विचार कसरी निर्माण र परिवर्तन हुन्छ ?

विचार कसरी निर्माण र परिवर्तन हुन्छ?

bimbonline गंगा पौडेल
२०७९ साउन ३० १५:४६ बजे
गंगा पौडेल

 गंगा पौडेल, हामीले आफ्नो विचार निर्माण गर्नका लागि देशकाल र परिस्थिति भन्दा माथि उठेर चिजहरुलाई बुझ्न सक्नु पर्दछ । जसले आफ्ना अगाडिका चिजहरुलाई हेर्न र बुझ्न सक्तैन यथास्थिति मै रहन्छ । त्यतिमात्र होइन उसले चिजलाई जस्ताको तस्तै बुझ्न सकेन भने निरासावादी हुन्छ । हामीले सपना देख्नु पर्दछ, कतिपय मान्छेहरुले सिद्धान्ततः माक्र्सवादी लेनिनवादी दर्शन र राजनीतिलाई अपनाए पनि उनीहरुमा प्रायस त्यसप्रकारको सपना देख्ने क्षमता हुन्न । त्यसको परिणाम उनीहरु वर्तमान सामाजिक चिन्तन र दृष्टिकोणबाट बाहिर निस्कन सक्दैनन् । माक्र्सवादी, लेनिनवादीहरुले सपना देख्नु पर्दछ । जसले सपना देख्छ त्यो नै क्रान्तिकारी हुन्छ । मानिसहरुले केवल आफ्नो अगाडिको यथार्थलाई मात्र बुझ्दछन् । आज हाम्रो अगाडिको जुन यथार्थ हो त्यो हामीले खोजे जस्तो र आशा गरे जस्तो छैन । आज पनि समाजमा प्रतिकृयावादी शक्तिहरु बलिया छन् । सर्वहारा वर्ग कमजोर अवस्थामा रहेको छ । कुनै पनि मानिसको सोचाई के छ ? उसको दृष्टिकोण के छ ? त्यही कुराले उसको जिवन व्यवहारमा घर गरेको हुन्छ । सम्पूर्ण जीवनलाई उसको दृष्टिकोणले निर्देशीत गरेको हुन्छ ।  मानिसहरु कैयौ भागहरुमा बाँडिएका हुन्छन् , कोही जोगी बनेका छन्, कोही विदेश गएका छन्, कोही पार्टीमा काम गरेका छन्, कोही डाक्टर, इन्जीनियर, वकिल, कर्मचारी केही घुसखोर, कमीसनखोर, माफिया, दलाल बिचौलिया आदि छन् । मानिसहरुमा जुन प्रकारको दृष्टिकोण बनेको छ त्यसै अनुसार उसको व्यवहार र चिन्तनमा विकास भएको हुन्छ । मुस्लिम समाजमा हुर्केका व्यक्तिको दृष्टिकोण अन्यको भन्दा फरक हुन्छ । हिन्द,ु वैष्णव, क्रिश्चियन, सिख समुदायका मान्छेहरुको दृष्टिकोण पनि फरक फरक हुन्छ । एउटा विकसित शहरमा जन्मे हुर्केका मान्छे र दुर्गम तथा पिछडिएको गाउँमा हुर्केका मान्छेको सोचाई, व्यवहार, जिवन शैलीमा काफि अन्तर हुन्छ । उदाहरणको लागि डोल्पा, हुम्ला, जुम्ला, कालिकोटको मान्छे काठमाडौं गयो भने उसको व्यवहारमा परिवर्तन हुन्छ । उसको गाउँले जीवन शहरीया जिवनमा परिणत हुन्छ । त्यसैगरी नेपालका मान्छे युरोप, अष्ट्रेलिया अमेरिका तिर गयो भने उसको चाल, चलन, लवाई खवाई, बानी, व्यहोरामा कैयौ परिवर्तन हुन्छ । आज पनि पिछडिएका गाउ“मा उच्च जातिका मान्छेहरुले दलितले छोएको पानी पनि खादैनन् । तर त्यही उच्च जातिको मान्छे विकसित मुलुकका शहरमा गयो भने उसको सोचाईमा परिवर्तन भएको हुन्छ । उसलाई जात भात प्रति कुनै घृणा हुँदैन । मानिसको सोचाईमा सधैंभर एकै प्रकारको स्थिरता हुन्छ भन्ने हैन भौतिक परिवर्तन अनुसार मान्छेहरुमा पनि सोंचमा परिवर्तन हुन्छ । कसैले पुस्तौ देखि मान्दै आएको धर्म संस्कृतिलाई पनि परिवर्तन गर्न सक्तछ । कैयौं मानिसहरुले ईश्वर, देवी देवता, धामि झाँक्रीलाई विश्वास गर्दथे त्यो सोचाईमा सामान्य त परिवर्तन हुदै गईरहेको छ ।

