पर्खी बसिरहे कि हुन् कि भन्ने अनुभूति गरिरहेँ

लघुकथा

bimbonline नरेन्द्र देवकोटा
२०७९ माघ २८ १०:२१ बजे
पर्खी बसिरहे

काठमाडौं । त्यतिखेर पहाडमा शैक्षिकसत्र फागुन महिनादेखि शुरु भई मङ्सिरको महिना सकिन्थ्यो । हिउँदको दुई पौष र माघ महिना विद्यालयमा शिक्षक र विद्यार्थीहरूलाई जाडो बिदा हुने गर्दथ्यो । 

हिउँदमा जाडो बिदा भएपनि राष्ट्रिय पर्वहरू जस्तो राजा रानीको जन्मदिन, प्रजातन्त्र दिवस जस्तो राष्ट्रिय पर्वका दिनमा सदरमुकाम नजिकका सबै विद्यालयका विद्यार्थीहरूलाई सफाचट बनाएर  नारा लेखिएका पोस्टकार्ड, राष्ट्रिय झण्डा र विद्यालयका झण्डा सहित लामबद्ध भएर झाँकी कार्यक्रममा सहभागी गराइने गरिन्थ्यो ।  हामी स्कुल भर्ना भएपछि प्रत्येक राष्ट्रिय उत्सव र प्रजातन्त्रका दिवसका दिन सहभागी हुने गर्दथ्यौँ

लाइनको अग्र भागमा छात्राहरूलाई लगाईन्यो, छात्रा नभए झण्डा बोक्न सक्ने छात्रहरूलाई अगाडि लगाइन्थ्यो । म भने लाइन मै सुहाउँथे,  ७ र ८ क्लासमा चढे पछि पोस्टकार्ड र ब्यानर अनुसार नारा भट्याउँथे, अरुले नारामा साथ दिन्थे । 

एक दिन यस्तै राष्ट्रिय पर्व प्रजातन्त्र दिवसको उत्सवमा बजार परिक्रमा गर्ने प्रयोजनमा मैले नाराहरू लगाईरहेको थिएँ, उनी झण्डा बोकेर अगाडि अगाडि लाममा हिँडी रहेकी थिइन् । राम्री चटक्क मिलेकि, मैले उनलाई सफा लुगामा राष्ट्रिय झण्डा बोकिरहेको अवस्थामा देखेको थिएँ । 
 यता म राष्ट्रभक्ति र राष्ट्र  प्रेमको नारा लगाईरहेको थिएँ, प्रजातन्त्र दिवस ..,हाम्रो भाषा हाम्रो भेष..., मैले लगाएका  नाराका शब्द उनका कानमा ठोकिए छन्, सायद को रहेछ भनेर हेरिकि हुनुपर्छ मततिर उनले ?  मैले पनि राष्ट्रिय झण्डा बोकेर लाममा हिँडिरहेकी चम्किलो गहुँगोरो अनुहारकी उनैलाई हेरिरहेको थिएँ, शायद त्यो हेराइनै हाम्रो पहिलो नजर र एक आपसको मनको मझेरीमा सजाउने पल परेछ ।

कार्यक्रम सकियो, हामी तितरबितर भयौँ, उनी हामी घर फर्किने गाउँको दोबाटोमा पर्खेर बसेकी रहिछन् । म पनि बजारको वल्लो छेउ पल्लो छेउ हेर्दै अगाडि बढ्दै थिएँ ।

मेरो मानसपटलमा उनको चम्किलो हँसिलो अनुहार, पुष्ट परेको जिउ, स्याउ जस्ता गाला, अनार जस्तै मिलेका सेता चम्किला दाँत, काला आँखा, चम्किलो कालो कपाल, स्कुले लुगा, मिलेको उचाइँ, म तिर फर्केर हेरेको नजर देख्दै थिएँ । फर्किदै थिएँ गाउँ आउने दोबाटोमा पर्खेर बसेकी रहिछन् । टाढैबाट देखेँ उनलाई र सम्झिँए मानौँ देउरालीमा कसैले पथिकलाई पर्खी बसे झैँ उनले पनि मलाई नै पर्खी बसिरहेकि हुन् कि भन्ने अनुभूति गरिरहेँ ।

(लेखक) नरेन्द्र देवकोटा जिल्ला न्यायाधिवक्ता जिल्ला सरकारी वकील कार्यालय 

२०७९ माघ २८ १०:२१ बजे

प्रतिक्रिया