स्ववियु निर्वाचनलाइ संघर्षको मोर्चाको रुपमा अगाडी बढाउँछौ - हरिकृष्ण गजुरेल

आज शिक्षा र स्वास्थ्य क्षेत्रमा निजीकरण व्यापारीकरण, दलालीकरण हुँदा माफियाकरण हावी भएको छ । यसले मुलुकलाई गम्भीर संकटमा लैजानुका साथै आगामी दिनमा शिक्षा र स्वास्थ्य क्षेत्र हुने खाने र धनाढ्यको पहुँचमा मात्र सीमित हुनेछ भने गरिखाने वर्ग, मजदुर, किसान, उत्पीडित, उपेक्षितलगायतका ठूलो हिस्सा यसबाट बञ्चित हुने अवस्था सृजना भएको छ

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन २४ १५:२६ बजे
हरिकृष्ण गजुरेल अध्यक्ष अखिल (क्रान्तिकारी)

हरिकृष्ण गुजरेल विधार्थी आन्दोलनमा चिरपरिचित नाम हो।उहाँ २०५७ साल मा अखिल (क्रान्तिकारी) मा आवध्द भइ निरन्तर क्रान्तिकारी विधार्थी आन्दोलन मा सँघर्षरथ हुनुहुन्छ। उनि सँग पार्टीका विभित्र मोर्चामा काम गरेको अनुभव भए पनि  हाल उहाँ नेकपा(क्रान्तिकारी-माओवादी) निकट अखिल(क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष हुनुहुन्छ।उहाँ सँग बिम्व अनलाइनका लाल वहादुर जाग्री ले समसामयिक सन्दर्भमा गरेका कुराकानीका सम्पादीत अँशहरु

अखिल (क्रान्तिकारी) को उद्देश्यवारे प्रकाश पार्नुपर्दा के भन्नुहुन्छ ?

 हाम्रो महान् तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) महान् जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायतका संघर्षहरुमा सक्रिय भूमिका निर्वाह गर्दै त्याग, बलिदान र समर्पणसहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सुनिश्चितता एवं वैज्ञानिक र जनवादी शिक्षा प्राप्तिका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा संघर्ष गर्दै आइरहेको संगठन हो । शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेका सबै प्रकारका विकृति, विसंगति एवं निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरण विरुद्ध नेतृत्वदायी भूमिकामा रही निरन्तर संघर्ष सञ्चालन गर्दै आएको नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनको सच्चा पहरेदार संगठन हो । हाम्रो संगठनले शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राष्ट्रियकरण, निःशुल्क एवं सर्वसुलभ गराउनका लागि सशक्त ढंगले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । साथै, राष्ट्रघात र जनघातका विरुद्ध सशक्त ढंगले अग्रमोर्चामा रहेर संघर्ष सञ्चालन गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा एवं राष्ट्रघाती सन्धिसम्झौता खारेजीको निम्ति अग्रमोर्चामा रही संघर्षको नेतृत्व गर्दै निरन्तर अगाडि बढिरहनेछ । 

 २०६९ मा तपाईंको संगठनमा विभाजन भयो । विद्यार्थीहरुको एकताको आवश्यकता भएको बेला किन विभाजन हुनुभयो ?

शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राष्ट्रियकरण, निःशुल्क एवं सर्वसुलभको निम्ति तत्कालीन ने.क.पा. (माओवादी)ले २०५२ साल फागुन १ गते सञ्चालन गरेको महान् जनयुद्धलाई समर्थन गर्दै संगठन पनि त्यसैमा होमियो, जसमा तत्कालीन केन्द्रीय उपाध्यक्ष बेनोज अधिकारीलगायत कैयौं विद्यार्थी नेताहरुको शाहदत भयो भने तत्कालीन केन्द्रीय महासचिव पूर्ण पौडेललगायत कैयौं विद्यार्थी नेताहरु बेपत्ता बनाइए, जसको आजसमम सार्वजनिकीकरण हुन सकेको छैन । जनयुद्धको नायक प्रचण्ड जनयुद्धमा उठाएका मुद्दाहरु पूरा गर्नुको सट्टा उल्टै प्रतिक्रियावाद कित्ताको नायकमा बदलिए । शहीद, बेपत्ता, घाइते र अंङ्गभङ्ग भएकाहरुको बेवास्ता गर्दै उल्टै आफ्नो स्वार्थको दुनियाँमा रम्न पुगें भने विद्यार्थी संगठनमा रहेका नेताहरु स्वयं शैक्षिक दलाल र माफियाहरुसँग मिलेर शैक्षिक मुद्दालाई तुहाउने खेलमा लाग्न पुगे । शिक्षा र स्वसास्थ्य क्षेत्रमा माफियाकरण हावी बन्दै गयो, जसमा विद्यार्थी नेताहरुकै संलग्नता र संरक्षण रह्यो । यसले गर्दा क्रान्तिकारी विद्यार्थीहरुले विद्रोह गर्नुपर्ने परिस्थिति बन्यो, जसका कारण जनयुद्ध शुरु गर्दा उठाएका शैक्षिक मुद्दाहरुलाई निरन्तर उठाएर संघर्षलाई अगाडि बढाउनका लागि विद्रोह अपरिहार्य बन्न पुग्यो र हामीले २०६९ सालमा विद्रोह गर्यौं, जुन विद्रोह क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई बचाउने र सबै छरिएर रहेका क्रान्तिकारी विद्यार्थी संगठन एवं क्रान्तिकारी विद्यार्थीहरुलाई एकताबद्ध गराउनका लागि गरिएको हो ।

