भारतमा नरेन्द्र मोदीबारेको बीबीसीको वृत्तचित्र यूट्यूब र ट्विटरमा 'ब्लक गर्न' आदेश-

bimbonline मोदी
२०७९ माघ ९ ०९:२७ बजे
नरेन्द्र मोदी भारतका प्रधानमत्री

भारतको सूचना र प्रसारण मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बीबीसीले निर्माण गरेको वृत्तचित्रको पहिलो एपिसोडलाई यूट्यूब र ट्विटरमा ब्लक गर्न आदेश दिएको छ।

साथै मन्त्रालयले उक्त भिडिओको लिङ्क शेयर गर्ने ट्विटर पोस्टहरूलाई पनि हटाउन निर्देशन दिएको छ।

इकोनोमिक टाइम्स खबरलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाए अनुसार इन्डिया: द मोदी क्वेशनर त्यससँग जोडिएका करिब ५० वटा ट्विट हटाउन आदेश दिइएको हो।

स्रोतलाई उद्धृत गर्दै उक्त अखबारले लेखेको छ कि मन्त्रालयका सचिव अपूर्व चन्द्रले आइटी नियम २०२१ अन्तर्गत यो आदेश दिएका हुन्।

स्रोतका अनुसार यूट्यूबलाई भनिएको छ कि, “यदि उसको सञ्जालमा यो वृत्तचित्र अपलोड गर्ने कोसिस गरियो भने त्यसलाई ब्लक गरियोस्। ट्विटरलाई लिङ्कसहितका ट्विटहरू पहिचान गरेर त्यसलाई हटाउन भनिएको छ।

विपक्षी दलहरूले भारत सरकारको यो निर्णयलाई सेन्सर सीप भनिरहेका छन्। कंग्रेसका सञ्चार विभाग प्रमुख जयराम रमेशले ट्विटमार्फत सरकारको कदम सेन्सरसीप भएको टिप्पणी गरेका छन्।

·         

·     भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले इन्डिया: द मोदी क्वोइच्चननिष्पक्ष नरहेको र त्यो प्रोपागान्डाको रूपमा आएको बताएका छन्। 

दुईवटा भागमा बनेको उक्त सिरिजको पहिलो भाग मङ्गलवार यूकेमा प्रसारण गरिएको थियो। दोस्रो भाग आउँदो मङ्गलवार प्रसारण हुँदैछ। 

बीबीसीले आफू "संसारभरका महत्त्वपूर्ण विषयहरूमा प्रकाश पार्न प्रतिबद्ध रहेको" जनाएको छ। 

उसले भारत सरकारलाई आफ्नो भनाई राख्ने अवसर दिइए तापनि उसले त्यो अस्वीकार गरेको जनाएको छ। 

एक ब्रिटिश प्रतिवेदनले उठाएका प्रश्न

तस्बिर स्रोत,GETTY IMAGES

पहिलो भागमा मोदी राजनीति प्रवेशका सुरुवाती कदम देखाइएको छ जसमा उनी भारतीय जनता पार्टी (भाजपा)का विभिन्न महत्त्वपूर्ण ओहदामा अघि बढ्दै पश्चिम भारतीय राज्य गुजरातको मुख्यमन्त्रीमा नियुक्त हुँदासम्मका विकासक्रम देखाइएको छ। 

उक्त वृत्तचित्रले यसअघि सार्वजनिक नभएका प्रतिवेदनहरू प्रस्तुत गरेको छ। 

ब्रिटिश विदेश मन्त्रालयबाट बीबीसीले प्राप्त गरेका ती विवरणहरूमा गुजरातको धार्मिक दङ्गामा मोदीको भूमिकाहरूबारे प्रश्न उठाइएको छ। 

त्यसबेला गुजरातमा हिन्दु तीर्थयात्रीहरू रहेको एउटा रेलमा आगजनी भएको भोलिपल्ट उक्त दङ्गा भड्किँदा दर्जनौँको सङ्ख्यामा मानिसहरू मारिएका थिए।  

धेरैजसो मुस्लिमहरूसहित १ हजारभन्दा धेरै मानिसहरू मारिएको उक्त दङ्गालाई भारत स्वतन्त्र भएपछिको सबैभन्दा खराब हिंसात्मक घटनाका रूपमा लिने गरिन्छ।

उक्त प्रतिवेदनले हिंसा भड्किने गरी "दण्डहीनताको माहौल" बनाउन मोदी "प्रत्यक्ष रूपमा जिम्मेवार भएको" दाबी गरेको छ।  

मोदीले हिंसामा आफ्नो जिम्मेवारीबारे लगाइएका आरोपहरू लामो समयदेखि अस्वीकार गर्दै आएका छन्। उनले उक्त दङ्गाका लागि माफी समेत मागेका छैनन्।  

सन् २०१३ मा भारतको सर्वोच्च अदालतको एक इजलासले उनीमाथि अभियोजन चलाउन पर्याप्त प्रमाणहरू नरहेको जनाएको थियो। 

भारत सरकार र बीबीसीले के भनेका छन्?

