एकादेशको कथा : व्यक्तित्व खोजीको व्यथा !

bimbonline नारायण शर्मा
२०७९ असोज २९ १५:०६ बजे
नारायण शर्मा

 नारायण शर्मा , काठमाडौं । जुनसुकै कामको लागि पनि ठुलाबडा मान्छे अर्थात् पुँजीका क्षेत्रमा सामन्त, जमिन्दार र पुँजीपति; पावरका क्षेत्रमा राजा-महाराजा वा राष्ट्रपति, मन्त्री-प्रधानमन्त्री अनि चलचित्र-खेल आदिका क्षेत्रमा नायक-नायिका र च्याम्पियन आदि र आपदबिपदका क्षेत्रमा ईश्वर-भगवान आदि-इत्यादिजस्ता स्थापित, पुजित,  परिचित, प्रशंसित, चर्चित र भाइरल व्यक्तित्वको खोजी, पूजा-आराधना, स्वागत-सत्कार र आज त लाइक-शेअर पनि गर्ने संस्कार अहिले नेपालमा मात्र होइन, सम्भवत: विश्वभरिनै व्याप्त छ । विश्वभरि नै नभएपनि यो मानसिकता दक्षिण एशिया र नेपाल-भारत जस्ता सामन्ती धर्म-संस्कृति र दलाल पुँजीवादी अर्थतन्त्र भएका देस-समाजहरुमा व्याप्त नै छ । त्यसैले पार्टी र आन्दोलनको विस्तार र विजयको लागि नेतृत्व गर्न स्थापित नेता-अभिनेताको लागि व्यक्तित्व बने-बनाएका व्यक्तिको खोजी गर्ने एउटा संस्कार, मानसिकता वा प्रवृत्तिले नेपाली समाजमा राम्रैसँग जरा गाडेको छ ! समाजको एक अङ्ग भएकोले होला यो संस्कृति राजनीतिक पार्टी र तिनका नेता-कार्यकर्ताहरुमा पनि प्रचूर मात्रामै विद्यमान छ । त्यो चिन्तन-प्रवृत्ति म आफैमा पनि अत्यधिक रहेर नै सुरुसुरुमा मोहनविक्रम, निर्मल लामा, सीपी मैनाली र नेत्रलाललाई अनि पछि मात्र पुष्पलाललाई अप्रत्यक्ष र भावनात्मक रुपमा भयङ्कर व्यक्तित्व ठान्ने र घागडान नेतृत्व मान्ने गरियो । यहाँसम्म कि पार्टीमा आबद्ध हुने-हुने बेलादेखि मोहनविक्रम र निर्मल लामालाई क्रमशः माओ र चाओ पनि मानियो ! तत्पश्चात् मोहन वैद्य, प्रचण्ड, बादल, बाबुराम, देव गुरुङ र विप्लवबाट समेत प्रत्यक्ष प्रेरित र प्रभावित भै २०३५ देखि २०७५ सम्म तिनैका पछि लागियो । यसक्रममा आफ्नो र परिवारको तन, मन, धन, जन, आय आर्जन र त्यो प्राप्तिको बाटो आदि सबैका सबै समर्पण गरियो ! व्यक्तित्व बने-बनाइएका यी नेतृत्वहरुबाट क्रान्ति हुन्छ, देश र जनताको मुक्ति र प्रगति हुन्छ भनेर नै दस-दस वर्षसम्म भीषण र भयावह जनयुद्धका खुला र भूमिगत मोर्चामा क्रमश: श्वेत र रेड इलाकाहरुमा निशस्त्र र सशस्त्र लडियो । कलम र बन्दुक, बोली र गोली, विचार र आचार आदि विविध रुप र माध्यमबाट पूर्ण विश्वासका साथ हिंडियो, लडियो र भिडियो । यसरी जीवनका साठी बसन्त, कम्युनिष्ट