पार्टी भित्र कोही भ्रष्टाचारमा संलग्न देखिए उन्मुक्ति पाउँदैन्न- वर्षमान पुन

‘आफू पदमा बस्दा त्यसबाट बढीभन्दा बढी शोषण र दोहन गर्ने, वैध र अवैध ढंगले कसरी पैसा कमाउने र मोजमस्ती गर्ने भन्ने प्रतिस्पर्धातिर समाज गइरहेको छ। उत्पादन, श्रम वा उद्यम र व्यवसाय गरेर कमाउने नभई सजिलै कमाउने (इजी) मनीतिर समाज आकर्षित भइरहेको छ। बिचौलिया धन्दा र प्रवत्ति समाजमा हुर्कंदै गएको छ’

bimbonline बिम्ब अनलाइन
२०८० भदौ १६ १४:४० बजे

काठमाण्डौ। नेकपा माओवादी केन्द्रका उपहासचिव एवं उपत्यका विशेष प्रदेश इन्चार्ज वर्षमान पुन ‘अनन्त’ले देशमा अहिले जनताको सरकार रहेको दाबी गरेका छन्। 

आज गोंगबु बसपार्कमा ‘जनतासँग माओवादी विशेष अभियान’ उद्घाटन क्रममा पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासनका पक्षमा गरेको कामले जनतामा उत्साह बढेको जिकिर गरे।देशमा पहिलोपटक सरकारले पनि जनताका पक्षमा काम गर्दो रहेछ भन्ने सन्देश प्रवाह भएको उनले बताए। सुशासनका लागि भ्रष्टाचारविरोधी अभियान प्रतिस्पर्धी दल वा आफूसँग असहमत पक्षतर्फ लक्षित रहेको भन्ने भ्रम फैलाउन खोजिएको भन्दै समग्र मुलुकको शुद्धीकरणका लागि थालिएको पुनको भनाइ छ। नेता पुनले सरकार वा राज्य संयन्त्र र सामाजिक संस्थाको नेतृत्वमा पुगेकाहरूमा वैध र अवैध सबै तरिकाले धन आर्जन गर्ने र मोजमस्तीमा खर्च गर्ने प्रवृत्ति हाबी टिप्पणी गरे। 

‘आफू पदमा बस्दा त्यसबाट बढीभन्दा बढी शोषण र दोहन गर्ने, वैध र अवैध ढंगले कसरी पैसा काउने र मोजमस्ती गर्ने भन्ने प्रतिस्पर्धातिर समाज गइरहेको छ। उत्पादन, श्रम वा उद्यम र व्यवसाय गरेर कमाउने नभई सजिलै कमाउने (इजी)  मनीतिर समाज आकर्षित भइरहेको छ। बिचौलिया धन्दा र प्रवत्ति समाजमा हुर्कंदै गएको छ’, उनले भने, ‘पार्टीहरू, राज्य संयन्त्र र समग्र समाजको शुद्धीकरणलाई सरकारले प्राथमितामा राखेर सुशासनको अभियान थालेपछि निराश जनतामा उत्साह पैदा भएको छ।’ 

पुनले माओवादीभित्र कोही भ्रष्टाचार र राज्य दोहनमा संलग्न भएको देखिए कसैले उन्मुक्ति नपाउने पनि बताए। राष्ट्रिय र आत्मनिर्भर पुँजी निर्माण गर्ने राष्ट्र प्रेम तथा देशभक्तिको भावना भएका युवाहरूलाई तयार गर्ने अभियान पनि भएको पुनले बताए।  राज्यप्रति जनतामा कम हुँदै गएको विश्वास विश्वास जागृत गरी  राज्य मेरो अभिभावक हो भन्ने भावना पैदा नगराएसम्म जनतामा राजनितिक नेतृत्वले विश्वास आर्जन गर्न कठिन रहेको पुनले स्वीकारोक्ति थियो।  


२०८० भदौ १६ १४:४० बजे

प्रतिक्रिया