खानेतेलको मूल्य लिटरमा ५० रुपैयाँसम्म घट्यो

खानेतेलको मूल्य लिटरमा ५० रुपैयाँसम्म घट्यो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २ १६:०१ बजे
खानेतेल

काठमाडौं । खाने तेल आयातमा भन्सार शुल्क घटेपछि पछि तेलको मूल्यमा ठूलो गिरावट आएको छ । एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ५० रुपैयाँसम्मले घटेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।  सूर्यमुखी, भटमास र तोरीको तेलको मूल्यमा ठूलो गिरावट आएको टोखा चेम्बर अफ कमर्शका अध्यक्ष सञ्जय फुँयालले बताएका छन् । 

सरकारले तेलको कच्चा पदार्थ आयातमा भन्सार महसुल घटाउने निर्णय गरेपछि बजारमा तेलको मूल्य घटेको  उनले 

 बताएका छन् ।  लिटरमा कम्तीमा २० देखि बढीमा ५० रुपैयाँसम्म तेलको मूल्य घटेको उनले जनाए । अमृत, डाइमण्ड लगायतका ब्राण्डका तेलको मूल्य घटेको उनले बताएका छन् ।  

एक महिना अघि प्रतिलिटर २९५ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य थोकमा २४५ रुपैयाँमा  पुगेको छ । २८० रुपैयाँ रहेको तोरीको तेलको मूल्य २५० रुपैयाँमा  पुगेको छ। यस्तै २९३ रुपैयाँ पर्ने भटमासको तेलको मूल्य न्यूनतम् २१८ रुपैयाँमा पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावटका कारण खाने तलेको मूल्यमा उच्च गिरावट  आएको नेपाल वनस्पति घ्यु तेल उत्पादक संघले जनाएको छ । जेठयता मात्रै खाने तेलको मूल्य लिटरमा ७० रुपैयाँसम्मले घटेको संघका अध्यक्ष सन्दीप अग्रवालले  बताएका छन् ।  तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटेका कारण नेपाली बजार पनि घटेको अध्यक्ष अग्रवालले बताए ।

औसत बजारमा तेल उद्योगीले तोकेको मूल्य ३०० रुपैयाँ लिटर थियो तर भन्सार घटेको र अन्तर्राष्ट्रिय मूल्य पनि घटेका कारण २१० रुपैयाँसम्म पनि झरेको उनले बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको बेला प्यानिक भएर केही उद्योगीहरुले आफैं सस्तोमा तेल बिक्री गरिरहेको पनि संघले जनाएको छ ।

यता नेपाल खुद्रा व्यापार संघले भने खानेतेलको मूल्य पुरानै सार्वजनिक गरेको छ । संघले शुक्रबार पठाएको विवरणअनुसार तोरीको तेलको मूल्य प्रतिलिटर मूल्य ३७०, भटमासको तेलको मूल्य २५५ रुपैयाँ र सूर्यमुखी तेलको मूल्य २९५ रुपैयाँ रहेको उल्लेख छ ।

सरकारले २३ भदौमा राजपत्र जारी गर्दै पाम, सूर्यमुखी र भटमासको कच्चा तेल आयात गर्दा भन्सार महसुलमा ९० प्रतिशत छुट दिइएको थियो । सूर्यमुखी, भटमास, तोरी, रायो, सर्स्युं लगायतका वस्तुको गेडा नै आयात गर्दा यस अघि ५० प्रतिशत रहेको भन्सार छुटलाई पनि बढाएर सरकारले ९० प्रतिशत पुर्‍याइदिएको थियो ।

२०७९ असोज २ १६:०१ बजे

प्रतिक्रिया