खास गरेर समाज काल र भौतिक परीस्थिति अनुसार मान्छेहरुका विचारमा पनि परिवर्तन हुँदै जान्छन् । पुराना मानिसहरुले भोटो कछाड वा लंगुटी धोती चोलो पटुका लगाउने प्रचलन थियो । अहिलेका मानिसहरु कोट पाइन्ट, सर्ट टाई सुट कुर्ता सुरुवाल लगाएर हिड्छन् । पहिले ब्राह्माणवादी समाजमा बाहुनहरुको भान्सामा धोती फेरेर, चौकामा गएर मात्र खाना खान्थे तर अहिले अपवाद बाहेक कसैले पनि धोती फेरेर खाना खाने चलन छैन । अहिले त विवाह, भोज भतेरमा के बाहुन, के क्षेत्री, के जनजाती, के दलित सबै साम्य भएर सुटबुट मै एउटै टेवुलमा बसेर खाना खाने चलन छ । ब्राह्माण समाजमा त ब्रतबन्ध गरेकाहरुले बिहानै उठेर मन्त्र पढ्ने, जप गर्ने र खाना खाने बेला आफूले खाने खानालाई देवताको नाममा चढाए पछि मात्र खाने चलन थियो । ब्राह्माण क्षेत्रीका छोराले टाउकोमा टुपी अनिवार्य राख्नु पर्दथ्यो । अहिलेका युवा वर्गहरुमा यो परम्परा करिब समाप्त जस्तै छ । बृद्ध बृद्धाहरुमा आज पनि पुरानो परम्परा अपवादको रुपमा कायम छ । सती प्रथा कै कुरा गर्रौ आफ्नो पतिको मृत्यु भएपछि पत्नी पनि पुरुषसगै एउटै चितामा जलेर मर्नु पर्ने स्थिति लामो समय सम्म कायम थियो । दास तथा सामान्ती प्रथा विश्वव्यापी थियो । अहिले सामान्ती प्रथाको अवशेष रहेता पनि दुवै प्रथा समाप्त भएका छन् । पहिला बाहुन क्षेत्रीका छोराले कुनै पानी नचल्ने दलितसँग विवाह गरे १४ वर्ष जेल सजाय भोग्नु पर्दथ्यो । जेलबाट मुक्त भएपछि पनि समाजले उसको हातको पानी समेत बहिष्कार गर्दथ्यो । त्यो कानुनलाई राजा महेन्द्रले खारेज गरी दिए । यसरी हामी के देख्छौ भने समाजमा व्यक्तिका जुन दृष्टिकोण, मुल्य र मान्यताहरु छन् त्यो समाज विकासको क्रममा चेतनाको पनि विकास हुन्छ र परिवर्तन हुँदै जान्छ । हरेक मान्छे परिस्थिति अनुसार क्रमसः बदलिन्छन् । मान्छेमा अग्रगामी परिवर्तन हुनुका लागि समय लाग्छ । युगौ सम्म जकडिएको रुढीवादी तथा सामान्ती संस्कारलाई एकै चोटी क्षणभरमा परिवर्तन गर्छु भनेर हुँदैन । समाजको भौतिक गतिमा जति चाँडै परिवर्तन आउँछ, विकसित हुँदै जान्छ त्यसपछि मान्छेका कृयाकलापहरु पनि बदलिदै जान्छन् ।

