अफ्गानिस्तानमा महिला अधिकार माथि प्रतिबन्ध

अफ्गानिस्तानमा अहिले तालिबानको सरकार छ

bimbonline मनु वि.क.
२०७९ पुष २२ १३:०७ बजे
मनु वि.क.

काठमाडौं । अफ्गानिस्तानमा महिलाका अधिकारमाथि प्रतिबन्ध लागेको छ । अफ्गानिस्तानमा अहिले तालिबानको सरकार छ । तालिवान सरकारले महिलाका अधिकारहरू एक एक गर्दै खोसिरहेको छ ।अफ्गानिस्तान मुस्लिम देश हो । त्यहाँ महिलाहरूलाई मुस्लिम कानुन अनुसार हिँड्नु पर्दछ । तालिबानीहरू गतवर्ष अगस्ट एक्काईसमा मात्रै सत्तामा पुनस्थापित भएका थिए । बीस वर्ष अमेरिकी र नेटो सेनासंगको संघर्ष पछि तालिबानीहरू सत्तामा आएका हुन् । तालिबानीहरू सत्तामा आउँदा बित्तिकै महिला शिक्षा, महिलाका स्वतन्त्रता र मानव अधिकार के हुने हो ? भनेर शंका गरिएको थियो । स्वतन्त्रता प्रेमीहरुको मनमा चिन्ताहरू कायमै थिए । यसैबीचमा गत मार्च महिनामा माध्यमिक तहको अध्ययनमा केटीहरूलाई रोक लगाइएको थियो । केटीहरू स्कुलको ढोका सम्म पुग्नबाट रोकिएका, छेकिएका छन् । केटीहरुलाई स्कूलको सम्पूर्ण ढोकाहरू बन्द भएका छन् । केटीहरुलाई  घरमै बस्न बाध्य पारिएको छ । केटीहरू स्कुल जाँदा स्कुलका ढोकामा रहेका गार्डहरूले केटीहरूलाई रोकिरहेका छन् । 

दुई हप्ता अगाडिको मंगलबार मात्रै महिलाहरूलाई विश्वविद्यालय प्रवेशमा रोक लगाएको छ । विश्वविद्यालय अध्ययन गर्ने महिलाहरुलाई शिक्षा मन्त्रालयले सूचना जारी गरेर अर्को सूचना जारी नहुँदासम्मका लागि महिलाहरूलाई विश्वविद्यालय प्रवेश गर्न नदिनु भन्ने निर्देशन देश भरि जारी गरिएको छ । विश्वविद्यालयको गेटमा महिलाहरू र गेटका गार्ड बिचमा लडाइँ भएको छ । महिलाहरूलाई विश्वविद्यालय गेटका सुरक्षार्थ खटिएका गार्डहरूले विश्वविद्यालयको गेटबाट फर्काइ दिएका छन् ।यो भन्दा अगाडि अफ्गानिस्तानमा महिलाहरूलाई सार्वजनिक स्थल , पार्कहरू , जिम खानाहरुमा जान रोक लगाइएको थियो । पार्कहरू महिलाका लागि बन्द छन् ।गत हप्ता विहीबार मात्रै अफ्गानिस्तानको अर्थ मन्त्रालयले महिलाहरूलाई राष्ट्रिय, अतथा आई. एन.जि .ओ मा काम गर्न रोक लगाएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाइएको छ ।अर्थ मन्त्रालयले यसरी प्रतिबन्ध लगाउनुको कारण महिलाहरूले हिजाब राम्ररी नलगाउनुका साथै सरिया कानुनको पनि पालना नगरेकाले हो भनेर बताएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता नदिमले महिला विद्यार्थीहरूले शैक्षिक संस्थाहरूमा जाँदा पहिरिएका ड्रेसहरु विवाह समारोहमा जाँदा लगाउने जस्ता भएको बताएका छन् । अफ्गानिस्तानमा महिलाहरूमाथि, महिलाका अधिकार र स्वतन्त्रतामाथि एक एक गरेर प्रतिबन्ध लगाउने क्रम जारी छ ।यी घट्ना हेर्दा महिलाहरुलाई अझै कडा प्रतिबन्ध लगाउन सक्ने सम्भावना रहेको छ । महिलाहरुको शैक्षिक संस्थाहरूमा लगाइएको प्रतिबन्धको विरोधमा उत्रिएका महिलाहरू, बुद्धिजीवी, प्राध्यापक, पत्रकारहरूमाथि व्यापक दमन गरिएको छ । उनीहरूलाई गिरफ्तार गरिएको छ ।महिलाहरुले “शिक्षा हाम्रो अधिकार हो ।” भन्दै नारा लगाइरहेका छन् । विश्वद्यिालयलहरुमा महिला विद्यार्थीहरुलाई रोक लगाउँदा बित्तिकै त्यहाँ जुलुस निस्किएको थियो ।तर जुलुसमा सहभागीहरुलाई तुरुन्त गिरफ्तार गरिएको थियो । करिब तिन महिनादेखि इरानमा महिलाहरूले हिजाब विरोधी संघर्ष चलाईरहेका छन् । हिजाबविरोधी संघर्षमा राज्यका तर्फबाट व्यापक दमन चलाईएको छ । महिला, पुरुष, बुद्धिजीवि ,पत्रकार, कलाकार प्राज्ञिक व्यक्तिहरु माथि चलाइएको दमन हत्या र झुन्ड्याउने तहसम्म रहेको छ । 

