संसदीय निर्वाचनले थप राजनैतिक संकट बढायो

bimbonline प्रेम सुवेदी
२०७९ मंसिर २० १५:४७ बजे
प्रेम सुवेदी

प्रेम सुवेदी, काठमाडौं । मंसिर ४ गते सम्पन्न निर्वाचनको करिब अन्तिम परिणाम आँउदै छ तर कुनै पनि दलले बहुमत नल्याएकाले सरकार कसले बनाउँछ भन्ने कुरा अझै पनि अन्योल नै छ । निर्वाचनको समग्र रुझानलाई हेर्दा यो ब्यवस्था असफल भएको अनुमान सहझै गर्न सकिन्छ । यो निर्वाचनले देशको राजनीति थप संकट्तर्फ धकेलिदिएको र वैदेशिक शक्ति केन्द्रको चलखेल र भुमिका अरु बढाएको छ । अहिलेको निर्वाचनलाई केन्द्र बनाएर गरिएका गठबन्धन मुलतः असफल भएका छन र उनिहरुका अनुमान फिका साबित भएका छन । एकातिर, सत्तासिन पाँच दलीय गठबन्धनको कथित दुई तिहाइको दाबीले नराम्रो गरि हावा खाएको छ भने अर्कोतिर प्रमुख प्रतिपक्ष सहितको गठबन्धनको सहज बहुमतको अपेक्षा पनि असफल भएको छ । यसरी संसदवादी पार्टीको गठजोडले असफलता पाउनु भनेको क्रान्तिकारीहरूका लागि सकारात्मक कुरा हो । तर, त्यसलाई क्रान्तिकारीहरूले ठिक दिशानिर्देश गर्न नसकेमा त्यसको फाइदा प्रतिगामीहरूले उठाउन सक्ने खतरा पनि त्यतिकै हुन्छ । तसर्थ अहिलेको निर्वाचनमा संसदवादी पार्टीहरूको यो असफलतालाई मुल्यांकन गर्ने क्रममा क्रान्तिकारी कम्युनिस्टहरूले बहुआयामिक ढ्ङ्गले बिचार गर्नु पर्दछ ।निर्वाचनमा जनताले यो ब्यवस्था र संसदवादी पार्टीहरुप्रती व्यक्त गरेको आक्रोश तथा जनताको सचेत बहिष्कार र विरोधको महत्त्व राम्रोसङ्ग प्रकट भएको छ । संसदीय पार्टीहरु आफ्नो असफलतालाई अर्कोको पराजयसङ्ग तुलना गरेर आत्मरती लिइरहेका छन । जस्तो कि पाँच दलीय गठबन्धले एमालेले बहुमत ल्याउन नसकेकोमा खुशी मनाइरहेको छ भने एमालेले गठबन्धनको बहुमत नआएकोमा खुशी देखिन्छ । 

