नागरिक भारतको जनप्रतिनिधि नेपालमा

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १२ २०:५१ बजे

रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरई, उपाध्यक्ष आशा सिंह र वडा नं ५ का अध्यक्ष कृष्णकुमार सिंह भारतको समेत नागरिकता लिएको विषय बाहिर आएपछि विवादमा तानिएका छन् ।

मर्चवारी गाउँपालिका उपाध्यक्ष आशा र वडा नं.५ का अध्यक्ष कृष्णकुमार नाताले बुहारी र काकाससुरा हुन् । दुई देशको नागरिकता लिएको आरोप लागेका तीनै जना हृदयेश त्रिपाठी अध्यक्ष रहेका जनता प्रगतिशील पार्टीबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

पालिका अध्यक्ष बरईको विषयमा उजुरी परे पनि  अहिले   सम्म बलियो प्रमाण भेटिएको छैन । उपाध्यक्ष आशा र वडाध्यक्ष कृष्णकुमारका मिल्दो प्रमाण भेटिएका छन् । उनीहरुले सार्वजनिक भएका ती प्रमाण झूटो भएको दाबी गरेका छन् । उनीहरुसँग दुई देशको नागरिकता रहेको भन्दै प्रमाणसहित जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा उजुरी परेको छ लामो समयदेखि रुपन्देहीको दक्षिणी क्षेत्रमा राजनीति गर्दै आएको सिंह परिवारका अगुवा जसवन्त सिंहले पञ्चायतकालमै अंगीकृत नागरिकता लिएको स्थानीयको भनाइ छ । उनी सो क्षेत्रमा प्रधानपञ्च तथा बहुदल आएपछि गाविस अध्यक्ष भएका थिए । उनकी श्रीमती पनि प्रधानपञ्च भएकी थिइन् ।

गाउँपालिका अध्यक्ष बरईले आफूसहित उपाध्यक्ष आशा र वडाध्यक्ष सिंहले दुई देशको नागरिकता लिएको विषयमा मुद्दा परेको पुष्टि गरे । ‘मेरो नाममा पनि मुद्दा परेको थियो दोहोरो नागरिकता लिएको भनेर । त्यसमा केही प्रमाण भेटिएको छैन, उपाध्यक्ष र वडाध्यक्ष सिंहका बारेमा केही प्रमाणहरु देखाइएको छ । वास्तविकता के हो, छानबिन होला नि’, उनले  भने ।

उनका अनुसार उपाध्यक्ष आशाको घर भारतको नौतनवामा भएको यथार्थ हो । उनको भारतीय आधार कार्ड र निर्वाचन कार्ड सार्वजनिक भएको छ । ‘नागरिकताको विषयमा छानबिन भएपछि प्रमाणित होला । दुई देशको नागरिकता लिन पाइँदैन भन्ने विषयमा म प्रस्ट छु’, अध्यक्ष बरईले भने, ‘दोषी भेटिए त म पनि कारबाहीमा पर्छु नि ? उजुरी परेकै छ, केही प्रमाण भेटाएका छैनन् । म, उपाध्यक्ष र वडाध्यक्ष एकै पार्टीका हौं ।’

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उपाध्यक्ष आशा र वडाध्यक्ष कृष्णले लिएको भनिएका दुई देशको नागरिकताबारे उजुरी परिसकेको र छानबिन चलिरहेको बताए । पाण्डेले दोहोरो नागरिकता लिएको पुष्टि भए कारबाही हुने प्रस्ट पारे ।

स्थानीय पत्रकार रामविकास चौधरीले उपाध्यक्ष आशा र वडाध्यक्ष कृष्णकुमारको विषयमा नेपाल र भारतका सबै प्रमाणसहित उजुरी परेकाले यथार्थ के हो भन्ने विषयमा छिटो छानबिन हुनुपर्ने बताए । भेटिएका प्रमाणअनुसार भारत निर्वाचन आयोगको पहिचानपत्रको आधारमा आशा सिंह जानकी नगर वडा नं.१८ थाना नौतनवा, तहशील नौतनवा जिला महराजगंज (उ.प्र.) भारतका स्थायी बासिन्दा हुन् । उनको मकान संख्या ४० हो ।सोही ठेगाना देखिएको कृष्ण सिंहको पहिचानपत्रमा मकान संख्या ४१ छ । आयोगको पहिचानपत्रमा उनीहरूको पिन कोड नं. क्रमशः २७३१६४ (उ.प्र.) र २७३१६१ (उ.प्र.)उल्लेख छ ।

स्थानीयलाई दबाबमा राखेका सिंह परिवारले जस्तो गलत गरे पनि उनीहरु बोल्दैनन् र डराउँछन् । नेपालमा राजनीति गरेर भारतमा सम्पत्ति जोडेको विषयमा धेरैजानकार रहे पनि कोही खुलेर बोल्न तयार छैनन् ।

‘यहाँ उनीहरुको सबै परिवार राजनीतिमा छ, नेपाल र भारतमा सबैले चिनेका छन्, कोही बोल्न सक्दैन । उनीहरुको विरोध गरे, यहाँ कोही बस्न सक्ने अवस्था रहँदैन’, एक स्थानीयले भने, ‘नेपाल र भारत दुबैतिर घरजग्गा रहे पनि उनीहरू खासमा भारतमै धेरै बस्छन् । यहाँभन्दा ठूलो घर भारतमा छ । यहाँ कमाउन आउँछन्, लगानी उतै गरेका छन् ।’




२०८० वैशाख १२ २०:५१ बजे

प्रतिक्रिया