अफ्गानिस्तानमा तालिबानको सरकारले महिलामाथि कम दमन गर्ने जस्तो देखिँदैन । त्यहाँ महिलाहरूले खुरुखुरु स्कुल , कलेजमा गएका थिए । उनीहरूलाई स्कुल ,कलेज ,क्याम्पस प्रवेशमा कडा रोक लगाईयो । पछि सार्वजनिक स्थल, पार्कहरु,जिमखानाहरु जान रोक लगाईयो र भर्खरै मात्र एन ।जी .ओ , आई .एन. जि ओ मा काम गर्न रोक लगाएको छ । सरकारले यसरी एक एक गर्दै महिलाका अधिकारको कटौती गर्दै गइरहेको अवस्थामा महिलाहरू संसार हेर्न, संसारलाई बुझ्न, संसारको गतिशिलता अनुसार आफ्नै खुट्टामा उभिएर काम गर्नबाट बञ्चित गरिएको छ । महिलाहरूलाई अन्धकारको घेराभित्र सीमित गर्ने षड्यन्त्र भैरहेको छ । अफ्गानिस्तानमा झण्डै चार करोड जनसंख्या रहेको छ । झण्डै दुई करोड जनसंख्या महिलाको छ । यो संख्यालाई अँध्यारो कुनातिर धकेलेर पुरुष सत्ता मस्त बस्न चाहेको बुझिन्छ । महिलाहरू, केटीहरू स्कुल , कलेजमा गएपनि पूरा अनुशासनपूर्वक हिजाब बुर्का लगाएर स्कूल, कलेज क्याम्पसले निर्धारित गरेका नियमहरु मानेर मात्रै गइरहेका थिए । उनीहरूलाई केटाकेटी संगै बस्न संगै अध्ययन गर्न मनाही थियो । केटाकेटी छुट्टाछुट्टै बसेर पढिरहेका थिए । केटीहरू, महिलाहरू रमाउँदै स्कुल रमाउँदै कलेज गईरहेका थिए । तर अब भने महिलाहरुका लागि सार्वजनिक शिक्षाका सम्पूर्ण ढोकाहरू बन्द भएका छन् । सार्वजनिक पार्कका ढोकाहरू र अर्थोपार्जनका ढोकाहरू बन्द भएका छन् ।
अफ्गानिस्तानमा यसो हुनु विश्वका महिला अधिकार प्रेमी, शिक्षाप्रेमी, स्वतन्त्रताप्रेमी, समानताप्रेमी र मानव अधिकारवादीलाई निकै चिन्तित तुल्याएको छ । स्वयम अफगानिस्तानको गतिलाई पनि पछाडि धकेल्ने छ ।मानव विकासको इतिहासमा, जीवन जिउने संघर्षमा महिलाहरूले पुरुष बराबर संघर्ष गर्दै आए । चाहे जंगली युगमा होस, दास युग,तथा सामन्तवादी तथा आजको भूमण्डलीकृत पूँजीवादमा होस महिलाको योगदान अतुलनीय छ ।महिला अर्थात् आमा ,दिदी, बहिनी, श्रीमती, भाउजु , छोरी, बुहारी हुन् । सबभन्दा पहिले आमा नहुदी हुन् पुरुष पुरुष हुने थिएनन् । आमाले नै सन्तानको अहम भूमिका खेलेर मात्रै पुरुषको बृद्धि विकास हुन्छ श्रृष्टिका सन्दर्भमा पुरुषको जति भूमिका छ महिलाको पनि छ । महिला पुरुष दुवैको अस्तित्वले नै मानव समाज अस्तित्वमा छ । त्यसको अलावा एक सन्तानको लालनपालनका साथै हुर्काउने बढाउने काममा महिलाको अतुलनीय योगदान रहेको हुन्छ । आमाले नौ महिना सम्म पेटमा बोक्नु ,जन्मिएपछि उच्च सर्तकताकासाथ हुर्काउने काम गर्नु ,हुर्काइ सकेपछि उसको भविष्यको लागि योगदान दिनु । यी सबै काममा महिलाको बढी नै योगदान रहेको हुन्छ । जब महिलाले यी काम गर्दछिन अनि मात्र राष्ट्र ,समाज, देशले राम्रो ,कर्मठ नागरिक व्यक्ति प्राप्त गर्न सक्दछ । 

