प्रतिगमनको हल्ला पछाडि सत्ता स्वार्थ

bimbonline राम बहादुर बुढा
२०७९ असोज १४ १५:३५ बजे
राम बहादुर बुढा

राम बहादुर बुढा,  काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पौष ५ गते  पछि २०७८ जेष्ठ ८ मा संसद् विघटन गर्नु असंवैधानिक कदम थियो। ओली कदमका विरुद्धको सहकार्यले ५ दलीय गठबन्धन जन्माएको थियो। ओलीको कदमलाई सर्वोच्च अदालतले गलत ठहर गरिसक्यो । नयाँ कोर्समा देश अगाडि बढिसक्यो। यस स्थितिमा पनि ओलीको प्रतिगमन विरुद्ध पिँपेरी बाजा बजाइरहनुको पछाडिको रहस्य प्रतिक्रियावादी सत्ता मोह नै प्रमुख कारण हो। माओवादी केन्द्रका नेता प्रचण्डले गत स्थानीय चुनाव भन्दा पहिले यदि निर्वाचनमा पाँच दलीय गठबन्धनमा कुरा मिल्दैन भने मलाई बाल्कोट ( एमाले नेता ओलीको घर ) जान कत्ती पनि बेर लाग्नेछैन भनेका थिए। उनले अहिलेको चुनाबमा कुरा मिल्दैन भने एमाले सित चुनावी एकता गर्ने धम्की दिए । रुकुममा गत स्थानीय चुनाबमा माओवादीका विरुद्ध एमाले र काङ्ग्रेसले तालमेल गरेका थिए। प्यूठानको झिम्रुकमा जनमोर्चाका विरुद्ध अघोषित रुपमा एमाले ,काङ्ग्रेस र माओवादीका बीचमा तालमेल भएको थियो। देशभरी यस्ता तमाम उदाहरण छन जसले ५ दलीय गठबन्धनको 'प्रतिगमन विरोधी संघर्ष' को नीतिलाई व्यर्थ सिद्ध गरिरहेकाछन्। 

मोहन विक्रम समुह को मसाल पनि पाँच दलीय गठबन्धनको एउटा सदस्य हो। ऊ अहिले प्रतिगमनको विरोधको नाममा प्रतिक्रियावादी सत्ताको वचावमा जुटेको छ। मसालका पछिल्ला गतिविधि साँच्चिकै रोचक छन । पाँच दलीय गठबन्धनका अन्य समूहले एमसीसी पारित गरे पछि गठबन्धन बाट बाहिरिएको घोषणा तर ३\ ४ दिन नबित्दै गठबन्धन नछाडेको स्पष्टोयुक्ती चित्र बहादुर केसी को सरकारी गठबन्धनमा छैनौ भन्ने वक्तव्य उता त्यसै दिन हिमलाल पुरीको आगामी चुनाबका लागि पाँच दलीय गठबन्धनमा जनमोर्चाले सिट सङ्ख्याको दाबी पेश गरेको तर माग स्वीकार नभएको मिडिया अन्तरवार्ता । निष्ठा ,आस्थाको सट्टा बुर्जुवा सत्ता प्राथमिकतामा परेपछि यो भन्दा अझ  रोचक सन्दर्भहरु हामीले देख्न पाउनेछौ।

सुनियोजित रुपमा हल्ला फैलाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने प्रकृतिलाई मिल्ने गरी नेपाली समाजमा ' कुखुरा चोर्ने छट्टु स्यालको कथा ' निर्माण भएकोछ। एउटा छट्टु स्याल रहेछ । बारीमा कुखुराहरु चर्दै रहेछन् । छटु स्याल चिच्याएछ ( हा हा हा बाज आयो बाज । कुखुराहरु सबै आकासतिर हेर्न थालेछन । त्यही मौका छोपेर छट्टु स्यालले च्याप्प एउटा कुखुरा टिपेर भाग्दो रहेछ । एक दिन दुई दिन त्यसैगरेर स्यालले कुखुरा चोर्यो। तर स्यालको फट्याइँ थाहा पाए पछि कुखुराहरु आकास तिर हेर्न छाडेर भाग्न थालेछन ।

