इच्छुक प्रतिष्ठानले समाजवादी यथार्थवादमा आधारित वैचारिक, सांस्कृतिक, भाषिक, साहित्य–कला, संस्कृति, गीत–सङ्गीतका विधामा काम गर्दै आएको छ : हिरामणि दुःखी

हामीले राजनीतिक आन्दोलन सँगसँगै सर्वहारा सांस्कृतिक आन्दोलनलाई पनि एकसाथै अघि बढाउनु पर्छ । त्यसका लागि राजनीतिक नेताहरूमा वैचारिक स्पष्टता, त्यसअनुरूपको जिवन व्यवहार र आफ्नो वर्गप्रतिको इमान्दारिता हुन जरुरी छ । साथै कम्युनिष्टहरूमा श्रमसंस्कृतिको अन्त्य हुनु पनि विकृतिको जड हो । यहाँ कम्युनिस्ट पार्टीहरूमा पनि राजनीतिलाई सेवामा भन्दा पेसा बनाउने प्रवृत्ति बढेर गएको छ।

bimbonline डम्मर धामी
२०७९ माघ २९ १०:११ बजे
हिरामणि दुःखी

बिम्बअनलाइनका सम्वाददाता डम्मर धामीले इच्छुक प्रतिष्ठानका निवर्तमान अध्यक्ष एव प्राज्ञयिक व्यक्तित्व हिरामणि दुःखीसँग गरेको कुराकानीका सम्पादित अँशहरू–

यहाँको सृजना, साहित्य, प्रज्ञा र राजनितिक क्षेत्रको यात्राका बारेमा केही बताइ दिनु हुन्छ की ?

यो प्रश्नमा म अलिकति मेरो इतिहास पनि तपाइँलाई बताउन चाहन्छु । अधिकांश साहित्यकारहरूमा जस्तै मलाई पनि साहित्य–कलातर्फ हाइस्कुले जीबनमै आकर्षण भएको हो । शुक्रबारे अतिरिक्त क्रियाकलापमा भाग लिइन्थ्यो र टुटेफुटेका गीत, कविता र निबन्ध लेख्ने गरिन्थ्यो । यो २०४१र०४२ तिरको कुरो हो । त्यसपछि २०४५ मा कलेजको पढाई गर्दा साहित्यतर्फ अलि बढी प्रेरित भइयो । ०४६ को पञ्चायत विरोधी आन्दोलनमा सक्रिय भएर लाग्दा गाउँगाउँमा गीत कविता सुनाउँदै जनतामा जागरण ल्याउँदै हिडिन्थ्यो । २०४६ को परिवर्तन पछि हामीले दाङमा मिर्मिरे सांस्कृतिक परिवार गठन गर्यौ चित्रजङ शाहीको नेतृत्वमा । जसमा नन्दकिशोर पुन, (हालका उपराष्ट्रपति) शिव घिमिरे, प्रकाश पन्थी, सानुमायाँ खनाल, मलगायत दश/ बाह्र जना थियौँ कमिटीमा । पछि जनसांस्कृतिक सङ्घ मेरै नेतृत्वमा बनायौँ । यसरी साहित्य–कलातर्फ अगाडि बढियो । सिर्जना पनि त्यहीबेलादेखि नै अलि बाक्लो रूपमा लेख्न थालिएको हो । पहिला मैले गीत लेख्ने गर्थें र गाउने पनि गर्थें । जनसांस्कृतिक सङ्घको नेतृत्व गर्न थालेपछि कविता लेखनमा पनि अलि बढी समय दिएको हुँ । कथाख्यानतर्फ भने मैले २०६० पछि मात्रै हात हालेको हुँ ।

