मकैबारीमा क्षतविक्षत अवस्थामा बालकको शव भेटियो

बालक भदौ ३१ गतेदेखि हराएका थिए

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३ १४:१५ बजे
क्षतविक्षत अवस्थामा बालकको शव भेटियो

 काठमाडौं । रुकुम पश्चिममा एक बालकको शव क्षतविक्षत अवस्थामा भेटिएको छ । आठबिसकोट नगरपालिका–५ गोतामकोटको बिष्ट गाउँनजिकै बालकको शव भेटिएको हो ।

आठबिसकोट नगरपालिका–५ गोतामकोटका टेकबहादुर विष्टका अन्दाजी १० वर्षीय छोरा विजय विष्टको शव घर नजिकैको मकैबारीमा फेला परेको हो । आइतबार बेलुका विजयकी आमा मकैबारीमा गएको बेला शव देखेपछि प्रहरीलाई खबर गरेका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताएका छन् । 

बालकको शव बायाँ खुट्टा छुट्टिएको र पेटभित्रको अङ्ग नभएको अवस्थामा भेटिएको श्रेष्ठले जनाएका छन् । इलाका प्रहरी कार्यालय आठबिसकोटबाट घटनास्थल गएको प्रहरी टोलीले घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । आजै बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइने प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार बालक भदौ ३१ गतेदेखि हराएका थिए । आफन्तको घरमा गएको आशङ्का गरिए पनि आइतबार आफ्नै मकैबारीमा उनको शव भेटिएको हो । घटना रहस्यमय रहेको स्थानीयले बताएका छन् ।

२०७९ असोज ३ १४:१५ बजे

प्रतिक्रिया