शक्तिकेन्द्रको चर्को दबाबबीच प्रहरीले बुझायो प्रतिवेदन

बालकृष्ण र टोपबहादुरलाई जोगाउन नेताहरुको ताकेता

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ८ २०:३५ बजे

काठमाण्डौ।  नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने योजनामा मुछिएका दलका नेताहरुलाई जोगाउन सत्तारुढ र प्रमुख प्रतिपक्षी दल एकैठाउँ उभिएको पाइएको छ। पक्राउ परेका उच्च तहका नेता छुटाउन प्रहरी प्रशासनलाई तीब्र दबाब दिइएको सूचना  विभिन्न स्रोतबाट प्राप्त भएको छ।

तर, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ कुनै हालतमा मुद्दा कमजोर बनाउन नहुने पक्षमा उभिएपछि प्रतिवादीहरुलाई राज्यविरुद्धको अपराधसम्मको कसुर लगाइने भएको छ। ‘कसैको दबाब र प्रभावमा नपर्नु होला, प्राप्त प्रमाण नष्ट गर्ने कोसिस होलान् जोगिनुहोला, दोषी कोही उम्कनु हुँदैन र निर्दोष फस्नु हुँदैन,’ अनुसन्धानमा जुटेका प्रहरीलाई गृहमन्त्री श्रेष्ठले दिएको निर्देशन उद्धृत गर्दै स्रोतले  भन्यो, ‘तर, राजनीतिक रुपमा निकै ठूलो दबाब छ। यति दबाब छ कि अनुसन्धानमा जुटेका प्रहरीहरुलाई समेत समस्या पार्न खोजियो।’

प्रहरीले सोमबार सरकारी वकिल कार्यालयमा मुद्दाको अनुसन्धान प्रतिवेदन बुझाएको छ। पक्राउ परेका १६ जना र फरार सूचीका अन्य १६ जनालाई विभिन्न ५ वटा मुद्दा चलाउनु पर्ने निष्कर्षसहित प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ। अब सरकारी वकिल कार्यालयले आगामी १० गतेभित्र यो मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता गरिसक्नुपर्नेछ। सह–न्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार पक्राउ पर्नेहरुलाई राज्यद्रोह, ठगी र संगठित अपराधसहितका मुद्दा चल्न सक्ने छन्।

केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते) र राज्यविरुद्धको अपराधमा पनि मुद्दा चलाउन सक्ने उनले बताए। सार्वजनिक पदमा पुगेकालाई भ्रष्टाचार मुद्दा पनि चलाउने गरी फाइल अघि बढाइएको छ।स्रोतका अनुसार यो प्रकरणमा एमालेका सचिव एवम् अर्घाखाँचीबाट निर्वाचित सांसद् टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई जोगाउनेगरी प्रतिवेदन तयार पार्न प्रहरीलाई उच्च तहका नेताहरुको दबाब आएको थियो। प्रहरी महानिरीक्षक वसन्त कुँवरले समेत मुद्दा कमजोर हुनेगरी प्रतिवेदन तयार पार्न निर्देशन दिएको दाबी स्रोतले गरेको छ। 

उता महान्यायाधिवक्ता दीनमणि पोखरेलले जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दान कार्कीलाई आइतबार मात्रै बोलाएर मुद्दाको फाइल मिलाएर ल्याउन भनेका थिए।स्रोतका अनुसार पोखरेलले यो मुद्दामा सत्ता र प्रतिपक्षका उच्च राजनीतिक नेताहरुको ठूलो चासो रहेको संकेतसहित अनुसन्धान प्रतिवेदन त्यहीअनुसार मिलाएर ल्याउन कार्कीलाई भनेका थिए।

उता आईजी कुँवरले पनि अनुसन्धानमा खटिएका प्रहरीलाई फाइल मिलाएर सरकारी वकिल कार्यालयमा बुझाउन भनेको दाबी स्रोतको छ।यसअघि पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रायमाझीलाई वैशाख २० गते प्रक्राउ गर्न गएको टोलीलाई आईजी कुँवरले फिर्ता बोलाएका थिए।यदि महानिरीक्षक कुँवरले नरोकेको भए टोपबहादुर वैशाख २० गते नै रुपन्देहीबाट पक्राउ पर्थे। जबकि घटनामा संलग्न भएको पुष्टि भएपछि उनी ११ दिन फरार रहे। वैशाख ३१ गते टोपबहादुरलाई प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो। 