राजनतीतर्फ मैले २०३९ सालमा कक्षा नौमा पढ्दा अखिलको सदस्यता लिएको हुँ । त्यतिबेला मैले पढेको हाइस्कुलमा तात्कालीन नेकपा माले समर्थित विद्यार्थी सङ्गठन मात्रै रहेछ । त्यो कुरा मलाई पछि मात्रै थाहा भयो । मलाई कम्युनिस्ट पार्टी कति छन् र विद्यार्थी सङ्गठन पनि धेरै होलन् भन्ने नै थाहा थिएन । मलाई कम्युनिस्ट पार्टी जनताको पार्टी हो भन्ने मात्रै सिकाइएको थियो । पछि मेरो एसएलसी विग्रिएर पुनः अर्को स्कुलमा कक्षा दशमा पढ्न थालेपछि मलाई कम्युनिस्ट पार्टीहरू पनि धेरै रहेछन् भन्ने थाहा भयो । यो २०४२ सालको कुरा हो । त्यतिबेला मेरा एकजना आफन्त काकाले मलाई सही र क्रान्तिकारी कम्युनिस्ट पार्टी भनेको मोहन वैद्यको मोटो मशाल पार्टी हो भनेर सुनाएका थिए । तर दाङमा सम्पर्क कहाँ के छ उनलाई पनि कुनै थाहा रहेनछ । अनि मैले आफ्नै केही सहपाठी साथीहरूलाई जम्मा पारेर सात जनाको मशाल पार्टी गठन गरेँ । तर त्यसको कहीँ कतै पनि लिङ्क थिएन । क्याम्पस पढ्न गएपछि भने अमर गिरी, कृष्ण सेन इच्छुक, नारायण शर्मा, मधुसुदन वैद्य, नरबहादुर अधिकारी, चित्रजङ शाहीका साथै आफ्ना सहपाठीहरू रेखा शर्मा, टेकबहादुर बुढा, बामदेव अधिकारी लगायत आफ्नो कक्षाका अरू पनि रोल्पा, रुकुम र प्युठानका विद्यार्थीहरूसँगको सङ्गत पाएपछि म विधिवत नेकपा मशालको सदस्य बनेको हुँ । त्यसयता लगातार म यही पार्टीमा रहेको छु । थुप्रै पार्टी एकता र फुटहरूपछि पनि म वैद्यजीकै नेतृत्वमा रहेको छु । यसो हुनुमा वैद्यसँग मेरो कुनै साइनो सम्बन्ध भएर पनि हैन र उहाँले मलाई कुनै दिन पनि आफुतिर आकर्षित गर्नेगरि कन्भेन्स पनि गर्नु भएको छैन परन्तु म उहाँकै नेतृत्वमा रहेको छु । 

यसरी म राजनीतिमा पनि २०४२ देखि आंशिक र २०४६ पछि सक्रिय रूपमा क्रियाशील हुँदै आएको छु । साहित्य र राजनीतिसँगै मैले पत्रकारितालाई पनि सँगसँगै लिएर काम गरेको छु । अहिले पनि मेरो मुख्य भूमिका साहित्य र पत्रकारिता नै हो । 

आजसम्म यस क्षेत्रमा काम गर्दै जाँदा कुनै अविस्मणिय क्षण वा घटनाका छ कि बताइ दिनुहोस् न ?

अविश्मरणीय घटना त एक दुई होइन, दर्जनौँ छन् । २०४६ चैत २० गते म बुटवलबाट दाङ आउँदै थिएँ, मैले झोलामा केही पर्चा र वामपन्थी किताब बोकेको थिएँ । लमहीबाट घोराही आउने क्रममा मुसोटखोलामा पुलिस चौकी बसेको रहेछ । त्यहाँ सबै यात्रुहरूको झोला खान तलासी गर्न थाल्यो । ‘ला अब पक्राउ  परिने भयो’ भन्ने लागेको थियो । मुटु ढक्क भएर फुल्यो । मेरो झोलामा भैरहवामा रहेकी भाञ्जीदिदीले केही अचार, तरकारी र चिल्लो रोटी हालिदिनुभएको थियो । पुलिसले झोला छाम्दा त्यही देख्यो । भित्रैसम्म खोतलेर हेरेन । कहाँ जाने हो भन्दै सोध्यो । मैले स्कुल जाने हो भरतपुर भनेँ । क्याम्पस पढ्छौ कि हाइस्कुल भनेर सोध्यो । मैले स्कूल भनेँ । ए ल ठिक छ, क्याम्पस पढ्नेले त राजनीति गर्छन् तिमी स्कुल पढ्ने रैछौ राजनीति साजनीति नगर्नु भन्यो र म बचेँ । त्यसपछि २०४८ को चैत २४ को जनआन्दोलन दिवसमा नेपाल बन्द थियो । म कैलालीको लम्की बजारमा थिएँ । त्यहाँ पहिलो पटक गोली चलेको थियो । त्यो पनि मेरो स्मरणीय दिनका रूपमा ताजै छ । जनयुद्धका क्रममा त म दुईतीन चोटी मारिएको हल्ला पार्टीमा पुगेका थिए । थुप्रै घटनाहरू स्मरणीय छन् । 

इच्छुक प्रतिष्ठान र राष्ट्रिय प्रज्ञा प्रतिष्ठान विच के भिन्नता छ ? इच्छुक प्रतिष्ठानको उद्देश्य र लक्ष्य के हो ?