नेतृत्व र व्यक्तित्वप्रति आकर्षित ५० बर्ष र कम्युनिस्ट आन्दोलनप्रति समर्पित साढे चार दसकपछि नेत्रलाल पौडेल अभागी, पुष्पलाल र निर्मल लामाबाहेक अन्य सबैजसो यी व्यक्तित्व र नेतृत्वका मति, गति, नीति र नियतबाट विकर्षित हुँदाहुँदा उनीहरुप्रति यति धेरै वितृष्णा नै  बढ्यो कि यी र यिनका लुटवादी गुटबाट विद्रोह गरेर स्वतन्त्र भैयो ! तर कम्युनिस्ट विचारधारा, लक्ष-उद्देश्य, संगठन-संघर्ष, क्रान्ति-मुक्तिको लागि सही, स्वच्छ र सक्षम व्यक्तित्व-नेतृत्वको आवश्यकता र महत्वको झन् धेरै बोध भयो र तिनको खोजीप्रति बढी नै प्रयास पनि भयो । त्यसै सन्दर्भमा नेतृत्वको लागि व्यक्तित्वको खोजी गर्न भनी तत्कालीन ओली-प्रचण्डको नेतृत्वको नेकपा नामको गुट, झुट, लुट र कुटाकुटको झुन्डबाट टाढा हुँदै पहिले पहिले म मात्रै र पछि डिल्लि अधिकारीलगायतका केही साथीहरु सबभन्दा स्वनाम साथीकोमा धायौं !

राष्ट्रियता, जनतन्त्र र जनजीविका नेपाली समाज र कम्युनिस्ट आन्दोलनका आधारभूत प्रश्नहरु हुन् । यिन्को हल सात दशकसम्म पनि नभएको र यिनको समाधान चाहेर पनि आजका यी कुनै एक पार्टी विशेषले मात्र गर्न नसक्ने स्पष्ट भएकोले पार्टी, राज्य र शासक वर्गलाई खबर्दारी गरी शुद्धीकरण र रुपान्तरण गर्दै एकीकरण र सुदृढीकरण अत्यन्त जरुरी देखियो । त्यसको लागि त एउटा वृहत् र सशक्त संयुक्त मोर्चा बनाउने  र त्यसको आयोजना, संयोजन र नेतृत्वमा  निर्णायक जनखबर्दारी आन्दोलन गर्नैपर्ने कुरा भित्रैबाट महसुस भयो । त्यसैले त्यसको निर्माण र परिचालनको नेतृत्वको जिम्मेवारी लिन स्वनाम दाइ जस्तो स्वच्छ, सक्षम, साहसी र समर्पित विद्वान व्यक्तित्वलाई अनुरोध गर्‍यौं । पटकपटक छलफल सामूहिक रुपमै पनि भए तर त्यसले मूर्त रुप लिन नसक्दा मोर्चा वा पार्टी नै गठन गर्नुपरे पनि गर्ने कि भनेर झलनाथ खनाल, लोककृष्ण भट्टराई, निनू चापागाईं, श्याम श्रेष्ठ, साध्य बहादुर भण्डारी र युवराज संग्रौलासम्म पनि पटक-पटक पुगियो, धेरै-थोरै छलफल गरियो, अनुनय-विनय गरियो, सुझाव-दवाव आदि पनि दिइयो तर कतै गाँठोमुठो परेन ! व्यक्तित्वहरु बाँदरका पुच्छर भएर हो वा पानीको लौरो भएर हो अथवा स्वविवेक र स्वविचारको संकीर्ण घेराबाट बाहिर निस्कन सक्ने र निर्णायक रुपले पहल लिएर प्रहार गरी परिणाम निकाल्न सक्ने कुरामा विश्वास नभएर हो, के हो अरुको मक्किएको पिठो बिक्दा पनि हाम्रो राम्रो चामल पनि बिकेन !

