बहुभाषाभाषी शिक्षाले समृद्ध ज्ञान परम्परा बचाउँछ

bimbonline लोकनारायण सुवेदी
२०७९ चैत्र ११ ०९:०३ बजे

काठमाण्डौ ।  अन्तराष्टिय  मातृभाषा दिवस ‘२१ फेब्रुअरी’ संयुक्त राष्ट्र संघले बिश्वका राष्ट्र समुदायका लागि उपलब्ध गराएको एउटा निकै महत्वपूर्ण अवसर हो । यस दिवसको वहानमा बिश्वभरीका मानिसहरुले आ–आफ्नो मातृ भाषाहरुको महत्व र अपनत्वका बारेमा बिचार बिमर्श गर्न पाउँदछन् । अनि सबै मातृ भाषाहरुको संरक्षण तथा सम्बर्ध्दन गर्ने  योजनाहरु बनाउन, तिनका बारेमा छलफल गर्न र अनुभवहरुको आदान–प्रदान गर्न बिभिन्न भाषा समूहका मानिसहरु एकताबद्ध हुन सक्छन् । यस बर्ष संयुक्त राष्ट्र संघले यो अन्तर्राष्ट्रिय भाषा दिवसको बिषय ‘बहुभाषी शिक्षा : शिक्षामा आमूल परिबर्तनको आवश्यकता’ भन्ने निकै महत्वपूर्ण बिषय तय गरेको थियो । यस सम्वन्धमा बिभिन्न शिक्षाशास्त्री, भाषा बैज्ञानिक र समाजशास्त्रीहरुका अध्ययनहरु पनि प्रकाशमा आएका छन् र तिनको निष्कर्श के छ भने अहिले पनि बिश्वमा करीब ४० प्रतिशत बिद्यार्थीहरुले आफ्नो मातृभाषाभन्दा फरक भाषामा शिक्षा लिनु पर्ने बाध्यात्मक स्थिति रहेको छ । यसै कुरालाई ध्यानमा राखेर बहुभाषा शिक्षाको आवश्यकता महसुस गरिएको पनि हो । आजको बिज्ञान र प्रबिधिको उच्च बिकासले यो बहुभाषी शिक्षा पद्धति कार्यान्वयन गर्नमा पनि सहज बनाइदिने स्थिति रहेको छ ।

संयुक्त राष्ट्र संघको स्पष्ट के सोचाई रहेको देखिन्छ भने बहुभाषी शिक्षा प्रणाली अपनाउँदा हामीले शिक्षाको क्षेत्रमा आफ्नो यो लक्ष पूरा गर्ने मात्र होइन, यसका अतिरिक्त यस प्रणालीले समावेशीता र शतत बिकासको प्रकृयालाई पनि अघि बढाउन ठूलो मद्दत मिल्दछ । यूनेस्कोले आफ्ना बिभिन्न योजनाहरुको माध्यमले बाल बच्चाहरुलाई उनीहरुका मातृ भाषामा प्राथमिक शिक्षा दिने वकालत गर्दै आएको पनि छ । शिक्षाशास्त्रीहरुको पनि के राय रहेको पाइन्छ भने प्राथमिक शिक्षा मातृ भाषामा दिइए पछि नै बिद्यार्थीहरुलाई अन्य भाषाहरुमा पनि ज्ञान हासिल गर्न पनि सहज हुन्छ । यसो गर्दा सहजतापूर्बक शिक्षाको नयाँ सोपान चढ्न सकिने र आफुले प्राप्त गरेको शिक्षा र  आफ्नो परिबेश बीच सामाञ्जस्यता पनि कायम गर्न सकिने हुन्छ भन्ने उनीहरूकाे निष्कर्श रहेको छ । यसले परस्परमा एकत्वको भाावना पनि जगाउँदछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता प्रबद्र्धन गर्न पनि सहयोग पुग्दछ ।

अहिलेसम्म पनि बिश्व मानब समुदायमा धेरै ठूलो संख्यमा शिक्षाको ज्योति राम्रोसँग पुग्न सकिरहेको छैन । खाशगरी प्राचीन मूलबासी र आदिबासी समुदायका मानिसहरु मूख्यरुपमाा यस्तो स्थितिबाट बिश्वमा गुज्रिरहेका छन् । ती समूह र समुदायसम्म शिक्षाको ज्योति पुर्याउनका निम्ति यो बहुभाषा भाषी शैक्षिक प्रबिधि महत्वपूर्ण र परिणादायी साबित हुनसक्ने देखिन्छ । यसबाट सानो समूहहरुको भाषा बचाउनका लागि पनि सहयोग मिल्दछ । आज बहुभाषा शिक्षा समयको यस्तो माग हो जसले एकसाथ बिभिन्न महत्वपूर्ण लक्षहरुलाई पूरा गर्न मद्दत पुग्न सक्छ । संयुक्त रााष्ट्र संघले यस दिशामा चिन्तन गर्न संकेत दिन्छ कि हामीले यस्तो सोचाई लिनु या राख्नु हुदैन कि कुनै एउटा भाषा बिशेषले नै साराका सारा ज्ञान प्रदान गर्न मद्दत गर्दछ र त्यो बिशेष भाषामा सम्पूर्ण ज्ञानको भण्डार छ । यस्तो जड सोचाईबाट बाहिर निस्कन सक्नु आजको एउटा अर्को आवश्यकता हो । बिश्वमा कतिपय अँग्रेजी मातृ भाषा नभएका  देशहरु अग्रेजी भाषालाई नै सारा ज्ञानको पर्याय र भण्डार मान्नेहरु गर्दछन् । त्यसले गर्दा उपेक्षाको शिकार स्थानीय मातृभाषाहरु हुने गरेका र हुँदै आएका छन् ।

