काठमाण्डौ। संरा अमेरिकाको राजकीय भ्रमणको लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार वाशिङ्टन पुगेका छन् । सो क्रममा हिन्द–प्रशान्त मामिलाका लागि संरा अमेरिकी राष्ट्रपति कार्यालयका संयोजक कुर्ट क्याम्पबेलले संरा अमेरिका र भारतबिचको दुईपक्षीय सम्बन्ध ‘एक्काइसौँ शताब्दीको लागि ज्यादै महत्वपूर्ण’ भएको कुरा दोहोर्याए । बाइडेन सरकारको बलियो समर्थन र मोदी सरकारको सक्रिय सहकार्यसँगै संरा अमेरिका र भारतले आर्थिक र व्यापार क्षेत्रमा तीव्र प्रगति गरेका छन् । दुई देशबिच अत्याधुनिक प्रविधि, सैनिक सुरक्षा र अन्य उच्चस्तरीय सहकार्यका राजनीतिक क्षेत्रमा नयाँ नयाँ उपलब्धि हासिल भएका छन् । गत वर्षको मे महिनामा बाइडेन र मोदीले अत्यावश्यक र उदयीमान प्रविधिमा भारत–संरा अमेरिकी पहल (आइसीइटी) घोषणा गरेका थिए । सो परियोजनाले दुवै देशलाई विशेषतः रक्षा क्षेत्रमा कृत्रिम बौद्धिकता (एआई) सेमिकन्डक्टर चिप्स र क्वान्टम कम्प्युटिङजस्ता अत्याधुनिक प्रविधिमा सहकार्य गर्न मार्ग प्रशस्त गरेको थियो ।
मोदीको चालु भ्रमणमा संरा अमेरिका र भारतबिचको रक्षा सम्बन्धलाई अझ अगाडि बढाउने बाइडेनको लक्ष्य छ । संरा अमेरिकी रक्षा सचिव लोएड अस्टिन गत जून ५ मा भारत भ्रमणमा थिए । भ्रमणको क्रममा दुई देशबिच द्विपक्षीय सम्बन्धको आधारमा आगामी केही वर्ष रक्षा उद्योगमा सहकार्यको लागि मार्गचित्रबारे छलफल भयो । जून १३ र १४ मा संरा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले भारत भ्रमण गरे । मोदीको संरा अमेरिकी भ्रमणको अन्तिम तयारी गर्न उनी भारत पुगेका थिए ।
बहुपक्षीय मोर्चामा संरा अमेरिकाले भारतलाई नाटो प्लस संयन्त्रमा सामेल गराउन नाटोमा आफ्नो निर्णायक मतलाई प्रयोग गर्ने प्रयास गर्दै आएको छ । तथापि, भारतका विदेश मन्त्री एस. जयशङ्करले संरा अमेरिकाको त्यो उत्साहमा चिसो पानी खन्याएका छन् । जयशङ्करले नाटो प्लसमा सामेल हुने भारतको कुनै मनसाय नभएको प्रस्ट पारे । उनले ‘नाटोको ढाँचा भारतको सन्दर्भमा उपयुक्त नभएको’ पनि बताए ।
संरा अमेरिकासँग रक्षा सम्बन्धमा निकट बन्ने भारतको मनसायमा धेरै पक्षले भूमिका खेलेको छ । प्रथमतः बहुध्रुवीय वा एकध्रुवीय अन्तर्राष्ट्रिय परिदृश्यमा संरा अमेरिका र भारतका विभाजित स्वार्थिबिच मिलनको बिन्दु भेटाउन कठिन छ । संसार बहुध्रुवीयतातिर तेजगतिमा अघि बढिरहेको छ । यस्तो परिस्थितिमा संरा अमेरिका आफ्नो महाशक्तिको छवि जोगाउन चीन र रुसजस्ता आफ्ना प्रमुख प्रतिस्पर्धीलाई चुनौती दिन भारतलाई प्रयोग गर्न खोजिरहेको छ । तर, भारत भने बहुध्रुवीय विश्वको आफै एउटा धुर्व बन्ने चाहना राख्छ । भारतको यो आफ्नै रणनीतिक लक्ष्य हो ।
