काठमाण्डौ। सन् १९२९ मा उत्तर भियतनाममा हिन्द चीन कम्युनिस्ट पार्टीको स्थापना भयो । यस पार्टीले एउटा घोषणापत्र तयार गरी सार्वजनिक गर्यो । पत्रपत्रिकामार्फत यो पार्टीको नीति, कार्य पद्धतिको प्रचारप्रसार भयो । भियतनामी क्रान्तिकारी युवा लिगका सदस्यहरू सक्रियताका साथ कम्युनिस्ट पार्टीका सदस्य बन्न थाले । तीन वटासम्म कम्युनिस्ट पार्टीहरू खुले । तीनवटै कम्युनिस्ट पार्टीले आफ्नो पार्टीमात्र क्रान्तिकारी र सही ठान्दथे । यसमा धेरै विवाद भयो । धेरै आलोचना हुन थाल्यो । यो राम्रो भएको थिएन । तीनवटै कम्युनिस्ट पार्टी एकीकरण भएमात्र राम्रो हुने थियो । तीनवटै कम्युनिस्ट पार्टीले कम्युनिस्ट इन्टरनेसनमा सम्पर्क राख्न कोसिस गर्दै थिए । कम्युनिस्ट इन्टरनेसनले हो चि मिन्हलाई कम्युनिस्ट पार्टीको लागि हङकङ पठायो । १९३० मा हो चि मिन्हले एकीकरण सम्मेलन गरी तीनवटै कम्युनिस्ट पार्टीलाई मिलाएर एउटा ‘भियतनाम कम्युनिस्ट पार्टी’ बनाउनुभयो । पछि आएर भियतनाम कम्युनिस्ट पार्टीको नाम ‘हिन्द चीन कम्युनिस्ट पार्टी’ राखियो ।
भियतनामी कम्युनिस्ट शक्तिहरूको एकीकरण गर्नमा हो चि मिन्हको महत्वपूर्ण भूमिका थियो । भियतनामी क्रान्तिले महत्वपूर्ण फड्को मारिसकेको थियो । सबै कम्युनिस्टहरू कुशल योद्धा भइसकेका थिए । पार्टीको विकास खुबै छिटो हुन थाल्यो ।
सन् १९३१ मा हो चि मिन्हलाई बेलायती साम्राज्यवादीहरूले हङकङमा पक्राउ गर्यो । पक्राउको खबर कतै पनि छाप्न लगाइएन । विशेष एकान्त कोठामा नजरबन्द गरियो । दैनिक दुई छाक खान नराम्रो चामल र सडेको माछा दिइन्थ्यो । हप्ताको दुईपल्ट भने राम्रो चामल र मासु दिइन्थ्यो । एक दिनमा १५ मिनेट घडी हेरेर बाहिर टहल्न दिइन्थ्यो । अरु पुरै समय एकान्त कोठामा बस्नुपर्दथ्यो । हो चि मिन्हलाई राजकाज मुद्दा लगाइयो । सर्वोच्च अदालतमा हो चि मिन्हलाई लादा विशेष सुरक्षा व्यवस्था गरिएको थियो । सर्वोच्च अदालतमा पत्रकारहरूको हाट बजार लागेको थियो । बाहिर जनता सबै आक्रोसित भइरहेका थिए । जनताले हो चि मिन्हलाई छुटाएर लान्छन् भनी प्रहरीहरू डराएर बसेका थिए । सर्वोच्च अदालतमा बहस चर्का चर्की भयो । अन्तमा राजकाज मुद्दा निराधार ठहराइयो । पक्राउ गर्ने कुनै प्रमाण छैन भनी रिहाइको फैसला गरियो । हङकङबाट बाहिर जाने गरी हो चि मिन्हलाई रिहाइ गरियो । अदालतले जनताको डरबाट रिहाइ गरिएको थाहा भयो । यसपछि उहाँ बिरामी हुनुभयो । बिरामी भएपछि अस्पताल भर्ना हुनुभयो । अस्पतालबाट भाग्ला भनेर काँडे तार लगाइएको थियो । प्रहरीहरू तैनाथ गरिएको थियो ।