यसै सोंच र छलफलको प्रारम्भिक चरणमै  कालापानी क्षेत्रको लिपुलेक-लिम्पियाधुराको नेपाली भूमिमाथि भारतीय अतिक्रमणको मुद्दा मुख्यरुपमा मुखरित भएर आयो । अनि हामी स्वनाम दाइकै नेतृत्वमा सीमा बचाऔं अभियान निर्माण गरी आन्दोलनमा जुट्यौं । त्यसै सेरोफेरोमा  MCC पनि एक अत्यन्त संवेदनशील, गम्भीर र बहुखतरनाक मुद्दा आयो । त्यसबारेमा केही गर्ने कि भनी मित्र बासुदेव मिश्रजीले मलाई घचघचाउनु भयो ! मैले मनले चुनेको व्यक्तित्व र मानेको नेतृत्व स्वनाम दाइसँग सल्लाह गरें ! प्रथम पटककै एउटा सानो सामूहिक छलफलले हामीलाई यसका विरुद्ध खारेज अभियान नै संचालन गरेर जाने म्यान्डेट दियो ! त्यो म्यान्डेट अनुसार अघि बढ्न स्वनाम दाइको प्रस्ताव र घनश्याम दाइ जस्ता वरिष्टतम व्यक्तित्वहरुको समर्थनमा म त्यस अभियान ( MCC खारेज अभियान- २०७६ ) को संयोजक भै नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिम्मामा पुगें । सत्ताधारी शक्तिशाली पार्टी नेकपाको म केन्द्रीय सदस्य र केपी वली अध्यक्ष र प्रधानमन्त्री  भैरहेकै बेला वलीजस्ता कठोर र अनुदार नेतृत्व स्वयं MCC पास गर्नलाई मरिहत्ते गरिरहेको सन्दर्भमा त्यसै पार्टीको केन्द्रीय नेता मैले त्यो पार्टी र सरकारका विरुद्ध खुलेआम सडकबाट औंलो ठडाएर र झण्डा उठाएर विद्रोह बोल्नु मेरो लागि त खासै ठुलो कुरा थिएन तर पार्टी पद्धति र अनुशासन तथा  संसदीय शासनप्रणालीको नीति, विधि र अवसर आदिका दृष्टिले यो धेरै ठुलो चुनौती मोल्ने साहस र त्यागको  कुरा थियो । 

त्यसैले कतिपयले म र मेरो यो जिम्मेवारीप्रति आशंका गर्दै "कतै धोका खाइने पो हो कि योबाट" भनेर मलाई सचेततापूर्वक र आलोचनात्मक रुपले हेरिरहेका र खबर्दारी गरिरहेका थिए । तर म भने आफ्नो सम्पूर्ण शक्ति र समय लगाएर मुख्यतः  MCC खारेज अभियानमा र अंशत: सीमा बचाऔं अभियानमा खटें ! स्वनाम दाइको असीम तपस्या र त्यसमा भैरव रिसालजस्ता वरिष्ठ बुद्धिजीवी, सीमाविद बुद्धि नारायण श्रेष्ठ  तथा त्रिभुवन वि. वि. का भूगोल विभागका केही प्राध्यापकहरु, केही भूपू मन्त्री, सांसद, राजदूत र राष्ट्र बैंकका गभर्नर समेतको सहयोग-समर्थनले गर्दा ठुलो र लामो संघर्षपछि त्यसलाई  सैद्धान्तिक र आन्तरिक रुपले उत्कर्ष र निष्कर्षमा पुराइयो । यो अतिक्रमण भारतीय शासकवर्गको नेपाल र नेपालीमाथिको हेपाहा र मिचाहा प्रवृत्तिको