के कस्तो देश हो नेपाल र के कस्तो क्रान्ति गर्ने यहाँ ?

bimbonline नारायण शर्मा
२०८० पुष २१ १०:५९ बजे

। यो प्रश्न एक अत्यन्त जटिल र गम्भीर तर निर्णायक महत्वको प्रश्न हो । यसको सही उत्तर नखोजेर कि त क्रान्ति नै हुँदैन कि भने भएको भनिएको क्रान्ति वास्तविक क्रान्ति नभै भ्रान्ति हुन्छ र अन्ततः र सारतः त्यो प्रतिक्रान्ति र प्रतिगमनमा पुग्दछ । त्यसैले सर्वप्रथम हामीले हाम्रो देशलाई चिन्न सक्नुपर्छ । यसक्रममा हाम्रो देश नेपाल र नेपाली जनताका मौलिक गुण र विशेषताहरु पहिचान र प्रयोग गरी मौलिक र स्वाधीन तरिकाले नै नेपालमा क्रान्ति गर्नुपर्छ भने नेपाली मौलिकता र विशिष्टतासहितको आफ्नै नयाँ र उन्नत व्यवस्था अवलम्बन गरी अगाडि बढ्नु अपरिहार्य भएको छ । 

आउनुहोस् अब देश चिनौं ः ऐतिहासिक र पौराणिक कालदेखि नै जाति र  समुदायगत, क्षेत्रगत, जलवायुगत, धर्मगत, भाषागत, वर्गगत, संस्कृतिगत, सभ्यतागत, क्षेत्रगत, लिङ्गगत, गोत्रगत, बासगत (आदिवासी, मूलवासी, दीर्घवासी र आप्रवासी) र अहिले पौने एक शताब्दीयता विभिन्न विचारधारात्मक, राजनीतिक र सांगठनिक रुपले विभिन्न समूहहरुमा विभाजित जस्ता धेरै विविधताले भरिएको देश । ज्ञान-विज्ञानभूमि, वीरभूमि, तपरध्यानभूमि, त्यागरदानभूमि, कर्मभूमि, धर्म र पुण्यभूमि, तीर्थभूमि, सेवाभूमि रहिआएको देश । भू-भारतपरिवेष्ठित, भूराजनीतिक संवेदनशील, सामरिक महत्त्वको, विशाल भूगोल र विशाल जनसंख्या, भिन्न राजनीतिक-सामाजिक व्यवस्था भएका शक्तिशाली  प्रतिस्पर्धी, प्रतिशोधी र प्रभुत्वशाली देशहरुको बिचमा रहेको दुई ढुङ्गबीचको तरुल वा दुई पहरा बीचको लहरा अथवा भनौं दुई ठुलाढुङ्गाका कापको पिपलजस्तो देश । नदीनाला, बनजङ्गल, खानीखनिज, जडीबुटी, जीवजन्तु, बनस्पति, प्राकृतिक सुन्दरता र खनिज सम्पदाले भरिपूर्ण देश । वर्गीय, जातीय, धार्मिक, सांस्कृतिक र राजनीतिक सद्भाव, सहिष्णुता र एकता मूलरूपमा भएपनि अंशतः  संकीर्णता, रुढीबादीता र अन्धविश्वास पनि भएको देश ।  सामन्ती व्यक्तिवादी निम्नपुँजीवादी टुक्रे उत्पादन प्रणाली र वैदेशिक अनुदान र आयात अनि वैदेशिक रोजगारीको रेमिटेन्समा आधारित परनिर्भर अर्थव्यवस्था भएको देश हो।

