अधिकांश क्षेत्रमा पत्रकारिता मागीखाने भांडोको रुपमा चित्रित हुन थालेको छ-डिआर पन्त वरिष्ठ पत्रकार

जनताको मुद्दा पत्रकारले निःस्वार्थरुपमा उठाएका कारण कयौ भुई मान्छेले न्याय पाएका थुप्रै स्मरण मसंग छन।

bimbonline बिम्ब अनलाइन
२०८२ वैशाख ३० १४:४८ बजे
डिआर पन्त वरिष्ठ पत्रकार

 पत्रकारिता क्षेत्रमा लामो समय देखि काम गर्दै आउनु भएको वरिष्ठ पत्रकार तथा पुर्विया दर्शनका मान्यता अनुरुप आफ्नो जिवनशेैली अवलम्वन गर्दै आएका डिआर पन्त सँगको भेटमा विम्व अनलाईनका प्रतिनिधिले लिएको सँक्षिप्त अन्तवार्ताका सम्पादीत अँशहरु

तपाईले  पत्रकारिता कसरी शुरु गर्नु भएको थियो?

म संस्कृतको बिद्यार्थी हुं , बिद्यालय स्तरमा अध्ययन गर्दा नै हामीले मिर्मिरे नामक वार्षिक पत्रिका निकाल्ने गथ्र्यौं । पछि अध्ययनकै सिलसिलामा हरिद्धारमा जनता अश्वमेघ नामक साप्ताहिक पत्रिकामा काम गर्न थाले । देहरादूनवाट त्यतिवेला प्रकाशित हुने युवराज हिमालीको दूनदर्पणमा पनि काम गर्ने अवसर मिल्यो । पछि उत्तरमध्यमाको परिक्षा दिएर घर फर्कंदा महेन्द्रनगरमा आदरणीय गुरु तेजबहादुर भण्डारीले संचालन गरेको जनमानस साप्ताहिकमा काम गर्ने अवसर मिल्यो । ब्यबसायिक रुपमा जनमानस साप्ताहिकवाट मैले पत्रकारिता सुरु गरे जो अहिलेसम्म निरन्तर जारी छ । सुदूरपश्चिममा कांग्रेस एमाले राप्रपाका मुखपत्र जस्ता पत्रिका थिए । पहिलो पटक मेरो सम्पादनमा नयांमुलुक साप्ताहिक प्रकाशन सुरु गरेपछि यो क्षेत्रमा पत्रकारिता पार्टीको लागि मात्र होइन जनताका लागि हो भन्ने कुरा सर्वसाधारणले बुझ्ने मौका पाएका हुन । त्यो भन्दा अघि यस्ता अभ्यास सुदूरपश्चिममा भएको थिएन । नयांमुलुक साप्ताहिकले सवैका कुरा स्वतन्त्र रुपमा लेख्न थालेपछि राजनैतिक धारका पत्रपत्रिका पनि ब्यबसायिक हुन वाध्य भएका हुन ।

तपाईले पत्रकारिता शुरु गर्दाको अवस्था कस्तो थियो?

मैले पत्रकारिता सुरुगर्दा २०४९, २०५० तिर भर्खर पत्रकारिताले ब्यबसायिक रुपमा वामे सर्ने मौका पाएको थियो । तर पनि प्रजातन्त्र आएपछि केही बर्ष पार्टी पत्रकारिताले हामी सवै प्रभाबित थियौं । मलाइ लाग्छ २०५५ यता आएर मात्र नेपालमा पूर्ण रुपमा ब्यबसायिक पत्रकारिताको थालनी भएको हो । त्यो समय वडो कठिन समय थियो पत्रकारिताका लागि । तर अहिले जस्तो पत्रकारितामा रहेको वेथिति त्यो वेला थिएन । मिशन पत्रकारिताको युग सकिएर ब्यबसायिकता तिर उन्मुख पत्रकारिता भएकाले मिशन पत्रकारित गर्ने पत्रकारका अग्रजहरुमा उत्तरदायित्व थियो , जनताले सूचना पाउनु पर्छ भन्ने नि:स्वार्थ भावना थियो । अहिले पत्रकारितामा देखिएका बिकृति त्यो वेला थिएन ।

 समाचार लेखेका आधारमा तपाईले कुनै दुःख हैरानी खेप्नु भयो की ?