उच्च न्यायालयले पनि उक्त राजकाज मुद्दा हेरेको थियो । ‘कम्युनिस्ट हुनु अङ्ग्रेजी कानुनको उल्लङ्घन होइन’ भनी फैसला गरेको थियो । हो चि मिन्ह हङकङबाट सिङ्गापुर जानुभयो । सिङ्गापुरमा पक्राउ पर्नुभयो । सिङ्गापुरमा पक्राउ परेपछि उहाँलाई हङकङ नै फिर्ता पठाइयो । हङकङबाट व्यापारीको भेषभूषामा अर्को सहरतर्फ जानुभयो । उक्त सहरमा लेखक, कलाकारहरूसँग भेटवार्ता गर्नुभयो । उक्त सहरबाट प्रकाशित विभिन्न अखबारहरूमा थरी थरीका नामबाट लेख, रचना प्रकाशित गर्नुभयो । हो चि मिन्हको स्वास्थ्य स्थिति ठीक नभएकोले कसरतहरू गर्न थाल्नुभयो । डुलफिर, हिँडडुल बढ्ता गर्न थाल्नुभयो । स्वास्थ्य अलिक ठीक हुन थालेपछि उहाँ चीनको साङ्घाईमा जानु भई चीनको कम्युनिस्ट पार्टीसँग सम्पर्क राख्नुभयो । सन् १९३३ मा साङ्घाईबाट सोभियत सङ्घतर्फ जानुभयो । सोभियत सङ्घको लेनिन विश्वविद्यालयमा गई अध्ययन गर्न थाल्नुभयो । लेनिन विश्वविद्यालयमा विश्वमा इच्छुक कम्युनिस्ट पार्टीका कार्यकर्ता, नेताहरूलाई पढाइन्थ्यो । सन् १९३५ मा सोभियत सङ्घमा भएको कम्युनिस्ट पार्टीको सातौँ सम्मेलनमा पनि उहाँले अर्कै नामले भाग लिनुभयो । सन् १९३५ मा नै हिन्द चीन कम्युनिस्ट पार्टीको प्रथम सम्मेलन चीनको मकाओमा सम्पन्न भयो । सन् १९३६ मा उहाँ चीनतर्फ लाग्नुभयो ।
सन् १९४१ मा हो चि मिन्ह भियतनाम जानुभयो र जनतासँग हातेमालो गर्दै बस्नुभयो । भियतनामी जनताले उहाँको खुबै मान, मर्यादा गर्दै स्वागत गरे । भियतनामीहरू सबै खुशीले गदगद भए, हो चि मिन्ह भियतनाम गएर देशको मुक्तिको लागि, जनताको मुक्तिको लागि भियतनामी सङ्घको स्थापना गर्नुभयो । उहाँले जनतासँग मिलेर जापानी र फ्रान्सेली उपनिवेशवादीहरूलाई धपाउने दृढ सङ्कल्प गर्नुभयो । ‘हिन्द चीन कन्फ्रेन्स’ गठन गरी प्रत्येक क्षेत्रमा यसको उपसमितिमार्फत सभा, सम्मेलन, जुलुस आदि हुन थाल्यो ।
भियतनाममा आन्दोलन चर्कन थाल्यो । आन्दोलनको नेतृत्व हो चि मिन्हले गर्नुभयो । जताततै उपननिवेशवादीहरूको सातो जान थाल्यो । आन्दोलन दबाउन जोरजुलुम, धरपकड, ज्यादती गर्न थालियो । कारागारमा पाइला राख्ने ठाउँ भएन । पक्रनुसम्म पक्रन थालियो । फ्रान्सेलीहरूले अति क्रूर ढङ्गले आन्दोलन दबाउन कोसिस गरे । गाउँ गाउँमा आगोसमेत लगाइदिए । केटाकेटी, बुढाबुढी, गाइवस्तुहरू सबैलाई फ्रान्सेलीहरूले मार्दै समुद्रमा फाल्न थाले । कति कम्युनिस्टहरूलाई जिउँदै खाडलमा पुर्न लगाए । हजारौँ क्रान्तिकारीहरूलाई गोली ठोकियो । सन् १९४१ मा पार्टीको केन्द्रीय समितिको औठीँ पूर्ण अधिवेशन चीनको सीमा नजिकको दुर्गम गाउँमा सम्पन्न भयो । सन् १९४२ मा ५ दिन १० रातसम्म हिँडेर हो चि मिन्ह चीन पुग्नुभयो । चीनमा उहाँलाई गिरफ्तार गरियो । ४५ दिनसम्म एउटै कारागारमा कोचेर एकदिन ६ जना सशस्त्र सेनाहरूले फलामको नेल, हतकडी लगाएर अर्कै कारागारमा लगे । पटकपटक कारागार चेन्ज गरियो । कारागार चेन्ज गर्दा रात रातभर पनि