यसरी नै एकातिर व्यक्तिगत र पारिवारिक स्वार्थका कारण वैमनस्य र बेमेल, झगडा र कलह अनि गुटगत र पार्टीगत संकीर्णताका कारण आधारभूत विचार मिल्नेहरुबिच पनि आपसमा टुटफुट, आग्रह-पूर्वाग्रह र प्रतिशोध-निषेधसम्म पनि हुँदै गरिंदै र अन्ततः विजातीय, विवर्गीय, विदेसीय, विवैचारिक र विराजनैतिक शक्तिहरुसँग साँठगाँठ, सहमति र सम्झौता भई निर्णायक र गुणात्मक क्रान्ति सम्पन्न हुन नसकेर अस्थीरता, अराजकता, अपराधीकरण, दलालीकरण र आत्मसमर्पणका कारण आम जनतामा चरम असन्तुष्टि, आक्रोश र आक्रमणका भाव र प्रवृत्तिमा अत्यधिक बृद्धिभैरहेको देश । जनस्तरमा राजनीतिक चेतना, राष्ट्रिय जागरण र सामाजिक सद्भाव, सामूहिक भाव, देशभक्तिको भावनाको प्रचुरताका बावजुद पनि शासकस्तरमा भने राष्ट्रहित, जनहित र समाजहितविरोधी व्यक्तिवादी, परिवारवादी, आसेपासेवादी, जातिवादी, क्षेत्रवादी, लिङ्गवादी र पार्टीवादी स्वार्थी, दलाल, दास र दरिद्र सोंच र शैली बृद्धि हुँदै आएर  राष्ट्रिय र वर्गीय  दुश्मनहरुसँग पनि सहमति, समन्वय र सदुपयोग गर्ने बहानामा कार्यगत एकता र संयुक्त मोर्चा बनाई सत्ता र स्वार्थको निम्ति राष्ट्रिय नेताहरुको नै सम्झौतावादी र समर्पणवादी दलाल र गद्दार  चिन्तन र चरित्रका कारण अस्थीरता र पराधीनताको शिकार भएको देश हो  ।

कृषिप्रधान, किसानबाहुल्य, हिन्दुबाहुल्य, गरीब बाहुल्य, पुरुष र पतिसत्ताप्रधानबाट स्त्री र  पत्नीसत्तातर्फ उन्मुख, अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट नवसामन्ती र नवऔपनिवेशिक  अवस्थामा संक्रमित  समाजव्यवस्था भएको अल्प र असमान विकास भएको देश । निश्चित जाति  ( खस बाहुन, क्षेत्री, ठकुरी), निश्चित धर्म हिन्दु, निश्चित भाषा खस, निश्चित संस्कृती आर्य, निश्चित जात ब्राह्मण, निश्चित शासक राजा-राणा, निश्चित विदेसी इन्डो-पश्चिमा साम्राज्यवादीहरु र निश्चित दल काङ्ग्रेस-कम्युनिस्ट , निश्चित नेता देउवा-प्रचण्ड-वली र निश्चित माफिया साँढे-माडेहरुको असैह्य हालीमुहाली, हुकुम-हैकम र हस्तक्षेप-हत्या भै देस र जनतामा चरम शोषण-उत्पीडन  परम अन्याय-अन्याचार, असीमित घुस-भ्रष्टाचार र अकल्पनीय दलाली-कमिशनखोरी बढ्दैगरेको देश । पार्टी, राज्य, नेता र शासकका सिद्धान्त-संकल्प, नीति-नियम, विधि-विधान र लक्ष-उद्देश्य, मूल्य-मान्यता, व्यवस्था हात्तीका देखाउने दाँतका रुपमा भएकाले भनाइ र गराइमा बढी नै विपरीतता बढिरहेको देश । राजनीतिक अस्थीरता, सामाजिक अराजकता, जनजिविकाजन्य असन्तुष्टि, राज्यआतंक र  प्रशासनिक अदक्षताले सताइएको देश ।

