नारायण शर्मा, काठमाडौं । अहिले नेपालमा संघीयसभा र प्रादेशिक सभाको चुनाव २०७९ सम्पन्न भैसक्दा नसक्दै देश र जनताका लागि यो चुनाव परिणाम रुपमा केही नयाँ, उत्साह र आशाजनक वातावरण निर्माण गरेको जस्तो देखिए पनि सारमा कतिपय अत्यन्त अप्रिय कुराहरूको प्रमाणित गरेको छ भने केही सर्वाधिक गम्भीर कुराहरूको संकेत पनि गरेको छ । ती कुराहरू यसप्रकार छन् :
*यो व्यवस्था दलाल पुँजीवादी व्यवस्था हुनाले यसमा प्रतिनिधित्व, पहुँच, पकड र प्रभुत्व पुँजी र पुँजीवादी वर्गकै, त्यसमा पनि दलाल पुँजीपति र बहुराष्ट्रिय पुँजीपति र वैदेशिक शक्तिकेन्द्रहरू हुने कुरा सैद्धान्तिक रुपमा स्पष्ट नै भएको कुरा हो । यो कुरा चुनावको सुरुवाती क्षणदेखि सम्पन्न हुँदासम्म नै देखिँदै आएको छ । यो सर्वाधिक गम्भीर चिन्ताको विषय हुन पुगेको छ ।
* यो चुनावमा पनि प्रायः पार्टीका टाउके-लाउके नेताहरू, गुट र लुटका नाइके-काइते नेताहरू र तिनका नाते-पाते, खाते-पिते, आसेपासे र गासेदा-सेहरुले नै टिकट पाए र तिनीहरु बिचमै तन, मन, धन र जन आदि सबै प्रकारको सहयोग आदान-प्रदान भयो । विडम्बना, तुलनात्मक रूपले स्वच्छ, सदाचारी, जनप्रिय , देशभक्त र स्वाभिमानी-स्वविवेकीहरुलाई अन्यायपूर्ण र अपमानजनक तरिकाले टिकटै दिइएन र कतिपय टिकट दिइएका यस्ता व्यक्तित्वहरूलाई पार्टी र गठबन्धनभित्रैबाट अन्तर्घात गरी हराइयो । यो संसदीय व्यवस्था अन्तर्गतको यो चुनावमा देश र जनताले अपेक्षा गरेजस्तो परिणाम आउने कुरा सहज र स्वाभाविक नहुने स्पष्टै थियो । यो कुरा अहिलेको परिणामले पुष्टि गरिरहेको छ ।
* यो चुनाव प्रणाली नाममा बहुमतीय र लोकतान्त्रिक भनेर जति डङ्का पिटे पनि सारमा र परिणाममा त अल्पमतीय र अलोकतान्त्रिक प्रणाली नै हो भन्ने समेत खुला, स्पष्ट र नाङ्गो रुपमा प्रमाणित भएको छ ।
* यो अपारदर्शी र अति खर्चिलो प्रणाली नै हो भन्ने वास्तविकता पनि पुनर्पुष्टि हुन गएको छ । यो यति धेरै खर्चिलो चुनावप्रणाली हो कि सामान्यतः धनी देशहरूले पनि र विशेषतः नेपालजस्ता गरीब देशहरूले धान्नै नसकिने हुन्छ । अहिलेको चुनाव गराउनको लागि नेपालले विदेशीहरूसँग समेत लिएको ॠण-अनुदान खर्च भएको छर्लङ्ग नै छ । त्यसै त वैदेशिक ऋणको भार र व्यापार घाटाले टाट पल्टन थालेको यो मुलुकमा बर्सेनी हुने यसप्रकारका चुनाव-खर्च देशले धान्ने कुरै भएन । यसरी नै पार्टी र उम्मेदवारहरूले गरेको वास्तविक खर्चको योगफल निकाल्ने हो भने पनि त्यो संख्या कहाली लाग्दो नै हुनेछ १ यो खर्च उठाउन नेताहरूबाट हुने-गराइने भ्रष्टाचार, कमिसनखोरी, घुसखोरी, महङ्गी, कालोबजारी, कर-भन्सार-राजश्वछली, अनियमितता र ठगीधन्दाले देशमा अकल्पनिय र अप्रिय स्थिति सिर्जना नहोला भन्न सकिन्न । यसरी हेर्दा यो चुनावले देश नै डुबाउँछ भन्ने ठुलो दुखानुभूति गराएको छ ।
* यो व्यवस्थाको यसप्रकारको चुनाव प्रणालीमा धनीमानी र हुनीखानीहरुले मात्र चुनाव लड्न सक्छन् र तीमध्ये जस्ले विभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय पावर र पैसाका केन्द्रहरुको बढीभन्दा बढी समर्थन, सद्भाव र सहयोग प्राप्त गर्न सक्छन्, तिनैले मात्र जित्ने चुनाव हो भन्ने कुरा पनि छर्लङ्ग भएको छ ।