तस्बिर स्रोत,GETTY IMAGES

विदेश प्रवक्ता बाग्चीले यतिखेर उक्त वृत्तचित्र बनाउनुको बीबीसी उद्देश्यबारे प्रश्न उठाएका छन्। 

"हामीलाई यस अभ्यास र यसपछाडिको उद्देश्यले अचम्मित पारेको छ," उनले भने। 

"यो खास बदनाम गराउने उद्देश्यको भाष्यलाई बढाउने गरी डिजाइन गरिएको प्रोपागान्डा सामग्री हो। यसमा पूर्वाग्रह, वस्तुनिष्ठताको अभाव र औपनिवेशिक सोचको निरन्तरता स्पष्ट रूपमा देखिन्छ।" 

आफ्नो एक वक्तव्यमा ब्रिटिश प्रसारकले भनेको छ: "धारावाहिक वृत्तचित्रले भारतका बहुल हिन्दु र अल्पसङ्ख्यक मुस्लिमहरूबीचको तनावलाई हेरेको छ र ती तनावबिच मोदीको राजनीति केलाएको छ।"

उक्त सामग्री "मिहिन ढङ्गले अनुसन्धान गरिएको" र त्यसमा "व्यापक दायराका विचार, प्रत्यक्षदर्शी र विज्ञहरूसम्म पुगेर भाजपाका सहितका मानिसहरूको धारणाहरू प्रस्तुत गरिएको" जनाइएको छ। 

ब्रिटेनको संसद्‍मा उठ्यो प्रश्न

उक्त प्रतिवेदन तत्कालीन विदेशमन्त्री ज्याक स्ट्रको आदेशमा गठन गरिएको छानबिनको एउटा हिस्सा हो।

जसमा "हिंसाको तह बताइए भन्दा निकै ठूलो रहेको" र त्यस दङ्गाको उद्देश्य हिन्दु क्षेत्रहरूबाट मुस्लिमहरूलाई नरसंहार गर्नु रहेको" सो प्रतिवेदनमा जनाइएको छ। 

"प्रहरीलाई फिर्ता बोलाउन सक्रिय भूमिका खेल्दै रणनीतिक रूपमा हिन्दु अतिवादीहरूलाई उक्साएको भन्ने ती निकै गम्भीर आरोपहरू हुन्। प्रहरीलाई हिन्दु र मुस्लिमहरूको सुरक्षा गर्ने आफ्नो काम गर्न रोक्नु राजनीतिक संलग्नताको झन् खराब उदाहरण हो," उक्त वृत्तचित्रमा स्ट्रले भनेका छन्। 

त्यसबेला ब्रिटिश सरकारले के गर्न सक्थ्यो भन्ने विषयमा उनले भने, "विकल्पहरू...सीमित थिए, हामीले भारतसँग दौत्य सम्बन्ध कहिल्यै तोड्ने वाला थिएनौँ, तर त्यो स्वाभाविक रूपमा उनको [मोदीको] प्रतिष्ठामा लागेको दाग हो।"

बिहीबार ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकलाई संसद्मा एकजना सांसद इमरान हुसेनले - के हिंसाका लागि मोदी प्रत्यक्ष जिम्मेवार रहेको उक्त प्रतिवेदनसँग उनी सहमत छन् - भनी प्रश्न गरेका थिए। 

उनले "जातीय नरसंहारको उक्त गम्भीर कार्यमा उनको संलग्नताबारे विदेश मन्त्रालयलाई थप के थाहा थियो? " भनी थप सोधेका थिए। 

सुनकले "आफूहरूले कहीँ पनि अत्याचार नसहने" बताएतापनि उनले मोदीको "चित्रण गरिएको चरित्रबारे आफू सहमत नभएको" बताए। 

विविसि वाट

२०७९ माघ ९ ०९:२७ बजे

प्रतिक्रिया