कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी ध्रुवीकरण दिशामा अगाडि बढाउँ

सबै घटकमा यस्तो चिन्ता गर्नेहरू हुनुहुन्छ । त्यसकारण नेपाली कम्युनिष्ट आन्दोलनको मुल्यविघटन र भ्रष्टिकरणका विरुद्धमा क्रान्तिकारी ध्रुवीकरणको आवश्यकता छ

bimbonline बिम्ब अनलाइन
२०८० पुष १० ०८:५४ बजे
शशिधर भण्डारी

काठमाण्डौ। माक्सवाद लेनिनवाद शोषणप्रधान पूँजीवादी युगका विरुद्धको प्रतिध्रुवीय भाष्य हो । यो भाष्य राजनीति, अर्थशास्त्र, इतिहास, दर्शन, कानुन, धर्म, संस्कृति आदि मानव जीवनका धेरै कुराहरूसित सम्बन्धित छ । माक्र्सवाद लेनिनवादले प्रतिध्रुवीय कम्युनिष्ट नैतिकता र आचरणको माग गर्दछ । एउटा सच्चा माक्र्सवादी लेनिनवादी कम्युनिष्ट पार्टीको सदस्य हुनु सामान्य कुरा होइन । माक्र्सवादी लेनिनवादी दर्शनले विश्वका धेरै मान्छेको दिमाग हल्लाई दियो । माक्र्सको युग प्रतियोगितात्मक पूँजीवादी युग थियो । त्यो औद्योगिक क्रान्ति भएका युरोपियन मुलुकहरूको चरित्र र विशेषतामा आधारित विश्लेषण हो । त्यतिबेला एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका कैयन मुलुकमा दास युगका पिलरहरू ढलेका थिएनन् । सामन्तवाद त झन ज्याजल्यवान अवस्थामा थियो । त्यस्तो अवस्थामा प्रतिध्रुवीय विचारधाराका रुपमा उठेको माक्र्सवादले श्रमिक जनताको पक्षमा झण्डा उठायो ।

मानव जीवनका हरेक क्षेत्रमा नयाँ भाष्यको सिर्जना गर्‍यो । राजनीति, अर्थशास्त्र, इतिहास, दर्शन, कानुन, धर्म, संस्कृति, नैतिकता र आचरणको क्षेत्रमा सर्वहारा वर्गीय पक्षधरताको एउटा वैज्ञानिक प्रारुप तयार पार्‍यो । त्यसपछि पृथ्वीको कुना कुना र पिछडिएको देशमा समेत माक्र्सवादको प्रवेश भयो । माक्र्सवादले जीवन र जगतप्रतिको दृष्टिकोणमा नै आधारभूतरुपमा परिवर्तन ल्याइदियो । लेनिनवाद माक्र्सवादको एउटा विकसित रुप हो । लेनिनवाद सर्वहारा वर्गीय क्रान्तिको नयाँ युगको भाष्य हो । लेनिनवादले साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको प्रतिनिधित्व गर्दछ । माक्र्सवाद लेनिनवाद यो आजको जीवन र जगतलाई विल्कुल फरक ढङ्गले परिभाषा गर्ने वैज्ञानिक शास्त्र पनि भएको कारणले यसलाई आत्मसात गर्न निकै कठिन छ । माक्र्सवादले सत्य कुरा गर्दछ । मानव जीवन धेरै कुराहरूमा तर्क, तथ्य र वास्तविकरुपमा सही के हो ? त्यसलाई पक्रने भन्छ । तर आजको हाम्रो समाजले भाग्यवाद र मिथकलाई आधार बनाएर धारणा बनाउँछ । आज इतिहास लेखन जस्तो गम्भीर कुरालाई हाम्रो समाजले मिथकीकरण गर्ने प्रयत्न गर्दछ । उदाहरणका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवनको ठोरीलाई राम जन्मभूमि भएको जुन दाबी पेश गर्नुभएको थियो त्यो इतिहासलाई मिथकीकरण गर्ने एउटा प्रयत्न हो । माक्र्सवाद लेनिनवादको गफ दिनु रातो झण्डा बोकेर हिड्नु हाटहुट गरेर चुनाव पनि जितिहाल्नु ठूलो कुरा होइन । ठूलो कुरा त माक्र्सवाद लेनिनवादलाई आत्मसात गर्नु र त्यो प्रतिध्रुवीय सैद्धान्तिक भाष्यलाई समाज र आफ्नो जीन्दगीको प्रवाह बनाएर हिड्नु हो ।