दास समाजको चेतना नितान्त सामन्तवादी, व्यक्तिवादी र संकीर्णवादी थियो । मान्छेले मान्छेलाई गाई भैसी झैं किनबेच गर्ने प्रचलन थियो, जसलाई कमरा कमारी प्रथा पनि भनिन्थ्यो । मान्छेले मान्छेलाई किनेर कज्याउने मान्छे कमजोर भयो भने त्यसलाई पैसा थपेर अरुलाई दिने र अर्काेसँग भएको बलियो मान्छे आफूले ल्याउने र कजाउने जस्तो दासयुगिन व्यवस्था कति कहालि लाग्दो थियो । त्यो व्यवस्था अन्त्य गर्नका लागि संसार भर जनमत तयार भयो । क्रमश दास व्यवस्थाको अन्त्य भयो । दास व्यवस्थाको अन्त्य सजिलै भएको छैन । वर्षाै देखि मालिकका विरुद्ध दासहरु बीचको एकताको परिणामबाट नै संभव भएको हो । त्यसैगरी मान्छेको दृष्टिकोणमा पनि कैयौ घटनाक्रम, व्यवहार, सरसंगतले परिवर्तन ल्याउँछ कसैको घरमा कुनै अप्रिय घटना घट्यो अथवा एकै घरका परिवारमा एकै वर्षमा तीन, चार जना मृत्यु भयो एउटा पण्डीतले तिम्रो घरमा काल पस्यो त्यसबाट मोक्ष प्राप्त गर्न विधिविधान गर्नुपर्दछ भन्दछन् । एक सय आठ गाई दान वा सो बराबरको द्रव्य दान, सुनदान, भूमिदान, आदि गर्नु पर्दछ भन्दछन् । पण्डीतको भनाईबाट घरका परिवार प्रभावित हुन्छन् र त्यो काम मृतकका परिवारले नसके पनि गर्नै पर्ने बाध्यतामा पुग्दछन् । ऋण सापटी गरेर भए पनि उक्त कार्य गर्नै पर्दछ । त्यस्तै एउटा जोगीले पिडीत परिवारसँग भन्छ यो संसार झुटो माया हो, यसलाई छोड्नु पर्दछ । मोक्ष प्राप्त गर्न धर्म गर्नु पर्दछ, तपस्या गर्नुपर्दछ र सन्यासी बन्नु पर्दछ भन्छ । जोगीको कुरा पत्याएर गृहस्थी चलाएर बसेको मान्छे घर परिवार त्यागेर जोगीको पछाडि लाग्दछ । एउटा चोर वा ठगले समाजको अन्य मान्छेलाई चोर्ने, ठग्ने कुरा गरी उसलाई प्रभावित गर्दछ र आफूसँगै लिएर चोर्न हिंड्दछ । एउटा राष्ट्रसेवक कर्मचारी र देश चलाउने नेताले देश विकासको नाउँबाट भ्रष्टाचार गर्दछ, एउटा बिचौलियाले एक अर्कालाई घर जग्गा विक्री गरिदिए वापत कमिसन खान्छ । यसरी समाजमा आ–आफ्ना दृष्टिकोण अनुसार एकले अर्काेलाई विश्वासमा लिएर भ्रममा पारेर आ–आफ्नो स्वार्थ पुरा गर्ने सबैको कोशीस हुन्छ । कुतलमा फसेको मान्छेले अरुलाई पनि त्यसै पथमा हिड्न प्रोत्साहन गर्दछ । जुवा तास खेल्नेले अरुलाई पनि खेलाउन प्रभावित बनाउँछ । राजनीतिमा पनि त्यही कुरा लागु हुन्छ । एउटा सच्चा कम्युनिष्ट पार्टीको सामान्य सदस्यले कम्युनिष्ट शिक्षा, नीति पद्दतीको बारे राम्रो अध्ययन गर्दछ भने उ त्यसबाट प्रभावित हुन्छ । पछि उसले आफ्नो घर परिवार, व्यक्तिगत लाभलाई भन्दा समाज परिवर्तन गर्ने दिशा तिर आफ्ना  विचार बनाउँदछ । क्रान्ति आमूल परिवर्तनको लागि आफ्नो जीवन अर्पण गर्दछ । एकथरी मान्छेबाट यस्ता उदाहरण पाउँछौं भने, अर्काे थरी मान्छेले कम्युनिष्ट पार्टीमा लागेर जीवन बर्वाद हुन्छ भन्ने विचार प्रकट गर्दछन् । व्यक्तिको स्वभाव, चिन्तन, कार्यशैली, व्यवहार मूलत उसको धरातल कस्तो छ त्यसका आधारमा नै धारणा बनाउन सकिन्छ ।