पछिल्लो गम्भीर प्रकरण हो भन्ने कुरा शासकहरुलाई सहमत गराउने हदसम्मको आंशिक सफलता प्राप्त गर्न सक्यौं । फलतः संसदको सर्वसहमतिले हाम्रो नक्सा निर्माण टोलीले बनाएको चुच्चे नक्सा अनुसारको भूगोल स्वीकार्दै सो क्षेत्र नेपालको नक्सामा समेटेर नेपालको नयाँ र आधिकारिक नक्सा जारी गर्‍यो । यद्यपि यो अझै व्यावहारिक र बाह्य रुपमा लागू भैसकेको छैन तथापि यस्लाई पूर्ण र सार्थक सफलतामा पुराउन राज्यसहित सबै देसभक्तहरुले कठिनतम संघर्ष गरेमा यो संघर्ष अन्तिम विजयमा पुग्ने निश्चित भएको छ । जे होस्, सीमासम्बन्धी यो सिमित सफलताले ममा नेतृत्वको लागि व्यक्तित्वको आवश्यकता र महत्वबोध अझ बढायो । 

यसैबीच स्वनाम दाइलाई कोरोना महामारीले असमयमै लग्यो र हामी टुहुरा भयौं ! त्यसैले पनि अब यो संकटको यो घडीमा अरु कुनै व्यक्तित्वको खोजी गर्नुभन्दा मलाई नै एक व्यक्तित्व देखेर नेतृत्व गर्नको लागि आँट गर्न भनेर थुप्रै साथीहरु जस्तो कि भरत गौतम, निलकन्ठ तिवारी, भरत बस्याल, शम्भु कटेल, डम्बर विक्रम कार्की, महादीप पोख्रेल, कुमार खाकी, निमकान्त पाण्डे, किसन शर्मा गैरे, लेखराज रेग्मी, युक्त भेटवाल, एकलाल श्रेष्ठ आदि कैयौंले केही समय अघिदेखि नै झकझकाइरहेको कुराले थप बल पायो । बेलाबेलामा एउटा सच्चा क्रान्तिकारी पार्टी निर्माणको पहल गरौं भनी धेरै इमान्दार, स्वच्छ र सक्षम साथीहरुले सुझाव र अनुरोध गर्नु भएकोमा मैले त्यसलाई  सकारात्मक रुपले लिए पनि "नेतृत्वको लागि व्यक्तित्व चाहिन्छ, खोज्दै जाऔं" भन्दै म पन्छिंदै आएको हुँ ! अझ यसै दौरानमा एकपटक त किसन शर्मा गैरे र पेषल खतिवडा निवासमै आएर माओवादी केन्द्रसँग जोडिएका दुई दर्जन बढी नेतृत्व लेभलका नवनिर्मित पार्टीमा जोडिन आउने साथीहरुको नामावली बनायौं ! MCC र नागरिकता विधेयक पास नहुँदै पनि उहाँहरुले "ल अब हिम्मत  गरौं" भन्नु पनि भयो तर मैले "यस्तो गर्ने नै हो भने नेतृत्वको लागि व्यक्तित्व नै चाहिन्छ भन्दै" यसको नेतृत्वको लागि देव गुरुङ वा लीलामणि पोख्रेल दुवै वा कुनै एकलाई मनाएमा मेरो पूर्ण सहमति र सक्रिय सहभागिता हुन्छ भनी त्यसको लागि उहाँहरुलाई पहल लिन लगाएँ तर त्यो सार्थक भएन ।

  स्वनाम दाइलाई गुमाएको यो अवस्थामा त झन् व्यक्तित्व बनेकाको नेतृत्व र अभिभावकत्व दुवैको महत्व कति धेरै रहेछ भन्ने झन् गहिरो गरी अवगत भयो !