दोस्रो, संरा अमेरिका र भारतबिचको सम्बन्धको प्रकृतिबारे दुई देशबिचको भिन्न बुझाइलाई एउटै बिन्दुमा ल्याउन पनि कठिन छ । उनीहरूको सम्बन्ध समानतामा आधारित हो वा ठुलो–सानोमा आधारित भन्ने विषयमा मतभेद जारी छ । दोस्रो विश्वयुद्धको समाप्तियता संरा अमेरिकाले आफ्नो शक्ति आफ्ना सहयोगी देशहरूबिच ठुलो–सानोको सम्बन्ध स्थापना गर्न र कायम राख्न प्रयोग गर्दै आएको छ । संरा अमेरिका र भारतको सैनिक सम्बन्ध नजिक भए पनि आधारभूतरूपमा अमेरिकासँग सुरक्षा सन्धि गरेका सहयोगी देशको भन्दा यो सम्बन्ध फरक छ । भारत स्वाधीन बनेयता लामो समयदेखि असंलग्न नीति अँगाल्दै आएको छ । ऊ असंलग्न आन्दोलनको नेतृत्वदायी शक्तिमध्ये एक हो । गतिशील मोदी सरकारले भारतको लागि बहुपक्षीय साझेदारीको वकालत गर्दै आएको छ । व्यवहारिकरूपमा भारतले प्रमुख शक्तिहरूसँग असल सम्बन्ध कायम राख्न चाहेको देखिन्छ । मोदी सरकारको बहुपक्षीय साझेदारी अद्यापि आधारभूतरूपमा असंलग्न नीतिमै आधारित रहेको प्रस्ट छ । मोदी सरकारले संरा अमेरिकासँग सहकार्यको लागि भारतको स्वाधीनता नै दाउमा लगाउने कुरा अहिले सम्भव छैन ।
तेस्रो, संरा अमेरिका र भारतको हिन्द महासागरमा फरकफरक स्वार्थ छन् । हिन्द महासागरमा क्षेत्रीय प्रभाव जमाउने सन्दर्भमा दुई देशका स्वार्थको मिलनबिन्दु भेटाउन कठिन छ । भारतले हिन्द महासागरलाई सधैँ आफ्नो प्रभाव क्षेत्र मान्दै आएको छ । दक्षिण एसियालाई भारत आफ्नो करेसाबारी ठान्छ । शीतयुद्धपछि संरा अमेरिकाले भने क्षेत्रीय शक्तिलाई क्षेत्रीय प्रभुत्व जमाउन नदिने रणनीतिक लक्ष्य बनाउँदै आएको छ । यसप्रकार संरा अमेरिकाको लक्ष्य र भारतको महत्वाकाङ्क्षा आपसमा बाझिएका छन् ।
चौथो, चीनसँगको सम्बन्ध प्रतिस्पर्धात्मक हुनुपर्छ वा द्वन्द्वात्मक हुनुपर्छ भन्ने प्रश्नमा संरा अमेरिका र भारतको भिन्न भिन्न स्वार्थबिच मेलमिलाप गर्न पनि कठिन छ । बाइडेनले भारतलाई संरा अमेरिकाको युद्ध दलाल (वार एजेन्ट) बनाउने प्रयास गरिरहेको छ । भारतले चीनलाई आफ्नो मुख्य चुनौती ठाने पनि र चीनलाई चुनौती दिन संरा अमेरिकालाई प्रयोग गर्दै संरा अमेरिका–भारत रक्षा सम्बन्ध विकास गरी आफ्नो सेनालाई बलियो बनाउन खोजे पनि भारतले चीनसँग भिडिहाल्ने मनसाय राखेको छैन । त्यसमाथि सीमा क्षेत्रमा सशस्त्र द्वन्द्व चर्किन नदिन चीन र भारतबिच सहज सम्झौता भइसकेको छ ।
(लेखक को सिचुवान अन्तर्राष्ट्रिय अध्ययन विश्वविद्यालय र रन सोही विश्वविद्यालयका पोस्ट ग्राजुएट विद्यार्थी हुन् ।)
स्रोतः द ग्लोबल टाइम्स
नेपाली अनुवादः नीरज
प्रतिक्रिया