प्रचण्ड वावुरामले जनयुध्द प्रति गदारी गरे- मोहन वैध

हत्याकाण्डमा सांस्कृतिककर्मीहरु च्याङबा लामा, गुम्बा सिंह तामाङ, निर्मला देवकोटा, सुभद्रा सापकोटा, मञ्जु कुँवर, चिनीमाया लामा र डम्बर श्रेष्ठले उच्च सहादत प्राप्त गर्नुभएको थियो

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र ६ ०९:३० बजे
सास्कृतिक प्रतिरोध दिवश

काठमाडौं चैत्र  ६ गते  । हातमा सारङ्गी, मादल, गितार र हर्मोनियम लिएर जनताका बस्तीबस्तीलाई जगाउँदै हिँडेका संस्कृतिकर्मीहरूलाई तत्कालीन सत्ताका पहरेदार प्रहरीहरूले स्थानीय एमाले कार्यकर्ताको पोल र सुराकीको भरमा घर घेरेर आत्मसमर्पण गर्न उर्दी दिए । जनकलाकारहरूले आफ्नो विचार, इमान र धैर्य गुमाएनन्, प्रतिरोध गरिरहे । फासिवादी सत्ताका जल्लादहरुले कलाकार बसेको घरमा आगो लगाए । आगोको रापले कलाकारहरू तातिए, डामिए, पोलिए, गुम्सिए । आगोले जल्दै गरेको अवस्थामा कलाकारहरू वाद्यवादनका साधन, गीत र कविताका डायरीहरू बोकेर घेरा तोड्न लागे, कायर सत्ताका भाडाका सिपाहीहरुले भँगेरा मारेझैँ गोली हानेर कलाकारहरूको हत्या गरे । सत्ताले आगो लगाउँदै गोली हानेर ज्यान लिँदा पनि कलाकारहरूले आत्मसमर्पण गरेनन्, सत्ताको फासिवादी चरित्रका विरुद्ध गीत गाइरहे, बाजा बजाइरहे, कविता वाचन गरिरहे, नारा लगाइरहे, प्रतिरोध गरिरहे । जनकलाकार र संस्कृतिकर्मीहरूले देखाएको प्रतिरोधको यो रूप अद्वितीय थियो । त्यसैले कुनै पनि आततायी शासनसत्ताका विरुद्धको सङ्घर्षका लागि यो नमुना प्रतिरोध सङ्घर्ष बन्यो । तत्कालीन नेकपा (माओवादी)ले जनयुद्धकै समयदेखि यस हत्याकाण्डलाई प्रतिरोध दिवसको रुपमा मनाउँदै आएको थियो । अहिले विभिन्न धारामा विभाजित माओवादी घटकहरुमध्ये क्रान्तिकारी माओवादीहरुले हरेक वर्षको चैत्र ५ गते उक्त हत्याकाण्डको सम्झना र सहिदहरुको उच्च सम्मान र क्रान्तिप्रतिको प्रतिबद्धताका लागि साँस्कृतिक प्रतिरोध दिवस मनाउँदै आइरहेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लाको साविक गाविस अनैकोट (हाल पाँचखाल नगरपालिका)मा २०५५ साल चैत्र ५ गते स्थानीयको एक घरमा बसिरहेको अवस्थामा तात्कालिन शाही सेनाले घर घेरा हाली घरमा आगो लगाएर सातजना जनवादी कलाकारहरु(साँस्कृतिककर्मीहरु)को विभत्स हत्या गरेको थियो । उक्त हत्या अनेकोट हत्याकाण्डको रुपमा चिर्चित छ । त्यस हत्याकाण्डमा सांस्कृतिककर्मीहरु च्याङबा लामा, गुम्बा सिंह तामाङ, निर्मला देवकोटा, सुभद्रा सापकोटा, मञ्जु कुँवर, चिनीमाया लामा र डम्बर श्रेष्ठले उच्च सहादत प्राप्त गर्नुभएको थियो ।

२५ औं साँस्कृतिक प्रतिरोध दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले वर्तमान संसदीय व्यवस्था चौतर्फी रुपमा असफल भइसकेको चर्चा गर्दै यो संसदीय व्यवस्थामा टालटुल गरेर काम चलाउने स्थितिको समेत समाप्त भइसकेको बताउनु भएको छ । उहाँले यो असफल र बद्नाम भइसकेको व्यवस्थालाई फाल्न एउटा गतिलो धक्काको आवश्यकता पर्ने भन्दै त्यसका निम्ति छरिएर रहेका क्रान्तिकारीहरु एकताबद्ध भएर क्रान्तिको प्रक्रियामा अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनु भयो।

 उहाँले जनयुद्धको मुख्य लक्ष्य संसदीय व्यवस्थाको अन्त्य गरी नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्नुभएको बताउनुहुँदै  प्रचण्ड र वावुरामको नेतृत्वले दिएको धोका र गरेको गद्दारीका कारण जनयुद्धले धक्का खान पुगेको स्पष्ट पार्नुभयो ।उहाँले दशवर्षे जनयुद्धमा साँस्कृतिककर्मी, कलाकर्मी, महिला, दलित, आदिवासी जनजाति, किसान, मजदुर, मधेसी, थारु, मुस्लिम लगायत समाजका समस्त तप्काले महत्वपूर्ण सहभागिता जनाएको र बलिदानका अद्वितीय कीर्तिमान खडा गरेको बताउनु भयो ।उहाँले जनयुद्धमा अभिव्यक्त त्याग, वीरता र बलिदानको मूल्य त्यसै खेर नजाने बताउनुहुँदै जनयुद्धले खाएको धक्का र नेतृत्वले गरेको गद्दारीबाट पाठ सिक्दै क्रान्तिको अर्को नयाँ तयारीमा जुट्नुपर्ने बेला भएको बताउनु भयो ।

क्रान्तिको द्वन्द्ववाद बक्ररेखामा हिड्छ भन्नुहुँदै उहाँले मुलुक आर्थिक र राजनीतिक रुपमा असाध्यै ठूलो संकटबाट गुज्रिरहेकोले अब गुणात्मक परिवर्तनको खाँचो रहेको औल्याउनु भयो ।कम्युनिस्ट आन्दोलनका गद्दार नेताहरु संसदीय व्यवस्थालाई काँध थाप्न गए पनि यो व्यवस्था नटिक्ने दावी गर्दै जनताले अब व्यवस्थाको आमूल परिवर्तन चाहेको बताउनु भयो ।



२०७९ चैत्र ६ ०९:३० बजे

प्रतिक्रिया