MCC को मुद्दा झन्झन् पेचिलो र गम्भीर बन्दै जान थाल्यो ! बल्लतल्ल बनाएको बाइस दलीय कार्यगत एकता र त्यसमार्फत भैरहेको आन्दोलनमा पनि भाँजो आयो । देसभर चुनावमा भाग लिंदा १३ हजार मत मात्र ल्याउने माओवादी आन्दोलनबाट व्यक्तित्व बनेका नेतृत्वहरुदेखि लिएर जनयुद्धको प्रत्यक्ष कमाण्डिङ गरेका स्थापित युवा व्यक्तित्व भनिएकाहरुले नेतृत्व गरेकासंकीर्ण र पूर्वाग्रही-प्रतिशोधी नेता त तिनका पार्टी नामका झुण्डहरुले हामी व्यक्तित्व नबनेकाले नेतृत्व गरेका गैर पार्टी ( अभियान, मंच, मोर्चा, संघ, संस्था आदि ) र नवगठित फुच्चे पार्टीहरुलाई धोका र धक्का दिएर हामीलाई अलपत्रै छाडी भिन्नै गठबन्धन बनाएर संघर्षरत संयुक्त मोर्चा र आन्दोलनमा अझ व्यापक र सशक्त बनाउनु पर्नेमा उल्टै त्यसमा फुट ल्याउनाले आन्दोलन कमजोर भएर प्रकारान्तरले MCC पास गराउन सहयोग पुग्यो । त्यो बेलामा पनि स्थापित र परिचीत व्यक्तिव बनेका नेतृत्वको अभाव खड्कियो र खोजी खुबै गरियो । त्यसक्रममा हामी बाँकी बचेका केहीले मोर्चा पुनर्गठन गर्ने सोंचियो तर नेतृत्वको संकट देखेपछि नारायणमान विजुक्छेलाई सम्झ्यौं, सम्पर्क, अनुनय-विनय गर्‍यौं ! तर विडम्बना व्यक्तित्व बनेका भनिएकाको त ताल उही हो आफूहरु बाहेक अरु कसैलाई नगन्ने ! तत्पश्चात हामी झापा आन्दोलनका हस्ती व्यक्तित्व सीपी मैनालीकोमा पुग्यौं ! सानोतिनो मोर्चा बनायौं र आन्दोलन पनि गर्दै गयौं ! त्यो व्यक्तित्वको नेतृत्वमा बनेको MCC विरोधी मोर्चाबाट पनि प्रभावकारी र परिणाममुखी संघर्ष हुन सकेन ! उल्टो वैचारिक, भावनात्मक र कार्यशैलीगत भिन्नता र विपरितताका कारण एउटै मोर्चाबाट एउटै निशानामा प्रहार गर्न अप्ठेरो भएमा सोही निशानामा भिन्न-भिन्न मोर्चाबट प्रहार केन्दृत गर्नु उचित लागेर अलग-अलग भएर आन्दोलनमा गयौं ! MCC र नागरिकता विधेयकजस्ता देशभक्ति र राष्ट्रियतासंग सम्बन्धित मुद्दामा देसैभरिका सबै ठुला भनिएका व्यक्ति र शक्तिहरुलाई समेटेर एउटा बृहत् मोर्चामार्फत सशक्त धक्का दिने गरी संघर्ष गरौं भन्दै दसपटक जति झलनाथ खनालकहाँ पनि पुगियो ! वैचारिक देखि व्यावहारिक सम्म देसभक्त देखिएका र प्रधानमन्त्री पनि भैसकेका शीर्ष नेतृत्वका व्यक्तित्वबाट त केही हुन्छ पक्कै पनि भनेर धेरै जोड लगाइयो, तर त्यो पनि संसदमा चर्का कुरा गरेर देसभक्त देखिने भन्दा अरु बढी केही भएन बयो भने  हात्ती आयो-आयो फुस्सा भनेझैं भयो वा भनौं खोदा पहाड निकला चुहा पनि भएन ! बडो आश्चर्य र दुख लाग्यो ! किन उहाँजस्ता स्वच्छ, सक्षम