हिँडाइन्थ्यो । अति दुःख तकलिफ दिएर कारागारमा राखियो । कारागारमा नुहाउन नपाएर हो चि मिन्हको शरीर गन्हाउन थाल्यो । जुम्रासमेत पर्न थाल्यो । शरीर चिलाएर घाउ घाउ हुन थाल्यो । नुहाउने सुविधासमेत दिइएन । हो चि मिन्ह दुब्लाएर अस्थिपन्जर देखिन थाल्यो । दारी, कपाल लामा लामा भएर सेतै फुल्न थालिसकेको थियो । शरीरमा श्वास मात्र बाँकी रहेको थियो । हो चि मिन्हको यस्तो दर्दनीय अवस्थाका बारे भियतनामका जनताले थाहा पाएका थिएनन् । पक्राउ परेको ८० दिनपछि १३ जिल्लाको ३० वटा गाउँमा घुमाउँदै १८ वटा कारागारमा पुर्याइयो । कारागारमा पशुको जस्तो व्यवहार गरिन्थ्यो । कारागारमा मानवता भन्ने पटक्कै थिएन । दाँत फुक्लिसकेको थियो । अन्तमा सैनिक कारागारमा राखियो । सैनिक कारागारमा भने केही मात्रामा भए पनि राम्रो खाना दिइयो । सैनिक कारागारमा नुहाउन पनि पाउनुभयो । अखबार हेर्न पाउनुभयो । आराम गर्न पाउनुभयो । उहाँको आँखा कमजोर भइसकेको थियो । हातखुट्टा दुख्ने भइसकेको थियो । हिँड्न गान्हो भइसकेको थियो । सैनिक कारागारबाट छुट्नु भएपछि उहाँले भियतनामी क्रान्तिकारीसँग सम्पर्क गर्नुभयो र स्वास्थ्योपचार गर्नुभयो । स्वास्थ्यमा केही परिवर्तन भएपछि एकजना क्रान्तिकारीलाई साथमा लिएर भियतनाम जानुभयो । भियतनाम पुगेर हो चि मिन्हले नेतृत्व सम्हाल्न थाल्नुभयो ।
हो चि मिन्हले गुरिल्ला युद्धसँग सम्बन्धित पुस्तिकाहरू तयार गर्नुभएको थियो । गुरिल्ला युद्धबारे धेरै लेख रचनाहरू तयार गरिसक्नुभएको थियो । यी सबै पुस्तिकाहरू युवाहरूले खुबै ध्यान दिएर अध्ययन गर्न थालेका थिए । भियतनामी क्रान्तिकारीहरूलाई खानापिनाको समस्या थियो । मकै, भटमास, जङ्गली फलफूल, तरुल खाँदै जीविका चलाउँदै थियो । हो चि मिन्ह सधैँ क्रान्तिकारी साथीहरूका बिच बस्नुहुन्थ्यो । सबै क्रान्तिकारीहरूको खुबै ख्याल गर्नुहुन्थ्यो । सबैलाई ख्वाएर मात्र आफू खानुहुन्थ्यो । अध्ययन बढी गर्नुहुन्थ्यो भने ज्यादै कम सुत्नुहुन्थ्यो ।
हो चि मिन्हले क्रान्तिकारीहरूलाई अझ बढी सङ्गठित गर्दै शिक्षा दिन थाल्नुभयो । सङ्गठनसम्बन्धी काममा हो चि मिन्ह बाहिर जानु हुँदा च्याङ काइ सेकका प्रहरीहरूले हो चि मिन्ह मर्यो भनेर प्रचारप्रसार गरे । भियतनामीहरू सबै शोकाकुल भए । चीनबाट प्रकाशित एउटा अखबारमा हो चि मिन्ह स्वस्थ रहेको समाचार छापिएको थियो । यो समाचारले भियतनामी जनताको मुटुको धड्कन सुरु भएको थियो । क्रान्तिकारीहरूले नयाँ जीवन पाएका थिए । सम्पूर्ण भियतनामीहरू खुसी हुँदै खुसियाली मनाएका थिए ।
