काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते उपनिर्वाचन गर्न लागेको छ । मङ्सिरमा भएको प्रतिनिधिसभाको निर्वाचनबाट निर्वाचित सांसदको विभिन्न कारणले उक्त ठाउँ खाली रहेकाले प्रतिनिधि सभाका सदस्यहरूका लागि उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगका अनुसार बैशाख १० गते हुन लागेको उप निर्वाचनमा देशभरबाट तीन वटा निर्वाचन क्षेत्रमा ५८ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।
सबैभन्दा धेरै बारा-२ मा २९ जना चितवन-२ मा २० जना र तनहुँ-१ मा नौ जनाको उम्मेदवारी दर्ता गराएका छन् । अहिलेको उपनिर्वाचमा ठुलो सङ्ख्यामा उम्मेदवारी दिए पनि चर्चा भने सीमित वा थोरै व्यक्तिहरूको मात्रै रहेको छ ।
मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा र पराजित कम्तीमा चार उम्मेदवारका लागि ‘मौका परीक्षा’ जस्तो बनेको बनेको छ । गत निर्वाचनमा विजयी भएर पछि पद खारेज भएका रवि लामिछाने पनि चितवन-२ मा पुनः उम्मेदवार बनेका छन्।
चार महिनाअघि भएको प्रतिनिधिसभा चुनावमा निर्वाचित हुन नसकेका यी उम्मेदवारहरू बारा र तनहुँमा हुन लागेको उपनिर्वाचनमा फेरी प्रमुख दलहरूबाट उम्मेदवार बनेका छन्।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहले दोस्रो मौकाका लागि सोमवार उम्मेदवारी दर्ता गराएका हुन् ।
चितवन-२ मा पुनः उठेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मङ्सिरमा यही क्षेत्रबाट ठूलो मतान्तरले जितेका थिए। उनले नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई पराजित गरेका थिए।
तर नागरिकता प्रकरणमा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएपछि यो क्षेत्रमा पुनः निर्वाचन हुन लागेको हो। तनुहमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचनमा हुमिएका डा. स्वर्णिम वाग्लेको पनि त्यतिकै चर्चा रहेको छ ।
मङ्सिरको निर्वाचनमा असफल भएका तीन उम्मेदवारहरूको प्रतिस्पर्धाका कारण बारा-२ को उपनिर्वाचन रोचक बन्ने देखिएको छ।
यो क्षेत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष पनि चुनावी प्रतिस्पर्धामा छन्। सप्तरी-२ मा जनमत पार्टीका सिके राउतसँग पराजित भएका यादवले मङ्सिरमा आफ्नो दलले चुनाव जितेको बाराबाट उम्मेदवारी दिएका हुन्।
चुनाव जितेका जसपाका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा-२ मा उपनिर्वाचन हुन लागेको हो। अघिल्लो निर्वाचनमा रामसहाय यादवसँग झिनो मतान्तरले पराजित भएका शिवचन्द्र कुशवाह पार्टी फेरेर उम्मेदवार बनेका छन्। यसअघि माओवादीबाट उम्मेदवार बनेका कुशवाह यो क्षेत्रमा माओवादीले यादवलाई सघाउने भएपछि जनमत पार्टीबाट उम्मेदवार बनेका छन् ।
यादव र कुशवाह जस्तै यो क्षेत्रबाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलका लागि पनि यो निर्वाचन दोस्रो मौका हो। मङ्सिरको निर्वाचनमा उनी काठमाडौं १ मा उम्मेदवार बनेका थिए तर सफल हुन सकेनन्।
नेपाल प्रहरीको डीआईजी पदबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका खरेलले काठमाडौंमा भने प्रतिस्पर्धीहरूभन्दा धेरै कम मत पाएका थिए। अघिल्लो निर्वाचनमा काठमाडौं ६ बाट उम्मेदवारी दिएका सर्वेन्द्र खनाल दोस्रो भएका थिए। नेपाल प्रहरीको महानिरीक्षक पदबाट अवकाश पाएपछि नेकपा एमालेको राजनीतिमा जोडिएका खनालले फेरि तनहुँ-१ बाट उम्मेदवार बनेका छन् । यो क्षेत्रमा खनालले कांग्रेसका गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले सहितका उम्मेदवारसँग प्रतिस्पर्धा गर्न लागेका छन्।
प्रतिक्रिया