र सिनियर व्यक्तित्वबाट पनि हाम्रो यो उचित, आवश्यक र गम्भीर महत्वको प्रस्तावप्रति ध्यान गएन भनी चिन्तामग्न भैयो । अहिले आएर खुल्दैछ कि गठबन्धन र यसको सत्तालाई निर्णायक रुपमा प्रहार गर्दा देसी-विदेसी सबैजसो आफ्ना सहयोगी भनिएका शक्तिकेन्द्र र तिनका टाउके रिसाउने र न त अहिले चुनावको टिकट र पैसा पाइने न त भोलि राष्ट्रपतिको पद पाइने भन्ने भएर पो केही नगरेका रहेछन् भन्ने बल्ल आज पो पुष्टि हुँदैछ ! नेताहरु भित्र एउटा तर बाहिर अर्कै हुने यो चिन्तन र चरित्र माओवादीमा मात्रै किन हुन्थ्यो र ? यो त एमालेबाटै प्रधानमन्त्री र अध्यक्ष दुवै भैसकेका सालिन देसभक्त देखिने हाल एकीकृत समाजवादीका सम्मानित नेता भनिएका झलनाथमा पनि रहेछ भनेर नाङ्गै देखियो, अरुको यस किसिमको सर्वाङ्ग नाङ्गोपना त यस अघिनै छर्लङ्ग भैसकेकै थियो ।

यसरी यी पार्टी नामका गिरोहहरुका नाइके भएर खाइपाइ आएका तथाकथित नेताहरुको यस्तो संकीर्ण, स्वार्थी र असामयिक चिन्तन र चरित्र यति तुच्छ र निकृष्ट देखियो कि यसबाट अब त व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि, फराकिलो, स्वस्थ र ठुलो सोंच कसैमा पाइएला कि भन्ने आशा नै मर्न थाल्यो !  तैपनि मरता तो क्या नहीं करता भनेझैं यहाँसम्म कि संयुक्त आन्दोलनमा पन्छाइएका कतिपय पहिचान बनाइ नसकेका र पहिचान र पैसा भएपनि संगठन र शक्ति नभएकाहरुलाई समेत नेता बनाउन खोजियो तर मूल नेतृत्वको उदासीनता र आफ्नै व्यावसायिक कामको व्यस्तता अनि सहायक नेतृत्वप्रतिको निशंक समर्थन र त्यस्तै कतिपय नेताहरुको संकीर्ण, प्राविधिक र व्यक्तिगत सोंच, सनक र स्वार्थका कारण हाम्रो राष्ट्रिय स्वाधीनताको संयुक्त आन्दोलनले न अपेक्षाकृत व्यक्तित्व बनेको नेतृत्व पायो नत आन्दोलन नै सशक्त जान सक्यो न त संयुक्त मोर्चा-सहकार्य नै सुदृढ र बरकरार नै रहन सक्यो । स्मरणीय छ कि कम्युनिस्ट आन्दोलनमा दलाल र गद्दार भनिएका प्रतिकृयावादी र प्रतिगामी नै ठानिएर तिनका विरुद्ध अर्का झन् ठुला दलाल र गद्दारहरुद्वारा सत्ताच्युत गरेर सिद्धाउन खोजिएका एमाले पार्टीका भएपनि आफ्नो जुझारु देसभक्त चिन्तन र चरित्र प्रमाणित गरेका नेता भीम रावललाई र यहाँसम्म कि केशरबहादुर विष्टजस्ता नैतिकवान राजावादी पन्च नेताहरु पनि समेटिएर जाँदा पो देसभक्तिपूर्ण आन्दोलन सफल होला कि भनेर कोसिस स्वयं मैले नै गरें । केशर बहादुर त पार्टी र सत्ताबाट टाढै रहेर देसको लागि आन्दोलन गर्ने अभियानमा सिमित हुनुहुनेरहेछ । यो स्थितिमा उहाँबाट खासै केही हुने