मौलाउँदो ‘टाइसुट-संस्कृति’मा रुमलिएको नेपाली पहिचान

शैक्षिक संस्थामा नेपाली पहिरनलाई घृणा गर्दै पश्चिमा पोषाक टाइसुट भिर्ने संस्कृति र, अग्रगामी बन्दै लुट र आतंकवादको जड अंग्रेजी भाषा जबर्जस्ती लाद्ने कार्य गरेको छ

bimbonline काशि पौडेल आयुष
२०८० कात्तिक ८ १९:३३ बजे

कहिलेकाहीँ सानोतिनो कुराले पनि मन-मस्तिष्कमा हलचल ल्याइदिँदो रहेछ । यसो सामाजिक सञ्जालमा आँखा दौडाउँदै थिएँ । एउटा सानो भिडियोमा दृष्टि-दौड टक्क अडियो । जुन भिडियोमा एक नेपाली जनजाति ‘पहिचान’को नाममा आयोजित समारोहमा भाषण दिँदै थिए । हामीले आफ्नो पहिचान जोगाउन सरकारसँग अधिकार खोज्नुपर्छ भन्ने उनको भाषणबाजीको मूल आशय बुझिन्थ्यो । भिडियो हेर्दा उनको हाउभाउले पहिचानको अर्थ र वास्तविकतालाई नै तिलान्जली दिँदैछ भन्ने महसूस गराउँथ्यो । ती ब्यक्ति पश्चिमा लवज र पहिरन (टाइ-सुट)मा सजिएर नेपाली जातीय पहिचान खोज्ने प्रण गर्दैथिए ।

उपस्थित पात्रहरूको पहिरनले मेरो मन-मस्तिष्कमा ठुलै हलचल ल्याएको थियो । सोचमग्न भएँ म । आफ्नो पहिचान खोज्नुपूर्व आफ्नो भाषा, भेषभुषा, मौलिक संस्कृति, परम्परा र रहनसहन पो बुझ्न पर्ने हो । त्यसैअनुरुपले हराउँदै गएको पहिचान जोगाउन लाग्ने हो, न कि आधुनिक बन्दै पश्चिमा शैली अपनाउने अनि भाषणमा अंग्रेजी छाँट्दै पहिचान चाहियो भन्ने हो । जिज्ञासा जाग्यो– खास खोजेको पहिचान टाइसुटसहितको अंग्रेजीपन कि नेपालीत्वमा संस्कृति, परम्परा, रीतिरिवाज, मौलिक पहिरनसहितको आफ्नोपन ? यी यावत कुरामा रत्तिभर ख्याल गरेको देखिएन ।

भाषामा ज्यादातर अंग्रेजी भाषा छाँट्ने , पहिरनमा पश्चिमा पहिरन भिर्ने , अनि, पहिचान नेपाली जनजातिको खोजेर कहाँ कसले कतिवेला टिपेर ल्याइदिने होला ? अब एक्काइसौँ शताब्दीको जुनसुकै युवाले आफूलाई नेपालीत्वको भावमा राखेर यस्ता कुरालाई गहन रूपमा उठाउन सक्नुपर्छ भन्ने लाग्छ ।

अचेल नेपाली जनले हरेक कुरालाई खुला र ब्यक्तिगत स्वतन्त्रताको नाममा स्वैच्छिक लवज वा पहिरनले ब्याक्तित्वलाई विश्वका हरेक कुरा अँगाल्न सहज भएको ठान्छन् । तर देख्दा, भन्दा, सुन्दा सामान्य लाग्ने यो पहिरन र लवजका तथ्यले देशको सार्वभौमसत्ताभित्रका पहिचानको बारेमा कत्तिको असर गर्छ भन्नेचाहिँ कसैले ख्याल राखेको पाइँदैन । आफूलाई बौद्धिक, शिक्षित, स्वतन्त्र रहेको स्वघोषित हौवा पिट्ने पश्चिमी मिसनले चलाएको म्याकले शिक्षा र त्यसैको प्रभाव परेको नेपाली जनता क्षणभङ्गुरतामै रुप लिएको छ । त्यस्तै, पश्चिमाको हिमायती सरकारले पनि देशका जनताको मौलिक हक, देशको पहिचानको बारेमा रत्तिभर ख्याल गरेको छैन । मलाई लाग्छ सायदै तिनका माथिङ्गलमा सार्वभौमसत्ता देश भनेको के हो त्यसको पहिचानको वास्तविक अर्थको विवेक, चेतना प्रवेश गरेको छैन होला भन्ने लाग्दैछ ।