माक्र्सवादी लेनिनवादी सिद्धान्तको वैचारिकीलाई आधार बनाएर हेर्दा नेपालमा कम्युनिष्ट आन्दोलन बलियो छ कि कमजोर छ ? भन्ने प्रश्नको उत्तरले धेरै कुराको फैसला गर्दछ । हामीलाई लाग्छ नेपालको कम्युनिष्ट आन्दोलन विश्व कम्युनिष्ट आन्दोलन जस्तै रक्षात्मक अवस्थामा छ । कसैलाई नेपालमा कम्युनिष्ट आन्दोलन बलियो छ । देशका सम्पूर्ण कम्युनिष्ट पार्टीहरू एक हुनुपर्दछ भन्ने लाग्न सक्छ । तर वास्तविकता त्यस्तो होइन । एउटा कम्युनिष्ट पार्टीको नाम, झण्डा र हाटहुटले मात्र सच्चा कम्युनिष्ट नेता कार्यकर्ता भइँदैन । आजको कर्पोरेट पूँजीवादले उल्टो दिशामा हिडालेको समाजलाई सुल्टो दिशामा हिडाउने प्रतिध्रुवीय माक्र्सवादी लेनिनवादी आधारहरू छन् । देश र विश्वको राजनीतिलाई, अर्थनीतिलाई, इतिहासलाई, दर्शनलाई, संस्कृतिलाई, कानुनलाई, धर्मलाई, आचरण तथा नैतिकता आदिलाई आधार बनाएर हामीले यो देशका सरकारी कम्युनिष्टहरूलाई हेर्‍यौ भने एउटा उदेकलाग्दो तस्विर हाम्रा अगाडि उभिन्छ । तिनीहरू पूजीवादी पार्टीका नेता कार्यकर्ता भन्दा फरकै छैनन् । कतिपय अवस्थामा त्यो भन्दा खराव र भ्रष्ट चरित्र प्रदर्शन गर्छन् । एउटा सच्चा कम्युनिष्ट पार्टीको नेता कार्यकर्तालाई देश समाज र आम शोषित पीडित जनताको जीवन पद्धति बदल्ने सम्बन्धमा चिन्ता हुन्छ र तदनुरुप भिजन हुन्छ । तर हाम्रो देशका धेरै सरकारी कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई घर र परिवारको व्यवस्थापन मात्र होइन जसरी पनि धनी हुने चिन्ता छ

एउटा सच्चा कम्युनिष्ट पार्टीको सदस्यलाई शिक्षा र स्वास्थ्यको राष्ट्रियकरण गरेर सबै जनताको पहुँचमा पुर्‍याउने चिन्तन हुन्छ । तर हाम्रो देशका धेरै कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरू निजी स्कूल र अस्पतालका मालिक तथा निजीकरणका प्रवक्ता छन् । एउटा सच्चा कम्युनिष्ट पार्टीको सदस्य नवउदारवादी अर्थतन्त्र विरोधी हुन्छन् । हाम्रा सरकारी कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरूले नवउदारवादी सिद्धान्तमा आधारित नीति कार्यक्रम तथा बजेट ल्याउँछन् । सांस्कृतिकरुपमा पूँजीवादीहरू जस्तै छन् । भाग्यवादमा विश्वास गर्दछन् र ठूला–ठूला कर्मकाण्डी अन्धविश्वासी काम गर्दछन् । भ्रष्टाचार अनियमितता र कमिशनतन्त्रमा लिप्त छन् । सम्भवतः कम्युनिष्ट घोषणा पत्रसम्म नपढेका व्यक्तिहरू मन्त्री र पिविएम छन् । मण्डले अपराधी र गुण्डा पृष्ठभूमिका व्यक्तिहरू विधायक छन् । पार्टीको उच्च पदमा तिनै छन् । तिनको पेशा राजनीति हो अरु केही छैन । पैतृक सम्पत्ति एकमानाको राम्रो व्यवस्था पनि थिएन तर रातारात गाडी घोडा शिशमहल र अर्बौं सम्पत्तिका मालिक भएका छन् । एउटा कम्युनिष्ट पार्टीको पेशेवर कार्यकर्ताको यति तीव्र ढङ्गले वर्ग उत्थान कसरी हुन सक्छ ? यसको सिधा उत्तर कमिशन, घुस र भ्रष्टाचारै हो । गहिरिएर हेर्ने हो भने म कम्युनिष्ट पार्टीको कार्यकर्ता हुँ भनेर बताउन निकै अप्ठ्यारो लाग्ने परिस्थिति सिर्जना भएको छ ।