 अहिलेको शिक्षा प्रणाली र तपाईंहरुले भन्ने गरेको जनवादी,समाजवादी,वैज्ञानिक शिक्षा प्रणालीमा के फरक छ ?

अहिलेको शिक्षा प्रणाली जीवन व्यवहारसँग जोड्ने भन्दा पनि रटाउने र घोकाउने खालको छ । त्यस्तै नेपालको वास्तविक यथार्थता र धरातलसँग मेल खाने शिक्षा नभएको हुदा शिक्षालाई जीवन व्यवहारसँग जोड्ने, वास्तविक यथार्थता र धरातलसँग मेल खाने, सीपमूलक, जनवादी, वैज्ञानिक, अनुसन्धनात्मक, व्यवहारिक एवं व्यवसायसँग जोड्ने खालको शिक्षा नीति अवलम्बन गरिनुपर्छ । त्यस्तै शिक्षा र स्वास्थ्य राष्ट्रियकरण, निःशुल्क एवं सर्वसुलभ हुनुपर्छ । यसको जिम्मा राज्यले लिनुपर्छ भने आम जनताले शिक्षा र स्वास्थ्यको अधिकारबाट बञ्चित नहुने वातावरण तयार गरिनुपर्छ । यो आम जनताको नैसर्गिक अधिकार हो ।

शिक्षा क्षेत्रमा बढ्दो निजीकरण, व्यापारीकरण र माफियाकरणले देशको भविष्यलाई कता लैजाँदैछ ? यस अवस्थामा विद्यार्थी संगठनको दायित्व के हो 

शिक्षा र स्वास्थ्य क्षेत्र सर्वसाधारण जनताको पहुँचभन्दा बाहिर जाँदैछ । यस क्षेत्रमा माफियाहरुको हालीमुहाली बढ्दै गइरहेको छ भने आज शिक्षा र स्वास्थ्य क्षेत्रमा निजीकरण व्यापारीकरण, दलालीकरण हुँदा माफियाकरण हावी भएको छ । यसले मुलुकलाई गम्भीर संकटमा लैजानुका साथै आगामी दिनमा शिक्षा र स्वास्थ्य क्षेत्र हुने खाने र धनाढ्यको पहुँचमा मात्र सीमित हुनेछ भने गरिखाने वर्ग, मजदुर, किसान, उत्पीडित, उपेक्षितलगायतका ठूलो हिस्सा यसबाट बञ्चित हुने अवस्था सृजना भएको छ । किनकि, आज जतिसुकै सक्षम विद्यार्थी भए पनि डाक्टर, इञ्जिनियर जस्तो विषय पढ्न पाउने अवस्था नै छैन । किनभने, सामान्य मान्छेले अथाह पैसा खर्च गर्न सक्दैन्न । त्यसकारण यो अवस्थामा आम विद्यार्थी संगठनहरुले शिक्षा र स्वास्थ्यलाई आम जनताको पहुँचमा पुर्याउनका लागि संघर्ष गर्नुपर्छ । जबसम्म शिक्षा र स्वास्थ्यको सम्पूर्ण जिम्मेवारी राज्यले लिने व्यवस्था निर्माण गर्न सकिँदैन, तबसम्म संघर्षलाई निरन्तर अगाडि बढाउनुपर्छ ।

 यसपटकको स्व.वि.यु. निर्वाचनमा भाग लिँदै हुनुहुन्छ । निर्वाचनको प्रतिस्पर्धा कसरी गर्दै हुनुहुन्छ ?