चुनावको परिणामले आर्थिक, राजनीतिक क्षेत्रमा थप बिकृती, बिसङ्गती, महङ्गी, अनियमितता, भ्रष्टाचार कालोबजारी तस्करी मौलाउने र बिदेशीहरुको हस्तक्षेप बढेर जाने प्रष्ट छ । संसदीय राजनीतिमाबिश्वास गर्ने कैयौं बुध्दिजीविहरुले समेत यो ब्यवस्था असफल भएको निष्कर्ष निकाल्न थालेको वर्तमान परिस्थितिमा कम्युनिस्ट क्रान्तिकारी तथा प्रगतिशील देशभक्तहरुले बैकल्पिक योजना र कार्यक्रमका सहित सघर्षको तयारी गर्नु आजको आवश्यकता हो ।संघीय र प्रदेशको निर्वाचनले दिएको मत परिणामले देश थप अन्योल र अस्थिरमा धकेलिएको छ । प्रतिक्रियावादी तथा संशोधनवादी पार्टीहरूले निर्वाचनद्वारा स्थायित्व कायम हुने र देश समृद्धितर्फ लाग्ने जुन प्रचार गरेका थिए त्यो कुरा गर्न सक्ने अवस्थामा स्वयं संसदवादी पार्टीहरुलाइ नैतिक आधार बाकी रहेको छैन । अहिलेको चुनावले पहिलो कुरा कथित मुल धारका भनिने पार्टी र संगठनहरुको औचित्यता माथि नै गम्भीर प्रश्न उठाइदिएको छ्र र ऊनीहरुको असफलता प्रकट रुममा उदाङ्गिएको छ । ध्दितिय यो चुनावले संसदीय ब्यवस्थाको असफलतालाई कुनै टालोद्वारा छोप्न नसक्ने गरि नाङ्गो बनाइदिएको छ । तृतीय नयाँ रुपमा उदाएका शक्ति र ब्यक्तिहरुले पनि देशको राजनीतिमा कुनै परिवर्तनको अनुभुति दिन सक्ने संभावना छैन र तिनीहरुले पनि साम्राज्यवादको नयाँ दलाली गर्ने बाहेक अरु भूमिका खेल्न सक्ने कुनै आधार छैन । त्यति मात्र होइन यो चुनावले महङ्गी, कालोबजारी भ्रष्टाचार र वैदेशिक ऋणमा वृध्दि गर्नुका साथै देशको अर्थतन्त्रलाई ध्वस्त बनाउने र आर्थिक र राजैनैतिक हिसावले टाट पल्ट्ने स्थिति उत्पन्न हुने देखिन्छ ।

