गणेशमान सिंहको २६ औँ स्मृति दिवस मनाइँदै

bimbonline बिम्ब अनलाइन
२०८० असोज २ ०९:१९ बजे

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक एवम् २०४६ को जनआन्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहको २६ औँ स्मृति दिवस मनाइँदै छ ।दिवसको अवसरमा बिरामीहरूलाई फलफूल वितरण तथा शालिकमा माल्यार्पण गरिएको छ ।मुलुकमा विवादित अवस्थामा रहेका कम्युनिष्टलाई एक ठाउँमा ल्याउन सिंहको महत्त्वपूर्ण भूमिका रहेको थियो ।

काठमाडौँको खानदानी परिवारमा जन्मिएका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए । भद्रगोल जेल फोडेर भागेपछि भारत प्रवासमा गएको बेला बिपी कोइरालासँग मिलेर उनले २००३ सालमा नेपाली कांग्रेस स्थापना गरेका थिए ।२००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरेका थिए । संर्घषका हिसाबले बिपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा चिनिन्थे ।

२०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर काराबासको सजायँ भोगे । जेलमा कठोर यातना पाउँदा पनि गोपनीयता नखोलेको र आफ्नो लक्ष्यमा दृढ रहेपछि उनलाई ‘लौह पुरुष’ (फलाम जस्तो कठोर मानिस)को उपमा दिइएको हो ।२०३३ सालमा बिपीसँगै उनी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए । तर, तत्कालीन पञ्चहरूबाट बिपीसँगै उनलाई पनि मृत्युदण्डको सजायँ सुनाएको थियो । उनले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

बिपीको निधनपछि कांग्रेसको सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन सुरु गरेका थिए । १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारु व्यक्तित्वका धनी गणेशमानले २०४६ सालमा राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए ।


२०८० असोज २ ०९:१९ बजे

प्रतिक्रिया