त्यस्तैगरी अचेल (खासगरी २०६४ को परिवर्तनपछि) आधुनिकताको भुत सवार हाम्रो शैक्षिक संस्थाले पश्चिमा भेषमा नेपाली बटुक (विद्यार्थी) अबोध बालबालिकालाई जबर्जस्ती गर्धनमा टाइको दाम्लो झुण्ड्याउन भिटो अख्तियार गर्ने, पाठ्यक्रममा पश्चिमा संस्कृति पहिचान पढ्न बाध्यतामा पार्ने कार्य अनिवार्य गरेका छन् । शैक्षिक संस्थाले नै नेपाली पहिचान सक्ने र बालबालिकामा देशको मौलिकतामा भन्दा विदेशी संस्कृतिप्रति मोह जगाउने ज्ञान दिएपछि भोलिका कर्णधार मानिने बालबालिकाको मस्तिष्कमा कस्तो असर पर्ला ? देशको अवस्था के होला ? के राज्य निकम्मा नै बनेको हो ? के नागरिकले मौलिकता पुस्तान्तरण गर्ने आफ्ना छोराछोरी प्रतिको अभिभावकत्वको चेत गुमाएकै हुन् ?

१७औं शताब्दीमा फ्रान्स युद्धको ३० सालसम्म चलेको युद्धमा फ्रान्सेली राजा लुई तेह्रौँ ले क्रोएशियाली सैनिकलाई भाडामा लिएको थिए । जुन सैनिकले आफ्नो पहिचानको निम्ति आफ्नो घाँटी (गर्दन)मा एक कपडाको टुक्रा बेर्ने गर्थे । राजा लुइस भाडाका सैनिकले घाँटीमा बेरेको त्यो कपडाको टुक्रालाई अति नै मन पराए । त्यसैले राजाले आफ्नो फ्रान्सेली शाहीसभामा अनिवार्य गरेका थिए । फ्रान्सेली राजाले ला क्रावाट नाम दिएर फ्रान्समा टाइको राज्य स्तरमै शुरूवात गरेको ऐतिहासिक दस्तावेज पाइन्छन् । १९औँ शताब्दीमा फ्रान्सेली कालिगड (सुचिकार)द्वारा नवीनतम आकारप्रकारमा ढाल्दै समय क्रमसँग अनेकौँ पटक छाँटकाँट गर्दै आजको अवस्थामा लगाउने टाइको आकार दिएको इतिहास पाइन्छ । पश्चिमाहरूले चर्चतिर वैवाहिक समारोह हुँदा, संस्थापक व्यावसायिक जमघटमा लगाउने टाइसुट हाम्रो शैक्षिक संस्थाले बालबालिकाको घाँटीमा बोझ बनाएर वैवाहिक समारोहमा सामेल हुन निम्ता दिएका कि फ्रान्सेली राजाले क्रोसियाली भाडाका सैनिक प्रयोग गरेको जस्तै पश्चिमाको टाइ संस्कृतिको निम्ति दास बनाएका वा विद्यालयमा नेपालीलाई ब्यवहारिक ज्ञान बाँड्न ? ती अबोध नानीबाबुले आफ्नो घाँटीको दाम्लो अर्थात् टाइले सिँगान पुछ्ने कि भाडाको दास सैनिक जस्तै मगजमा टाइको बोझ बोकेर शैक्षिक बली चढ्दै दिन काट्ने ?

