दुर्घटना के भाग्यको खेल हो !

bimbonline बाबुराम आचार्य
२०७९ पुष २५ १२:४१ बजे
दुर्घटना

बुटवल । अहिले बुटवलका सडकहरू निकै असुरक्षित हुँदै गएका छन् । केहि समय पहिला सम्म  मुख्य सडक वा सहायक सडकहरू  समयमै निर्माण कार्य सम्पन्न नभएर  असुरक्षित रहेकोमा हाल आएर केही शाखा सडकहरू कालोपत्र सम्पन्न भएता पनि सडकको बिजुली बत्ती , स्थानीय टेलिफोन तार विभिन्न केबुल नेटवर्क का तारहरू व्यवस्थापन हुन नसक्दा नयाँ रूपमा सडक थप असुरक्षित बन्दै गएको हो।  नेपाल सरकारका विभिन्न निकायहरू , निजी केबुल नेटवर्कका सञ्चालकहरू र बुटवल उपमहानगर बीच तालमेल नहुदाँ   यस्तो समस्या आएको बताउँछन् केही जानकारहरू

Open photo

पाँच वर्षमा निर्माण सक्ने गरी २०६८-६९ मा सुरु भएको बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाको काम दश वर्ष बितिसक्यो तैपनि बुटवलको चिडियाखोला देखी राजमार्ग चौराहा सम्मपूर्ण निर्माण  सम्पन्न भएको छैन। उता  परियोजना ले भने गत महिना आफ्नो सबै परियोजना समाप्त भएको बताउँदै मातहतको अफिस बन्द गरिसकेको छ  । आयोजनाको समय यसअघि नै पाँच  वर्ष लम्बिसकेको थियो। सम्झौता अनुरूप निर्माण नगर्ने ठेकेदारलाई कारबाही गर्ने परिपाटी कार्यान्वयन नहुँदा परियोजनाको काममा ढिलाइ भएको थियो र अहिले पनि चिडियाखोला चौराहा सडक खण्डमा त्यही समस्या बल्झिएको छ ।

लामो समयदेखि बुटवलका व्यापारी, यहाँका बासिन्दा र यहाँ आवतजावत गर्ने नागरिकले  बर्खामा हिलो, खाल्डाखुल्डी र हिउँदमा अत्यधिक धुलोका कारणले सृजित समस्या झेल्नुपरेको छ नै अहिले  सडकका धेरैजसो भागहरू मा पोलबाट बाटोमा लत्रिएका मसिना केबुल , तारहरू  र अन्य काला तारहरू बाटोमा छर्फस्ट र लथालिङ्ग पारिएका छन् जसले गर्दा पैदल यात्री मात्रै होइन स्कुटर, साइकल र मोटरसाइकल चालकहरूले समेत आफ्ना सवारीमा तार अल्झिएर सास्ती बेहोर्नु परेको छ।  अहिले पोलहरू बाट जमिनमा लतारिएका तिनै  तारहरूमा अल्झिएर कयौं दुर्घटनाहरू हुने गरेका छन् ।  बुटवलमा यतिखेर  धेरै बाटोहरूमा तारहरू झुन्डिएको , जमिनमा लत्रिएका छन् यसको उचित व्यवस्थापन किन हुन सक्दैन भनेर निकायमा प्रश्न गर्दा एक ले अर्को लाई र अर्कोले झन अर्को लाई देखाएर उम्कने गर्दछन्।

त्यसो त अहिले बुटवलको सडकमा बन्दै गरेका नालीले समेत थप असुरक्षित बनाएको छ । देविनगर–देवसिद्ध चोक जाने बाटोमा केही हप्ता अगाडि स्कुल हिंडेको एउटा बच्चा नालीको खाल्डोमा खस्यो । पानी नभएको संयोग र वरीपरीका मान्छेले तत्काल देख्नाले बच्चाको समयमै उद्दार हुन सक्यो । यस्ता दुर्घटना प्रतिको जिम्मेवार बन्ने ? बुटवलमा कति बेला  कुन सडक को अवस्था कस्तो हुन्छ  पत्तो नै हुदैन। निर्माणका  लागि भत्काइएको हुन्छ तर दशकौंसम्म निर्माण सप्पन्न हुदैन । ठेकेदारहरूको लापरवाही ,ढिला सुस्ती र सरकारी निकायको बेवास्ताले गर्दा आम जनताले दुःख बेहोर्नु परिरहेको छ। 

ठेकेदाररकम्पनीले  क्षमताभन्दा धेरै ठेक्का लिने, कानुन छल्ने, नक्कली फर्महरू दर्ता गर्ने गर्छन् । यसमा कर्मचारी, नेता पनि संग्लग्न हुन्छन्  जसको परिणाम  काममा ढिलासुस्ती , चरम लापरबाही हुने गर्छ । नियमन गर्ने निकाय छन् तर उनीहरुको तदारूकता रहदैन। नागरिकले सास्ती भोग्दा भोग्दा हैरान परेर यस्तै सहनु नै नियति ठान्नु पर्ने स्थिति छ।

गणतन्त्र , संघीयता र केके  अधिकार अर्थात सिहदबार बुटवलमै आउँदा पनि कुनै घटना भइहाल्यो भने दुर्घटना, भाग्यको खेल हो भनेर चित्त बुझाउनुपर्ने हो जनताले ?

Open photo

२०७९ पुष २५ १२:४१ बजे

प्रतिक्रिया