अब भियतनामीहरू सशस्त्र सङ्घर्षमा उत्रिसकेका थिए । जताततै जुलुस, सभा, नारा लाग्न थाल्यो । सन् १९४४ मा भियतनामको मुक्तिका लागि सशस्त्र प्रचार दल गठन गरियो । सन् १९४५ मा राज्यसत्ता पल्टाउन सशस्त्र आक्रमण भयो। जापानी र फ्रान्सेली उपनिवेशवादीहरूसंग घमासान युद्ध भयो । अन्तमा जापानी र फ्रान्सेली उपनिवेशवादीहरूको लज्जास्पद हार भयो । सम्पूर्ण राष्ट्रको स्वतन्त्रताको लागि राष्ट्रिय समिति गठन भयो । यही समितिले नयाँ स्वतन्त्र भियतनामको अस्थायी सरकारको कार्य सम्पादन गर्न थाल्यो । अस्थायी सरकारको राष्ट्रपति हो चि मिन्हलाई बनाइयो । राजधानी हनोई अस्थायी सरकारको अधीनमा नभएकोले हनोइमा विजयी हुनका लागि १९ अगष्ट १९४५ मा क्रान्तिकारीहरूले अन्तिम र निर्णायक युद्ध सफलतापूर्वक लडे । राष्ट्रिय अधिवेशनमा हो चि मिन्ह भियतनामी जनवादी गणराज्यको अध्यक्ष चुनिनुभयो । सेप्टेम्बर २, १९४५ मा हो चि मिन्हको नेतृत्वमा सरकार घोषणा गर्ने निर्णय भयो । कमसल खाकी जिनको पाइन्ट र कमिज अनि टायरको चप्पल लगाएर हो चि मिन्ह समारोह स्थलमा आउनुभयो । ५ लाखभन्दा बढी जनता उक्त समारोह स्थलमा उपस्थित थिए । हो चि मिन्हको पहिरन देखेर सबैमा अझ बढी माया, श्रद्धा जागेर आयो । हो चि मिन्हले कहिले पनि असल कपडाको लुगा किन्न सक्नुभएको थिएन । कमसल, सस्तो लुगा लाउनुहुन्थ्यो । कमिजको खल्तीमा सियो धागो सधैँ राख्नुहुन्थ्यो । चप्पल चुँडिदा, लुगा उध्रिएमा तुरुन्तै सिएर लगाउनुहुन्थ्यो । समारोहमा हो चि मिन्हले स्वतन्त्रताको घोषणापत्र पढेर सुनाउनुभयो । ५ लाख जनताले करतलध्वनिले घोषणापत्रको स्वागत गरेका थिए । २ सेप्टेम्बरलाई ‘स्वाधीनता दिवस’ मान्न थालियो ।
जनवरी ६, १९४६ मा आमचुनाव सफलतापूर्वक सम्पन्न भयो । राष्ट्रिय सभामा हो चि मिन्ह र अस्थायी सरकारका सदस्यहरूले अत्यधिक मत ल्याई विजय हासिल गरे । राष्ट्रिय संयुक्त मोर्चालाई व्यापक बनाउन राष्ट्रपति हो चि मिन्ह र पार्टी केन्द्रीय समितिले ‘भियतनामी जनताको राष्ट्रिय सङ्घ’ स्थापित गरे । सन् १९४६ मा संविधानसभा गठन गरियो । सम्बिधान सभाको अध्यक्षता राष्ट्रपति आफैले गर्नुभयो । संविधानसभाले दिनरात मिहेनत गरेर छिट्टै संविधानको मस्यौदा तयार गर्यो । संविधानको मस्यौदालाई राष्ट्रिय सभाले २ मार्च १९४६ मा अनुमोदन गरी संविधानलाई विधिवत स्वीकृत दियो ।
भियतनामी जनताको त्याग, तपस्या, बलिदानले भियतनामलाई स्वतन्त्र त गरिदियो । तर, स्वतन्त्र भियतनाममा थरीथरीका राजनीतिक समस्याहरू आइपरे । भियतनामको उत्तरी क्षेत्रबाट कोमिन्ताङका सशस्त्र सेनाहरू करीब २ लाख छिरेका थिए । यिनीहरूलाई अमेरिकी साम्राज्यवादीहरूले पठाएका थिए । उनीहरू भियतनाममा अमेरिकी र च्याङ काइ सेकको कठपुतली सरकार गठन गर्न चाहन्थे । भियतनामको दक्षिणी क्षेत्रबाट बेलायती साम्राज्यवादीहरूले फ्रान्सेली उपनिवेशवादीहरूलाई सहयोग गरेर दक्षिणी भियतनाम र मध्य भियतनामको दक्षिणी भागमा विजय हासिल