‘प्रेम गीत ३’ को हिन्दी डबले पायो नेपाली फिल्मको मान्यता

१५ प्रतिशत विकास शुल्क तिर्नु नपर्ने

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ६ १५:२९ बजे
प्रेम गीत ३

काठमाडौं ।  ‘प्रेम गीत ३’ को हिन्दी डबले पनि नेपाली फिल्मको मान्यता पाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फिल्मको हिन्दी डबलाई पनि नेपाली फिल्मको मान्यता दिएको हो । फिल्मले नेपाली फिल्मको मान्यता पाएसँगै नेपाली फिल्म सरहनै सेवाहरु पाउने भएको छ ।  

योसँगै फिल्मले १५ प्रतिशत विकास शुल्क तिर्नु नपर्ने भएको छ। यसअघि चलचित्र विकास बोर्डले ‘प्रेम गीत ३’ को हिन्दी डबलाई विदेशी फिल्मको मान्यता दिने र सोही अनुसारका नियमको पालना गर्नुपर्ने बताएपछि विवादमा आएको थियो । 

नेपाली कलाकार तथा प्रविधिकले काम गरेको र फिल्ममा नेपालकै कथा रहेकाले ‘प्रेम गीत ३’ लाई विदेशी फिल्म भन्न नमिल्ने निष्कर्षमा पुगेको मन्त्रालयले जनाएको छ।

निर्माण टोलीले विकास बोर्डका अध्यक्षको राजीनामा नै मागेपछि ‘प्रेम गीत ३’ र बोर्डबीच खटपट चुलिएको थियो। 

बोर्डले ‘प्रेम गीत ३’ को हिन्दी डबलाई विदेशी फिल्म करार गरेपछि वितरकले मन्त्रालयमा निवेदन दिएका थिए। त्यसपछि स्पष्टीकरण सोध्न मन्त्रालयले अध्यक्ष भुवन केसीलाई बोलाएको थियो। पुनः विचार र छलफलपछि अध्यक्ष केसी पनि फिल्मको हिन्दी डबलाई नेपाली फिल्मसरह सेवा सुविधा दिन राजी भएको मन्त्रालयले बताएको छ । 

‘प्रेम गीत ३’ शुक्रबार नेपाल भारतसहित झण्डै ५० देशका १२ सय पर्दामा एकसाथ प्रदर्शन हुन लागेको छ । कुनै पनि नेपाली फिल्म यति ठूलो बजारमा जान लागेको यो पहिलो पटक हो। 

२०७९ असोज ६ १५:२९ बजे

प्रतिक्रिया