 नवउदारवादी अर्थनीति एवं अफापसिद्ध असफल र अस्थीरताको कारक दलाल पुँजीवादी संसदीय  व्यवस्था र दल एवं तिनका भ्रष्ट-दुष्टअनि दलाल र गद्दार नेता-शासकहरुका कारण बेरोजगारी, परनिर्भरता, भुक्तानी असन्तुलन, व्यापारघाटा, वैदेशिक ऋण चरम हुँदै टाट पल्टेर एक असफल राष्ट्र घोषणा  हुन मात्र बाँकी भएको देश ।  तीनतिरबाट भारत जस्तो सबभन्दा ठुलो जनसंख्या र विशाल भूगोल भएको पुँजीवादी बाटोमा रहेको विस्तारवादी देशबाट घेरिएको र अर्को एकतिरबाट दोस्रो ठूलो जनसंख्या र विशालतम भूगोल भएको समाजवादी बाटोमा अघि बढिरहेको चीनसँग सिमा जोडिएर दुई भिन्न विचार, बाटो र व्यवस्था भएका प्रतिस्पर्धी र प्रतिशोशोधी मुलुकहरुद्वारा भूपरिवेष्ठित र भूराजनीतिक संवेदनशीलता भएको देश । विगत छ दसकदेखि पंचशीलमा आधारित स्वतन्त्र र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको भएपनि हाल हाएर सो नीति विपरीत अघोषित रुपमा इण्डो(पश्चिमा शक्तिकेन्द्रको सुरक्षा रणनीति अवलम्बन गर्न थालेको देश ।

सामान्यतया सन् १८७२ को सुगौली सन्धिबाट र विशेषतस् १९५० को नेपाल(भारत शान्ति तथा मैत्री सन्धिमार्फत अर्ध औपनिवेशिक अवस्थामा पुगेको भएपनि पंचायतकालसम्ममा सामन्ती उत्पादन प्रणालीमा आधारित कृषिप्रधान र किसानबाहुल्य एक अत्मनिर्भर विकासशील राष्ट्रमा उक्लिएको यो देश विसं २०४८ देखि आजमा प्रवेश गरेसँगै उदारीकरण र निजीकरण मार्फत नव औपनिवेशिक अवस्थामा पुगेको परनिर्भर र पिछडिएको अत्यन्त शोषित-पीडित एक अति कम विकसित देशमा गिरेको देश हो नेपाल ।  विकसित पुँजीवादी अवस्था र व्यवस्था वा जनवादी-समाजवादी अवस्था र व्यवस्था अन्तर्गत अवलम्बन गरिने संघीय शासन व्यवस्था हाम्रो जस्तो अविकसित, परनिर्भर, अर्धसामन्ती र नव औपनिवेशिक अवस्था र दलाल पुँजीवादी शासनव्यवस्था भएको देशमा साम्राज्यवादीहरुको फुटाऊ र शासन गर रणनीति अन्तर्गत घुसाइएको वा लादिएको यो पहिचानमा आधारित संघीय प्रणालीलाई आफूलाई खाँटी वर्गीय विचारमा आधारित बताउने कम्युनिस्ट क्रान्तिकारीहरुले र राज्यले नै जानी-नजानी वा चाही-नचाही अवलम्बन गरेकोले विभिन्न जात-जाति, भाषाभाषी र धर्म-संस्कृतिका जनसमुदायका बिचमा जातीय विद्वेष, भाषिक विवाद र धार्मिक असहिष्णुता बढेर जातीय, धार्मिक, सांस्कृतिक र साम्प्रदायिक द्वन्द्व र दङ्गाका झिल्का र प्रवृत्तिहरु देखापरेकोले  देश आज निकै नै गम्भीर र संवेदनशील मोडमा पुगेको छ ।

 साम्राज्यवादी-विस्तारवादी वैदेशिक शक्तिकेन्द्रहरुको चलखेल, हस्तक्षेप, शोषण-दमन, घेराबन्दी-नाकावन्दी र धम्की-घुर्की व्यापक भैरहेको र तिनका अगाडि  मूलतः नेपाली संसदवादी दल, नेता र शासक-प्रशासकहरुको सुनियोजित, संगठित र संयुक्त भ्रष्टाचार, दलाली, गद्दारी र आत्मसमर्पणवादी गतिविधिका कारण र अंशतस् आफूलाई क्रान्तिकारी र देशभक्त बताउने सडकवादी शक्ति, मंच-मोर्चा, संघ-संस्था, अभियान-प्रतिष्ठान र सचेत नागरिक अगुवा भनिने व्यक्ति-व्यक्तित्वहरुका संकीर्ण, एकलकाँटे, अहंकारी, मपाइवादी, पूर्वाग्रही, प्रतिशोधी र निषेधवादी चिन्तन र चरित्रका कारण राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, राष्ट्रिय अखन्डता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वत्व-अस्तित्व धरापमा परेको देश हो नेपाल ।