* राष्ट्रिय र अन्तर्राष्ट्रिय पुँजीपति र पावरसेन्टरहरुबाट सहयोग पाएकाहरुमध्ये पनि जस्ले सीधा, खुला, निर्लज्ज र नाङ्गो रुपमा पैसा खर्च गर्न, बाँड्न र पावरको प्रयोग र परिचालन गर्न सक्छन्, तिनैले नै जित्छन् भन्ने समेत साबित भएको छ ।
* धेरैजसो जित्न नपर्ने र हराउनै पर्ने निरन्तर देश बेच्ने-खाने भ्रष्ट-दुष्ट, दास-दलाल र खाओ-कमाओवादीहरुले नै यसपटक पनि चुनाव जितेकोले परिवर्तनको अनुभव गर्न नपाइने निश्चितप्रायस् छ । त्यसैले यसमा खुशी लाग्ने कुरै भएन ।
* केही जित्नैपर्ने र जिताउनै पर्ने सच्चा देसभक्त, जनपक्षीय, इमान्दार क्रान्तिकारी, स्वच्छ र स्वाभिमानीहरुले पार्टी र नेतृत्वमा पहुँच र पकड भएका देसद्रोही, पार्टीद्रोही, जनविरोधी र क्रान्तिविरोधी गिरोहका कारण प्रथमतः टिकटै पाएनन्, र पाएकाले पनि ती गिरोह र तिनका मालिक साम्राज्यवादी(विस्तारवादी शक्तिकेन्द्रहरुको आर्थिक र राजनीतिक चलखेल र हस्तक्षेपले गर्दा अन्तर्घात समेत हुन गै त्यस्ता व्यक्तित्वहरूलाई सत्ता राजनीतिको रङ्गमन्चबाटै पन्छाइएकोले निकैनै गम्भीर चिन्ता, पीडा र आक्रोशको अनुभूति भएको छ ।
* MCC नागरिकता विधेयक, अपर कर्णाली सम्झौताजस्ता चरम राष्ट्रघाती कृयाकलापहरुको खुलेर, सशक्त र प्रभावकारी विरोध गर्ने स्थापित र प्रभावशाली नेताहरुलाई नै यो हस्तक्षेपको शिकार बनाइएको कुरा नितान्त खेदको विषय भएको छ ।
* नयाँ अनुहारका विजेताहरुमा पनि कुनै प्रस्ट विचार, भिजन र मिसनभन्दा पनि उत्तेजना र आवेगको मात्रा ज्यादा छ र त्यसैमा विभिन्न शक्तिकेन्द्रहरू खेल्ने सम्भावना छ, जसको परिणति अझ खतरनाक बन्ने भयानुभूति भएको छ ।
* विचित्रको विडम्बना त केसम्म भएको छ भने देसै विखण्डन गर्ने भन्नेमध्येका केहीले पनि जितेका छन् १ देसकै मतदाताले मत दिएर जितेका देखाइएकाले देश विखण्डन गर्ने विदेसीहरुको षड्यन्त्र सफल हुने खतरनाक संकेत देखेर असह्य पीडाबोध भएको छ ।
* नयाँ, युवा र सक्षम भनिएका शक्ति र व्यक्तिहरुका बोली र व्यवहारमा सामन्जस्य न आउनेमात्र होइन नयाँ ढङ्गले द्वन्द्व सिर्जना हुने हो कि भन्ने आशंका पो उत्पन्न भएको छ ।
* कुनै दुई वा दुईभन्दा बढी शक्ति भए पनि उनीहरुबाट जिम्मेवार र जवाफदेही सहकार्य भएर राष्ट्रिय स्वाधीनताको संरक्षण र सम्बर्द्धन गर्दै राजनीतिक स्थिरतासहित सुशासन, शान्ति र विकासलगायतका जनसेवा-सुविधाहरुको डेलिभरी होला भन्ने अपेक्षा पनि आशाजनकभन्दा निराशाजनक नै बढी छ ।
*राजनीतिक दलहरु गठबन्धन बनाएर लडेका तर देश र जनताको सेवा र सुविधालाई होइन, खालि सत्ता र शक्तिलाई केन्द्र, अग्र र शीर्ष स्थानमा राखेर जितेका हुनाले बिना कुनै विचार-सिद्धान्त, मूल्य-मान्यता र लक्ष-उद्देश्य अपवित्र साँठगाँठ बनाई सरकार बनाउने प्रबल सम्भावना छ ! फलतः अस्थीरता, अराजकता, अनियमितता र अशान्ति अघिभन्दा अत्यधिक बढेर अनियन्तृत भै भयङ्कर विष्फोट हुने भय बृद्धि भएको छ ।
* कतिपय पार्टीका केही जालीजुलुमी नेताहरुले आफूले जितेकोमा अब सरकारको मात्र होइन पार्टीको माथिल्लो पदको पनि दावी गर्नेछन् भने हारे-हराइएका कतिपय नेताहरुलाई पद मात्र होइन पार्टी नै छोड्ने स्थितिमा पुराउने गम्भीर अवस्था पनि उत्पन्न हुने तीव्र सम्भावना छ ।