नियोजितरुपमा प्रतिगमनको हल्ला फैलाएर प्रतिकृयावादीहरु सित चुनावी गठबन्धन र सरकारी गठबन्धन निर्माण गर्नुका पछाडि एउटा हल्ला फैलाएर आफ्नो अर्को सत्ता स्वार्थ पूरा गर्ने बाहेक अर्को उपादेयता देखिदैन। प्रतिगमनलाई शाब्दिक रुपमा हेरौं ।नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको नेपाली बृहत् शब्द कोश ( २०७५: ८४०) मा प्रतिगमन बारे लेखिएकोछ, ' पछिल्तिर फर्कने काम ।' प्रतिगामी बारे लेखिएकोछ ,' १. उल्टो दिशा तिर हिड्ने ,अगाडि बढ्नाको साटो पछाडि सर्ने ,बिपरित दिशा तिर जाने ,२. उन्नति ,प्रगति सुधार आदिको बिरोध गर्ने।' प्रतिगामी तत्व बारे लेखिएकोछ । प्रतिक्रियावादी तत्वू। ओलीको कदम 'कू' नै थियो भन्ने मत पनि छ। फ्रान्सेली शब्द coup d'état  बाट अङ्ग्रेजी शब्द coup (कू) निर्माण भएकोहो। कू को अर्थ गैरकानूनी परिवर्तन ( Illegal change  ) हो। ओलीको कदम अवश्य पनि असम्वैधानिक थियो। त्यसलाई सम्बैधानिकरुपले प्रतिगमन सम्म भन्न सकिन्छ । तर राजनीतिकरुपले प्रतिगमन भन्न मिल्ने हदको प्रतिगमन अर्थात ब्यबस्था नै उल्टाउने हद सम्मको प्रतिगमन थिएन । उनले गरेको दुष्प्रयासलाई सर्बोच्च अदालतले सच्चाई सकेको छ।राजा महेन्द्रको २०१७ सालको प्रतिगमन वा ' कू' ले ब्यबस्था नै परिवर्तन गरेको थियो । राजा ज्ञानेन्द्रको २०५९ र २०६१ को प्रतिगामी कदमले सम्बैधानिक सीमा भत्काउदै ब्यबस्था नै उल्टाउने दिशामा अगाडि बढेको थियो। २०१७, २०५९ र २०६१ का कदमहरुलाई सर्बोच्च अदालतले रोक्न वा सच्चाउन सकेको थिएन । जनताको आन्दोलनले मात्र ती प्रतिगामी कदमहरु परास्त भएका थिए। तर २०७७ र २०७८ को ओलीको कदमलाई सर्वोच्चले सच्च्चाउन सफल भयो। यदि ओलीको कदम साच्चिनै राजनीतिक रुपले प्रतिगामी हुन्थ्यो भने सर्बोच्चले पनि त्यसलाई सच्चाउन सक्ने थिएन । ओलीको कदम वर्तमान संसदीय ब्यबस्थाको सीमा बाहिर जाने हद सम्म छैन यसलाई राजनीतिक 'कू'  को हदसम्म बुझ्न मिल्दैन भन्ने हाम्रो बुझाई थियो। त्यो कुरा ब्यबहारले पनि पुष्टि गरिसकेकोछ। एमवि समुहको मसाल  पक्ष नेतृत्वको भनाई यो छ कि राजावादीहरु र भारतीय हिन्दुवादी शक्तिहरुले ओलीलाई प्रयोग गरेर नेपालमा गणतन्त्र र धर्मनिरपेक्षता समाप्त पारेर राजतन्त्र र हिन्दु राज्य स्थापना गर्न खोजेकाछन । त्यसकारण धर्मनिरपेक्षता र गणतन्त्र जोगाउन काङ्ग्रेस सङ्ग गठबन्धन गर्नु परेको हो। केपी । ओलीले राजावादी र भारतीय हिन्दुवादीहरु सङ्ग मिलेर हिन्दुराज्य स्थापना गर्न खोजेका छन् भनिएको छ । ओली आफै त्यसका लागि कति कृयाशील भएका छन भन्ने कुरा त थप अध्ययन नै गर्नु पर्दछ । पशुपतिमा सुनको जलहारी चढाउन लगाएको र चितवन राम जन्मिएको अयोध्या हो भनेका कारणले मात्र ओली हिन्दु राज्य र राजतन्त्र फर्काउन लागेको कुरा ठोस प्रमाण हुन सक्दैन । ओलीले चितवनमा राम जन्मिएको कुराको कुनै पुरातात्विक अन्वेशण वा कुनै बैज्ञानिक तथ्य दिन सकेका छैनन् । ओलीको अयोध्या सम्बन्धी कथन प्रति भारतको वर्तमान संस्थापन पक्ष पूरै असहमत छ। असहमत मात्र हैन आक्रोशित समेत छ। त्यो अवस्थामा ओलीले भारतको हिन्दुवादीहरु सित मिलेर हिन्दु राज्य स्थापना गर्न खोजेकाछन भन्ने कुराको तारताम्यता मिलेको देखिदैन। अर्को कुरा पनि विचार गरौं कि एमाले भने पछि के पी ओली मात्र त हैन होला । राजतन्त्र फालेर गणतन्त्र ल्याउन योगदान पुर्याएको पुस्ता एमालेमा छ । धर्मनिरपेक्षेताको वकालत गर्ने केही हद सम्म भए पनि प्रगतिशील सोच राख्ने जनमत , जनजाति ,दलितहरु त्यहाँ छन् । ती सबैलाई चिढाएर यति सजिलै सित राजतन्त्र र हिन्दु राज्यको पक्षमा उभिने हिम्म्मत ओलीले कमसेकम अहिलै राखन सक्दैनन । कमसेकम अहिले नै सक्दैनन किन भन्नु परेको हो भने राजनीतिमा अकल्पनीय कुरा पनि हुन्छन ।झापा बिद्रोहका नेता राधा कृष्ण मैनाली राजाको प्रतिगमन कालको मन्त्री बन्न पुगे । चुनाबी दाउपेच र सत्ताको जोड घटाउको खेलमा ओलीले राजावादीहरु सित साँठगाँठ गर्न सक्छन ।तर अहिले नै राजतन्त्र पुनर्स्थाना र हिन्दु राज्य स्थापनामा उभिन सक्दैनन। विदेशी शक्तिकेन्द्रले ओलीलाई हिन्दु राज्य स्थापना र राजतन्त्र पुनर्स्थापनामा प्रयोग गर्न खोजेका छन भन्ने कुरामा बिमति राख्नु पर्दैन किनभने विदेशी शक्तिकेन्द्रहरुले पाए सम्म जसलाई पनि प्रयोग गरिदिन्छन। ओली,प्रचण्ड ,देउवा सकेसम्म सबैलाई उनीहरुले आफ्नो स्वार्थमा प्रयोग गर्न खोज्दछन। प्रयोग हुने नहुने भन्ने कुरा आफूमा भर पर्ने कुरा हो।