राणाकालसम्ममा पूर्ण ( करिब ९५ प्रतिशत) सामन्ती र आंशिक (करिब २५ प्रतिशत) उपनिवेश भएको नेपाल पंचायतकालमा आउँदा अर्ध ( करिब ७० प्रतिशत) सामन्ती र अर्ध -करिब २५ प्रतिशत अर्थात करिब चौथाइ उपनिवेश हुँदै बहुदलीय संसदीय व्यवस्था हुँदै हालको गणतान्त्रिक कालसम्म आइपुग्दा सामन्ती अवस्था २५ प्रतिशत र औपनिवेशिक अवस्था ९० प्रतिशतजति हुन पुगेको देशमा परिणत भएको देश हो हालको नेपाल । यसरी हिंजोको सामन्ती र अर्धसामन्ती एवं अर्ध र नव उपनिवेसको सामाजिक, आर्थिक र राजनीतिक अवस्थाको देश नेपाल अहिले खासगरी बहुदलीय संसदीय व्यवस्था र दलाल पुँजीवादी संघीय गणतन्त्रात्मक शासनकालमा आएपछि त झन् खुला, सीधा, नाङ्गो रुपमा इन्डो-पश्चिमा विस्तारवादी-साम्राज्यवादीहरुको निरन्तरको चौतर्फी हस्तक्षेपका कारण झन्डै झन्डै पूर्ण उपनिवेशहुन पुगेको छ हाम्रो देश नेपाल ।

उपरोक्त कारण र परिस्थितिले गर्दा देशको अवस्था निकै नै संवेदनशील अनि विष्फोटक र विद्रोहात्मक अवस्थामा पुगेको छ । अर्को शब्दमा भन्नुपर्दा सत्तासीन र प्रतिपक्षी संसदवादी पार्टी-नेता  र राज्यमा अन्तर्निहित उल्लिखित विभिन्न विकृति र विसङ्गतिहरुका कारण पुरानो सत्ता टिक्न नसक्ने र जनता यो दर्दनाक र विकराल अवस्था सहेर बाँच्नै नसक्ने अवस्था उत्पन्न भएको छ । यो अवस्था भनेको वस्तुगत रुपले क्रान्तिकारी परिस्थिति परिपक्व बनेको अवस्था हो । विडम्बना, आज देसमा विद्यमान सत्ताधारी, प्रतिपक्षी संसदवादी वा  क्रान्तिकारी कुनै पनि राजनीतिक शक्ति नेपालका यी विशिष्टता, मौलिकता र यो भयावह अवस्थाको गम्भीरतालाई बुझ्न र बदल्न  समर्थ छैनन।

नेपाल  र नेपालीका उपरोक्त विशिष्टता र मौलिकतालाई बुझिसकेपछि केकस्तो र कसरी क्रान्ति गर्दा पूर्ण सफल हुन सकिन्छ र प्रतिक्रान्ति नहुने सुनिश्चित गर्न सकिन्छ भन्ने अर्को अहं प्रश्न खडा हुन्छ । सच्चाइ यो हो कि उपरोक्त मौलिकता र विशिष्टता नपकृकन वा यिनलाई आधार मानेर नेपाली नीति, विधि र व्यवस्था अनुसन्धान, अवलम्बन र कृयान्वयन गर्ने नगर्दासम्म नेपालमा निर्णायक, गुणात्मक, दीगो र निरन्तर क्रान्ति सम्भव छैन । आज नेपालमा बारम्बार क्रान्तिका प्रयास हुने, आन्दोलन र बलिदानका कीर्तिमान समेत कायम हुने तर क्रान्ति त के जनतामा महसुस हुने जनपक्षीय, देसपक्षीय र दीगो कुनै उल्लेख्य परिवर्तन र सुधार पनि नहुने बरु बारबार प्रतिगमन र प्रतिक्रान्ति नै भैरहने गरेको छ । अहिले पनि पुरातनपन्थी राजावादी प्रतिगमन र कथित अधुनातनपन्थी विस्तारवादी-साम्राज्यवादी प्रतिगमनका प्रकृयाहरु जोडतोडले चलिरहेका छन् । विचित्र विडम्बना यो छ कि यी दुवैथरी प्रतिगनकारीहरुले थोरै वा धेरै, प्रत्यक्ष वा अप्रत्यक्ष, ढिलो वा चाँडो तिनै विस्तारवादी-साम्राज्यवादीसँग बिक्ने, चुक्ने, झुक्ने र आत्मसमर्पण गर्ने उपयुक्त समय, विधि, रुप र एजेन्डा खोजिरहेका छन् । स्पष्ट छ कि जुन शक्तिले नेपाल र नेपालीको हकहितलाई बली दिएर विदेसी शक्तिराष्ट्रहरुको स्वार्थलाई बढीभन्दाबढी पूरा गर्ने गराउने कसम खाएर र कटिबद्धता देखाएर उनीहरुलाई विश्वास दिलाउन सक्छ, त्यही पक्षको प्रतिगमन र प्रतिक्रान्ति स्थापित गराइन्छ र हुन्छ ।