प्रतिगामी र प्रतिक्रियावादी पृष्ठभूमिबाट आएका व्यक्तिहरू रातारात पार्टीको केन्द्रीय समितिका सदस्य विधायक र मन्त्री पदमा नियुक्त हुन्छन् । किनभने तिनीहरूसित पार्टीलाई बुझाउने थैली हुन्छ । उद्योगपतिको प्रतिनिधिका नाममा दलाल पूँजीपति स्वास्थ्य र शैक्षिक माफियाहरूलाई विधायकमा मनोनीत गरिन्छ । दलाल पूँजीपतिबाट मोटो चन्दा असुलेर तिनीहरूलाई कर छल्न अवसर प्रदान गरिन्छ । एउटा किसानले साना किसान कृषि सहकारी वा कुनै बैङ्कबाट लिएको ऋणको किस्ता बुझाउन सकेन भने त्यसको उठिवास लगाइन्छ तर खर्बपति दलाल पूँ‘जीपतिहरूलाई करछुट गराइन्छ । सामन्त दलाल तथा नोकरशाही पूँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टीले त गर्दै आएकै हो । तर आफूलाई कम्युनिष्ट बताउने पार्टीका नेताहरू सरकारमा बसेको बेलामा यति लज्जाजनक तस्विर देख्नु नपर्ने हो तर देख्नुपरिरहेको छ । पञ्चायतका कठोर कालरात्रिहरूमा भूमिगत भएर काम गरेका, वर्षौं जेल बसेका, यातना झेलेका जनयुद्धमा होमिएका देश र जनताको मुक्तिका निमित्त काम गरेका हजारौँ नेता कार्यकर्ताहरू फड्के किनारमा धकेलिदै गएका छन् र तिनीहरू भूमिकाविहीन अवस्थामा रहेका छन् ।

विश्व कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा एउटा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्न धेरै प्रक्रियाहरू पूरा गर्नुपर्दछ । त्यसमा कम्युनिष्ट पार्टीको सदस्य बन्न इच्छुक व्यक्तिको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र दार्शनिक दृष्टिकोणलाई मूल्याङ्कन गर्ने प्रचलन हुन्छ । त्यसका साथसाथै उम्मेदवार सदस्यको व्यवहार, आचरण, नैतिकताको कुरा आउँछ । श्रमिक वर्ग महिला उत्पीडित समुदायप्रति उसको व्यवहार र वर्ग दृष्टिकोणको कुरा आउँछ । पार्टीको सदस्य बन्न चाहने व्यक्तिको जन्मसिद्ध वर्गीय धरातलको विषय पनि मूल्याङ्कन प्रश्न अन्तर्गत पर्दछ । उदाहरणका लागि आजको चीनको कम्युनिष्ट पार्टीलाई नै हेर्न सकिन्छ । चिनियाँ कम्युनिष्ट पार्टी माक्र्सवाद लेनिनवाद र माओ विचारधाराको लाइनमा छ वा संशोधनवादी बाटोमा छ भन्ने विषयमा विमर्श गर्न सकिएला त्यो अलग बहसको विषय हो तर चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्न त्यति सहज छैन । मैले माथि उल्लेख गरेका सबै प्रक्रियाहरू पूरा गरेको हुनैपर्दछ । दार्शनिक रुपमा द्वन्द्वात्मक भौतिकवादी आचरण र व्यवहार तथा सांस्कृतिकरुपमा श्रमिकवादी हुनैपर्दछ । चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यताका लागि यी प्रारम्भिक शर्त हुन् । त्यसैले झण्डै डेढ अर्ब जनसङ्ख्या भएको चीनमा करिव दश करोड मात्र पार्टी सदस्य छन् । अन्य चिनियाँ जनता कम्युनिष्ट पार्टीको समर्थक ग्रुप सहयोगी र शुभचिन्तकका रुपमा रहेका छन् । तर हाम्रो देशका कस्ता कस्ता मान्छे कम्युनिष्ट पार्टीको सदस्य मात्र होइन नेता र कार्यकर्ता छन् रु तिनलाई हेरिनसक्नु छ । तिनीहरूलाई देश जनता पार्टी र आफूले अँगालेको जीवन दर्शनप्रतिको सामान्य भन्दा सामान्य उत्तरदायित्वको समेत मतलबै छैन ।