विचारणीय कुरा के छ भने २०७८ पौष ५ गते सम्म ओलीलाई गणतन्त्र,राष्ट्रियता ,अखण्डताको रक्षक भनिन्थ्यो। शेरबहादुर देउवा र काङ्ग्रेसलाई गणतन्त्र विरोधी भनिन्थ्यो। काङ्ग्रेस भित्र राजावादीहरु छन । काङ्ग्रेस सरकारमा आयो भने राजावादी ,हिन्दुवादी,मधेशवादी र भारत मिलेर देशमा प्रतिगमन गर्छन ।राजतन्त्र पुनर्स्थापना हुन्छ । धर्म निरपेक्षता जान्छ ,हिन्दुराज्य स्थापना हुन्छ , यसै भनिएको थियो।अहिले ओलीले गणतन्त्र खान्छ देउबाले बचाउछ भनिन्छ । वास्तविक कुरा के हो भने एमवि समुह मसाल  पक्षले बिगतमा भने जस्तो न ओली थिए न त आज देउबा छन ।

ती भन्नका लागि भनिएका ,प्रोपगान्डाका लागि गरिएका कुरा हुन । सत्ता स्वार्थजडित राजनीति हो। अझ खुलेरै भन्नू पर्दा सत्ता स्वार्थका लागि बार्गेनिङ चिप्स मात्र हुन। यस्ता अतिसयोक्तिपूर्ण काम बिगतमा पनि भएका थिए।

२०६५ मा रामवरण यादवलाई राष्ट्रपति बनाउने बेलामा राम राजा सिङ्ह माओवादी मार्फत ल्याइएको भारतको उम्मेद्वार हुन रामबरण राम्रा मान्छे हुन भनेर पार्टी च्यानलमा प्रचार गरियो। तर पछि संविधान घोषणा गर्ने बेलामा स्वयम् रामबरण पनि भारतका पक्षमा देखिए। तत्कालीन राजदूत रन्जीत रे ले आफ्नो किताव काठमाडाै डिलेमामा लेखेकाछन कि रामबरण सम्विधान घोषणा प्रति असन्तुष्ट थिए ।

संविधान घोषणाका दिन रामवरणले संविधान सभामा जुन अस्वभाबिक कृयाकलाप देखाए ,पटक पटक संविधानको किताब टाउकोमा राख्दै ढोग गर्दै गरे त्यो उनको असन्तुष्टि थियो। २०७७ पौष ५ गतेको ओली कदमको विरोध गर्दै मात्र एक बाक्यमा निकालिएको मसालको सोही दिनकै बक्तब्यमा 'गम्भीर गल्ती तथा अप्रजातान्त्रिक कदम ' भनिएकोछ छ र ' कडा शब्दमा विरोध र भ्रत्सना ' भनिएकोछ। स्मरण रहोस त्यो बक्तब्यमा ओली कदमलाई प्रतिगमन भनिएकोछैन । ओलीको कदमलाई प्रतिगमन नभनेका कारण मसालको अल्पमत पक्षलाई प्रतिगमनको पक्ष लिएको भन्न मिल्दैन भन्ने कुरा स्वयम् सिंहको बक्तब्यबाट पनि स्पष्ट हुनु पर्ने हैन र रु यो सबै बिश्लेषणको अर्थ राजतन्त्र निरपेक्षरुपमा कहिलै फर्कदैन भन्न खोजेको हैन । इतिहासमा राजतन्त्र फर्किएका कैयौं उदाहरण छन । स्पेनमा राजतन्त्र फर्कियो। ११ वर्ष सम्म राजतन्त्र बिहिन भएको बेलायतमा राजतन्त्र फर्कियो । तर नेपालमा अहिले नै राजतन्त्र फर्किने अवस्था छैन। १७ सालमा सँसदीय बहुदलीय ब्यस्था फाल्दा राजाले २०१५ को सम्विधानको धारा ५५ प्रयोग गरेका थिए ।