भलेही यो इतिहास सिद्ध सच्चाइ हो कि जुनसुकै प्रतिगमन र प्रतिक्रान्तिको धेरै आयु हुने छैन । तसर्थ प्रतिगमन र प्रतिक्रान्तिका यी फणाहरुलाई ठोक्न, रोक्न र सधैको लागि पराजित गर्न अत्यावश्यक छ । त्यसैले अब यी कुराहरुलाई गहिरो गरी बुझ्ने नयाँ चिन्तन र दृष्टिकोण विकास गरेर  नयाँ वैकल्पिक विचार, बुझाइ, बाटो, विधि र व्यवस्थाको मोडेलको रुपमा जनता र देशको सच्चा र दीगो हकहितमुखी लोकतन्त्रको रुपमा जनताको राष्ट्रिय लोकतन्त्र  को परिकल्पना र विकास  गर्नु र नेपालको ठोस धर्तीमा लागू गर्नु अत्यन्त  जरुरी छ । यस्तो लोकतान्त्रिक व्यवस्थाले मात्र देश र जनताका राष्ट्रियता र लोकतन्त्रलाई संरक्षण र सम्बर्द्धन गर्ने अनि  जनजीविकाका समस्याहरुलाई पनि उल्लेख्य, शीघ्र र प्रभावकारी रुपमा हल गर्नसक्छ र गर्नै पर्दछ । यसरी मात्र न्यायपूर्ण, समतामुखी, विज्ञानसम्मत, समाजको स्थापना र विकास गरी स्थायी शान्ति, दीगो विकास र समग्र समृद्धि प्राप्त गर्न सकिन्छ ।त्यसका लागि  यस्तो विचार र बुझाइ बोक्ने व्यक्ति र शक्तिहरु सर्वप्रथम एकताबद्ध हुनु, मोर्चाबद्ध हुनु, आगामी नीति, कार्यक्रम र कार्ययोजनाहरु बनाउनु, आपसी सहकार्य गर्नु, तालमेल गर्नु र सहयोग-सद्भाव बढाउनु आवश्यक हुन्छ । तत्पश्चात् यो भयावह अवस्थालाई बदल्न सम्झौताहीन र अजेय निर्णायक संयुक्त र सशक्त संघर्षमा डट्नुपर्छ ।  यसरी मात्र यो देशमा दीगो क्रान्ति,  चौतर्फी विकास, सापेक्षित समानता, समग्र समृद्धि, उच्च लोकतन्त्रर -जनवाद   पूर्ण राष्ट्रिय स्वाधीनता, स्थायी शान्ति र अमन चैन प्राप्त गर्नको लागि संघीय समाजवाद हुँदै साम्यवादतिर अगाडि बढ्न सफल भइनेछ ।  ललितपुर नारायण शर्मा २०८०।९।२१


२०८० पुष २१ १०:५९ बजे

प्रतिक्रिया