आज त त्यसमाथि साम्राज्यबादी भूमण्डलीकरणको प्रकृयामा साना भाषा भाषिकहरुमाथिको खतरा अझ बढी र लगाताररुपमा बढ्न गएको छ । वास्तवमा भाषाहरु यसरी खतरामा पर्न जानु बिश्वमा साँस्कृतिक बिबिधता खतरामा पर्नु हो । हरेक भाषाभाषिकाहरुमा असंख्य स्मृतिहरु र ज्ञानका महत्वपूर्ण परम्पराहरु रहेका हुन्छन् । यसरी भाषा मर्नु, मारिनु ज्ञानको लोप हुुनु हो र सँस्कृति तथा ज्ञान परम्पराको अन्त्य हुनु पनि हो । जुन पूर्खाहरुले त्यस भाषा बिशेषको श्रुति, स्मृति र ज्ञान परम्परालाई पिढी–पिढीसम्म हजारौ बर्षदेखि संरक्षित गरेको र अघि बढाउँदै आएका थिए । यस्ता स्मृतिहरु, ज्ञान परम्पराहरु, सोच बिचार गर्ने र अभिब्यक्तिका अनौठा तरीकाहरु सुन्दर र अझ राम्रो भबिष्य सुनिश्चित तुल्याउनका निम्ति अत्यन्तै मूल्यबान संसाधनहरु हुन् । अनि प्रकारान्तरले भाषाहरुकाप्रति राम्रोसँग सम्बेदनशील भएर हामीले भावी पिढीलाई अझ सुन्दर र राम्रो भबिष्य सुनिश्चित तुल्याइदिन सक्तछौ । घुलमिल गर्ने, एकले अर्कोलाई बुझ्ने र साझा भावना पैदा गर्ने यो कम महत्वपूर्ण साधन होइन ।

बिभिन्न भाषा बैज्ञानिहरुका अध्ययनहरुबाट निस्केको के तथ्य अत्यन्तै चिन्ताजनक छ भने हरेक दुइ हप्तामा बिश्वबाट आज एउटा भाषा आफ्नो पूरै साँस्कृतिक तथा बौद्धिक बिरासतसँग लोप या नष्ट हुने गरेको छ । बिश्वभरीका ६००० भन्दा पनि बढी भाषाहरुमध्येमा शिक्षा प्रणालीमा केही सय भाषाहरुलाई मात्र स्थान मिल्न सकेको छ  । अनि आजको डिजिटलको क्षेत्रमा त सयभन्दा पनि कम भाषाहरुको मात्र उपयोग हुन पाउँदछ । बहुभाषा शिक्षा पद्धति अबलम्बन गरिदा हामीलाई भाषा लोप हुँने, सँस्कृति हराउने र मानब सभ्यता नै हराउने यस बढ्दो संकटबाट बचाउन ठूलो मद्दत मिल्न सक्तछ  । बिश्वका बिभिन्न देशहरुमा शिक्षाका क्षेत्रमा प्रबिधिको प्रवेश आजको हाम्रो समयको ठोस सत्य हो । कोभिडको काल खण्डमा प्रबिधिमाथिको हाम्रो निर्भरता अझ बढ्न पुगेको थियो । महामारीको समयमा यो प्रबिधिको उपयोगलाई पनि बहुभाषिकतासंग जोड्नु पर्ने स्थिति छ । के सुखद लाग्दछ भने स–साना भाषा भाषिका भएका समूहरुले पनि आजभोली आफ्नो भाषा तथा साहित्यको संरक्षण गर्नका लागि सूचना प्रबिधिलाई प्रयोग गर्ने गरिरहेका छन् । सबैजसो अध्ययन अनुसन्धानहरुले यस सम्वन्धमा स्पष्ट पनि पारिसकेका कुराहरु प्रकाशमा आइसकेका छन् कि भाषाई बर्चश्वको साटो बहुभाषिकताको मन्त्र केवल भाषाहरु र तिनको ज्ञान परम्परालाई बचाउनका लागि मात्र उपयोगी रहेको होइन यसका अतिरिक्कत सारा संसारलाई अझ सुन्दर र अझ राम्रो बनाउनका लागि पनि यस परम्पराले सार्थक भूमिका खेल्न सक्छ ।

हुन पनि जन्मेपछि आमाको काखदेखिनै सिक्ने सिकाइने भाषा, सोच्ने र सपनादेख्ने भाषा अनि मनोदशा अभिब्यक्त गर्ने र बुझ्ने भाषालाई मातृ भाषा भनिन्छ । त्यसैले कुनै पनि मातृ भाषाको महत्व र गरीमा अत्यन्तै ठूलो छ । मातृ भाषा कुनै ठूलो कुनै सानो हुँदैन । यो मानब सभ्यताको अत्यन्तै महत्वपूर्ण उपज हो । त्यसैले यसको शतत संरक्षण, सम्बर्द्धन र शतत बिकासको आवश्यकता परेको हो ।


२०७९ चैत्र ११ ०९:०३ बजे

प्रतिक्रिया