आमा , दिदी बहिनी , बुहारी, भाउजु श्रीमती कै सहयोगमा खुट्टाले हिड्न, बोल्न, चल्न र आफ्नो उन्नति प्रगति गर्न सक्दछ । तर विडम्बना तिनै महिलाहरुमाथि कहिले राज्यका नियमका नाममा, कहिले सरकारका निर्णयका नाममा ,कहिले धार्मिक ठेलीमा उल्लेखित संहिताको नाममा, कहिले प्रथा परमपराका नाममा अवरोध गर्ने क्रम जारी नै छ । त्यसैक्रमको एक कडिको रुपमा अफ्गानिस्तानमा महिलाहरुका शिक्षा , रोजगार , सार्वजनिक स्थलहरुमा प्रवेशको रोक लगायतका कुराहरु हुन् । आज विश्वजनले हिड्नलाई ,उभिनलाई निकै संघर्ष गरिरहेको छ । मानवले जिउनलाई निकै संघर्ष गर्नु परेको छ । विश्व आज कसैको एक हातमा नाँच्न सक्ने भएको छ । जति बेलापनि निरन्तर संघर्षरत छ ।तर अफ्गानिस्तानमा महिलाहरुमाथि जुन अवरोध भएको छ त्यसले महिलाहरुका आगामी दिन निकै कष्टकर हुनेछ भन्ने संकेत मिल्दछ । महिलाहरूले बाँच्नका लागि पुरुषसंग भर पर्नु पर्ने छ । महिलाहरु ,छोरीहरु पढ्न लेख्न जानु भनेको आर्थिक उपार्जन मा लाग्नु भनेको घर व्यवहार चलाउन सजिलो हुनु हो भने महिला आर्थिक रुपले सबल र सक्षम हुनु हो । जमाना समानताको हो, जमाना सक्षमताको हो, जमाना स्वतन्त्रताको हो तर महिला अधिकार माथि जुन प्रतिबन्ध लागेको छ त्यो समाजलाई मध्य युगतिर फर्काउनु हो त्यो इतिहासको गतिलाई बल पूर्वक पछाडि धकेल्ने कुचेष्टा सिवाय अरु केही होईन । केटीहरूलाई माध्यमिक शिक्षामा प्रतिबन्ध लगाएपछि कलिला दिमागका केटीहरू ले आउँदो दिनकालागि के दिने रु कलेजमा प्रतिबन्ध लगाएपछि युवा महिलाहरूले आजभोलि नै के दिने रु आज महिलाहरूलाई ज्ञान लिनबाट रोकिएको छ, महिलाहरूले ज्ञान पाउनबाट रोक्नको लागि धेरै जना चाहिएको छैन । दुईचार जना मन्त्रीहरु भए पुगेको छ । उनीहरुको निर्णय र निर्देशन शिक्षित महिलाहरूलाई रोकेको छ ।उनका निर्णयले महिलाहरुका अग्रगामी पाईलाहरु रोकिनु पर्ने भएका छन् । साँच्चि “ज्ञान नै शक्ति हो । ” जब महिलाहरूले ज्ञान प्राप्त गर्नेछन् तब उनीहरुमाथि वर्षौंदेखि थोपरिएका निकृष्ट षड्यन्त्रहरुको जरा उखेल्ने छन् । राजनीतिक आर्थिक ,सामाजिक, सांस्कृतिक रुपमा लादिएका कुचलनहरु च्यात्ने छन् ।