नेपालको कम्युनिष्ट आन्दोलनमा क्रियाशील नेता र कार्यकर्ताहरूको मूल्यविघटन र भ्रष्टिकरण संसद र संसदीय सरकारमा सामेल भएपछि शुरु भएको हो । सिद्धान्त कार्यनीतिक रुपमा परिस्थिति अनुरुप संसद र सरकारमा जाने लाइनलाई गलत मान्न सकिन्न । हाम्रो छिमेकी देश भारतमा पनि कम्युनिष्ट पार्टीहरूले संसद र सरकारमा जाने नीति अपनाउँदै आएका छन् । तिनीहरूले जनताको मनोभावना अनुरुप काम गर्न सकेनन् होला तर यति धेरै भ्रष्ट र नालायक भएनन् । आज केरल राज्यले प्राप्त गरेको समृद्धि लामो समयदेखिको माक्र्सवादी कम्युनिष्ट पार्टीको कुशल नेतृत्वको परिणाम हो । भारतका संसदीय कम्युनिष्ट पार्टीहरूले मजदुर वर्गका पक्षमा सुधारका कार्यक्रमहरू ल्याएका थिए । अमेरिकासँगको भारतको आणविक सम्झौताका विरुद्धमा सरकार छोडेर सडकमा आएका थिए । आज पनि भारतका कम्युनिष्टहरू नवउदारवाद, निजीकरण र भूमण्डलीकरणका विरुद्धमा वैचारिक रुपमा एकजुट छन् । तर नेपालका सरकारी कम्युनिष्टहरू नवउदारवाद र कर्पोरेट पूँजीवादका प्यादा बनेर काम गरिरहेको छन् ।

नेपाली कम्युनिष्ट आन्दोलनको यस्तो उदेकलाग्दो तस्विरले नेपालको कम्युनिष्ट आन्दोलन निकै कमजोर र रक्षात्मक अवस्थामा छ भन्ने देखाउँछ । नाम र झण्डाले मात्र पुग्दैन नीति र कार्यक्रम सिद्धान्त अनुरुप हुनुपर्छ । नेपालमा कम्युनिष्ट आन्दोलनमा पैदा भएको यस्तो अवस्थाप्रति चिन्ता गर्ने नेता कार्यकर्ताहरूको पनि कमी छैन । सबै घटकमा यस्तो चिन्ता गर्नेहरू हुनुहुन्छ । त्यसकारण नेपाली कम्युनिष्ट आन्दोलनको मुल्यविघटन र भ्रष्टिकरणका विरुद्धमा क्रान्तिकारी ध्रुवीकरणको आवश्यकता छ । सबै मिलेर कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी ध्रुवीकरण दिशामा अगाडि बढाउँ । त्यसैमा सच्चा माक्र्सवादी लेनिनवादी आन्दोलनको भविष्य निर्भर छ । इतिहासले नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र सक्रिय क्रान्तिकारी धु्रवीकरणको माग गरेको छ ।


२०८० पुष १० ०८:५४ बजे

प्रतिक्रिया