२०५९ \ ०६१ मा राजा ज्ञानेन्द्रले २०४७ को संविधानले दिएको राजाको स्थानलाई दुरुपयोग गरेका थिए। राजाले'कु' गर्दा नेपालको इतिहासमा जहिले पनि संविधानको आड लागेर सत्ता कब्जा गरेको देखिन्छ । तर अहिले नेपालमा राजाका लागि संविधानको आड लागेर पुनर्स्थापित हुने कुनै पनि संवैधानिक टेको रआधार छैन। न टेक्ने डालो न समाउने हाँगो । राजावादीहरुले संसदमा दुई तिहाई नै बहुमत ल्याए पनि चुनावबाट राजतन्त्र फर्काउन सक्दैनन् किनकि संविधानको प्रस्ताबनामा गणतन्त्र लेखिएकोछ । प्रस्ताबना फेर्ने अधिकार संसदलाई छैन । राजा फर्काउन कि त जनता ०६२\ ०६३ को आन्दोलनमा जस्तै उर्लेर आएर वर्तमान संविधान च्यातेर बलपूर्वक राजालाई कुर्सीमा राख्नु पर्यो कि त सेना आफै सत्ता कब्जाका लागि अगाडि सरेर राजालाई कुर्चीमा राख्नु पर्यो कि त विदेशीहरुले सिधै हस्तक्षेप गरेर राजालाई कुर्चीमा ल्याउनु पर्यो ,बिगतमा अफगानिस्तानमा तत्कालीन सोभियत संघले अमेरिकालाई काउन्टर दिन सिधै सैनिक हस्तक्षेप गरेर आफुलाई मन परेको मान्छेलाई राष्ट्रपति बनाई शासन चलाए जस्तो ।

अहिले तत्कालै माथि उल्लेखित कुनै पनि स्थिति निर्माण भएकोछैन । मानौ राजतन्त्र फर्किने स्थिति नै आएछरे भने पनि त्यो एमवि समुहमसाल  पक्षको मात्र चिन्ताको कुरा हैन । हामी सबै लागौला नि प्रतिगमनका विरुद्धमा । राजनीतिमा एक प्रकारको त्रास सृजना गरेर आफ्नो स्वार्थ सिद्ध गर्ने काम हुन्छ । विश्व राजनीति ,राष्ट्रिय वा स्थानीय राजनीतिमा यो सूत्र प्रयोग भैरहेको हुन्छ । बिगतमा बृटिस साम्राज्यवादले एउटा देशको त्रास देखाएर अर्को देश माथि उपनिबेश कायम गर्थ्यो। अमेरिकाले अहिले त्यही सूत्र प्रयोग गरिरहेकोछ। उत्तर कोरियाको त्रास देखाएर दक्षिण कोरियामा सेना राखेकोछ ।चिनको खतरा देखाएर जापानमा सेना राखेकोछ । इरानको खतरा देखाएर अरब मुलुकहरुमा सेना राखेकोछ । भारतले चिनको खतरा देखाएर सिक्किममा सेना राखी अन्ततः सिक्किम्मलाई नै खायो। यहाँ ,प्रतिगामीबाट वर्तमान गणतन्त्र ,धर्मनिरपेक्षता माथि खतरा छ भन्ने देखाएर प्रतिक्रियावादी सत्ताको संरक्षणमा जुट्ने काम भएको छ। यस स्थितिमा प्रतिगमनलाई समय र परिस्थितिको सापेक्षतामा ठीक ढङ्गले बुझ्ने र प्रतिक्रियावादी सत्ता बिरुद्धको संघर्षमा ध्यान केन्द्रीत गर्ने र सच्चा कम्युनिस्ट आन्दोलनको संरक्षण र विकासमा लाग्ने आजको युगिन दायित्व हो।
  (लेखक( नेकपा (मसाल) विशेष महाधिवेशन समितिका केन्द्रिय नेता हुनुहुन्छ।)

२०७९ असोज १४ १५:३५ बजे

प्रतिक्रिया