व्यक्तिलाई मापन गर्र्ने छुट्टा छुट्टै धारणाहरु हुन्छन् । कसैको उसको धन, दौलत अथवा सम्पत्तिको मापदण्ड बनाएर मुल्यांकन हुन्छ भने कसैले उसको सही विचार, सही दृष्टिकोण, सहि व्यवहार, समाज प्रतिको सद्भाव र लगावको आधारमा नै मूल्यांकन हुन्छ । विकसित देश र अविकसित देशका मान्छेहरुको दृष्टिकोण भिन्न भिन्न हुन्छ । हाम्रो देश नेपाल जस्तो अविकसीत मुलुकमा महिलाहरुले शिर देखि पाउसम्म गहना लगाएर हिंड्दा उसको बढी इज्जत हुने समाजको बुझाई छ । यही कुरालाई युरोप, अमेरिकामा रहने महिलाहरुको हकमा असभ्य ठानिन्छ । यसको मतलब कुनै व्यक्तिको विषयमा जुन धारणा बन्छ, ति सबै ठाउ“मा समान धारणा हुन सक्तैनन् । मान्छेका धारणाहरु त्यहाँको भौतिक चेतना र परिस्थितिका आधारमा नै बन्ने र बनाइने गरिन्छ । को मान्छे सफल र को असफल भन्ने मापन सम्पत्तीको आधारमा भन्दा पनि उसको विचार र सामाजिक धरातल कति राम्रो छ, राष्ट्रियता प्रति उसको दृष्टिकोण कति राम्रो छ । समाज र राष्ट्रपति उसले कति योगदान दिएको छ । आफ्नो उर्जाशील जीवनमा कति राम्रो काममा खर्च गरेको छ भन्ने आधारमा नै मापन गर्नुपर्दछ । कुनै व्यक्ति कुनै एक विषय जस्तै भूगोल, विज्ञान, कृषि, पशुपंछी पर्यावरण, पर्यटन जुनसुकै विषयमा अध्ययन गरी विज्ञ भएको छ भने उसलाई आफ्नो मनमा यति सन्तोष मिलेको हुन्छ कि उसको लागि अन्य जतिसुकै सम्पत्ति भए पनि त्यो गौण हुन्छ । त्यसैगरी सच्चा क्रान्तिकारीहरु जसले आमूल परिवर्नतको लागि आफ्नो जीवन समर्पण गरेका हुन्छन् । उनीहरु त्यसैमा सन्तुष्टि लिन्छन् । त्यसबाट पछाडि हट्न प¥यो भने आत्माग्लानीको विषय हुन्छ । कम्युनिष्ट पार्टीमा प्रवेश गर्दा कुनै पनि मानिस क्रान्तिकारी बनेको हँुदैन । पछि मात्र सकृय र अनुशासित हँुदै जाने हो । सांगठनिक कृयाकलापमा सकृय सहभागी भएपछि चेतनाको स्तर उठ्दै जान्छ, त्यस पछि नै क्रान्तिकारी दृष्टिकोणको विकास हुँदै जान्छ ।

