‘शक्ति लम्साल स्मृति ग्रन्थ’ को आज विमोचन
काठमाण्डौै । नेपालको वामपन्थी राजनीति ,प्रगतिशील साहित्य एवम् जनपक्षीय पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका शक्ति लम्सालको स्मरणमा ६४४ पृष्ठको स्मृति ग्रन्थ प्रकाशित भएको छ । उक्त ग्रन्थलाई पूर्व प्रधानमन्त्री झलनाथ खनालले बागबजारस्थित होटल हार्दिकको सभाहलमा एक समारोहकाबीच विमोचन गरेका छन् । विमोचन समारोहमा बोल्ने वक्ताहरुले शक्ति लम्सालको राजनीतिक ,साहित्यिक, पत्रकारिताका विभिन्न आयामहरुमाथि चर्चा गरेका थिए ।
प्रमुख अतिथि झलनाथ खनालले शक्ति लम्सालले नेपालको क्रान्तिकारी आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा योगदान पु¥याएको,मौखिक र लिखित दुवै किसिमले जनवादी साँस्कृतिक आन्दोलनमा योगदान पु¥याएको बताए । त्यस अवसरमा खनालले नेपालको कम्युनिष्ट आन्दोलन विशेष अवस्थामा आइपुगेको बताउँदै हामी जनवादी क्रान्तिको युगमा छौं वा समाजवादी क्रान्तिको युगमा छौं यो विषयलाई टुङ्ग्याउनु पर्छ ।खनालले अगाडि भने – मेरो विचारमा २०६२ –६३ को जनआन्दोलन पुँजीवादी क्रान्ति हो ।यद्यपि नयाँ जनवादी क्रान्ति होइन । यहाँको पुँजीवाद स्वतन्त्र छैन । यो पुँजीवाद दलाल पुँजीवाद हो । यसको विकल्प वैज्ञानिक समाजवाद मात्र हुन सक्छ ।कार्यदिशाको निरुपण हुनुपर्छ । एउटा देशमा एउटै कार्यदिशाले मात्रै क्रान्ति हुन्छ ।मैले गणना गरेको कम्युनिष्टहरुको नेपालमा २२ वटा समुह रहेछन् एकीकृत कम्युनिष्ट पार्टी आजको आवश्यकता हो । अन्तरविरोधको स्वरुप परिवर्तन भएको छ । कम्युनिष्ट पार्टीले कसका विरुद्ध हो लड्ने त्यसको टुङ्गो गर्नु पर्छ । कम्युनष्टि पार्टी नेता प्रधान होइन नीति प्रधान हुनुपर्छ ।
कार्यक्रममा नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले तेस्रो महाधिवेशनको तयारीको शिलशिलामा प्यूठानबाट वनास जाँदै गर्दा शक्ति लम्साल,प्यूठानका खिमानसिंङ गुरुङसहित कपिलवस्तुमा पक्राउ परेको, शक्ति लम्साल ९ महिनापछि तौलिहवा जेलबाट छुटेको,खिमानसिंङ गुरुङ १८ महिनापछि रिहा भएको र आफु ९ वर्ष जेल बस्नु परेको स्मरण गरे। सिंहले ९ महिना तौलिहवा जेलमा बस्दा विभिन्न साहित्यिक र वैचारिक पुस्तक अध्ययन गरेको र काठमाण्डौको जेलमा बस्दा लम्सालले आफुलाई धेरै महत्वपूर्ण पुस्तकहरु उपलब्ध गराएर अध्ययन कार्यमा मद्दत पु¥याएको,पछि मसालमा विभाजन भए पनि आफुहरुकोबीचमा सुमधुर व्यक्तिगत सम्बन्ध रहेको सिंले सुनाए । सिंहको लिखित मन्तव्य रामप्रकाश पुरीले पढाएर सुनाएका थिए ।
परराष्ट्रवीद हिरन्यलाल श्रेष्ठले नेपाल भियतनाम मैत्री संघ, जनमैत्री मञ्च लगायतका संघ संस्थाहरुमा सँगसँगै लम्सालसित काम गरेको स्मरण गरे । श्रेष्ठले पत्रकारिता क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार गोपालदास पुरस्कार लम्सालले प्राप्त गरेको पनि स्मरण गरे । पत्रकार पुरषोत्तम दाहालले त्यस अवसरमा कृतिशेष र स्वर्गीय भन्ने दुवै शब्द प्रयोग गर्न उपयुक्त नभएको तर्क गरे ।उनले संसारका ९ जना धनीहरुले विश्वको आधाभन्दा बढि सम्पत्ति कब्जा गरेर बसेको बताउँदै मेटा ,एलन मस्कहरुको हामी सबै मजदुर हौं यस्तो समयमा कस्तो राजनीतिक प्रणाली आवश्यक हुन्छ ? भन्ने कुरा निकै विचारणीय रहेको बताए । दाहालले हतियारको राजनीति सम्बन्धमा कुरा गर्दा शक्ति लम्सालले हतियारले परिवर्तनको आधार तयार पार्छ भनेको स्मरण गरे । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका देव गुरुङ ,नेकपाका लोकनारायण सुवेदी ,रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे,पत्रकारहरु महेश्वर दाहाल,अशोक सुवेदी लगायतले मन्तव्य राखेका थिए । त्यस अवसरमा रमेश विकल साहित्य प्रतिष्ठानलाई रु २५ हजार पुरस्कार , ‘प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार, २०८३’ समेत प्रदान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेले पुरस्कार र सम्मान ग्रहण गरेका थिए । प्रगतिशील लेखक संघ (प्रलेस) नेपालले रमेश विकल , नेपालको बामपन्थी साहित्य तथा न्यायीक अभियानमा योगदानको कदरस्वरूप पुरस्कार प्रदान गरिएको प्रलेसले जनाएको छ। शक्ति लम्साल स्मृति ग्रन्थ सम्पादन तथा प्रकाशन समितिका प्रधान सम्पादक नारायण शर्माको अध्यक्षता , शक्ति लम्सालकी जीवनसाथी कृष्णा लम्सालको स्वागत, प्रगतिशील लेखक संघका महासचिव झगिन्द्र राज ढकाल (पारस)ले कार्यक्रमको सञ्चालन गरेका थिए ।
प्रतिक्रिया