संसदवादी पार्टी र ती निकटका विद्यार्थी संठनहरु स्व.वि.यु. निर्वाचनलाई सत्ताको साधनको रुपमा लिने र जसरी भए पनि चुनाव जित्ने ध्याउन्नमा लाग्ने गर्छन् र अहिले पनि त्यही गरिरहेका छन् तर हाम्रो संगठनले भने स्व.वि.यु.लाई विद्यार्थीहरुको हक अधिकारको निमित संघर्ष गर्ने थलोको रुपमा लिने गरेको छ । यतिसम्म कि स्व.वि.यु.लाई विकृत बनाउने काम समेत संसदवादी पार्टी निकट विद्यार्थी संगठनहरुबाट विगतका भएका छन् । त्यसकारण हामीले ने.क.पा. (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी), नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) र नेकपा (मशाल) निकट अखिल (छैटौँ) को संयुक्त प्यानल बनाएर स्ववियु निर्वाचनमा सहभागी हुँदैछौं । स्ववियुलाई संघर्षको मोर्चाको रुपमा अगाडि बढाउने र त्यहाँ हुने सबै प्रकारका विकृति, विसंगति एवं भ्रष्टाचार, ठेक्कापट्टा, क्याम्पस प्रशासन मिलेर गरिने सबै प्रकारका गलत क्रियाकलाप विरुद्ध संघर्ष गर्ने र विद्यार्थीका समस्याहरु समधानको निम्ति सशक्त भूमिका निर्वाह गर्नेछौं ।

० स्ववियु निर्वाचनका सन्दर्भमा विद्यार्थीहरुका बीच केकस्ता एजेण्डा लिएर जाँदै हुनुहुन्छ ?

स्ववियुलाई संघर्षको मोर्चाको रुपमा अगाडि बढाउने हुँदा क्याम्पस हुने अवाञ्छित र गलत क्रियाकलापहरुको समूल अन्त्यको लागी सशक्त भूमिका निर्वाह गर्ने, विद्यार्थीहरुका समस्या समाधानको निमित सशक्त भूमिका निर्वाह गर्ने, क्याम्पस प्रशासनसँग मिलेर गरिने सबै प्रकारका गलत कामको अन्त्य गर्ने, राजनीतिक भागवण्डाका आधरमा नियुक्ति, ठेक्कापट्टा, भ्रष्टाचारजस्ता गतिविधिको अन्त्य गर्ने, क्याम्पस हाताभित्र अध्ययनमैत्री वातावरण तयार गर्ने, शिक्षाको गुणस्तरमा विकास गर्ने, समग्र बेथिति, विकृति, विसंगतिका साथसाथै आवश्यकीय भौतिक पूर्वाधार निर्माणको निम्ति भूमिका निर्वाह गर्ने र सबै प्रकारका गलत क्रियाकलापलाई पूर्ण रुपमा अन्त्य गरी स्वच्छ, मर्यादित, सरल र सहज ढंगले विद्यार्थी, प्राध्यापक, कर्मचारी सबैलाई आफ्नो काम, कर्तव्य एवं जिम्मेवारीको निम्ति जवाफदेही बनाउने जस्ता एजेण्डाहरु लिएर हामी स्ववियु निर्वाचनमा सहभागी हुँदैछौं ।

० अन्तमा केही भन्नु छ कि ?

स्ववियु निर्वाचनको सवालमा हाम्रा विषयवस्तुहरु विद्यार्थीलगायत आम दाजुभाइ तथा दिदीबहिनीहरुसमक्ष पुर्याउने अवसर दिनुभएकोमा यहाँलाई धन्यवाद दिँदै त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यलय मातहतका क्याम्पसहरुमा चेत ५ गते, मध्यपश्चिमाञ्चल विश्वविद्यालय मातहतका क्याम्पसहरुमा चैत ३ गते र सुदूरपश्चिम विश्वविदालय मातहतका क्याम्पसहरुमा चैत ८ गते स्ववियु निर्वाचन हुन गइरहेको हुँदा सम्पूर्ण विद्यार्थी साथीहरुलाई एमसीसीका पक्षधर पार्टी निकट विद्यार्थी संगठनका उम्मेदवारलाई चोट र अखिल (क्रान्तिकारी) संयुक्त र अखिल (छैटौँ) का उम्मेद्वारहरुलाई भोट दिएर जिताउनु हुन पनि हार्दिक अनुरोध गर्दछु ।

 

 

२०७९ फागुन २४ १५:२६ बजे

प्रतिक्रिया