भाषा ज्ञान ; विवेक र औचित्य

bimbonline हरिराज भट्टराई
२०८० साउन २८ १७:०९ बजे

काठमाण्डौ।  विनिर्माण पाठशालाको दोस्रो सत्रमा कानून क्षेत्रमा प्रयोग हुने वकील, वकिल, बकिल, ओकिल, उकिल आदि शब्द आएका छन् । यिनको अर्थ र गरिमा सम्झनुपर्ने भएको छ । यसलाई परम्परागत, प्रयोगशील, प्राथमिक र स्वतन्त्र लोकजीवनको प्रयोग भनेर बुझ्नुपर्ने होला कि ? वर्गीकृत ढङ्गले पनि बुझिएको होला । यहाँ सूत्रात्मक ढङ्गले सङ्केत गर्ने यत्न गरिन्छस् वक्ताले कार्यपत्र पढ्न थाल्यो–

वकील स्थापित र क्लासिक (शास्त्रीय ) शब्द हो । देवनागरी लिपिमा नेपाल बाहिर पनि ‘वकील’ नै लेखिन्छ । अब हामी यसरी सम्झौं –

(१) ‘‘वकील – उच्च कोटिको कानून व्यवसायी अर्थात् विशिष्ट क्षमता भएको वरिष्ठ अधिवक्ता । कानून लाग्छ ।

(२) वकिल – मध्यम दर्जाको कानून व्यवसायी । तर ऊसँग ‘कानुन’ लाग्छ, कानून लाग्दैन । शायद वकीलभन्दा कम पाइन्दार । नत्र वकील नभनेर वकिल किन भन्नुपर्दो हो । फेरि ‘वकिल’ वर्गमा दरिएका कानून व्यवसायीले प्रतिवाद कहिल्यै गरेनन् । पत्रकारिता र साहित्यमा, वकिल त्यत्तिकै प्रिय भयो । पत्रकार र साहित्यकारको योग्यतालाई कम आँक्न त हुँदै भएन । विवेक नपुर्याई शब्दको प्रयोग गर्दैनन् । तिनको प्रयोगलाई सम्मान गर्नैपर्छ ।

(३) बकिल – नवप्रवेशी कानून व्यवसायी भनौं । यसलाई ‘कबि’ र ‘काब्य’बाट सम्झौँ । सिकारु कवि भए ‘कबि’ हुन्छ र काम चलाउ कविता भए कबिता हुन्छ । जब कविको उचाइ बढ्छ, कविता राम्रा आउँछन् अनि कवि र कविता भन्न थाल्छौं । वसन्त जब गरिमापूर्ण सौन्दर्य र सुरभि लिएर आउँछ तब ‘वसन्त’ भन्छौं अन्यथा ‘बसन्त’ भनिदिएर कुरा टुङ्गिन्छ ।

ओकिल र उकिल पनि झन्नै यस्तै शब्द हुन् जो दर्जा पाएर नपाएर पनि लेखनदासको कामले चिनिन्छन् ।

वास्तवमा हरेक शब्दलाई स्थान र औचित्य प्रदान गर्ने सोच राखेर प्रयोगकर्ताहरुको अभियानलाई बल पुर्याउने यत्नमा यी शब्दको प्रयोगलाई साधु ठान्ने जमर्को गरिएको हो । व्यक्ति, सामर्थ्य, उचाइलाई ध्यानमा राखेर वकील, वकिल, बकिल तथा ओकिल–उकिल शब्दलाई मर्यादा प्रदान गरिएको हो कि ?यथार्थमा वकिल, बकिल, ओकिल, उकिल यी शब्दहरू ‘वकील’ कै छाया रूप हुन् । प्रकारान्तरले विकासको चरणमा छन् । शब्दबारे राम्रो ज्ञान राख र सही ढङ्गले प्रयोग गर भन्ने अभिप्राय हो कि ? यदि आविष्कार गरे भन्छ कोही भने मन्थन त गर्नैपर्छ । प्रचार हो कि अज्ञान र हठको प्रदर्शन हो ?

