प्रधान सेनापति इन्डो प्यासिफिक सम्मेलनमा सहभागि हुन भारतमा

bimbonline बिम्ब अनलाइन
२०८० असोज ८ १०:२५ बजे

काठमाडौँ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) इन्डो प्यासिफिक रणनीति अन्तरगतको परियोजना हो वा होइन र? प्रश्नको प्रष्ट जवाफ नागरिकले अझै पाएका छैनन् । विद्वत बर्ग नै विभाजित हुँदा यो बिषय झनै पेचिलो बन्दै गएको छ । कतिपयले एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग भएकाले यो नेपालको हितमा नरहेको तर्क गरिरहेका छन् । यसरी सैन्य रणनीतिमा नेपालको भुमिका रहनु हुँदैन भनि आवाज उठिरहेका समय प्रधान सेनापति प्रभुराम शर्मा इन्डो प्यासिफिक सम्मेलनमा सहभागि हुन भारत जानुले झनै शंसय पैदा गरेको छ ।

आइतबार नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा इन्डो प्यासिफिक सम्मेलनमा सहभागि हुन भारत प्रस्थान गरेका छन् । रुस र चिन घेर्ने रणनीतिक योजनाका रुपमा अघि सारिएको इन्डो प्यासिफिक सम्मेलनमा शर्माको सहभागिताले यतिबेला राजनीतिक र कुटनीतिक बृत गर्माएको छ । कुनैबेला अमेरिकाले दिने सैन्य सहायतालाई इन्डो प्यासिफिक अन्तरगत भन्न नमिल्ने तर्क गर्ने सेना अहिले आफैँ सम्मेलनमा किन सहभागि भयो ? प्रश्न पेचिलो बन्दै गएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नैै इन्डो प्यासिफिक रणनीति अन्तरगत ल्याइएको चर्चा चलिरहेका बेला सैन्य गठबन्धनमा नेपालको सहभागिताले अन्तर्राष्ट्रिय सम्बन्धनमा ठुलो असर पर्ने धेरैको बुझाई छ ।

इन्डो प्यासिफिक रणनीतिमा संलग्न नहुने भन्दै दलीय विवाद चर्किएको बेला सेनाले औपचारिक रुपमै सम्मेलनमा सहभागिता जनाउँदा यसले कस्तो वातावरण सिर्जना गर्ला ? यो आम चासोको बिषय बनेको छ । अर्कातर्फ सैन्य रणनीतिमा नेपाली सेनाको संलग्नताले नेपालको परराष्ट्र नीतिको पञ्चशिलताको सिद्धान्तलाई कतिसम्म प्रभाव पार्ला यो पनि सोचनिय विषय देखिन्छ ।

अहिले प्रधानमन्त्री प्रचण्ड इन्डो–प्यासिफिकको सशक्त प्रतिवादी चीनमा छन् । चीनमा राजनीतिक एवं कूटनीतिक भेटवार्तामा प्रचण्डले कुनै पनि सैन्य रणनीतिक योजनामा नेपालको संलग्नता नहुने आश्वस्त पार्न खोजेका छन् । चीनको हाङचउमा शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भएको शिष्टाचार भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गरेका थिए ।

प्रधानमन्त्रीले सैन्य रणनीतिमा नेपालले असंलग्न परराष्ट्र नीति अवलम्वन गरेको बताइरहँदा यसलाई पुष्टि गर्ने आधार कमजोर बन्दै गएका छन् । किनकी इन्डो प्यासिफिक रणनीति नवऔपनिवेशको नमुनाका रुपमा रहेको धेरैको बुझाई छ । नेपाल विवादित रहेको इन्डो प्यासिफिक वा यस्ता अन्य कुनै पनि सैन्य गठबन्धनमा जाने अवस्था बने छिमेकि राष्ट्र चिनका लागि निकै ठुलो चुनौती सावित हुनेछ । जुन चीनका लागि स्विकार्य हुने देखिदैन ।यसरी हेर्दा सैन्य रणनीति लगाएतका पक्षहरुमा कमजोर कूटनीति चाले नेपालले ठुलो क्षति व्यहोर्नुपर्ने पक्का छ । त्यसैले, नेपालले छिमेकी मुलुकसँगको कूटनीतिक सम्बन्धसँगै विश्व समूदायसँगको सम्बन्धलाई पनि अति गम्भिरतापूर्वक सन्तुलित राख्नु आवश्यक देखिन्छ ।


२०८० असोज ८ १०:२५ बजे

प्रतिक्रिया