निम्न प“ूजीवादी चिन्तन विश्व दृष्टिकोणको बाधक हुन्छ । हाम्रो देशमा अधिकतर किसानको सानो पैमानाको उत्पादन प्रणाली छ । किसानका जमीनहरु सानो सानो पैमानामा टुक्रीएका छन् । त्यही पैमानामा उत्पादनका साधन हुन्छन् । खेती गर्ने पद्दति व्यक्तिगत प्रकारको र स्वयच्छाचारी प्रकारको हुन्छ । उत्पादन प्रणालीको असर बानी र संस्कारमा पर्दछ । निम्न पूँजीपति वर्गको सोचाई बढी व्यक्तिवादी प्रकारको हुन्छ । उसले कुनै काम गर्दा खेरी आफ्नो लाभको आशा गरेको हुन्छ । पूँजीवादी समाज र सामन्तवादी समाजको केन्द्रीय प्रश्न नै व्यक्तिगत लाभ हो । निम्न पूँजीवादी भएकाहरुको अर्काे विशेषता शिघ्र विजय तथा लाभ प्राप्त गर्ने हो । यो सोचाई माक्र्सवादी र समाजवादी हैन । समाजमा आमूल परिवर्तनबाट मात्र व्यक्तिका समस्याहरु समाधान गर्न सकिन्छ । परिवर्तनको लागि सामूहिकता र सामुहिक बिचार तथा चिन्तनको आवश्यकता हुन्छ । नितान्त व्यक्ति विशेषको लाभ क्षणिक मात्र हो । सामूहिक चिन्तनको विकास नहुँदा सम्म आम शोषित पीडित वर्गको हित हुन सक्तैन । उत्पीडित वर्गको पक्षमा काम गर्ने भावना पैदा गर्नका लागि विश्व दृष्टिकोण सम्बन्धी ज्ञान हासिल गर्न जरुरी हुन्छ ।

समाजको शिक्षा, सञ्चार र संगतबाट पनि दृष्टिकोणमा प्रभाव परेको हुन्छ । वैज्ञानिक तथा व्यवहारिक शिक्षा, निष्पक्ष सञ्चार र राम्रो सर संगतबाट मान्छेको दृष्टिकोणमा राम्रो प्रभाव पर्दछ । यिनी कुराहरुको अभावमा दृष्टिकोणमा गलत असर पर्दछ । विद्यमान समाजवादी तथा पूँजीवादी व्यवस्थाले सबैतिर आफ्नो अनुकूल बनाउनका लागि हर प्रयत्न गरेको हुन्छ । पूँजीपति वर्गले मजदुर, किसान सुकुम्बासी वर्गलाई क्रान्तिको दिशाबाट विमुख बनाउनका लागि आफूसँग भएको सम्पूर्ण शक्ति खर्च गरिरहेको हुन्छ । पूँजीपतिहरुले किसान मजदुरहरुलाई शोषण दमन गर्न चाहन्छ । पूँजीपतिहरुले विश्वव्यापी गरेको शोषणबाट आर्जेको केही अंश मजदुरहरुलाई दिएर उनीहरुको जीवनस्तरलाई आंशिक माथि उठाएर आफ्नो विरासत बचाउन प्रयत्न गरी रहन्छन् । त्यसको परिणाम मजदूरहरुमा गैर क्रान्तिकारी दृष्टिकोणको विकास भएर जान्छ । क्रान्तिकारी कम्युनिष्ट सिद्धान्तबाट उनीहरु विस्तारै पलायन भएर जान्छन् । यसरी निम्न पूँजीवादी सोचलाई समयमै नियन्त्रण गर्न सकीएन भने त्यसले क्रान्ति र परिवर्तनलाई वा क्रान्तिकारी चरीत्रलाई समाप्त पारी दिन्छ । पूँजीपति र साम्राज्यवादीहरुको सोचाईको सार “मलाई कति फाइदा हुन्छ” भन्ने नै हो । कम्युनिष्टहरुको सोचाई मैले उत्पीडित वर्ग, समाज , देश र क्रान्तिलाई कतियोगदान दिन सक्तछु भन्ने हुन्छ । रातो लालटीन अपेरा पुस्तकका नायकले आफूलाई फाइदा हुने सोंचका बिरुद्ध समाजलाई देशलाई योगदान दिनपर्ने विचार अगाडि सारेका छन् । यसको अर्थ चीनमा त्यहाँ निम्न पूँजीवादी सोचाई वा चिन्तनका विरुद्ध व्यापक सांस्कृतिक संघर्षहरु भएका थिए । त्यसैले एउटा सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टीमा सांस्कृतिक र वैचारिक आन्दोलनहरु निरन्तर रुपमा चलाई रहनु पर्दछ ।