सामाचार लेखेकै कारण दुःख पाएका थुप्रै घटनाहरु छन । अपमानित मात्र होइन प्रशासन र राज्यवाट थुनिएको स्मरण पनि छ । प्रशासनले थुप्रैपटक वयान लिएका स्मरण पनि छन । न्यायधिशका बिषयमा समाचार लेख्दा अदालतको अवहेलनाको आरोप खेप्नु परेका स्मरण पनि छन ।

सम्पादकीय स्वतत्रताको अवस्था नेपालमा कस्तो  छ?

सम्पादकीय स्वतन्त्रता अन्य मुलुक हाम्रा छिमेकी देशहरु भन्दा नेपालमा वढी छ । प्रकाशन गृहमा लगानी गर्ने लगानीकर्ताहरुको आफ्नो ब्यबसायिक स्वार्थ अनुरुप त्यस्ता घटना नदेखिएका होइनन तर मोफलसलवाट काम गर्ने हामीजस्ता सम्वाददाताहरुले सर्वसाधारणका बिषयमा उठाएका थुप्रै मुद्दाका कारण भुई मान्छेले न्याय पाएका थुप्रै स्मरण मसंग पनि छन । शत्ता र शक्तिको प्रभावमा विग मिडीया परेनन भनेर म भन्दैन तर त्यो संगै मिडीयाले उठान गरेका बिषय राष्टिय वहसका बिषय वनेका छन , बिग मिडीयाहरुले सिर्जना गरेको जनमतका कारण राजनैतिक सामाजिक परिवर्तनका थुप्रै मुद्दाहरु स्थापित भएका छन ।

पत्रकारिता के हो ?

जनतालाई सूचना दिने , जनताको सुसुचित हुने अधिकार स्थापित गर्ने , सामाजिक आर्थिक परिवर्तनका लागि सूचना प्रवाह गर्ने , सकारात्मक परिवर्तनका लागि जनमत सिर्जना गर्ने , राज्यलाइ जनता प्रति उत्तरदायी वनाउने , समग्रमा जनताका लागि उत्तदायी पूर्ण काम गर्ने पेशा पत्रकारिता हो जस्तो लाग्छ । 

अहिलेका पत्रकार  र समाचार प्रति जनविश्वास कतिको छ ?

अहिले पत्रकारिता प्रति जनताको बिश्वासमा कमि आएको छ । पत्रकारिताको परिभाषा नै परिवर्तन हुन थालेको छ । समाजले पत्रकारितालाइ बुझ्ने दृष्टीकोण नै परिवर्तन हुन थालेको छ । अधिकांश क्षेत्रमा पत्रकारिता मागीखाने भांडोको रुपमा चित्रित हुन थालेको छ । नयां पुस्ताले पत्रकारितालाइ हेर्ने दृष्टीकोण राम्रो देखिएको छैन । यो हाम्रा आचरण चरित्र र ब्यबहारका कारण यसो भइरहेको हो । यो प्रति हामी गम्भीर हुनु जरुरी छ । मूलधारका मिडीयाहरुले यो बिषयमा सोच्नु आवश्यक छ । ब्यबसायिक पत्रकारहरुले पनि यस बिषयमा गम्भीर हुन सकेनन भने समस्या झन झांगीदै जाने छ जस्ले पत्रकारिता प्रतिको विश्वास आम जनतामा गुम्दै जाने देखिएको छ ।


२०८२ वैशाख ३० १४:४८ बजे

प्रतिक्रिया