चरित्र र कार्यक्षेत्रका हिसाबले दुवैको एउटै हो परन्तु विचारमा भने भिन्नता छ । प्रज्ञा प्रतिष्ठान सरकारी स्वामित्वमा रहेको र उसले सबैखाले विचारका क्षेत्रमा कार्य गर्छ । अझ २०६३ अगाडि त यो पश्चगामी र यथास्थितिवाद भन्दा माथि उठ्नै सकेको थिएन । इच्छुक सांस्कृतिक प्रतिष्ठान भने जनस्तरमा गठित संस्था हो र यसले पूर्ण रूपमा माक्र्सवादी यथार्थवादमा आधारित साहित्य–कला, गित–सङ्गीत, संस्कृति, सौन्दर्य चिन्तनका क्षेत्रमा रहेर त्यसको संरक्षण, सम्वद्र्धन र उन्नयन गर्ने काम मात्रै गर्छ । यसको उदेश्य भनेको माओले पछिल्लो चरणमा विकास गर्नु भएको सर्वहारा सांस्कृतिक आन्दोलनको पाटोलाई दहोसँग पकड्नु र वैचारिक क्षेत्रबाट राजनीतिक आन्दोलनलाई टेवा पुरयाउनु हो । यो समाजवादी यथार्थवादी धाराको वैचारिक स्कुल पनि हो । जनताको साहित्य–कला, संस्कृति, भाषा, सङ्गीतलाई समाजवादी यथार्थवादी धारामा रूपान्तरण गर्नु र त्यसको संरक्षण गर्दै विकास गर्नु र पुनः जनतामा पश्किनु यो संस्थाको कार्यभार हो । यद्यपि देशमा भएको कम्युनिस्ट आन्दोलनको स्खलन, विचलन र उत्कर्षमा पुगेको जनयुद्ध र जनआन्दोलनले धोका खाएको अवस्थाले आम जनतामा परेको निरासा, अकर्मण्यता, कुण्ठा, आदिका कारण हामीले चाहेजति यस क्षेत्रमा काम गर्न सकेका छैनौँ । निकै कठिनाई, अप्ठ्यारा र जटीलताहरू हाम्रा चुनौतीका रूपमा रहेका छन् । त्यसैगरी बजारवाद, नवउदारवादले पश्किएको उपभोक्तवाद, उत्तरवर्ती अवधारणाले थोपरेका वैचारिक विघटन, विचलन तथा सांस्कृतिक मूल्य विघटन, विचारप्रतिको वितृष्णाले हाम्रा थुपै चुनौतीका पर्खाल बनेका छन् । यी सबैलाई चिर्दै सुन्दर सपना देखाउनु र भविष्यप्रति आशावादी बनाउनु जस्ता कार्यमा वैचारिक रूपले आन्दोलनलाई सघाउनु पनि हाम्रो कार्यक्षेत्र रहेको छ । 

प्रज्ञा क्षेत्रमा वा यसको उद्देश्य र लक्ष्य प्राप्तिका लागि यस प्रतिष्ठान ले के के काम गर्दै आएको छ ?

गर्नुपर्ने त कति धेरै छ, सोचे जति र बनाएका योजनाहरू पनि आर्थिक अभावका कारण पूरा गर्न सकेका छैनौँ । तथापि हामीले अहिले महान् सहिद जसका नाममा यो प्रतिष्ठान स्थापना भएको छ, कृष्ण सेन इच्छुकका कृतिहरूको प्रकाशन गरेका छौँ । त्यसपछि संस्मरण, कथा, कविता, गीत–सङ्गीत जस्ता सांस्कृतिक विचारका क्षेत्रमा केही सङ्कलनका प्रकाशन गरेका छौँ । त्यसैगरी केही वैचारिक पुस्तकहरू अनुवाद गरेर पनि प्रकाशन गरेका छौँ । अर्को कुरा हामीले एउटा सिर्जनातर्फको प्रकाशन ‘इच्छुक’ र दोस्रो अनुसन्धानात्मक प्रकाशन ‘प्रवर्तक’लाई पनि नियमित प्रकाशन गर्दै आएका छौँ । यसरी यस्ता सामग्रीहरू मार्फत माक्र्सवादी साहित्य, कला, सङ्गीत तथा सौन्दर्य चिन्तनका क्षेत्रमा क्रियाशील अध्ययता एवम् स्रष्टा, द्रष्टाहरूका लागि एउटा मञ्च दिएका छौँ । 