मलाई कम्युनिष्ट आन्दोलनमा सकृय रुपमा भाग लिने प्रेरणा “पेमा लामा प्रश्नोत्तर माला” र विश्व दृष्टिकोण सम्बन्धी प्रशिक्षणबाट मिलेको हो । कुनै पनि व्यक्ति कुनै चिज वा विचारमा प्रभावित हुनुका पछाडि कुनै न कुनै कारण हुन्छ । कोही मान्छे हिन्दु धर्मबाट, कोही कुरानबाट, कोही बाइबलबाट, कोही रामायण, महाभारतबाट, कोही गीताबाट, कोही श्रीमद्भागवतबाट, कोही उपन्यास, साहित्यबाट त कोही भौतिकवादी दर्शनबाट, कोही गीतसंगीतबाट कोही उच्च शिक्षाबाट प्रभावित भएको हुन्छ । त्यहाँबाट नै उसले आफ्नो जीवनको गोरेटो कोर्न थाल्दछ । गोरेटो बनाउँदै जाने क्रममा गन्तव्यमा पुग्न पनि सक्क्तछ र बी बाटो बाट गन्तव्यलाई परिवर्तन गरी अर्काे गोरेटो समाउन पनि सक्तछ । मान्छे हिन्दु धर्म परिवर्तन गरी कृस्चियन धर्ममा प्रवेश गरेका छन् । कृस्चियनबाट हिन्दुमा प्रवेश गरेका छन् । कम्युनिष्टबाट कांग्रेस र कांग्रेसबाट कम्युनिष्ट पनि भएका छन् । कसैले आफु जुन बाटो रोजेको थियो त्यसैमा जीवनको उत्सर्ग मान्न पनि सक्तछ । कसैले व्यक्तिगत रुपमा अथाह सम्पत्ति आर्जन गर्ने उद्देश्य राख्दछ । कसैले दान धर्म गर्ने लक्ष्य राख्दछ । यो सबै कुरा व्यक्तिको दृष्टिकोण माथि भर पर्दछ । विश्व दृष्टिकोणको विकास गर्नका लागि माक्र्सवादी दर्शन जो भौतिकवादमा आधारित छ त्यसलाई अध्ययन गर्न जरुरी छ । माक्र्सवादी दर्शनका दुई वटा पक्षहरु छन् । द्वन्दात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद दुईवटा बेग्ला बेग्लै दर्शनलाई मिलाएर कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सले द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादको प्रतिपादन गरे । दर्शनको अर्थ दृष्टिकोण हो । जीवन र जगतलाई हेर्ने र बुझ्ने तरीका नै दर्शन हो । प्राचीनकाल देखि नै द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवाद अस्तित्वमा आएको हो ।