गर्ने विचार गरे । फ्रान्सेली उपनिवेशवादीहरूले सम्पूर्ण हिन्दचीनमा फेरि एकपटक विजय प्राप्त गरी राज्य सञ्चालन गर्ने योजना तयार गरे । भियतनामभित्र क्रान्ति विरोधी जापानका समर्थकहरू भने नयाँ जनवादी सरकारलाई असफल पार्ने तयारीमा भित्र भित्रै जुटेका थिए । ठाउँ ठाउँमा विरोध, तोडफोड सुरु गरेका थिए । तर यस्ता साम्राज्यवादीहरूको कुचक्रलाई हो चि मिन्हले दैनिक असफल पार्दै लगेका थिए ।
चीनका कम्युनिस्ट युवाहरूले हो चि मिन्हलाई (काका हो) भनेर सम्बोधन गर्दथे । पछि सबैले अङ्कल हो भन्न थाले । भियतनामी युवा तथा बालबच्चाहरूले पनि अङ्कल हो भनेर सम्बोधन गर्दथे ।
अङ्कल हो राष्ट्रपति हुनुभयो । उहाँले कहिले पनि आफ्नो जीवन, जीवनस्तरबारे सोच्नुभएन । उहाँले त सधैँ देश र जनताबारे मात्र सोचविचार गर्नुभयो । बिहान भालेको डाकमा उहाँ उठ्नुहुन्थ्यो र नित्य कर्म गर्नुहुन्थ्यो । नित्य कर्मपछि दिनभरिको कार्यक्रम तयार गर्नुहुन्थ्यो । शैक्षिक संस्था, सरकारी कार्यालय, औद्योगिक क्षेत्र, सङ्घ संस्थानमा बिनासूचना अकस्मात निरीक्षणको लागि जानुहुन्थ्यो र तथ्य तथा वास्तविकता थाहा पाउनुहुन्थ्यो । दैनिकजसो सागको झोलसँग भात खानुहुन्थ्यो । कहिलेकाही मात्र माछा र मासुसँग भात खानुहुन्थ्यो । सबै कर्मचारीहरूसँग मिलेर एकैपटक खाना खान बस्नुहुन्थ्यो । बगैंचा र करेसाबारीमा सधैं आफै काम गर्नुहुन्थ्यो । उहाँको बगैंचा अति सुन्दर देखिन्थ्यो । उहाँ खुबै परिश्रम गर्नुहुन्थ्यो । सागसब्जी आफै उमार्नुहुन्थ्यो । काँचै खाउँ खाउँ जस्ता साग फलाउनु हुन्थ्यो । रातीको खाना खाइसकेर दैनिक अखबार, पुस्तक, पत्रपत्रिका पढ्नुहुन्थ्यो । राति ज्यादै कम सुत्नुहुन्थ्यो । पानी प्रशस्त पिउनु हुन्थ्यो । उहाँको जम्माजम्मी दुईजोर खाकी सुट, एउटा लामो तौलिया र दुईजोर मोजा थियो । सुट फाटेपछि टालेर लाउनु हुन्थ्यो । टायरको चप्पल लाउनुहुन्थ्यो । साधा जीवन उच्च विचारका मानिस उहाँ हुनुहुन्थ्यो ।
सन् १९५५ को जुलाईमा राष्ट्रपति हो चि मिन्हको सक्रिय नेतृत्वमा पार्टी, सरकारको प्रतिनिधिहरू सम्मिलित उच्चस्तरीय प्रतिनिधि मण्डलले चीन, सोभियत सङ्घ र मङ्गोलियाको भ्रमण गर्यो । सन् १९५७ को जुलाईमा हो चि मिन्हको नेतृत्वमा पार्टी सरकारका प्रतिनिधिसहितको प्रतिनिधिमण्डलले अरु मित्रराष्ट्रहरूको मैत्रिपूर्ण भ्रमण गर्यो । सन् १९५८ को फरवरीमा उहाँले एशियाली मुलुकहरूको मैत्रीपूर्ण भ्रमण गर्नुभयो । सन् १९५९ को फेब्रुअरीमा उहाँले इन्डोनेसियाको मैत्रीपूर्ण भ्रमण गर्नुभयो । सबै देशहरूमा राष्ट्रपति हो चि मिन्हको भव्य तथा शानदार स्वागत सत्कार भएको थियो । यी सबै सफल भ्रमणले गर्दा भियतनामी जनताको मुक्ति युद्धमा अझ बढी सहयोग र समर्थन प्राप्त भयो ।
प्रतिक्रिया