यसका साथसाथै हामीले समाजवादी यथार्थवादमा आधारित वैचारिक, सांस्कृतिक, भाषिक, साहित्य–कला, संस्कृति, गीत–सङ्गीत आदि विधागत विचारगोष्ठीहरू, तालिम प्रशिक्षणहरू, कार्यशाला गोष्ठीहरू, अन्तरक्रिया, सम्वाद अन्तराष्ट्रिय गोष्ठी, कविता प्रतियोगिता आदि कार्यक्रमहरू देशव्यापी गर्दै आएका छौँ । त्यसै गरेर यिनै माक्र्सवादी कला–साहित्य, गीत–सङ्गीत, संस्कृतिका क्षेत्रमा निरन्तर साधनारत स्रष्टा–द्रष्टाहरूलाई प्रतिष्ठानका तर्फबाट वार्षिक रूपमा पुरस्कार सम्मान पनि दिँदै आएका छौँ । यसका अतिरिक्त पनि हाम्रो सामथ्र्यअनुसार सङ्घर्षका कार्यक्रमहरूमा पनि हामीले वैचारिक तथा भौतिक रूपमै थुप्रै काम गर्दै आएका छौँ । 

इच्छुक प्रतिष्ठानका अन्य शाखाहरू पनि छन् की ?

शाखा नै खोल्ने त हाम्रो विधानमा व्यवस्था पनि छैन र त्यतातिर हामीले अहिले आवश्यक पनि ठानेका छैनौँ । यही प्रतिष्ठानबाट गर्नुपर्ने काम कति धेरै छ त्यो नै पूरा गर्न सकिरहेका छैनौँ । दक्ष र यस क्षेत्रमा प्रयाप्त समय दिन सक्ने जनशक्तिको पनि अभाव नै छ । परन्तु दाङको लमहीमा यस्तै प्रकारको भौतिक संरचना निर्माण गर्दै छौँ । किनकि इच्छुकले सांस्कृतिक सङ्गठनको नेतृत्व लिनु भन्दा पहिले उहाँको मूल राजनीतिक कार्यथलो र गृहथलो पनि राप्ती क्षेत्र भएकाले उहाँको सम्मान र सम्झनामा दाङमा केही त गर्नै पर्छ भनेर पनि हामीले दाङमा शुरु गरेका छौँ । साथै जनयुद्धको मुख्य उद्गम थलो र आधार क्षेत्र बनेको भूभाग राप्ती नै भएकाले पनि हामीले दाङलाई छनोट गरेर यही प्रतिष्ठानको स्वामित्व र निगरानीमा रहने गरी लमहीमा संरचना निर्माण गर्दैछौँ । अन्यत्र शाखा खोल्ने हाम्रो अहिले कुनै लक्ष्य र योजना छैन । 

तपाइँ एक प्राज्ञिक व्यक्तित्व हुनुहुन्छ, आजसम्म के–के विषयमा लेखन वा प्रकाशन गर्नु भएको छ ?

मैले मूलतः कविता र कथामा कलम चलाउँदै आएको छु । मेरो रुचीको मुख्य विधा पनि यी दुई नै हुन् । त्यसका साथै संस्मरण, समीक्षा तथा समालोचना र माक्र्सवादी संस्कृतिका क्षेत्रमा पनि कलम चलाइरहेकै छु । वैचारिक तथा समसामयिक लेखहरू पनि निरन्तर लेखिएकै छ । पत्रकारिता क्षेत्रमा मैले रिपोर्टिङ कम र सम्पादनको भूमिका बढी निभाएकोले पनि थुप्रै कृति, सामयिक प्रकाशन, दर्जनौँ साहित्यिक प्रकाशनहरू र पत्रपत्रिकाहरूको पनि सम्पादन गर्दै आएको छु । 

मेरा आफ्नै कृतिका रूपमा दुई वटा कवितासङ्ग्रहहरू ‘परिभाषा’ र ‘जून पश्किने यात्रामा’ तथा ‘जनयुद्धका कथाहरू’ कथासङ्ग्रह र ‘स्मृतिका कुइनेटाहरू’ संस्मरण सङ्ग्रह प्रकाशित छन् । छिटै नै दोस्रो कथासङ्ग्रह प्रकाशित हुँदै छ । 

नेपाली समाजमा छाडा र उपभोक्तावादी संस्कृतिको वढ्दो प्रभाव कसरी रोक्न सकिन्छ ?

