चौमकालमा मोहनविक्रम सिंहसित मेरो सम्बन्ध-निर्मल लामा

म सिआइडी भएको प्रमाण पाउँ मैले भने । क. मोहनविक्रम सिंहले प्रमाण पेश गर्न थाल्नुभयो । उहाँले भन्नु भयो। मैले जति पनि क्रान्तिकारी नीतिहरु पेश गर्छु ती सबैको लामाले विरोध गर्छ । सिआइडी नभए किन विरोध गर्छ त ? ठीक छ । यो प्रमाण नम्बर १ भयो । ल अब अर्को प्रमाण पेश गर्नुस् मैले भने । छैन । त्यति नै हो, उहाँले भन्नुभयो । यत्तिकैमा क. जय गोविन्द साह र क. नरबहादुर कर्माचार्य दुई जना बुढाहरु जुरुक्क उठेर गई क. मोहनविक्रमलाई रिसले कुट्न जानुभयो । हामीहरु सबैले उहाँहरुलाई छेकेर क. मोहनविक्रमलाई कुट्नबाट रोक्यौं

bimbonline निर्मल लामा
२०७९ चैत्र ४ १०:३६ बजे

काठमाण्डौ चैत्र ४ गते। नेकपा(चौम) को आम नीति अन्तरसंघर्षलाई प्राथमिकता दिनु थियो । त्यस नीति अनुरुप पूर्वी तराईमा बाहेक देशका अन्य विभिन्न जिल्लाहरु खास गरिकन काठमाडों उपत्यका भित्र तथा पश्चिम पहाडी जिल्लाहरुमा जनसंघर्षहरु संचालन भए । त्यो जनसंघर्षको नीति चौथो महाधिवेशनको नयाँ जनवादी क्रान्तिको रणनीतिसँग मेल खाने कार्यनीति थियो । चौम बाहेक अन्य कम्युनिस्ट पार्टीहरु र नेपाली कांग्रेस पनि पंचायत विरोधी आन्दोलनमा क्रियाशील थिए । त्यही परिप्रेक्ष्यमा टंकप्रसाद आचार्यले सम्पूर्ण प्रति बन्धित राजनीतिक पार्टीहरुलाई छलफलको निम्ति अर्थात् वार्ताको निम्ति एकै ठाउँमा भेला हुन आह्वान गरे । टंक प्रसादको निम्तो सबै पार्टीलाई गयो । तर हाम्रो पार्टीलाई निम्तो आएन । सबै पार्टीका प्रतिनिधिहरु भेला हुने कार्यक्रममा पंचायतको विरोधमा के कसो गर्ने भन्नेबारेमा निश्चय पनि बहस छलफल हुन्छ । त्यसैले त्यस्तो ठाउँमा पार्टीको नीति प्रस्तुत गर्न हामी पनि जानुपर्छ भन्ने विचार मैले पार्टीमा राखें । तर क. मोहनविक्रम सिंहले भेलामा जानुहुन्न भनेर अड्डी लिनुभयो । पार्टी केन्द्रमा भएको छलफलमा अधिकांश साथीहरुले जानुपर्छ भन्ने मत तर्क राख्नु भयो । साथीहरुको तर्कलाई क.मोहनविक्रमले काट्न सक्नु भएन । उहाँले जानुुुहुन्न भन्ने आफ्नो मतको औचित्य पनि साथीहरु सामु देखाउन सक्नु भएन 

