भ्रष्टाचार कै कारण गुमनाम हुनुपर्‍यो

प्रत्येक सरकारको पालमा विभिन्न विषयमा भ्रष्टाचारको आरोप नेपाल सरकार र सरकारमा रहेको विभिन्न व्यक्ति तथा मन्त्रीहरूलाई लाग्ने गरेको छ

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ३१ १४:१९ बजे
भ्रष्टाचार

काठमाडौँ । नेपालमा अहिले ठगी र भ्रष्टाचार भएका विषयमा निकै बहस चलिरहेको छ । अहिले नेपालमा भ्रष्टाचार र विभिन्न अनियमितताका बारेमा कुरा उठ्नुमा एउटा प्रमुख कारक अहिले तातो विषय नक्कली भुटानी शरणार्थी प्रकरण पनि हो । नेपालमा भ्रष्टाचार अहिलेको नयाँ विषय भने होइन । 

यसको समाधानका लागि उठेका मागहरू पनि नयाँ भने होइन । अहिलेको नेपालको परिवेशमा सबैको चासो  बनेको विषय नक्कली भुटानी शरणार्थी र यसमा जोडिएका विभिन्न राजनीतिक दल र दलका नेताहरू हुन । अहिले सरकारका महत्त्वपूर्ण जिम्मेवारी समालेका नेताहरू निलम्बनमा परेका छन् । भने, कोही पक्राउ पुर्जी जारी भएपछि फरार रहेको छन् । 

प्रत्येक सरकारको पालमा विभिन्न विषयमा भ्रष्टाचारको आरोप नेपाल सरकार र सरकारमा रहेको विभिन्न व्यक्ति तथा मन्त्रीहरूलाई लाग्ने गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा  सरकारले चालेको कदमको भने सबैले वाही वाही गरिरहेका छन् । 
सरकारले अनुसन्धान थालेको कतिपयले भने विभिन्न आशङ्का जनाउँदै आएका छन् ।  सरकारले अहिले आफूले चाहेर अनुसन्धान नगरेको , विदेशी संस्थाहरूको दाबावका कारण अनुसन्धान थालेको आरोपहरू पनि रहेको छ । यता सरकारले गर्ने अनुसन्धान  र सरकारले थालेको भ्रष्टाचारको फाइल खोल्ने कार्यमा भने  सरका माथि नै  प्रश्न उठेको छ । अहिले सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्री नै पनि विभिन्न भ्रष्टाचारमा सहभागी रहेको आरोप रहेको छ । 

विगतमा सरकारको पालमा पनि भ्रष्टाचारको भिन्न आरोप लागेका विभिन्न राजनीतिक दलका नेताहरूमाथि कारबाही नभएकाले सरकारले  केही गर्ने नसक्ने आशङ्का पनि उब्जिएको छ । त्यस वेलाका प्रकरणमा भने अनुसन्धानमा उनीहरूमाथि लागेका  आरोप पुष्टि नभएपछि उनीहरूले सफाइ पाएका हुन् ।  

राजनीतिकमा रहेका विभिन्न विभिन्न मान्छेहरू विभिन्न प्रकरणमा मुछिनुले उनीहरूको राजनीतिक भविष्य नै धराप रहेको देखिन्छ । विगतका केही त्यस्ता घटनाहरू रहेका छन् । जो भ्रष्टाचारसँग जोडिएकै कारण गुमनाम रहेका छन् । 

२ करोड ३६ लाख रुपैयाँ गैर कानुनी रूपमा कमाएको अभियोग लागेपछि काँग्रेस नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काको राजनीतिक करियर अहिले शिथिल रहेको छ । उनी विरुद्ध ३० साउन, २०६८ मा सर्वोच्चले दोषी ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १२२ रुपैयाँ बिगो जरिवानाको फैसला सुनाएको थियो।

अदालतको फैसलापछि जेल गएका खड्का फेरि राजनीतिमा आउने प्रयास गरे। तर, सफल भएनन्। १६ चैत, २०७४ मा उनको मृत्यु भयो । तत्कालीन अवस्थामा खड्का काँग्रेसको प्रभावशाली नेताका रूपमा स्थापित थिए।

राजनीति अपराधीकरण र अपराध राजनीतीकरण भइरहेको हाम्रो देशमा अपराध गरेकै कारण नेता बनेका र अपराधकै कारण राजनीतिमा फेरि उदाउन नसकेका धेरै घटना छन्। 

एउटा ज्वलन्त उदाहरण हुन्– काँग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशी। जोशी अहिले काँग्रेस राजनीतिबाट अलग छन् । २८ माघ, २०६० मा विशेष अदालतमा ३ करोड ९३ लाख ६३ हजार ५७६ रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै जोशीविरुद्ध मुद्दा दर्ता भयो । जोशीलाई विशेष अदालतले विषयवस्तुमा प्रवेश नगरी सफाइ दिएको थियो ।

तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० कात्तिक, २०६३ मा विशेष अदालतले सफाइ दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्‍यो। भ्रष्टाचार मुद्दामा हदम्याद नलाग्ने सर्वोच्चको फैसलापछि १० साउन, २०६६ मा विशेष अदालतले जोशीलाई २ करोड १६ लाख स्रोत नपुगेको भन्दै बिगोसहित असुल गर्न र डेढ वर्ष कैद सजाय सुनायो।

उक्त फैसलाविरुद्ध जोशी सर्वोच्च अदालत गए। उनको मुद्दामा अख्तियारले अभियोगमा १३ वर्ष कैद सजाय र सोही बराबरको बिगो जरिमाना मागेको थियो । तर, सर्वोच्चमा ४४ पटक पेसी तोक्दा अहिलेसम्म उक्त मुद्दाको सुनुवाइ हुन सकेको छैन

कतिपय नेताहरू आफ्नो अपराध लुकाउन सक्छन् भने कतिपय नेता आफूले गरेको अपराध लुकाउन नसक्दा त्यही अपराधले उनीहरूको राजनीति सकिन्छ। अधिकांश ठुला अपराधमा नेताहरू कतै न कतै जोडिन्छन् । त्यसमध्ये सबैभन्दा बढी अपराध आर्थिक विषयसँग सम्बन्धित हुन्छ।

पावरमा जान पैसा सबैभन्दा महत्त्वपूर्ण हुने कारण पनि नेताहरू आर्थिक अपराधसँग सम्बन्धित मुद्दामा बढी मुछिएको विज्ञहरू बताउँछन्। जसरी पनि पावरमा जाने नेताहरूको अभिलाषाका कारण नेताहरू बढी भ्रष्टाचार र आर्थिक मुद्दामा पर्ने विज्ञहरू बताउँछन्।

२०८० वैशाख ३१ १४:१९ बजे

प्रतिक्रिया