हरायो समाजवादी केन्द्र

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २ १०:२६ बजे

काठमाडौँ । नेपालमा नयाँ राजनीतिक तरङ्ग आइरहेको समयमा गत ४ मङ्सिर २०७९ मा कम्युनिस्ट नेताहरूले पार्टी एकतासहित समाजवादी केन्द्र निर्माण गर्ने घोषणा गरे । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी ९जसपा० र नेपाल समाजवादी पार्टी ९नेसपा०का शीर्ष नेताहरूले समाजवादी केन्द्र बनाउने घोषणा गरेका थिए । 

त्यो समयमा जति सक्दो चाँडो समाजवादी केन्द्र बनाउने बताएका ती नेता तथा पार्टीहरूले घोषणा गरेको ६ महिना बित्दा पनि समाजवादी बजाउने कुनै सुर सार चलेको छैन । समाजवादी केन्द्र बनाउने नाममा दलहरूले आ–आफ्नो पार्टीबाट वार्ता समिति गठन गरे । तर, ६ महिना पुग्दासम्म समाजवादी केन्द्र निर्माणको बहस र छलफल वार्ता समिति गठनमै सीमित हुन पुगेको छ ।

यसैबीचमा एक कदम अघि बढेर माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता गर्ने घोषणा पनि भयो । माघ महिनाभित्रै नेसपा र माओवादी केन्द्रबिच पार्टी एकता गर्ने घोषणा गरेका यी २ पार्टीको एकता प्रक्रियासमेत अलपत्र भएको छ । 

समाजवादी केन्द्र बनाउने विषयमा अन्तिम ड्राफ्ट बनिसकेको भए पनि शीर्ष नेताहरूबिच छलफल हुन नसक्दा यो विषयले गति लिन नसकेको समाजवादी केन्द्रै पक्षधरहरूको भनाइ रहेको छ । 

चुनावको समयमा माओवादीसँग एकता गर्ने गरी नेसपाले माओवादीको चुनाव चिह्न लिएर उम्मेदवार उठाएको थियो । अहिले निर्वाचित भएका नेसपाका सांसद माओवादी कोटाबाटै प्रदेश मन्त्रीसमेत भएका छन् । शीर्ष नेताहरू निष्क्रिय हुँदा नेसपा र नेकपा माओवादी केन्द्रको एकतासमेत अन्योलमा परेको छ । 

बजेटको नीति तथा कार्यक्रममा नेताहरू केन्द्रित हुनुपर्ने भएका कारण अहिले यो विषयमा कुनै छलफल नभएको  बताइएको छ । 

समाजवादी केन्द्र बनाएर तेस्रो शक्ति खडा गर्ने नेताहरूले दाबी गरेका थिए । एमालेबाहेक शक्तिहरूलाई एक ठाउँमा केन्द्रित गर्ने गरी नेताहरू भेटघाट र संवादलाई सघन रूपमा अघि पनि बढाएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि समाजवादी केन्द्र निर्माणको बहस र छलफलसमेत अलपत्र अवस्थामा पुगेको नेताहरू बताउँछन् । 

समाजवादी केन्द्र बनाउने भनेर घोषणा गरेका नेताहरू सत्ताको लुछाचुँडीमा केन्द्रित भएको नेताहरू बताउँछन् । 

समाजवादी केन्द्र बनाउने गरी छलफल गर्न नेकपा एकीकृत समाजवादीले १८ कात्तिक, २०७९ मा वेदुराम भुसाल नेतृत्वमा गंगालाल तुलाधर र विजयकुमार पौडेल सदस्य रहने गरी ३ सदस्यीय समिति बनाएको थियो । त्यस्तै, माओवादी केन्द्रले २३ पुस, २०७९ मा कृष्णबहादुर महराको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो । जसको सदस्यमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल छन् । 

जसपाले राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ, गोविन्द चौधरी रहने गरी समिति बनाएको थियो । नेपाल समाजवादी पार्टीले पनि गंगानारायण श्रेष्ठको संयोजकत्वमा दुर्गा सोभ र रमेश यादव रहने गरी समिति बनाएको थियो । 

पछिल्लो समय वामदेव गौतमले नेतृत्व गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीसमेत यो छलफलमा सहभागी भएको छ । यी समितिहरूबीच पटक–पटक छलफलसमेत भयो । 

वैचारिक मतभेद विरलै र अधिकांशतः नेतृत्व र व्यक्तित्वको टकरावका कारणले विभाजित भएका दलहरूलाई समाजवादी केन्द्रको नामले एक ठाउँमा जम्मा गर्न सम्भव हुने, तर राजनीतिक दलका रूपमा सङ्गठित गर्न कठिन हुने राजनीतिक विश्लेषकहरू बताउँछन् । 

विद्रोहकालीन मुद्दालाई नियमित अदालतले नहेर्ने निश्चित जस्तै भएपछि माओवादी घटक दलहरू एक भएर जाने विषयसमेत ओझेलमा परेको छ । 

२०८० ज्येष्ठ २ १०:२६ बजे

प्रतिक्रिया