अन्त्यमा उहाँले स्पष्टताका साथ के भन्नु भयो भने टंक प्रसाद आचार्यले दरबारबाट तलव खान्छ । त्यो दरबारको दलाल हो । त्यसकारण उसले बोलाएको ठाउँमा जानुहुन्न । टंकप्रसादलाई राजदरबारको दलाल हो भन्ने आरोप लगाएपछि पार्टी केन्द्रको बैठकमा एक किसिमको सन्नाटा छायो । टंकप्रसाद राणाहरुले फाँसीको सजाय तोकेको मान्छे थिए । तर उनी एक बाहुन भएको नाताले बँचेका व्यक्ति थिए। त्यसपछि पनि उनले लगातार नेपाल प्रजा परिषद्को अध्यक्ष भएर प्रजातन्त्रको लागि लडेका थिए । हो एकपटक उनी सरकारमा गए र प्रधानमन्त्री पनि बने । तर प्रधानमन्त्री पदबाट मुक्त भैसकेपछि पनि उनी गरिब नै थिए । त्यसैले गर्दा राजदरबारले उनलाई केही मद्दत गरेको थियो । मैले सुने अनुसार टंकप्रसादलाई दरबारले महिनाको १५ सय रुपियाँ दिन्थ्यो । त्यो रकम लुकाएर दिएको थिएन । त्यसैगरी गोप्य तरिकाले सिआइडी काम गर्नको लागि पनि दिइएको थिएन । त्यो रकम एक किसिमको सहयोगको रुपमा पेन्सन जस्तै थियो । त्यसकारण टंकप्रसाद आचार्यले बोलाएको ठाउँमा जानुहुन्न भन्ने कुरा थिएन । तर क. मोहनविक्रम सिंहको अड्डीले गर्दा हामी टंकप्रसादले बोलाएको ठाउँमा जान सकेनौं । यो जनमतसंग्रह भन्दा अगाडिको घटना हो । टंकप्रसाद आचार्यले बोलाएको ठाउँमा जानेकी नजाने भन्ने सवालको बहस त्यतिकै टुंगिएन । यो बहसले पार्टीभित्र संयुक्त मोर्चाको स्वरुप के हुनुपर्छ भन्ने बहसलाई जन्मायो । जेलमा छँदा क। मोहनविक्रमसँग धेरै लामो बहसपछि हामीले नेपाली कांग्रेस दलाल तथा नोकरशाही पुँजीपति वर्ग र सामन्तवर्गको प्रतिनिधित्व गर्ने पार्टी भएको कारणले गर्दा ऊसँग हाम्रो कुनै किसिमको संयुक्त मोर्चा हुँदैन भन्ने अवधारणा बनाएका थियो । तर पंचायती व्यवस्थाको विरुद्धमा लगातारको संघर्षले के चिज सावित गरिदियो भने पंचायती व्यवस्थालाई सिध्याउनको निम्ति र राजदरबारको हातबाट सत्ता खोस्नको नेपाली कांग्रेसँग संयुक्त मोर्चा नगरिकन सम्भव छैन । त्यसैले नेपाली कांग्रेससँग संयुक्त मोर्चा बनाउनुपर्छ भन्ने टुंगोमा म पुगे यो कुरा मैले पार्टीमा राखे । तर क.मोहनविक्रम सिंहले मेरो त्यो विचारको घोर घमासान विरोध गर्नुभयो ।

यो कुरा त्यसबेलाको पार्टी दस्तावेज सर्कुलरहरु खोजेर हेरेमा प्रष्ट थाहा हुन्छ । म पार्टीको चौथो महाधिवेशनले पारित गरेको मूल दस्तावेजमा भएको जनसंघर्ष आजको अवस्थामा प्राथमिक संघर्षको रुप हो र व्यापक संयुक्त मोर्चा आजको आवश्यकता हो भन्ने कुरामा अडिए जुन क. मोहनविक्रम स्वयंले नै पेश गर्नुभएको थियो । उहाँलाई हिजोको आफ्नै मान्यतामा अडिन अप्ठ्यारो भयो । उहाँले विस्तारै त्यो अडान छाड्न थाल्नुभयो। मोहनविक्रम सिंहले भन्न थाल्नु भयो । नेपाली कांग्रेस अथवा अरु पार्टीहरुका कार्यकर्तासँग संयुक्त मोर्चा हुन सक्छ तर नेतृत्वहरुसँग होइन । नेतृत्व दलाल र गद्दारको कार्यकर्ता इमान्दर भन्ने जस्ता उट्पटङ कुरा ल्याउन थाल्नुभयो । यी सबै कुराको छिनोफानो गर्नको लागि पार्टीको विस्तारित बैठक बस्यो । त्यो विस्तारिक बैठक भारतको अयोध्या शहरमा बसेको थियो । त्यतिखेरसम्म संयुक्त मोर्चाको सवालमा यति व्यापक रुपमा बहस छलफल चलिसकेको थियो,त्यसबाट पार्टीमा नेपाली कांग्रेससँग पनि संयुक्त मोर्चा बनाउनुपर्छ भन्ने कुरामा बहुमत बन्न पुग्यो । यस्तो अवस्था देखेपछि क. मोहनविक्रमसिंहले सम्मेलनको बीचमै समय मागेर एउटा प्रस्ताव पेस गर्नुभयो । उहाँले प्रस्ताव राख्दै भन्नुभयो पार्टीको टेक (गुप्त) कमिटीले एउटा योजना बनाएको छ । त्यो योजना अनुसार ४०–५० जना कमरेडहरुलाई व्यवहारिक गुरिल्ला तालिम दिइन्छ । त्यो तालिम चाँडै शुरु हुँदैछ । अर्को कुरा त्यस सम्मेलनमा क. मोहन विक्रम सिंह मलाई अपमान गर्ने ढंगले पेस हुनुभयो । म आफ्नो तर्क पेस गर्दैथिए । संयुक्त मोर्चाको सवालमा भावनामा बगेर कुराहरु राखिनु हुन्न, फलानासँग संयुक्त मोर्चा हुन्छ र फलानासँग हुन्न भनेर अहिले नै किटेर भन्न हुन्न । के को निम्ति संयुक्त मोर्चा बनाउने हो त्यस सवालमा प्रष्ट हुनुपर्छ ।त्यो हो पंचायत कसरी खतम पार्ने राजदरवादमा भएको राजनैतिक शक्ति खोसेर कसरी जनताको हातमा दिने यसको निम्ति व्यापक नीति लिइनु पर्छ । जोसँग पनि संयुक्त मोर्चा बनाउन सकिन्छ ।

