पार्टी एकतावार्ता संयोजन समिति विघटन भयो- नेकपा (मशाल)

दार्शनिक, रणनीति, कार्यनीति आदि विषयमा विचारधारात्मक समानता देखिए पनि मूख्यत “माओवाद÷विचारधारा” “जनयुद्धको समीक्षा” र “राज्यको पुनर्संरचना” को विषयमा हामीहरु विच प्रष्ट रूपमा मतभेदहरू देखापर्यो ।

bimbonline बिम्ब अनलाइन
२०८० असार ३१ ११:१० बजे
काठमाण्डौ।नेकपा (मशाल)ले आज एक वक्तव्य निकाले २०७९ आश्विन २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनले देशमा रहेका वामपन्थी क्रान्तिकारी शक्ति, समुह वा व्यक्तिहरूसँग सिद्धान्तनिष्ट पार्टी एकताको पहल गर्ने निर्णय गरेको थियो । हामी अहिले पनि त्यो नीतिका आधारमा विभिन्न वामपन्थी क्रान्तिकारी शक्ति, समुह वा व्यक्तिहरूसँग वार्ता, संवाद वा छलफललाइ खुलाराख्दै एकताको लागि प्रयत्न जारि राखिरहेका छौँ । एकताको लागि सकेसम्म मतभेदको विचबाट सहमति खोज्ने र पार्टी एकिकरणका लागि प्रयत्न गर्ने, यदि त्यो सफल नभएमा संयुक्त मोर्चा वा कार्यगत एकता गरेर पनि कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने कुरामा प्रयत्नशिल रहेको वताएका छन ।
नेपाल कम्युनिस्ट पार्टी (मशाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का विचमा कैयौँ पटक अनौपचारिक र औपचारिक छलफल वा वार्ता हुँदै आएकोमा २०७९ पौष २३ गते औपचारिक रूपमा “पार्टी एकता संयोजन समिति” गठन गरिएको थियो । अहिलेसम्म आइपुग्दा विभिन्न ठाउँहरू वा व्यक्तिहरूबाट त्यो पार्टी एकताको प्रकृया कहाँ पुगेको छ र के भएको छ भन्ने प्रश्न उठेकोले पार्टी एकताको अवस्थाबारे जानाकारी गराउने उद्देश्यले नेपाल कम्युनिस्ट पार्टी (मशाल) केन्द्रिय कार्यालयको तर्फवाट यो वक्तव्य जारी गरिएको जनाएको छ ।
वक्तव्यमा अगाडी भनिएको छ २०७९ चैत्र ११ देखि घनिभूत रूपले नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) को बिचमा पार्टी एकता सम्बन्धी वार्ता चल्दै आएको थियो । पछिल्लो चरणमा २०७९ चैत्र २० र २१ गतेको वार्ता समितिको बैठकसम्म बेग्ला–बेग्लै विचारहरूमाथि छलफल भए । दार्शनिक, रणनीति, कार्यनीति आदि विषयमा विचारधारात्मक समानता देखिए पनि मूख्यत “माओवाद÷विचारधारा” “जनयुद्धको समीक्षा” र “राज्यको पुनर्संरचना” को विषयमा हामीहरु विच प्रष्ट रूपमा मतभेदहरू देखापर्यो । ती मतभेदका विचवाट सहमति खोज्ने प्रयासहरू भएका थिए तर सहमति कायम हुन सकेन र एकता वार्ताको सिलसिला ०७९ चैत्र २१ गते स्थगित गरिएको थियो ।
माथि उल्लेखित बेग्लाबेग्लै राजनैतिक विचारहरू वाहेक पनि हाम्रो बिचमा केही सङ्गठनात्मक मतभेदहरू थिए । तर ती गम्भीर प्रकारका थिएनन् र राजनैतिक विचारमा सहमति हुनासाथ त्यसमा सहमति हुन सक्दथ्यो । राजनैतिक विचारमा सहमति कायमहुन नसकेपछि अन्ततः वार्ता स्थगित भएको थियो । वार्ता स्थगित भए पनि ३ वटै पक्षले आफ्नो आफ्नो पार्टीभित्र छलफल गरेर पुनः सहमति कायम गर्न प्रयास गर्ने समझदारी भएको थियो । तर नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का विचमा विचारधारात्मक समानता रहेकोले दुइपार्टी विचको एकतालाइ अगाडि बढाउन सकिने सहमति भएको थियो । यस सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का विचमा पार्टी एकता सम्पन्न भएको छ । त्यो एकतापछि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको गठन भएको छ । त्यो एकतालाई हाम्रो पार्टीले स्वागत गरेको थियो
वक्तव्यमा अगाडी उल्लेख गरिएको छ कि पार्टीको २०८० जेष्ठ १८–२० सम्म बसेको केन्द्रिय समितिको बैठकले पार्टी एकता वार्ता र स्थगन सम्बन्धी विषयमा विस्तृत छलफल गर्यो । बैठकले पार्टीकोतर्फवाट एकतासम्बन्धी वार्तामा वार्ता समितिले राखेका विषय बस्तुहरू मूलतः सहि भएको निस्कर्ष निकालेको थियो । २०८० असार ७ गते दुई पार्टीहरू, नेकपा (मशाल) र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका शीर्ष नेतृत्वको विचमा भेटघाट भएको छ
उक्त भेटघाटमा पहिले गठित ३ पार्टीको एकतावार्ता संयोजन समिति विघटन भएको स्वीकार गरियो । तत्कालका लागि दुइ पार्टी विचमा दस्तावेजहरू आदान प्रदान गर्ने, राजनैतिक कार्यदिशाका बारेमा अध्ययन गर्ने र मतभेदको विचबाट सहमतिको सम्भावनाको पुनः खोजिगर्ने समझदारी भएको छ । पार्टी एकता हुन नसकेको अवस्थामा पनि राष्ट्रिय स्वाधिनता, जनताको जनतान्त्रिक अधिकार र जनजिविकाको सवालमा सहकार्य गर्दै जाने समझदारी भएको छ कुरा महासचिव सन्त वहादुर नेपालीले जारी गरेको वक्तव्यमा जनाएको छ।
२०८० असार ३१ ११:१० बजे

प्रतिक्रिया