देखिएन । चर्चित देशभक्त व्यतित्व बनाएका नेता भीम रावलले पनि आफू पार्टीभित्र र संसदभित्र लड्ने तर पार्टी अनुशासनका कारण सडकमा न आउने भन्नाले उहाँजस्तो व्यक्तित्व बनेको नेताबाट आन्दोलनको नेतृत्व गराउने त्यो प्रयास पनि व्यर्थ भयो । आज आएर भीम रावललाई केपी एन्ड शङ्कर कम्पनीद्वारा सांसदको टिकट पनि नदिएर अपमानित गरियो र उनलाई तीन न तेह्रको अवस्थामा पुग्नुपरेको दुखद अवस्था छ ! यस्तै अनुरोध कि पार्टी, संसद र सरकारसहित सडकमा आएर  MCC विरुद्ध संघर्षको नेतृत्व गर्नको लागि MCC पास गर्न हतारो नगरेको निहुँ बनाएर सभामुखबाट हटाइएर बेइज्जत गरिएका र पार्टी कार्वाहीमा समेत परेका कृष्ण महरालाई पनि मैले नै अनुरोध  गरेको थिएँ ! तर उनले त झन् पुच्छर नै देखाइदिए ! पहिले उनले हामीलाई पुच्छर देखाइदिए- "यिन्का पछि लागेपछि मेरो पद-प्रतिष्ठा र पावर-पैसा पाउने बाटो गुम्छ" भन्ने डरले तर अहिले उन्लाई पार्टीभित्रको गुट र लुट संघर्षमा बलिया गुटले  पुच्छर देखाइदिए र उनी पनि धोवीको कुकुर घरको न घाटको हुन पुगेका छन् प्रत्यक्ष र समानुपातिक दुवैमा लड्ने आँटसम्म पनि गर्न नसकेर ! यदी MCC विरोधी संघर्ष गर्ने आँट गरेको भए आज उनी राष्ट्रिय हिरो बनेर जुन स्थानबाट पनि जित्ने वा चुनाव नलडेर देसभक्त  जननेता र राजनेता नै बन्न सक्ने सम्भावना प्रबल रहेछ ! तर अवांछित काममा साहस देखाउने बानी परेका र भुत्ते भैसकेका नेताबाट यस्तो अपेक्षा गर्नु हाम्रै अज्ञानता रहेछ जस्तो लागेको छ ।

देस र जनताको हकहितको लागि संघर्ष गर्ने सन्दर्भमा यस्तै अर्को विडम्बना अर्का वर्तमान सम्माननीय सभामुख अग्नि सापकोटाको सन्दर्भमा पनि भएको छ । खासगरी MCC र नागरिकता विधेयकका बारेमा आफ्नो पदमै रहेर अडान लिनको लागि उनलाई थप हौसला मिल्ला भनेर भेट्ने कोसिस गरियो । उनी प्रतिनिधिसभाको सभामुख जस्तो सम्माननीय पद, जसको हातमा कुनै विधेयक पारित गराउने वा नगराउने भन्ने निर्णायक अधिकार हुन्छ, त्यस्ता व्यक्तित्वलाई भेटेर केही होला कि देस र जनताको लागि अहिले पनि र भविष्यमा पनि भनेर भेट्न कति कोसिस गरियो तर सम्भव भएन ! अन्ततः विडम्बना यो भयो कि "म मरेपनि MCC पास गर्दिन"  भन्दै डुकृएका अग्निले संसदमा  छलफल पनि नगराई MCC पारित गराए ! यसो गर्नुमा चाइनिजहरुको ग्रीन सिग्नल थियो ताकि पास नगर्दा महराजस्तै गरी पदमुक्त हुने दुर्भाग्य नहोस् ! यसैले उनले प्रचण्ड-पार्टीको आदेश मानेर सहजै पारित गराए । तर दुखको कुरा अहिले उनलाई चीनपक्षधर भनेर टिकट विहीन पारियो ! यही कुरा महराका सन्दर्भमा पनि सत्य हो ! यी दुवैलाई यसो गराउनुमा भारतीय पक्षको हात रहेको छ ! जहाँसम्म टिकटविहीन पारिएका अन्य चर्चित नेताहरुको कुरा छ, तिनमा विभिन्न कारण छन् जसमा मीनेन्द्र रिजाललाई टिकट नदिइनुमा उनले