जसले त्यसैका आडमा सत्ता आफ्नो स्वार्थ पूरा गरीरहेका छन् उनीहरुको उत्तानो जरा लाग्ने छ शायद यहि सोचेर नै होला महिलाहरुहाई क्याम्पस, कलेज र स्कुलका गेटमा रोकिएको । सायद यहि भएर होला महिला शिक्षाका लागि संघर्षरतमाथि दमन चलाईएको,सायद यहि भएर होला प्रतिबन्धको विरोधमा निकालिएको जुलुशलाई गिरफ्तार गरिएको छ । अझै स्थिति त्यतिमा सीमित नहुने देखिन्छ स्थिति के होला कस्तो होला, संघर्ष कसरी अगाडि बढ्छ त्यसले नै अफगानिस्तानमा महिलाको स्थिति निर्धारण गर्नेछ ।तर जुन प्रतिबन्ध जारी गरिएको छ त्यो भने अफ्गानिस्तानका महिलाकोलागि निकै दुखद् छ । आज पनि समाजले महिलालाई जड बनाउन चाहेको छ । महिलाको चेतनालाई थुन्न, रोक्न चाहेको छ । महिलालाई चेतनशील प्राणी भएर यो समाजमा बाँच्न नदिन चाहेको छ भन्ने एउटा उदाहरण हो । तर अब यो यति सजिलै महिलाले मान्ने वाला छैनन् ।सरकारको निर्णय, निर्देशनलाई सजिलै टेर्नेवाला छैनन् । युग एक्काईसौ शताब्दीका हो , यो युग भनेको प्रविधिले संसार जेलेको युग हो जो सुकैका गलत कदमहरुलाई कसैले पनि अन्धाधुन्ध स्वीकार गर्न मान्दैनन् । उनीहरुले आफूसंग भएको आन्तरिक क्षमताको, आन्तरिक चेतनाको प्रयोग गर्दछन् । महिलाहरुसंग पनि ज्ञान छ ।ज्ञान लिनका लागि आँखा ,नाक, मुख ,कान र छाला छन् । महिलाहरूले सजिलो, असजिलो , दुःख, सुख महसुस गर्न सक्छन् । उनीहरुका आँखाले पनि संसारलाई, संसारका गतिविधिलाई राम्रोसंग हेरेर थाहा पाउन सक्छन् । उनीहरु पनि राम्रो सँग अनुभव गर्न सक्छन् । आखिर ज्ञान लिने श्रोतहरु त यीनै हुन् । यही ज्ञानेन्द्रीयहरुले ज्ञान दिएर त पीडितहरु जुरमुराएका इतिहास छन् । त्यसैबाट त काला कानुन च्यातिएका छन् । हो आखिर अफ्गानिस्तानमा महिलामाथि जुन प्रतिबन्ध लगाएका छन् त्यो पनि च्यातिने छ । अन्त्यमा प्राचिन मिश्रमा कविलाहरुको उदय भएपछि कविलाहरुको बीचमा लडाइँ हुन्थ्यो । एउटा कविलाले अर्को कविलालाई जित्दथे ।हारेका कविलाका सम्पत्तिहरु , मानिसहरु सबै जितेका कविलाको हुने गर्र्दथ्यो । पक्रिएका युध्दबन्दीहरुलाई शुरुमा कुटि कुटि मारिन्थ्यो ।त्यसकारण त्यति खेर उनीहरूलाई ‘मूर्दा ’ भनिन्थ्यो । समयक्रममा पक्रिएका युद्ध बन्दीहरुलाई काममा लगाउन थालियो ।त्यसपछि पक्रिएकाहरुलाई ‘जिउँदा मूर्दा ’भनिन्थ्यो । तीनैलाई दास बनाएर काममा लगाउँदा मालिकलाई निकै फाईदा भएकाले यिनीहरुलाई मारिएको थिएन ।

अहिले अफ्गानिस्तानमा पनि सरकारले महिलाहरूलाई जिउँदा मूर्दाको रुपमा व्यवहार गर्न चाहेको छ ।महिलाहरुलाई शिक्षा बञ्चित गर्ने हिड्न, डुल्न रोक लगाउने, आय आर्जन गर्न रोक लगाउने सरकारको निर्णयले अब महिलाहरुका चारै ढोका बन्द भएका छन् । महिलाहरू अब जान्ने, बुझ्ने नहुन्,महिलाहरु घरायसी काममा मात्र बसुन भनेको छ ।त्यहाँको सरकारले महिलालाई जिउँदा मूर्दाको रुपमा राख्न चाहेको छ । महिलाहरू जिउँदा मूर्दा होईनन् ।इतिहासका दर्बिला पाङ्ग्रा हुन् महिलाले पढ्न पाउनु लेख्न पाउनु महिलाका अधिकारको कुरा हो महिला महिला मात्र होईन । सक्षम र सबल मान्छे हो महिला जनावर होईन मानव हो मानवले उपभोग गर्न पाउनु पर्ने सम्पूर्ण अधिकार महिलाले उपभोग गर्न पाउनु पर्छ । मान्छेका बीचमा विभेद रच्ने यो वा त्यो बहानाका सम्पूर्ण चीजहरु तत्काल हट्नु पर्छ । अफगानिस्तानमा महिलाहरू माथिको विभेद अन्त्य गर्न विश्वभरबाट दबाब सिर्जना गरौं ।

२०७९ पुष २२ १३:०७ बजे

प्रतिक्रिया