लक्ष्मीदत्त जोशी : एक क्रान्तिकारी योद्धा, सादा जीवन र उच्च विचारका धनी

मानिसको महानता पद र प्रतिष्ठाले होइन, विचार, त्याग, कर्म र समाजप्रतिको योगदानले मापन हुन्छ।

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक ८ १५:४० बजे
लक्ष्मीदत्त जोशी

लक्ष्मीदत्त जोशी  भीमदत्त नगरपालिका,५, कञ्चनपुरमा स्थायी वसोवास गर्दै आउनु भएको छ।उहाँ नेपालको राजनीतिक इतिहासमा आफ्नो जीवन समाज परिवर्तन, शिक्षा विस्तार र जनचेतना अभिवृद्धिका लागि समर्पण गर्ने सङ्घर्षशील व्यक्तित्वहरू मध्ये एक हुनुहुन्छ।

२०२७ साल साउन २७ गते मङ्गलबार राति तीन जना क्रान्तिकारी योद्धाले कञ्चनपुरको जेल तोडे। साउनको अँध्यारो रात, छिनछिनमा परिरहेको पानी र जङ्गलैजङ्गलको कठिन बाटो पार गर्दै उनीहरू महाकाली नदीको किनारमा पुगे।अगाडि उर्लिरहेको महाकालीको भेल थियो। जीवन र मृत्युको दोसाँधमा उभिएर उनीहरूले सङ्कल्प गरेः(“बाँचियो भने महाकालीपारि भेट हुनेछ, मरियो भने लाल सलाम)” यति भन्दै तीनै जना नदीमा हाम फाले।ती साहसी योद्धामध्ये एक हुनुहुन्थ्यो कमरेड लक्ष्मीदत्त जोशी।

महाकाली पार गरेपछि उहाँले भारतका हल्द्वानी, बहराइच लगायत स्थानमा रहेर वामपन्थी राजनीतिक गतिविधिलाई निरन्तरता दिनुभयो। त्यस अवधिमा क. पुष्पलाल, क. मनमोहन अधिकारी, क. मोहनचन्द्र अधिकारीलगायतका नेताहरूसँग उहाँको भेटघाट भएको थियो।उपलब्ध विवरणअनुसार, २०२६ सालतिर क. लक्ष्मीदत्त जोशी, क. अरुण पौडेल ‘यदुनाथ’ र क. रामबहादुर थापाले दोधाराको कञ्जभोज, आम्भोज तथा चाँदनीको हल्दुघाट क्षेत्रमा विद्यालय स्थापना गर्ने अभियानमा योगदान दिनुभयो। बाबाथानमा उहाँकै नाममा लक्ष्मी प्राथमिक विद्यालय स्थापना गरियो, जुन पछि उच्च माध्यमिक तहसम्म विकसित भएको विवरण छ।

विद्यालय स्थापना गर्दै जनतामा शिक्षा र पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक चेतना फैलाएको आरोपमा उहाँहरूलाई पक्राउ गरी राजद्रोहको मुद्दा लगाएर जेल चलान गरिएको थियो।

२०३६ सालमा राजनीतिक वातावरण केही खुला भएपछि उहाँ नेपाल फर्किनुभयो र डडेल्धुराको भित्री मधेश क्षेत्रमा केही समय भूमिगत रहेर राजनीतिक काम गर्नुभयो। घरायसी समस्या र पार्टीसँगको सम्पर्क विच्छेदका कारण २०४५ सालमा शिक्षण पेसा अँगाल्नुभयो। उहाँले डडेल्धुराको अजमेरुस्थित सहस्रलिङ्ग उच्च माध्यमिक विद्यालयमा शिक्षकका रूपमा काम गर्नुभयो।उहाँका सहयोद्धा क. अरुण पौडेल ‘यदुनाथ’  झापामा हालै मृत्यु भएको छ भने क. रामबहादुर थापाको हालको अवस्थाबारे जानकारी उपलब्ध छैन।

लामो राजनीतिक सङ्घर्ष र जीवनका अनेकौँ कठिनाइ पार गर्नुभएका क. लक्ष्मीदत्त जोशी आज भीमदत्त नगरपालिका–५ मा सामान्य जीवन बिताइरहनुभएको छ। उहाँको व्यक्तित्वमा सादगी, वैचारिक प्रतिबद्धता र समाजप्रतिको जिम्मेवारी झल्किन्छ।

उपलब्ध विवरणअनुसार, उहाँ हाल नेकपा एमालेमा आबद्ध रहेर  राजनीतिक जीवन बिताइरहनुभएको छ। पद, प्रतिष्ठा र देखावटीपनभन्दा सरल जीवन र उच्च विचारलाई महत्त्व दिने उहाँको जीवनयात्रा सम्मानयोग्य छ।

क. लक्ष्मीदत्त जोशीको जीवन केवल व्यक्तिगत सङ्घर्षको कथा होइन यो सुदूरपश्चिमको राजनीतिक इतिहास, शिक्षा विस्तार र सामाजिक चेतनासँग जोडिएको एउटा महत्त्वपूर्ण अध्याय हो। महाकालीको उर्लँदो भेलमा जीवनको बाजी लगाउने साहसदेखि समाजमा शिक्षा र चेतना फैलाउने प्रयाससम्म उहाँको योगदान स्मरणीय छ।

मानिसको महानता पद र प्रतिष्ठाले होइन, विचार, त्याग, कर्म र समाजप्रतिको योगदानले मापन हुन्छ। सामान्य जीवन बिताउँदै उच्च विचारलाई आत्मसात् गरिरहनुभएका क. लक्ष्मीदत्त जोशी यसै मान्यताका प्रतिनिधि व्यक्तित्व हुनुहुन्छ।उहाँको सङ्घर्षपूर्ण इतिहास सुरक्षित रहोस्, योगदानको उचित मूल्याङ्कन होस् र उहाँको जीवनयात्रा भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनिरहोस्।

क. लक्ष्मीदत्त जोशी सँघर्ष साहसी, विचारमा दृढ, जीवनमा सरल र उच्च आदर्शका धनी व्यक्तित्वप्रति हार्दिक सम्मान तथा क्रान्तिकारी अभिवादन।

सन्दर्भ- ईश्वरी प्रशाद खरेलको फेसवुक वालवाट
२०८३ कात्तिक ८ १५:४० बजे

प्रतिक्रिया