*अहिले क्रान्तिकारी भनिने कम्युनिस्ट पार्टीहरु समेत शान्तिपूर्ण, वैधानिक र सहरिया संघर्षमा भैरहेको अवस्थामा सदनभित्रको संघर्षको महत्त्वलाई नजर अन्दाज गरेर आमचुनाव जस्तो राष्ट्रिय-अन्तर्राष्ट्रिय महत्त्वको विषयमा हठात्, हल्का र हचुवा तरिकाले बहिष्कार गरेको कुरा पुष्टि भएको छ । किनकि, उनीहरुले न त व्यवस्थामाथि नै प्रभावकारी हमला बोल्न सके न त चुनावलाई रोक्न र ठोक्न नै सके । यसरी त उनीहरुले आफूहरुले पनि उमेद्वारी नदिने र अरुले दिएका राम्रा उमेद्वारहरुलाई भोट पनि नदिने गर्न पुगे । यसो गर्नाले त उनीहरुबाट सदनमा सच्चा देशभक्त र क्रान्तिकारीहरुलाई छिर्न नदिने साम्राज्यवादी-विस्तारवादी र तिनका नेपाली दलाल शक्ति र व्यक्तिहरुको गुरुयोजनालाई घुमाएर प्रकारान्तरले सहयोग पुराउने गम्भीर गल्ती हुन गएको छ ! अहिले प्रतिनिधिसभा र प्रदेससभाहरुमा नगण्य संख्याका शक्ति-व्यक्तिको उपस्थिति भएपनि उल्लेखनीय संख्याका स्थापित, सक्षम र प्रभावशाली देशभक्तहरुले हार्ने र दलालहरुले जित्ने विडम्बना हुन जाँदा संसदमा अर्थात् जनप्रतिनिधिसभाहरुमा त दलालहरुको बर्चस्व बरकरार रहने मात्र होइन अझ बढ्न पुगेको र देसभक्तहरुको अत्यन्त कमजोर स्थिति हुन पुगेको दुर्दान्त अवस्था छ ।
* उपरोक्त थुप्रै नकारात्मक परिघटना, परिस्थिति र परिणामका बावजुद पनि यो दलाल पुँजीवादी प्रतिक्रियावादी व्यवस्था र यसका खम्बा पार्टी-नेतृत्वहरुभित्र अन्तर्निहित व्यक्तिवादी, शक्तिवादी, गुटवादी र लुटवादी अनि दलाली, दासता, आत्मसुरक्षावादी र आत्मसमर्पणवादी चिन्तन र चरित्रका कारण चुनावमै मतदानमा आफ्नै पार्टी र आफ्नै गठबन्धनप्रति व्यापक अन्तर्घात र मतान्तर भएको छ ! यस्ले गर्दा पार्टीहरु र गठबन्धनभित्र अन्तर्विरोध चर्किने निश्चितप्रायः छ । यसका अतिरिक्त सत्ता लिप्सा, सरकारको नेतृत्व गर्ने लालसा, प्रधानमन्त्रीलगायतका पद, पावर, पैसा, पहुँच र प्रसंसाका धेरै महत्वाकांक्षीहरु सबैजसो पार्टीमा र तीभित्रका पनि धेरै जसो नेताहरुमा देखिएको छ । यो अवस्थामा सो स्थान प्राप्त गर्न उनीहरुको आफ्नो बुद्धि-बर्कतले नभ्याउने कुरा पनि अवश्यम्भावी छ । त्यसैले उनीहरुले आआफ्ना प्रभुहरुसंग सहयोगको लागि अपिल र आराधना मात्र होइन, पूजा र प्रार्थना गर्दै आत्मसमर्पण नै गर्नेछन् । त्यसबेला विदेसी शक्तिकेन्द्रहरुको हुकुम-हैकम, हस्तक्षेप र हालीमुहाली नाङ्गो र घीनलाग्दो रुपमै हुने चरम सम्भावना छ । र, यसको केही संकेत र छनक पाइसकिएको पनि छ । यो ज्यादै खेदजनक कुरा हो ।
* समग्रमा यस बिचमा विभिन्न वृत्तबाट बढे-बढाइएका विकृति, विसङ्गति र बदमासीहरुले गर्दा भ्रष्टाचार, भाँडभैलो र भद्रगोल सर्वाधिक हुने सुनिश्चित नै छ । यस्ले गर्दा अन्ततः यो दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पको खोजी स्वरुप जनस्तरबाटै भयङ्कर विद्रोह र वगावत शुरु हुनेछ, जस्लाई सच्चा र साहसी देशभक्त र क्रान्तिकारीहरुले सचेत, सुनियोजित, संगठित र सुसंयोजित रुपमा नेतृत्व गर्ने सोंच र साहस गर्न सके भने देशले पूर्ण मुक्ति र जनताले साँच्चिकै न्याय, समानता, स्वतन्त्रता, स्वाभिमान र शान्ति-समृद्धि पाउने नयाँ व्यवस्था र अवस्था आउने उज्ज्वल सम्भावना समेत छ ।
हेरौं, के हुन्छ ? आगामी दिनमा अझ स्पष्ट देख्न र भोग्न पाइने छ । अहिलेलाई हालै सम्पन्न चुनावको छोटो-मोटो टिप्पणी यत्ति !
प्रतिक्रिया