यो मुद्दामा सत्तारुढ नेपाली कांग्रेस र प्रतिपक्षी एमालेका नेताहरुले व्यक्तिगत रुपमै प्रहरीलाई दबाब दिइरहेका थिए। तर प्रहरीले राजनीतिक नेतृत्वको चर्को दबाबबीच गम्भीर अपराधसहितको कसुरमा फाइल अघि बढाएको हो।  कांग्रेस सभापति शेरबहादुर देउवाले यो प्रकरणमा विशेष चासो राख्दै प्रहरीलाई तारन्तार फोन गरेको कुरा यसअघि नै सार्वजनिक भएको थियो।

कांग्रेस नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेका पूर्वगृहमन्त्री खाँणको मुद्दा कमजोर बनाउने प्रयासस्वरुप दबाब दिएको बालुवाटार स्रोतले उल्लेख गरेको छ।पछिल्लो दिन प्रधानमन्त्री प्रचण्डसमेत कांग्रेसको दबाब र आग्रहलाई स्वीकार गर्नुपर्ने निष्कर्षमा पुगेका थिए। यद्यपि प्रहरीले प्रकरणमा बलियो दाबीसहित फाइल सरकारी वकिलमा बुझाएको छ। 

महान्यायाधिवक्ता दीनमणि पोखरेलले पनि मुद्दाको फाइल मिलाएर सरकारी वकिलमा पेश गर्न आइतबार काठमाडौं परिसरका प्रमुख कार्कीलाई भनेका थिए। नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका केहीलाई जोगाउन सत्तापक्ष–प्रतिपक्ष एकै ठाउँमा देखिएका थिए,’ स्रोतले  वताएका छन।, ‘आइजी सा’व नै मुद्दा कमजोर बनाउनेको दबाबमा परिक्नु भएको देखिन्थ्यो। गृहमन्त्री श्रेष्ठ यो केस निष्कर्षमा पुर्‍याउनुपर्ने पक्षमा देखिनु भएको छ।’

‘प्रधानमन्त्री प्रचण्ड पनि पहिला त अडानमा हुनहुन्थ्यो तर अहिले गल्नुभएको पाइयो,’ स्रोतले थप्यो, ‘अरु दलका ठूलै नेताहरुले तारान्तार कल गरेर थ्रेट दिनुहुन्छ।’प्रहरीले आइतबार नै पक्राउ परेका १६ जनाविरुद्ध अदालतमा मुद्दा दायर गर्ने गरी सरकारी वकिलमा फाइल लैजाने प्रक्रिया अघि बढाएको थियो।तर प्रहरीले यो कोसिस गरिरहँदा आइतबार गृहमन्त्री श्रेष्ठ गृहजिल्ला गोरखा व्यस्त थिए। यता प्रहरीले मुद्दाको फाइल पनि सोमबार मात्रै सरकारी वकिलमा लगेको छ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपालीसँग ३६ करोड बढी पैसा उठाउने कार्यमा संलग्न रहेका १६ जना पक्राउ परिसकेका छन्। प्रहरीले यस प्रकरणमा साढे २७ करोड बढी बिगो दाबीसहित मुद्दाको फाइल अघि बढाएको छ।तीमध्ये रायमाझी र खाँणको मुद्दा कमजोर बनाउनुपर्ने दबाब खेपिरहेको प्रहरीले सोमबार अदालतमा मुद्दा लैजान अनुसन्धान प्रतिवेदन सरकारी वकिलकहाँ बुझाएको छ।पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित ३२ जनालाई प्रतिवादी बनाउँदै अनुसन्धान प्रतिवेदन बुझाइएको हो।  

