत्येक दिनका आफ्नै मौलिक बिशेषता र महत्व रहेका छन् ।खस आर्य सभ्यतामा जुम्ला कालीकोट क्षेत्रमा चेला तिहार लाई चेल्या त्यार पनि भनिन्छ । यस क्षेत्रमा चाडपर्वलाई त्युबारू पनि भन्ने गरिन्छ । कालीकोट, मुगु र हुम्ला जिल्लाका बिभिन्न खसान बस्तिमा भाइटिकाको रुपमा पनि मनाउने चलन रहेको छ ।
खस समाजका अगुवा जुम्ला आचार्यबाडाका रमानन्द आचार्यज्यूले आफ्नो सामाजिक सञ्जाल Facebook मार्फत लेखिएको Status मा चेला तिहारको अवसरमा यस्तो शुभकामना रहेको छ। आज पौष शुक्ल द्वितीया, कर्णालीको खशान भूमिका आर्य खशहरूको विशेष चाड चेला तिहार Descendant"s day का शुभ अवसरमा आफ्ना औरस सन्तानका साथै देश भरिका खश आर्यसन्तति तथा अन्य संपूर्ण बालबालिकाहरूलाई उज्ज्वल भविष्य निर्माणमा सशक्त उत्तराधिकारी बन्न सकून् यही शुभकामना व्यक्त गर्दछौँ । शुभम् भूयात् भन्दै शुभकामना मार्फत चेलातिहारको महिमा ब्यक्त गर्नुहुन्छ ।
यसैगरी उहाँबाट Post गरिएको अर्को स्टाटसलाई जस्तातस्तै यहाँ साभार गरिएको छ, उहाँको यस Status मा रहेको धारणा -प्रतिवर्ष पौष शुक्ल प्रतिपदाका दिन खसान क्षेत्रका आर्य खशहरूले मनाउने चेला तिहार एक विशिष्ट चाड हो । यस दिन आमाले आफ्ना औरस सन्तानका साथै शिशुका जन्म समयमा आफूले दूध खुवाएका तथा शैशवकालदेखि धर्मपुत्रका रूपमा पालेका छोराछोरीलाई ममतापूर्वक टीकाअक्षता निधारमा लगाइ दिएर मीठामीठा खानेकुरा खानदिई आशीर्वाद दिने र चेलाचेलीले पनि औकात अनुसार उपहार दिई मनाइने यो चाड कर्णाली बाहेक अन्त मनाउने गरेको पाइँदैन तर अब अखिल नेपालमा बस्ने आर्यखशहरूले मनाउने गर्ने परम्परा चलाउनु पर्छ । यसलाई अंग्रेजीमा Descendant " भन्नुपर्दछ । यस खुसियालीका अवसरमा आफ्ना औरस सन्तानका साथै नेपालका आर्य खशसन्ततिहरू एवं नेपाली मात्रका चेलाचेली योग्यतम देशभक्त बन्न सकून् भन्ने आशीर्वाद दिदै स्नेहसिक्त शुभकामना व्यक्त गर्दछु । शुभं भूयात् भन्दै शुभकामनामा सबै नेपाली आर्य खससन्ततिले मनाउनु पर्ने भनी सल्लाह दिएको समेत पाइन्छ ।
पौष शुक्ल पुर्णिामाको ठिक पन्ध्र दिन अघि पर्ने औसीलाई जुम्ला लगायत साविकको कर्णाली अञ्चलमा भैले आउँसी पनि भन्ने गरिन्छ । अझै यस औसिलाई यहाँका मानिसहरुले भट्टे औसीको रुपमा पनि मनाउँने गरेको प्रचलन रहेको पाइन्छ । रमानन्द आचार्य यस भैले आउँसि र चेला त्यार बारे अर्को फरक धारणा समेत यसरी राख्नु हुन्छ। यो औसीमा घरको सरसफाइ गर्ने, टाला (लुगा कपडा ) धुने, खानाका मिठो परिकार बनाउने, साथिहरु ( सात्यार साथ्या) जम्मा हुने गाउँघरमा हुने समस्याहरुको समाधानबारे सल्लाह गर्न यो औँसी पर्वको रुपमा मनाइन्छ ।
यस बर्षको भैलोको बिचैमा दोमास लागेको र भैलो नसकिदै मागी संक्रान्ति लागेकोले पाटाभात पिकनिक र बनभोज खान नहुने, यदि खाएमा असुभ्य हुने, यसैले यो बर्ष भैलो खेल्न नमिल्ने, अर्को सालमा भैलो खेल्न उपयुक्त हुने कुरा बताउनु हुन्छ । जुनकुरा उहाँले अहिले सालको भैले औसिको अवसरमा पोष्ट गरेको स्टाटसमा उल्लेख गरेको पाइन्छ ।
यसैगरी उहाँले कुराकानीमा यस्तो पनि बताउनु भयो- भैले औसी लगत्तै अर्थात पौष शुक्ल पुर्णीमाको तेह्र दिन अघि पर्ने शुक्ल द्वितियामा चेला तिहार मनाउनुको कारण आफ्ना चेलार छोरा, धर्मपुत्र सरकारी नोकरीको रुपमा लडाईँमा जानुपर्ने, लडाईँमा जाँदा रसद पानीको अभाव हुने गर्दथ्यो ।उहाँ थप्नु हुन्छ- सबै गाउँले मिली भैलो खेली घरघरबाट अलिअलि गरि संकलन गरेको चामल, अन्न तथा पैसाले युद्वको क्रममा रसदपानीको लागि सहयोग हुने, उनिहरु सरकारी काम जागिर तथा सेनाको युद्वमा जाने भएकोले औसी पछिको द्वितीया तिथिको दिन आफ्ना चेलालाई बिजय भवू का साथै उनले चालेका काममा उन्नति प्रगति होस् ।आफ्ना गरेका काममा जहिले खुसि रहनु भनी त्यो दिनमा विशेष आशीर्वाद दिन थालीएको भन्दै त्यसै अवसरमा सम्पुर्ण खेतीपातीको काम सकी गाउँघरका दाजुभाई तथा दिदीबहिनी मिली वनभोजरपाटे भात खाने र चेला तिहार मनाउन थालिएको हो भनि बताउनु हुन्छ ।
सुनेका तथ्य, आख्यान, प्रचलन अनुसार आ-आफ्नो उमेर समूहका गाउँटोलका युवायुवती, बालबालिका, बृद्व-बृद्वा, पुरुष- महिला भेला भई स्थानिय चालचलन, रितिरिवाज तथा पुर्खाको कृति सम्झि त्यसैलाई सम्बोधन गरि त्यसैलाई गित, कथा, टुक्का बनाई ब्यक्त गरिने कहानीलाई भैलो भन्ने गरेको पाईन्छ ।
समग्रमा कुनैपनि प्रथा परम्परा रितिरिवाज चालचलन यहि समाजले बनाउने गर्दछ । यस्ता प्रथा परम्पराका राम्रा पक्षलाई अनुसरण गरि भावी पुस्तालाई पुर्खाले चलाएको चलनलाई जानकारी गराउनु र रित चलन चटक्क नबिर्शी सुधार सहित निरन्तरता दिदै गए यस्ता रितिरिवाजले चाडपर्वको रुप लिदै जाने निश्चित देखिन्छ ।
नरेन्द्र देवकोटा प्रशान्त २०८०\१० \ २ कोहलपुर, बाँके ।
प्रतिक्रिया