पहिलो कुरा त तपाइँले भन्नु भएको छाडा र उपभोक्ततावादी संस्कृति बढ्नुको मुख्य कारण के हो भनेर हामीले पहिचान गर्नु जरुरी छ । यसको मुख्य कारण देशको विद्यमान राजनीतिक व्यवस्था हो । यो यस्तै संस्कृति मन पराउने वर्गको व्यवस्था भएकाले पहिला यसलाई समाप्त पार्नु जरुरी छ । त्यसको निम्ति आमूल परिवर्तनकारी राजनीतिक आन्दोलनको विकास गर्नु पर्छ । जस्तो हामीले भनेका छौँ कि नेपालमा नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्ने । किनकि राजनीति नै सम्पूर्ण कुराको शीर्ष विषय हो । राजनीति सही नहुँदासम्म समाजका कुनै पनि कुरा सही बाटोमा अगाडि बढ्न सक्दैनन् । तसर्थ तपाईले उठाउनुभएको विषयको अन्त्य राजनीतिक आन्दोलनसँगै एकसाथ लैजाने कुरा हो । 

दोस्रो कुरा हामीले माओावादी विचार र यसको महत्वलाई आम जनतासम्म पुरयाउन पहल गर्नु पर्छ । जनतालाई नै वैचारिक रूपले सही र खराब कुराका बारेमा बोध गराउने अभियान चलाउनु पर्छ । यसो गर्दा हामीले हाम्रो वर्गको जनता र वर्गविरोधी कित्ताका जनताका बिचमा भेद छुट्ट्याउन सक्नुपर्छ । तपाइँ चाहेर पनि देशका सबै मानिसलाई एकसाथ बदल्छु भन्नुभयो भने त्यो असम्भव कुरा हुन्छ । पहिला आफुबाट सुरु गर्नु परयो उन्नत विचार र संस्कृतिमा ढाल्न । त्यसपछि तपाइँ सचेत पार्टीमा विचार अनुरूपको संस्कृति निर्माणमा लाग्नु परयो यसैगरी समाजका सचेत जनता हुँदै आफ्नो वर्गका जनतासम्म पुग्नु पर्छ । यसका लागि साहित्य–कला, संस्कृतिका माध्यमबाट जनतामा जागरण ल्याउनु पर्छ अनि मात्र यो उपभोक्तावादी तथा छाडा संस्कृतिको अन्त्य गर्न सकिन्छ । साथसाथै कतिपय अवस्थामा जनकारवाहीद्वारा पनि यसलाई अन्त्य गर्नतिर जानुपर्ने हुन्छ । 

तेस्रो कुरा हामीले राजनीतिक आन्दोलन सँगसँगै सर्वहारा सांस्कृतिक आन्दोलनलाई पनि एकसाथै अघि बढाउनु पर्छ । नेपाली कम्युनिस्ट आन्दोलनमा छुटेको विषय यो हो । त्यसका लागि राजनीतिक नेताहरूमा वैचारिक स्पष्टता, त्यसअनुरूपको जिवन व्यवहार र आफ्नो वर्गप्रतिको इमान्दारिता हुन जरुरी छ । साथै कम्युनिष्टहरूमा श्रमसंस्कृतिको अन्त्य हुनु पनि विकृतिको जड हो । यहाँ कम्युनिस्ट पार्टीहरूमा पनि राजनीतिलाई सेवामा भन्दा पेसा बनाउने प्रवृत्ति बढेर गएको छ । त्यसले पनि यो विकृति ल्याएको हो । आफ्नो नीहित स्वार्थ पूरा गर्न जे पनि गर्ने प्रवृत्तिले समाजमा विकृति, छाडा संस्कृति बढेको हो । यसको अर्को कारण भूमण्डलिकृत संस्कृतिको प्रभाव पनि हो । त्यसका विरुद्ध जनचेतना जगाउन आवश्यक छ । 

विभिन्न किसिमका प्रज्ञाहरूको बारेमा बताइदिनुहोस् ?