कुनै पनि घर दरबार हुनसक्छ किन्तु त्यसमा दरबारी संस्कृति झल्किनु पर्छ । सबै कुरा भौतिक स्वरुपमा साकार हुँदैनन् । तिम्रो ज्ञान र सङ्कल्प तिम्रो रचनामा भाषाका माध्यमले मुखर हुन्छ । रंग–रेखाका माध्यमले चित्र मुखर होला अनि वस्तुसंयोजनले वास्तुकला र भौतिक विकासमा बल पुग्ला ।साहित्यिक महल वा दरबार उभ्याउने शब्दहरू एक–एक ईंट र मूल्यवान प्रस्तरखण्ड हुन् । तिनको चयन र विन्यास सही र औचित्यपूर्ण ढङ्गले हुनुपर्छ कि लोग्ने, खसम, पति, श्रीमान् समानार्थी शब्द हुन् तर तिनको प्रयोगमा औचित्य देखिनुपर्छ कि ? त्यसैले वकील र कानूनको, वकिल र कानुनको, बकिल र अकानुन तथा विरक्तिको सङ्गति पनि सँगसँगै जोडिएर आउला कि न ?तीन अक्षरको ‘वकील’ शब्द निकै शक्तिशाली छ, यसको ताकत र क्षेत्र बुझ्नै पर्छ । वकीलले मात्र बुझेर नपुग्ला, वकिल र बकिलले पनि बुझ्नैपर्ला नि । नत्र वकिल र बकिलले कहिले ‘वकील’को दर्जा र गरिमा लिने ?

जुन शब्द जान्दछौ राम्रोसँग (ठीकसँग) जान, ठीकसँग प्रयोग गर । त्यो काम लाग्छ, फलदायी हुन्छ भन्ने परम्परागत मान्यतामा आजको मानवले हिँड्नैपर्छ भन्ने छैन । सिंहदरबार टुक्रिएर गाउँ–गाउँ पुगेको छ । राजनीतिक संसदले प्रयोग गर्ने गरेको अराजक भाषा जनसंसदले, ग्रामसंसदले प्रयोग गर्न सिके के बिग्रला भन्ने तर्क नउठाउने किन ?

अब साह्रै माथि उठेर एउटा अर्को उदाहरण हेरौं–जोई, स्वास्नी, पत्नी, श्रीमती शब्दहरू अभिप्रायमा समान होलान् तर परिवार, वर्ग, योग्यता र परिवेशले भिन्नताको सङ्केत गर्दछ । कतै ग्राम्य र अश्लील अनि कतै उचित र आदरणीय ? कसरी सम्झनु ? के बुझ्नु ?

नारीका लागि आउने शब्दहरू – भीरु, अबला र एक अर्थमा भार्या आज भन्न सुहाउँदैन । सबै कुरा सबै वेला प्रिय हुन्छन् भन्ने छैन । सबै जीव सबै वेला दुष्ट हुन्छन् भन्ने पनि हैन । युग र समाजको चाहनाअनुसार हामी हिजोका दुष्टलाई आज अर्चना गर्छौं र शलाम ठोक्छौं हैन र ?योग्यताअनुसार हरेक व्यक्तिले भाषा प्रयोग गर्न पाउँछ । कबि, काब्य र बसन्त भन्छ भने लेख्छ पनि । वकील र कानून मन्जुर गर्नैपर्छ र ? नत्र विनिर्माण पाठशाला खडा गर्नुको औचित्य के ?’’

विनिर्माण पाठशालाका प्रतिनिधि पनि मौन बसे । कसैले कुनै प्रश्न उठाएनन् । भाषिक दक्षता नभएका कारण प्रश्न गरिहाल्न पनि कठिन थियो । आफ्नै दर्जा घट्ने र प्रतिष्ठा हल्लिने भयले कतिपयले चूँसम्म गरेनन् ।सहभागीहरू हाम्रो भाषा र नेपाली कसरी लेख्ने पुस्तकले पीडा मुक्त गर्ला कि ? भनेर एक–अर्काको कान भर्दैरहे ।

कार्यपत्र– प्रस्तोता विनिर्माण पाठशाला भत्कने हो कि भनेर चिन्तित देखिन्थ्यो । उसले मनमन गुन्यो – अब देवनागरी लिपिलाई दाहिनेबाट देब्रेतर्फ लेख्ने समस्या जन्माएर यो एउटा प्रोजेक्ट पास गराउनै पर्ने भो । नत्र ज्ञान देखाएर अर्थोपार्जन गर्ने र विनिर्माण योजनालाई सफल पार्ने कसरी ? श्रीलाई टुक्रा टुक्रा पारेझैं केही त गर्नै पर्ला नि ?


२०८० साउन २८ १७:०९ बजे

प्रतिक्रिया