क. मोहनविक्रम सिंहले बीचमा जुरुक्क उठेर मलाई प्रश्न गर्नुभयो के तपाई नेपाली कांग्रेससँग संयुक्त मोर्चा बनाउने कुरा गर्दै हुनुहुन्छ ? हो संयुक्त मोर्चा बनाउनुपर्छ । मैले जवाफ दिएँ । ल हेर । उहाँ नेपाली कांग्रेस जस्तो शक्तिसँग संयुक्त मोर्चा बनाउने कुरा गर्नुहुन्छ । मलाई गिज्जाउने पाराले उहाँले बोल्नुभयो । बहस टुंगो नलागेपछि मतदान भयो । तर उहाँले गुरिल्ला तालिम दिने कुरा गरेर हाउसलार्ई आफ्नो पक्षमा आकर्षित गर्नुका साथै नेपाली कांग्रेससँग संयुक्त मोर्चा बनाउनुपर्छ भन्ने भनेर मप्रति साथीहरुमा घृणा जगाउने जुन काम गर्नुभयो । त्यसको केही साथीहरुलाई प्रभाव पर्‍यो । मेरो मतले थोरै अन्र्तले हार खानुपर्‍यो । जसले गर्दा क. मोहन विक्रमसिंहकै विचार अनुसार पार्टीले संयुक्त मोर्चाको नीति बनाउने भयो। अर्थात् नेपाली कांग्रेसका कार्यकर्तासँग संयुक्त मोर्चा बनाउने तर नेतृत्वसँग बनाउन नहुने नीति बन्यो । यसैबीच पार्टीभित्रको संघर्षको क्रममा मैले पंचायत निर्वाचनको उपयोग गर्नुपर्छ भनेर जब प्रस्ताव राखें पार्टी केन्द्रीय कमिटीमा एउटा विस्फोट भयो । सबैजना स्तब्ध भए । करिब ४–५ मिनेटसम्म कोही बोलेनन् । त्यसपछि बहस शुरु भयो । मलार्ई कसैले पंचायती मन्त्री हुने भयो भने कसैले पञ्च हुने भयो भने कसैले संशोधनवादी भयो भने त कसैले गद्दारी गर्‍यो भने सबैले मलाई गाली गरे । यही क्रममा मोहनविक्रम सिंहले लामा सिआइडी हो भन्नुभयो । त्यो केन्द्रीय कमिटीको औपचारिक बैठक थियो .