तसर्थ, कम्युनिस्ट क्रान्तिकारीहरु वामपन्थी प्रगतिशील तथा देशभक्तहरूले यो अस्थिरता अन्योलता र अब्यवस्थाको अन्त्य गर्न तथा मुलुकको स्वाभिमान र स्वाधीनताको लागि स–साना मतभेदलाई केन्द्रमा राखेर होइन, देश र जनताको सर्वोपरि हितलाइ केन्द्रमा राखेर योजना कार्यक्रम निश्चित गर्नु पर्ने समयको माग र आवस्यकता हो । यदि समयको त्यो माग र आवस्यकताप्रती उपेक्षा गरेर अहिलेको संकटवाट उम्किन कसैले खोज्यो भने त्यसले देशलाई मात्रै होइन स्वयं ती पार्टी र संगठनको अस्तित्व समेत इतिहासमा कैद हुने निश्चित छ । त्यसैले समयमै सबै क्रान्तिकारी कम्युनिस्टहरु वामपन्थी प्रगतिशील र देशभक्त शक्तिहरुले यो ब्यवस्थाको विकल्पमा अग्रगामी निकास सहितको योजना र कार्यक्रममा जुट्नु पर्ने आवश्यकता छ । चुनावको विरुद्धमा बहिष्कार, अवज्ञा, खारेज र नो भोट लगायतका बिषयमा आवज उठाउदै विभिन्न संघर्षमा सामेल भएका शक्तिहरुले अवको निकासमा आ आफ्ना एजेन्डामा होइन, साझा सहमतिको खोजी गर्न जरुरी छ । त्यस प्रकारको साझा सहमति खोजी गर्नु भनेको अहिलेको ब्यवस्था भन्दा उन्नत प्रगतिशील र देशको स्वाधीनता र स्वाभिमान कायम हुने र जनताका अनाधिकारको प्राप्ति, जनजीबिकाको सुनिश्चित हुने ग्यारेन्टी हुनु पर्दछ । अहिले आन्दोलनरत सबै पार्टी र संगठनहरुले स्वीकार गरेको वैदेशिक हस्तक्षेप, परनिर्भर अर्थतन्त्र र उत्पादनका हिसाबले निर्भाहमुखी अर्थ ब्यवस्था नै हाम्रा मुख्य चुनौती हुन । ती कुराको सम्बोधन गर्नु भनेको मुलतः देशमा पुजीवादको बिकास गर्दै बैज्ञानिक समाजवादम पुग्नु हो । स्वतन्त्र पुजीवादको बिकास नभै समाजवादमा पुग्न सकिन्न र त्यसका लागि पुजीवादी जनवादी क्रान्तिको चरण अनिवार्य बन्न जान्छ, त्यो यथार्थतालाइ आत्मसात गर्दा सबैको मिलान बिन्दु एउटै हुन सक्दछ । अहिले विभिन्न पार्टी वा संगठनले जे जस्ता नीति र कार्यक्रमहरु अगाडि सारेको भए पनि ती सबैलाई सम्मान गर्दै साम्राज्यवाद बिस्तारवादको हस्तक्षेपको बिरोध, दलालपुजिवाद, नोकरशाही पुजीवाद र सामान्तवादको समुल अन्त्य गर्ने कुरा आज सबैको साझा बिषय हो । उपरोक्त बिषयलाई साझा एजेन्डा बनाउदा कसैको राजनैतिक कार्यदिशालाई हानी नोक्सानी गर्ने पनि देखिदैन । जहाँसम्म उक्त लक्ष्य प्राप्तिको लागि सङ्घर्षको कुरा छ त्यो बिषयमा गहन छलफल गर्न सकिन्छ र गर्नु पनि पर्दछ । न्युनतम साझा समझदारी कामय गर्दै सघर्षका लागि योजना बनाउनु अहिलेको आवस्यकता हो । जब देश र जनताको सर्वोपरी हितलाई केन्द्रमा राखिन्छ त्यसले नै नयाँ जटिलता र अफ्ट्यारोलाई चिर्न मार्गप्रसस्त गर्दछ । हाम्रा बीचमा रहेका मतभेद वा आआफ्ना अडानलाई केन्द्रमा राखेर होइन, समग्र आजको राजनैतिक आर्थिक संकट र त्यसले पार्ने नकारात्मक प्रभावलाई हेरेर खोजिने समझदारीले नै हामीलाई ठिक दिशातर्फ लैजाने छ । वर्तमानमा देखिएका यी गम्भीर चुनौतीहरुलाइ जनताको न्यायपुर्ण क्रान्तिले मात्र पूरा गर्न सक्दछ र त्यसका लागि सघर्षरत पार्टी र संगठनहरु सबैभन्दा जिम्मेवार रुपमा अगाडि आउनु पर्दछ र त्यसले मात्र अहिलेको प्रतिक्रियावादी राज्यसत्ता, ब्यवस्था तथा वैदेशिक हस्तक्षेपलाई अन्त्य गर्दै जनताको राज्यसत्ता स्थापना गर्न सम्भव हुनेछ ।

 दुनियाँभरीका प्रतिक्रियावादीहरु मरणासन्न पुजीवादको रक्षाकलागि जसरी आफ्नो वर्गको हित र स्वार्थमा एकीकृत र सङ्गठित छन, ठिक सर्वहारा श्रमजिवि वर्गका प्रतिनिधि पार्टी र सङ्गठन त्यो भन्दा बढी एकाकार भएर नै सघर्षलाइ निर्णायक बनाउन सकिन्छ र सक्नु पर्दछ । तर, आज उत्पीडित वर्ग सबैतिर बिभाजित र खण्डित भएकोले समयले तिरास्कार गरिसकेको साम्राज्यवादले म्यादी शासन चलाइरहेको छ । वर्तममानमा देखिएका संकटलाई क्रान्तिकारी सघर्षले मात्र हल गर्न सक्दछ र त्यसका लागि सबै कम्युनिस्ट क्रान्तिकारीहरु एकताबद्ध हुँदै आन्दोलनको सृष्टि गर्ने तर्फ जुट्नु पर्दछ ।(लेखक(नेकपा)क्रान्तिकारी माओवादीका पिविए एव सुप इन्चार्ज हुनुहुन्छ।)


२०७९ मंसिर २० १५:४७ बजे

प्रतिक्रिया