लिम्पियाधुराको सन्दर्भमा भारतीय पत्रकारमार्फत भारतीय अतिक्रमणकारी शासकवर्गको सातो खाएकाले हुनसक्छ भने बाबुरामको सन्दर्भमा अर्कै कारण छ । त्यो हो, एकातिर उनकी छोरीलाई सांसद बनाएर उनको युवा उत्तराधिकारीको रुपमा स्थापित गरिंदैछ भने अर्कातिर बाबुरामलाई अहिलेलाई त्यागी देखाएर जगेडा नेताको रुपमा राख्ने अनि कोर्स करेक्सन हुने स्थितिमा भारतको भक्त र अमेरिकाको विश्वासिलो तर त्यति बदनाम पनि नभएको पीएचडी डिग्रीधारी सक्षम व्यक्तित्व भएको भनै उन्लाई दोस्रो खिलराज बनाउने वा राष्ट्रपति बनाएर अर्को शक्तिकेन्द्र बनाएर विदेसीहरुले चलखेल बढाएर विदेसी स्वार्थ पूरा गराएकोमा  राजनेताको पगरी समेत गुथाउने डिजाइन अन्तर्गत यसरी खाली राखिएको हुन सक्छ । जे होस्, पार्टी, देश र आन्दोलन बनाउने सन्दर्भमा आफैले भोगे-देखेका यसप्रकारका व्यक्तित्वहरुबाट हिस्स परेको हुनाले अब पार्टी र आन्दोलनको लागि नेतृत्व गर्ने बनिबनाउ व्यक्तित्वको खोजीतिर भन्दा नयाँ व्यक्तित्वको निर्माण र विकासको लागि सचेत, संगठित र योजनाबद्ध रुपमा लाग्नुपर्छ  र यसनिम्ति सक्षम, स्वच्छ, स्वाभिमानी र जिम्मेवार देशभक्त र जनमुखी उत्तराधिकारीहरु तयार गर्नुपर्छ भन्ने स्पष्ट भएको छ । ती उत्तराधिकारी र नेतृत्वका दावेदारहरुको निर्माण, रक्षा, स्थापना  र विकास अन्य कुराबाट भन्दा बढी जनता र जनताको आन्दोलनको विकास र विस्तारका बीचबाट हुन्छ र हुनुपर्छ । कामले काजी बन्ने र नीति-निर्णयको निर्माण, निर्देशन र कार्यान्वयन गर्ने-गराउने प्रकृयाबाटै नेता र नेतृत्व-व्यक्तित्व बन्ने कुरामा सन्देह रहेनछ । यसबाट अहिले के पनि छर्लङ्ग भएको छ भने निस्वार्थ भएर इमान्दारीपूर्वक देस र जनतालाई आँतमा र माथमा राखेर अनि आफ्नो ज्यानलाई हातमा राखेर संघर्षमा समर्पित हुने हो भने नेतृत्व गर्ने व्यक्तित्व अवश्य निर्माण हुन्छ ! तसर्थ अब देस र जनताको लागि बन्ने बनाइने पार्टी वा मोर्चा र संघर्ष गर्ने नेतृत्वको लागि कुनै बनिबनाउ व्यक्तित्वको खोजी होइन, नयाँ व्यक्तित्व निर्माण आन्दोलनकै बीचबाट बनौं-बनाऔं भन्ने लागिरहेछ ! हिंजोसम्म नामै नसुनिएका हर्क साम्पाङ्ग र बालेन शाहहरुले आज यो कुरा प्रमाणित गरिपनि सकेका छन् । अस्तु ।

२०७९ असोज २९ १५:०६ बजे

प्रतिक्रिया