मानिसहरु एउटै समाजमा बस्दछन् तर जीवन र जगतलाई हेर्ने र बुझ्ने दृष्टिकोण फरक फरक हुन्छन् । जसले चेतना प्रथम पदार्थ गौण अर्थात चेतनाबाट पदार्थको उत्पत्ति भएको मान्यता राख्दछ त्यो आदर्शवादी दर्शन हो । जसले पदार्थ प्रधान चेतना गौण अर्थात् पदार्थबाट चेतनाको उत्पत्ति भएको भन्ने मान्यता राख्दछ । त्यो भौतिकवादी दर्शन हो । आदर्शवादी दर्शनले ईश्वरलाई विश्वास, गर्दछ, भौतिकवादी दर्शनले प्रकृति र वस्तुलाई विश्वास गर्दछ । भौतिकवादले भौतिक जगतभन्दा अलग कुनै अलौकिक शक्तिमा विश्वास गर्दैन । प्राचिन कालमा चार्वाक जस्ता भौतिकवादी दार्शनिकले भौतिक जगतभन्दा अलग कुनै अलौकिक शक्तिको विश्वास गर्दैनथे । चार्वाकका अनुसार पृथ्वी, जल, तेज, वायु, यिनी चार तत्वहरुको संयोगले मान्छेको अस्तीत्व भएको मान्दछन् । अर्का भौतिकवादी दार्शनिक बृहस्पतिले स्वर्ग, नर्क, केही पनि छैन भनेका थिए । दार्शनिक थेल्सले सृष्टीको मूलतत्व पानि हो भनेका थिए । मान्छेको मृत्यु पछि शरीर खरानी हुन्छ, त्यो वायुमा मिल्दछ । त्यही मानिसको अर्काे जुनी हुन सक्दैन । संसारका हरेक वस्तु स्थिर छैनन् गतिशिल छन् र ति परिवर्तन भैरहन्छ । भौतिकवादले त्यसलाई निशेधको निशेध भन्दछ । एकपटक मरेको उही मान्छे फेरी जन्मन सक्तैन । अठारौ सताब्दीमा जर्मन दार्शनिक फायरवाख मूलरुपमा भौतिकवादी थिए । उनले पदार्थ प्रधान हो र चेतना गौण हो भन्ने मान्यता राख्दथे । तर पनि उनले धर्मलाई मान्दथे । त्यसरी फायरबाख मूलत भौतिकवादी भएपनि उनको भौतिकवाद वैज्ञानिक थिएन । अर्का दार्शनिक हेगेलले फायरबाखको पदार्थबाट चेतनाको उत्पत्ति भएको हो भन्ने भौतिकवादी धारणाको विरोध गर्दथे हेगेलले परम चेतना ईश्वरबाट नै सञ्चालित छ भन्ने मान्यता राख्थे । फायरबाखले प्रकृति प्रथम र अनिर्मित बस्तु हो भनेर भौतिकवादलाई विकसित अवस्थामा पु¥याएका थिए भने हेगेलले परस्पर विरोधी पक्ष बीच हुने संघर्ष नै विकाश हो भनेर द्वन्दवादलाई विकसित अवस्थामा पु¥याए । माक्र्स र एंगेल्सले हेगेलको द्वन्दवाद र फायरवाखको भौतिकवादलाई अभिछिन्न एकको रुपमा लिनु पर्दछ भनेर टाउकाले टेकेको हेगेल्सको द्वन्दवाद र फायरबाखको भौतिकवादलाई खुट्टाले टेक्ने बनाएर द्वन्दात्मक भौतिकवादको सुत्रबद्ध गरेका थिए । हामीले जगत र जीवनलाई जस्ताको तस्तै बुझ्नका लागि द्वन्दात्मक भौतिकवादलाई गहीराईमा पुगेर अध्ययन गर्न जरुरी हुन्छ ।

द्वन्दात्मक भौतिकवादको विकसीत स्वरुप दर्शन हो । संसारमा भएका बस्तुहरुको उत्पत्ति, संचालन र विसर्जनबारे हेर्ने हेराइलाई द्वन्दात्मक भौतिकवादी दर्शन भनिन्छ । दर्शन २ प्रकारका छन् । आध्यात्मवादी दर्शन र भौतिकवादी दर्शन, आध्यात्मवादी दर्शनले चेतना पहिलो हो यसैले पदार्थको कल्पना गर्दछ । संसार धेरै छन् र अलग अलग अस्तित्व छ, संसारको गतिविधि बुझ्न सकिन्न, सबै गतिविधि ईश्वरबाट संचालित छन् र आत्मा कहिले मर्दैन रुपान्तरण हुन्छ, भन्ने मान्यता राख्दछ । यसैगरी भौतिकवादी दर्शनले पदार्थ पहिलो हो । यसले चेतनाको सृष्टि गर्दछ, संसार एउटा मात्र छ, हरेक चिज एक अर्कासँग सम्बन्धित छन् संसारका हरेक चीजलाई बुझ्न सकिन्छ । पदार्थ कहिले पनि समाप्त हुन्न रुपान्तरण मात्र हुन्छ र मृतआत्माको अस्तित्व छैन भन्ने मान्यता राख्दछ ।

भौतिकवादले कुनै पनि पदार्थको बारेमा बुझ्नका लागि र त्यसको भविष्यको अवस्था बताउन लागि त्यसको भूतकाल र वर्तमान कालको अवस्था बुझ्नु पदार्थ भन्छ भने अधिभूतवादले वर्तमानबाट नै सबै कुरा जान्न सकिन्छ भन्दछ । कुनै पनि विषयको बारे बुझ्नका लागि त्यसका भागहरु र सम्बन्धलाई बुझ्न पर्दछ । जस्तै हाम्रो शरीरका भागहरु हात खुट्टा, टाउको, जीउ मध्य टाउको जिउसँगको सम्बन्ध बढी महत्व हुन्छ । हातकाटे पनि मान्छे बाँच्न सक्तछ भने टाउको काटे मान्छे जिवित रहन सक्तैन । भौतिकवादले सनातन न्याय, सनातन अन्याय हुन्छ भन्ने कुरालाई स्वीकार गर्दैन । समय अनुसार उही कुरा ठीक हुन सक्तछ भने उही कुरा बेठीक हुन सक्तछ । जस्तै घ्यू पौष्टिक तत्व हो पचाउन सक्नेलाई बलियो बनाउँछ भने पचाउन नसक्नेलाई कमजोर बनाउँछ । त्यही घ्यू ठीक त्यही बेठीक भनेर भौतिकवादले भन्दछ । औषधी विरामीको लागि ठीक हो तर स्वस्थ मान्छेको लागि हानीकारक हो ।

