बिकास भुसाल काठमाडौं,
पर्खाइु नै मन नपराउने तिमी,
सुन्दै छु पर्खेकी छ्यौ रे
आज किन अनि कसलाई पर्खिरहेकी छ्यौ ?
तिमी आफ्नो जिन्दगीको अन्तिम गन्तव्य पर्खिरहेकी छ्यौ,
या त त्यो अन्तिम गन्तव्यको सारथी बनाउन, मलाई ?
तिमी कति अचम्मकी थियौ,
महसुस गर्यो कुनै दिन?
तिमी पानीको आकार खोज्थ्यौ,
खरानीको महल बनाउन खोज्थ्यौ,
तिमी ती सपना साकार गर्न खोज्थ्यौ
जुन अर्थहीन थिए,
छन् अनि रहने पनि छन्
हावाको दिशा खोज्थ्यौ ।
ती सपनाको कुनै भविष्य थिएन,
न त कुनै आधार थियो,
तर तिमी त त्यही आधारविहीन सपना पछ्याईरहेकी थियौ ।
आज हामी दुइ नै कता कता छौँ,
तिमी पर्खिरहेकी छ्यौ रे अझै
अनि म ?
म त, तिम्ले दिशा दिन खोजेको हावाको वेग संग,
बतासिएको छु।
मलाई, तिमीले आकार खोजेको पानीले बगाएको छ
थाहा छैन,
कुन खोल्सा, कुन काप्चा अनि कुन खोलाको सयर गराउँछ
कहाँ पुर्याउँछ, कुन हालतमा छाड्छ ?
तर तिमीले सपनामा बनाएको खरानीको महल,
मलाई यथार्थमा बनाउने मन छ।
फरक यत्ति हुनेछ,
तिमीले सपनाको महल मसँग,
मेरै साथमा बनाएकी थियौ,
तर यथार्थले त हामी दुइलाई नै अलग बनाएको छ।
अब मलाई अनि तिम्रो अन्तिम गन्तव्य पर्खिन छाडिदेऊ,
कुनै समय मैले नै भनेको थिएँ,
तिमीलाई म, दिन, महिना, वर्ष पनि पर्खिन्छु,
तर वर्षको अन्तिममा भित्ताको पात्रो बदलिए झैँ,
बदलिएछन् ती, दिन, महिना, अनि वर्ष।
मैले पर्खेको छैन तिमीलाई,
अरे !
तिमीलाई मात्र पो ?
मैले त कसैलाई पनि पर्खेको छैन नि,
भनिदिनु ल सबैलाई?
खबर चाँडै पुगोस्।
प्रतिक्रिया