भक्तपुर। रुसी अक्टोबर समाजवादी क्रान्तिको नेपालका विभिन्न राजनैतिक समूह र संस्थाहरूले पनि यस दिवसलाई मनाउँदै छन् । क्रान्तिको परिस्थिति र अनुभवबारे अक्टोबर क्रान्तिको दिशा निर्देशक लेनिनले यसरी व्यक्त गर्नुभएको छ, “शासितवर्ग पहिलेको अवस्थामा बस्न नचाहेको र शासकवर्गले पहिले जस्तो शासन गर्नै नसक्ने अवस्थामा क्रान्ति हुन्छ ।”रुसी समाजवादी क्रान्तिको निम्ति कस्ता भौतिक परिस्थितिहरू तयार भएका थिए भन्ने केलाउनु उपयुक्त हुन्छ ।
१) क्रान्तिभन्दा पहिले रुसको ६५ प्रतिशत जनता गरिबीको रेखामुनि थियो ।२) ३० हजार जमिनदारहरूको हातमा १ करोड किसानहरूको जत्तिकै जग्गा थियो ।३) १ करोड ४० लाख मानिसहरूलाई कामबाट निकाली सेनामा भर्ना गराइएको थियो ।४) खेतीपातीमा लगाइने गाई गोरु पनि सेनाको रसद पानी वा खुराकमा लगाइएको थियो । त्यसले खेतीको काममा ठूलो बाधा पर्यो । किसानहरूलाई सार्है दुःख भयो ।५) उद्योगधन्दाहरू बन्द हुँदै थिए र मजदुरहरू कामबाट निकालिँदै थिए ।६) यातायातको बन्दोबस्त गर्न सरकार असफल हुँदै थियो ।७) जनतालाई समयमा खाद्य सामग्री पुर्याउन सरकार असफल भयो । देशभरि भोकमरी छायो ।
सन् १९१७ को जनवरी महिनादेखि नै मजदुर र किसानहरूको विरोध र असन्तोष बढ्दै गयो । आफ्नो कष्टपूर्ण जीवनबाट मुक्ति पाउन आठ घण्टाको कामको दिन र अन्य सुविधाहरूको निम्ति मजदुरले हडताल र प्रदर्शनहरू सुरु गरे । तथ्यले स्थितिलाई अझ प्रस्ट पार्छ ।१) १९१७ फेब्रुअरीसम्म ८० प्रतिशत मजदुरहरू सङ्गठित भइसकेका थिए र २ लाख मजदुरहरूले हडताल र प्रदर्शनहरूमा भाग लिए ।२) गाउँ–गाउँमा किसान विद्रोहहरू चर्कँदै गए । गाउँका किसानहरूले सामन्त र जमिनदारहरूको घरघरमा धावा बोल्दै, भकारी फोर्दै बाँडचुँड गरेर दरबारहरूमा आगो लगाउँथे र जग्गामाथि कब्जा गर्न थाले ।३) २७ फ्रेबु्रअरीसम्ममा ६० हजार सिपाहीहरू सरकारको विरोधमा जनतासँग मिल्न गए । सरकारका पदाधिकारीहरू पक्राउ परे, मन्त्री र जर्नेलहरू पक्रिए । जेल फोडिए र क्रान्तिकारीहरू छुटे ।
यसरी जार सरकार उल्टियो र करेन्स्कीको पुँजीवादी सरकार आयो । त्यस सरकारले पनि मजदुर र किसानका मागहरूलाई पूरा गर्न सकेन† युद्धलाई रोकेर शान्ति कायम गर्न पनि सकेन । यसको ठीक उल्टो पुँजीवादी सरकारले पनि मजदुरहरूको हडताल र प्रदर्शनमा गोली चलाएर मजदुरहरूलाई मार्न सुरु गर्यो ।
जमिनदारहरूको जग्गा कब्जा गर्ने किसानहरूमाथि सरकारले गोली चलाउने धम्कीमात्रै दिएन, धेरै किसान र मजदुरलाई गोली हानेर मार्यो
। प्रतिक्रियावादी दमनले सङ्घर्ष थामिएन बरु झन चर्कियो । तथ्यले त्यसलाई प्रस्ट गर्छ ।१) १९१७ अप्रिलमा किसान विद्रोहहरूको सङ्ख्या २०५ पुग्यो । एक महिनापछि अर्थात् मेमा किसान विद्रोहको सङ्ख्या ५५८ पुग्यो । जून महिना अर्थात् एक महिनापछि नै विद्रोहको सङ्ख्या ११२२ पुग्यो । गाउँहरू किसानहरूको हातमा गए ।२) अक्टोबरसम्ममा ८ सय कलकारखानाहरू बन्द भए । १ लाख ७० हजार मजदुरहरू बेकार भए । कारखानाहरूको बन्दोबस्त गर्न मजदुर समितिहरू बन्न थाले ।३) प्रतिक्रियावादी दमनको विरोध गर्न र आफ्नो शासन आफैँले चलाउन ६२ सहरमा २ लाख लालरक्षकहरू अथवा स्वयम्सेवकहरू सङ्गठित भए ।
यसप्रकार पुँजीवादी सरकारले पनि जनताको काम–मामको बन्दोबस्त गर्न सकेन, यातायात र मल कारखाना या अर्थतन्त्रलाई सम्हाल्न सकेन । गाउँ र सहरका जनता सरकारको ऐन–कानुन र शासनमा बस्न चाहेनन् र सरकार शासन चलाउन असमर्थ भयो । यसरी १९१७ मा रुसको अक्टोबर समाजवादी क्रान्ति भएको थियो ।
अक्टोबर क्रान्तिको अनुभवबाट लेनिनले भन्नुभएको थियो, “क्रान्तिको निम्ति अनुकूल अन्तर्राष्ट्रिय परिस्थिति आवश्यक छ, छिमेकी देशहरूको परिस्थिति क्रान्तिको अनुकूल हुनु झन् आवश्यक छ ।”
अक्टोबर क्रान्तिको बेला पुँजीवादी देशहरू आपसमा पहिलो विश्वयुद्धमा फसेका थिए । बेलायत, फ्रान्स र रुस एकातिर थियो भने जर्मनी, अष्ट्रिया, हङ्गेरी र इटली अर्कोतिर थियो । रुस आफै आफ्नो छिमेकी जर्मनीसँग युद्धमा फसेको थियो ।१९१७ को फेब्रुअरीमा रुसकै शोषकवर्गमा ठूलो फाटो आयो र फेबु्रअरी क्रान्ति भयो । अन्तर्राष्ट्रिय प्रतिक्रियावादीहरू आफै प्रतिक्रियावादी युद्धमा फसेको हुनाले रुसको अक्टोबर क्रान्तिलाई दबाउन र हस्तक्षेप गर्न तत्काल एक हुनसकेनन् ।
पुँजीवादी देशका मजदुरहरुले रुसको मजदुर क्रान्तिको पक्षमा एकता प्रदर्शन गरे । जर्मनी र फ्रान्सका सेनाले विद्रोह गरे । युरोपका विभिन्न भागका मजदुर र जनताले ठूल–ठूला राजनैतिक हडतालहरू गरेर ‘युद्धको विरोध’ मा आ–आफ्ना सरकारलाई आफ्नै देशको विद्रोह र सङ्घर्षमा फसाएर रुसी क्रान्तिलाई सहयोग पुर्याए ।
(नेपाल मजदुर किसान पार्टीका अध्यक्ष रोहितले विसं २०४४ साल मङ्सिरमा लेख्नुभएको लेखका सम्पादित केहि अँशमा आधारित)
प्रतिक्रिया