द्वन्दात्मक भौतिकवादका आधारभूत नियमहरु हुन्छ । ती मध्ये (क) परस्पर विरोधीहरुमा एकता र संघर्ष दुवै हुन्छ । जस्तै चुम्बकमा विपरित ध्रुब हुन्छ । एउटा मात्र धु्रबलाई छुटउन मिल्दैन । समाजमा पूँजीपति र मजदूर हुन्छन् । परिवारमा महिला र पुरुष हुन्छन् । एक अर्कालाई छुटाउन मिल्दैन, ति दुवै बीच एकता र संघर्ष हुने भएता पनि अस्तित्वको रक्षाको लागि संघर्ष प्रधान हुन्छ । यो नियमलाई माओत्सेतुड्डले द्वन्दात्मक भौतिकवादको आधारभूत नियम बताएका छन् । 

(ख) मात्रात्मक परिवर्तनले गुणात्मक फड्को मार्दछ । प्रत्येक पदार्थमा, घटनामा, व्यवस्थामा आ–आफ्ना गुणहरु हुन्छन् । गुणको साथै मात्रात्मक हिसाबले पनि फरक हुन्छ । हरेक चीजलाई अध्ययन गर्नका लागि पक्ष, विपक्ष गरी दुई भाग गर्नु पर्दछ । त्यही गुणात्मक फरक हो । यसका साथै मात्रात्मक हिसाबले पनि थोरै धेरै गरी फरक हुन्छ । मात्रात्मक परिवर्तन र गुणात्मक परिवर्तन बीच एकता हुन्छ । यो एक किसिमको सीमा हो । सीमा उल्लंघन गर्ने बित्तिकै मात्रात्मक परिवर्तनले गुणात्मक रुप लिन्छ । त्यसपछि फेरी मात्रात्मक हिसाबले विकास हुँदै जान्छ । मात्रात्मक परिवर्तन मन्द र क्रमबद्ध हुन्छ । गुणात्मक परिवर्तन क्रमहिन र फड्को को रुपमा हुन्छ । राजनीतिक संशोधनवादीहरुले गुणात्मक फड्कोलाई स्वीकार गर्दैनन् । उग्रवामपन्थीहरुले मात्रात्मक परिवर्तनलाई स्वीकार गर्दैनन् । क्रान्तिकारीहरुले दुवैलाई स्वीकार गर्दछन् ।

(ग) निषेधको निषेध सम्बन्धी नियम हरेक नयाँ  आउनेले पुरानोलाई उदाउदोले अस्ताउँदोलाई निषेध गर्दै अघि बढ्दछ । पुरानोलाई निषेध गर्दै उसमा भएका असल गुणहरुलाई सुरक्षित गर्दै अगाडि बढ्दछ । जस्तै बाँदरलाई मान्छेको गुणले निषेध ग¥यो । निषेधको क्रममा अझैसम्म पनि मान्छेको शरीरमा पुच्छरको हड्डी पुरा निषेध भैसकेको छैन । दिनले रातलाई निषेध गर्दछ । रातले दिनलाई निषेध गर्दछ । त्यसो गर्दै हिउँदले वर्षालाई गर्मीले जाडोलाई निषेध गर्दै जान्छ ।  लेखक.  नेकपा (मसाल) महाधिवेशन आयोजक समितिका केन्द्रिय नेता हुनुहुन्छ  ।

२०७९ साउन ३० १५:४६ बजे

प्रतिक्रिया