काठमाण्डौ। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एउटा बानी रोचक छ । स्वार्थ पूर्तिका लागि उनी अत्यन्त लचक हुन र जतिसुकै कठोर बन्न पनि तयार भइदिन्छन् । जब आफू तल परेको चाल पाउँछन्, बिनासंकोच हात ठड्याइ दिन्छन् ।
नेपालको प्रधानमन्त्री बन्न दिल्ली धाउनुपर्ने आशयको विवादास्पद अभिव्यक्तिबारे २५ असारमा संघीय संसदसमक्ष माफी माग्दै प्रचण्डले भनेका थिए, ‘म अली भावनात्मक त छु नै, यही त प्रचण्ड भयो । अब गर्नुहुन्छ के ? त्यस्तै, लाचारी उनले १७ साउनदेखि सुरु पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकको सुरुमै व्यक्त गरे । प्रचण्ड झण्डै ३५ वर्षदेखि पार्टीको नेतृत्वमा छन् । तर, बैठकमा आफैँँले भनिदिए, ‘माओवादी कमीकमजोरी स्वीकार्न डराउँदैन । अहिले पार्टी पार्टीजस्तो भएको छैन ।’
विधान मिचेर टार्दै एक वर्षपछि बल्ल पार्टी बैठक डाँके । माओवादी बैठकलाई केन्द्रीय कमिटी भन्नुभन्दा भेला भन्न उपयुक्त हुन्छ । किनभने, बैठकमा ३८५ पूर्ण केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, तीनवटा आयोगका ७५ र १० वटा प्रदेश कमिटीका झण्डै एक सय पदाधिकारीसहित ७ सय ५८ सहभागी छन् ।
आफैँले साढे तीन दशकदेखि एकछत्र नेतृत्व गर्दै आएको माओवादी केन्द्र किन पार्टीजस्तो बन्न सकेन ? अध्यक्ष प्रचण्डले खुलस्त पारेका छैनन् । जबकि दशक लामो सशस्त्र विद्रोहलाई उनैले संसदीय राजनीतिमा अवतरण गराएकै पनि १७ वर्ष पुगिसकेको छ । पार्टी विभाजनको पीडालाई उनले एउटा कारण औँल्याएका छन् । तर, यथार्थमा मोहन वैद्य किरण, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लवलगायत ‘जनयुद्धकालीन’ नेताहरूले प्रचण्डसँग सम्बन्ध विच्छेद गरेकै दशक पुगिसकेको छ । यो बीचमा उनको पार्टी निरन्तर ओरालो यात्रामा छ ।
माओवादी केन्द्रलाई पार्टी बनाउन नसकेको स्वीकार गरे पनि त्यसको जिम्मेवारी लिन भने प्रचण्ड तयार देखिदैनन् । त्यो जिम्मेवारीबोध हुन्थ्यो भने नेतृत्व हस्तान्तरण गरिसक्थे । अथवा, सामूहिक नेतृत्वको अभ्यास गर्थे । तीन दशक आफैँले हाँकेको पार्टी आखिर किन पार्टीजस्तो बन्न सकेन ? त्यसको निर्मम समीक्षा गर्थे । तर, प्रचण्ड त्यसो गरिरहेका छैनन् । प्रतिस्पर्धी नेताहरू किरण, बाबुराम लाखापाखा लागिसकेपछि पनि दोस्रो तहका नेताहरूलाई जुधाएर एक्लै पार्टी चलाइरहेका छन् । अझै पनि भनिरहेका छन्, ‘म आफैँ पनि जीवनको उत्तरार्धमा छु । अब पार्टीलाई विधिमा चल्ने बनाएर नेतृत्व हस्तान्तरण गर्छु ।’ पार्टीलाई विधि विधानमा चलाएर पार्टीजस्तो बनाउन अब प्रचण्डलाई कति वर्ष लाग्ला ?३५ वर्ष त उनले पार्टी हाँकिसके ।
२०४५ सालमा काठमाडौंका प्रहरी बिटहरूमा आक्रमण गरेर पार्टीको उपस्थिति देखाउन खोज्दा थुप्रै नेता कार्यकर्ता पक्राउ परेको र यातना भोग्नुपरेपछि तत्कालीन महामन्त्री मोहन वैद्य किरणले गल्ती महसुस गर्दै नैतिकताका आधारमा राजीनामा दिएका थिए । सेक्टर काण्ड भनिने सोही घटनापछि प्रचण्ड नेतृत्वमा आएका थिए । उनकै नेतृत्वमा माओवादीले दशक लामो सशस्त्र विद्रोह गर्यो । शान्तिपूर्ण राजनीतिमा फर्किएपछि प्रत्येक्षतर्फ ५० प्रतिशतसहित चुनावबाटै देशको सबैभन्दा ठूलो पार्टी बन्यो । पहिलो संविधानसभा चुनावमा आफ्नो पार्टीले नमीठो पराजय व्यहोरेपछि एमालेका निर्वाचित महासचिव माधव नेपालले २०६५ मा राजीनामा गरे । तर, पहिलो पार्टी माओवादी दोस्रो सविधानसभा चुनावमै तेस्रो भयो । त्यसपछि पनि सांगठनिक र जनमतका दृष्टिले खिइँदै–खिइँदै नवोदित राष्ट्रिय स्वतन्त्र पार्टीको हाराहारीमा खुम्चिँदासमेत प्रचण्डले नैतिकता देखाएका छैनन् । निसंकोच पार्टी कमिटीमा भनिरहेका छन्– माओवादी कमीकमजोरी स्वीकार्न डराउँदैन ।’
माओवादी केन्द्र पार्टीजस्तो बन्न नसक्नुका केही खास कारणहरू छन् । ती मूलतः प्रचण्डसँग प्रत्येक्ष जोडिएका छन् । अझ भनौँ, माओवादीलाई पार्टी बन्न नदिने पात्र अरु कोही नभएर स्वयम् अध्यक्ष प्रचण्ड नै हुन् । त्यसको सबैभन्दा धेरै लाभ उनैले उठाइरहेका छन् । न विधान मान्छन्, न त विधिमा चल्छन् । तर, सत्ताका लागि जे पनि गर्न तयार हुन्छन् । निसंकोच कहिले एमाले, कहिले कांग्रेस ध्रुवमा पुगेर २०५१ सालको राप्रपालाई बिर्साइदिएका छन् । हिजोको ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी’लाई प्रस्ट राजनीतिक दिशानिर्देश गर्न नसक्दा भारतीय जनता पार्टीबाट दिक्षित हुने स्थितिमा पुर्याएका छन् । कुनैबेला रिमको सदस्य रहेको माओवादीको भाजपाकरणका लागि अनेक पर्यत्न गरिरहेका छन् । प्रचण्डको यो विचलनले माओवादी केन्द्र निरन्तर सत्तामा देखिए पनि राजनीतिक र वैचारिक रूपमा भने पेन्डुलम बन्न पुगेको छ ।
प्रतिक्रिया