मोहन विक्रम पार्टीको महामन्त्री हुनुहुन्थ्यो । मैले सबै साथीहरुलाई शान्तिपूर्वक सोधे मलाई सीआइडी भनेको के हो रु हो साँच्चै हो ? हो, अल राइट । त्यसो हो भने तपाईहरु मलाई बाहिर पठाउनुहोस् । मोहनविक्रमसँग म सिआइडी भएको प्रमाण माग्नुहोस् । म भाग्दिन म यही बस्छु उहाँले प्रमाणित गर्न सक्नु भएछ भने तपाईहरुले मलाई मारिदिनुहोस् । सिआइडीलाई जिउँदो राख्नु हुन्न, मैले आफ्नो विचार राखें । सबैले भने जानु पर्दैन जानु पर्दैन । तपाई बस्नुपर्छ त्यसो भए म सिआइडी भएको प्रमाण पाउँ मैले भने । क. मोहनविक्रम सिंहले प्रमाण पेश गर्न थाल्नुभयो । उहाँले भन्नु भयो। मैले जति पनि क्रान्तिकारी नीतिहरु पेश गर्छु ती सबैको लामाले विरोध गर्छ । सिआइडी नभए किन विरोध गर्छ त ? ठीक छ । यो प्रमाण नम्बर १ भयो । ल अब अर्को प्रमाण पेश गर्नुस् मैले भने । छैन । त्यति नै हो, उहाँले भन्नुभयो । यत्तिकैमा क. जय गोविन्द साह र क. नरबहादुर कर्माचार्य दुई जना बुढाहरु जुरुक्क उठेर गई क. मोहनविक्रमलाई रिसले कुट्न जानुभयो । हामीहरु सबैले उहाँहरुलाई छेकेर क. मोहनविक्रमलाई कुट्नबाट रोक्यौं । यो घटना भारतको गोरखपुरको गोरखपुर मन्दिरको धर्मशालामा भएको थियो । धर्मशालामा हामीहरु अलि मिलेर बढी समयसम्म बस्ने गथ्र्यौं । महन्थहरु हामीहरुलाई मन पराउँदैनथे । जोगीहरु पनि हामीलार्ई मन पराउँदैनथे । हामीबीच चर्काचर्की भएपछि त्यहाँ निकै नै हल्लिखल्ली भएछ । त्यत्तिकैमा क. चित्रबहादुर केसी जोगी आयो भनेर कराउनुभयो । सबै शान्त भए । सबैलाई अब जोगीले हामीलाई त्यहाँबाट निकाली दिन्छ भन्ने लाग्यो । तर जोगी आएर एक फन्को घुमेर हामीलार्ई केही नभनी सुटुक्क फर्केर गयो । त्यसपछि क. मोहनविक्रम सिंह र मेरो बीच बोलचाल बन्द भयो । बैठक पनि चलेन । हामी एक अर्काबाट छुट्टिएर पनि गएनौं । उदेक लाग्दो वातावरण सिर्जना भयो । सायद यो घटना २०३७ सालतिरको हो । हामीबीच बोलचाल बन्द भएपछि पार्टीमा जहिले पनि तनावको स्थिति सिर्जना हुन पुग्यो । केन्द्रीय कमिटीमा म एक्लो हुन पुगे । मलाई कसैले साथ दिएनन् । मसँग अलग कुरा गर्दा अब पंचायतलाई सधै बहिष्कार गरेर मात्र हुँदैन भन्नेहरुले पनि बैठकमा बहिष्कारनै गर्नुपर्छ भने 

पार्टीभित्र तलदेखि माथिसम्म पूरै मेरो विरुद्ध अभियान नै शुरु भयो । त्यही बेलामा पार्टीभित्र दुर्घटना भयो । क. मोहनविक्रम सिंह महामन्त्रीबाट हट्नु भयो  र महामन्त्रीको पद मलाई चिठ्ठा पर्‍यो । महामन्त्रीबाट हट्नु भएपछि क. मोहनविक्रम सिंह दक्षिण भारतको मद्रासतिर गएर बस्नुभयो । उहाँले त्यही बसेर जिल्ला जिल्लाबाट साथीहरुलाई त्यहाँ बोलाएर लामा कांग्रेसी हो, यो संशोधनवादी हो, यो पंचको मान्छे हो, यो राजदरबारको मान्छे हो, भनेर मेरो विरुद्ध अभियान नै थाल्नु भएछ । मद्रासमा क. मोहनविक्रम सिंहलाई (एमबी) बाट बोलाइएको थुप्रै साथीहरु मध्ये काजीलाल वाइबा, चित्रबहादुर आले आदि पनि थिए । उनीहरु सबै मेरो विरोधी र क. मोहनविक्रमका भक्त भए । एमबीको कार्वाहीको अवधि सिद्धिनु दुई महिना अगाडि केन्द्रीय कमिटीको बैठकमा मैले दुईवटा प्रस्तावहरु राखें । ती प्रस्तावहरु थिए । एउटा महामन्त्रीबाट राजीनामा अर्को क. मोहनविक्रम सिंहलाई पार्टीमा भित्राउने । मेरो प्रस्ताव थियो । उहाँलाई कार्वाहीको अवधिमा दुई महिना मिनाहा गरौं । बैठकमा क. मोहनविक्रम सिंहको कार्वाहीको अवधिलाई दुई महिना छोट्याउने प्रस्ताव पास भयो । तर म महामन्त्री पदबाट हट्ने सवालमा सहमति हुन सकेन । क. किरण र क. आजादले हामी तपाईका विरुद्ध विभिन्न आरोपहरु लगाउँदै छौं । तपाईले राजीनामा दिने होइन बरु तपाईलाई हामी कार्वाही गर्छौं भन्नुभयो । त्यसपछि मैले मेरो राजीनामाको प्रस्ताव फिर्ता लिएँ । अनि उनीहरुले मेरो विरुद्ध आरोपहरु ल्याउन थालें । क्रमश-

(नोट - प्रस्तुत लेख निर्मल लामाको “सर्वहारा राजनीति” पुस्तकबाट लिइएको । यस पुस्तकको सम्पादन भोगिराज चाम्लिङले गरेका हुन् । प्रस्तुत लेखको प्रस्तुतिकरण टेकहरी न्यौपानेको हो)


 


 


 



२०७९ चैत्र ४ १०:३६ बजे

प्रतिक्रिया