आफ्नै देशभित्र पश्चिमा बोझको पीडा थोपर्ने शैक्षिक माहोलमा हुर्केको विद्यार्थीले माध्यमिक तह सकेपछि (अलिक चेत जागेपछि) देशमा बस्ने इच्छा स्वतः मार्ने नै भए । त्यसैले त आजको दिनमा नेपालभित्र दस जोड दुईको शिक्षा सकेपछि विश्वविद्यालयको डिग्री पढ्न चाह राख्ने बटुक भेट्न मुस्किल हुन्छ । लाखौँ युवाले उच्च शिक्षा, विश्वविद्यालय विदेशमा पढ्ने बहानामा निजी जमिन, चल–अचल सम्पत्ति बेचेर जन्मभूमि छाड्दै चिलगाडीमा सयर गर्न बाध्य हुनुपर्छ । एकातर्फ शैक्षिक संस्थामा स्वरोजगार मुलुक ब्यवहारिक शिक्षा दिइँदैन, अर्कोतर्फ देशको भाषा, पहिरन, संस्कार, संस्कृति, ऐतिहासिक पहिचान, सार्वभौमसत्ता, राष्ट्र निर्माणका विराङ्गाना, विभूतीले देशलाई पुर्याएको योगदान वा त्यस्ता अनेकौँ कुनैपनि विषयको ज्ञान सिकाइँदैन । बरु सरकारी तवरदेखि नै शैक्षिक संस्थाले युरोपेली, अमेरिकी गैरसरकारी संस्थाको मिसन चलाउने रुचि देखाउँछ । लायन्स क्लब, रोटरी क्लब, स्काउट, रेडक्रसलगायत रेयुकाई नेपाल जस्ता संस्थामार्फत उनीहरूको आफ्नै संस्कृति, भाषा पहिरन भिराएर छद्मरूपमा नेपाली पहिचान र संस्कृति मेट्न लागिपरेको भेटिन्छ । सरकार तिनै संस्थाको हिमायती बनेर नेपाली विद्यार्थीको माध्यमबाट आम जनमानसमा मन्दविष भर्ने कार्य गर्न उद्यत् बनिरहेको छ । हैन भने ती विदेशी संस्थाले हाम्रो शैक्षिक संस्थाभित्र छिरेर उनीहरूको मिसनसहित आफ्नो पोषाक जबर्जस्ती पहिरिन बाध्य बनाउँदा राज्यले आफ्नो नेपाली पोषाक शैक्षिक संस्थालगायत सरकारी कर्मचारीलाई संस्थागत गर्न किन सक्दैन र? यो देशको सरकार कसको हिफाजतको निम्ति गठित छ ? राज्य किन यति निकम्मा र निरीह छ ? यो आमचासो र सरकारको विषय टड्कारो रुपमा उठेको छ, उठ्न जरुरी छ ।

जसरी नेपाल सरकारले नै आधुनिक शिक्षाको नाममा शैक्षिक संस्थामा नेपाली पहिरनलाई घृणा गर्दै पश्चिमा पोषाक टाइसुट भिर्ने संस्कृति र, अग्रगामी बन्दै लुट र आतंकवादको जड अंग्रेजी भाषा जबर्जस्ती लाद्ने कार्य गरेको छ, त्यसले कालान्तरमा नेपाली भाषा लवज (नेपालमा बोलिने जुनसुकै मातृभाषा) सदाको निम्ति हराएर जाने निश्चितप्रायः छ । साथसाथै यही शैक्षिक नीति र यही परम्परा रहे अबको केही वर्षभित्रै नेपालीले कलेज र विश्वविद्यालय पढ्न वा रोजगारको निम्ति देश छाडेर विदेश भासिने क्रम अत्यधिक बढ्नेछ । देश युवा जनसंख्याविहीन बन्दै मौलिक संस्कृति, नेपाली पहिचान र सार्वभौमसत्ताको तात्विक अर्थ नै मेटिने पक्कापक्की भइसकेको छ । राज्यले प्राथमिक तहदेखि नै विदेशी भाषा र विदेशी नक्कलको शिक्षा भन्दा नेपाली भाषामा (गणित बाहेक) (नेपाली जातिका भाषा) ब्यवहारिक शिक्षामा जोड दिँदै नैतिकता र देशभक्तिपुर्ण शिक्षा लागू गर्नुपर्ने देखिन्छ । उच्च शिक्षाको निम्ति तयार रहेकोे विद्यार्थीलाई उसको रुचिअनुसारको भाषा पढ्ने वातावरण र सिपमुलक शिक्षण सिकाईको ब्यवस्थापन मिलाउन सके युवा पलायन रोक्न सकिन्थ्यो । देशमै स्वरोजगार स्थापित गर्ने मार्गप्रशस्त गर्न सकिन्थ्यो । विदेशी भूमिमा जानेले पनि हाम्रो कला-संस्कृतिको पहिचान बोकेर जुनसुकै देशमा जान सक्ने वातावरण बन्थ्यो । अरनिकोजस्तै अब्बल सीप लिएर नेपाली कला-संस्कृतिले विश्वब्यापी पहिचान बनाउँदै उत्तम आय आर्जन गर्ने मानसिकता बन्ने थियो ।जय मातृभूमि ।


२०८० कात्तिक ८ १९:३३ बजे

प्रतिक्रिया