तपाइँले यो प्रश्न कुन अर्थमा सोध्नुभएको हो प्रष्ट भएन । प्रज्ञाको शाब्दिक अर्थ ज्ञान हुन्छ । यदि ज्ञानका अर्थमा सोध्नुभएको हो भने ज्ञानका त अनन्त स्रोत र प्रकारहरू हुन्छन् । यो मानिसको चेतना र बुझाईमा भर पर्छ । अर्को प्रतिष्ठानका अर्थमा हो भने त थुप्रै छन् । ती पनि आआफ्ना विचार र दृष्टिकोण तथा लक्ष्यअनुरूपका छन् । परन्तु विचारका हिसावले त भौतिकवादी दृष्टिकोण र अध्यात्मवादी दृष्टिकोणकै आधारमा तिनलाई वर्गिकरण गर्न सकिन्छ ।  

नेपालमा माक्र्सवादी प्रज्ञा आन्दोलनलाई कसरी अगाडि बढाउन सकिन्छ ?

यो प्रज्ञा आन्दोलन पनि राजनीतिक आन्दोलनकै अभिन्न अङ्ग भएकाले राजनीतिक आन्दोलन सँगसँगै एकसाथ लैजानुपर्ने हुन्छ । अझ शान्तिपूर्ण आन्दोलनको चरणमा प्रज्ञा आन्दोलनको निकै महत्व रहन्छ । यसले जनतामा वैचारिक स्तर उठाउन, नेता कार्यकर्ताहरूमा वैचारिक स्तरको विकास गर्न बढी भूमिका प्रज्ञा आन्दोलनको हुने भएकाले आफ्ना प्राज्ञिक गतिविधि मार्फत् यसलाई व्यापक बनाएर लैजानु पर्छ ।

नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलन विभक्त बन्दै गएको छ । यसलाई सही दिशा दिन कस्तो कार्यनीति अपनाउनुपर्ला ?

मैले अगाडि नै प्रष्ट गरेको कुरा के हो भने राजनीति नै साहित्यको नेतृत्वकर्ता हो । कम्युनिस्ट राजनीति विभक्त भएको हुनाले नै प्रगतिशील सांस्कृतिक आन्दोलन पनि विभक्त भएको हो । समस्या कहाँनेर हो भने आज कम्युनिस्ट आन्दोलनको मूल धारको भनिएका ‘कम्युनिस्ट’ पार्टीहरू नै वर्तमान संविधानलाई समातेर त्यस अनुसारको संसदीय व्यवस्थामा रुमलिएका छन् र जनतालाई यो व्यवस्था नै अब्बल हो भनेर भ्रम दिइरहेका छन् । दुःखका साथ सत्य कुरा भन्नु पर्छ कि यी संसदवादी कम्युनिस्ट पार्टीहरू सच्चा माक्र्सवादी कम्युनिस्ट नै हैनन् । जनता र उनीहरूका कार्यकर्तामा ठूलो भ्रम सिर्जना गरेर नेताहरूले कम्युनिस्टका नाममा आफ्नो सत्तास्वार्थ पूरा गरेका छन् । त्यसको असर सांस्कृतिक आन्दोलनमा पर्ने कुरा भयो नै । यदि विभक्त भएको प्रगतिशील सांस्कृतिक आन्दोलनलाई सही दिशा दिने हो भने यो क्षेत्रमा क्रियाशील सबैले माक्र्सवादको आधारभूत कुरालाई आत्मसात गर्नु प¥यो र आलोचनात्मक चेतना राख्ने साहस गर्नु प¥यो । सरकारी पार्टीको अन्धभक्त भएर भक्तजन हुने हो भने जति नै प्रयास गरे पनि सांस्कृतिक आन्दोलनलाई विभक्त बनाउने कुराबाट रोक्न सकिँदैन । 

सामाजिक र सांस्कृतिक विकृतिहरूलाई चिर्न साहित्यको कस्तो भूमिका रहन्छ ?

यसको त लेखकीय र आलोचनात्मक भूमिका हो । आम कार्यकर्ता र जनतामा जागरण ल्याउनका निम्ति साहित्य र कलाका विभिन्न विधाहरूमार्पmत् सचेतना जगाउने, पठन संस्कृतिको विकास गर्न उत्प्रेरित गर्ने तथा सांस्कृतिक र साङ्गीतिक अभियानहरू  मार्फत राष्ट्रिय जागरण ल्याउन भूमिका पूरा गर्ने हो । 

अन्त्यमा केहि भन्नु छ की ? 

मेरा कुरा राख्नु दिनु भएकोमा   बिम्ब अनलाइन लाइ धन्यवाद !

 

    


२०७९ माघ २९ १०:११ बजे

प्रतिक्रिया