उक्त अनुसन्धान प्रतिवेदनमा पक्राउ परेका १६ जना र फरार अन्य १६ जनाविरुद्ध ठगी, सम्पत्ति शुद्धिकरण, संगठित अपराध र राष्ट्रिय हितविपरीतको कसुरमा मुद्दा चलाउने निर्णय गरेको छ।यस्तै, रायमाझी, खाँण, टेकनारायण पाण्डे र इन्द्रजित राईसहित सार्वजनिक पद धारण गरेका व्यक्तिलाई भ्रष्टाचार मुद्दा चलाउनुपर्ने निष्कर्ष सरकारी वकिलसमक्ष पेस गरेको प्रहरीले जनाएको छ। 

अहिलेसम्म प्रहरीले जुटाएका तथ्य–प्रमाणमा आधारमा पक्राउ परेका कोही पनि छुट्न सक्ने अवस्था छैन।अब सरकारी वकिलले आगामी शुक्रबारसम्म यो मुद्दा जिल्ला अदालतमा पुर्‍याइसक्नु पर्नेछ। तर, यही मुद्दालाई कमजोर बनाउन भित्र भित्रै उच्च नेतृत्वबाट लबिङसँगै दबाब दिने काम भइरहेको हो।पूर्वगृहमन्त्री एवम् एमाले उपाध्यक्ष रामबहादुर थापा बादलको नाम मुछिए पनि उनीविरुद्ध अभियोग दर्ता भएन। तर उनको नाम मुद्दाको फाइलमा मुछिएको छ। पक्राउ परेका बिचौलियाहरुले थापालाई नगद नै बुझाएको बयान दिएका छन्। 

यस्तै उनी गृहमन्त्री हुँदाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईको मोबाइलबाट पनि रकम लेनदेनका साथै नक्कली शरणार्थी बनाउन संलग्न रहेको प्रमाण फेला परेको प्रहरी स्रोतले दाबी गरेको छ। यस्तै, इन्द्रजितबाटै हाल अख्तियार प्रमुख रहेका पूर्वगृहसचिव प्रेमकुमार राई संलग्न भएको प्रमाण प्रहरीले जुटाएको दाबी स्रोतको छ।बिचौलियाले नगद लगेर तत्कालीन सचिव राईको गाडीमा राखिदिएको बयान दिए पनि उनीविरुद्ध मुद्दा चल्ने सम्भावना कम छ। तर उनको पनि नाम यो मुद्दामा जोडिन पुगेको छ।     नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा र मञ्जु खाँणले पनि रकम बुझेको बिचौलियाले दाबी गरेका थिए।  

म्यासेजमा समेत दुवैजना मुछिएको अनुसन्धान अधिकारी बताउँछन्। तर अब उनीहरु पनि यो प्रकरणबाट करिब जोगिएका छन्। तत्काललाई उनीहरुको नाम यो प्रकरणमा नजोडिने भएको छ। वैशाख २७ गते पति बालकृष्ण पक्राउ परेपछि ९ दिन गायब भएकी मञ्जु संसदमा आउन थालिसकेकी छन्। उनले सोमबार मात्रै पतिलाई प्रहरी परिसरमा भेटिन्। पक्राउ परेका खाँणको मोबाइलबाट यो प्रकरणमा दुवैजना संलग्न रहेको प्रमाण प्रहरीले जुटाएको थियो । 

डिजिटल फरेन्सिक ल्याबमा परीक्षण गरिएको मोबाइल रिपोर्टमा पनि नक्कली शरणार्थी प्रकरणमा मञ्जु र आरजुको संलग्नता देखिएको सरकारी वकिल कार्यालयका एक अधिकारी बताउँछन्।  ‘म्यासेज र अडिओमा उहाँहरुको पनि नाम देखिएको छ। बिचौलिया र मन्त्रालयका अधिकारीबीच भएको कुराकानीले प्रष्ट देखाउँछ। तर, अहिले उहाँविरुद्ध अभियोग दर्ता हुँदैन,’ ती अधिकारीले  भने, ‘हामी प्रहरीलाई थप प्रमाण जुटाउन भन्छौँ।’ 

ल्याब परीक्षणको रिपोर्टमा इन्द्रजितको मोबाइलबाट रामबहादुर थापा बादल र प्रेमकुमार राईको संलग्नता देखिने उनले दाबी गरे।

नेपाल खवर वाट



२०८० ज्येष्ठ ८ २०:३५ बजे

प्रतिक्रिया